धनुषा कांग्रेस सभापतिमा लागि तीन पक्षको दाबी

धनुषा जिल्ला अधिवेशनमा संस्थापन पक्ष शेरबहादुर देउवा तथा संस्थापन इतर समूह डा. शेखर कोइराला र विमलेन्द्र निधि पक्षको त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ।

धनुषा कांग्रेस सभापतिमा लागि तीन पक्षको दाबी

जनकपुरधाम। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत धनुषा जिल्ला अधिवेशनमा संस्थापन पक्ष शेरबहादुर देउवा तथा संस्थापन इतर समूह डा. शेखर कोइराला र विमलेन्द्र निधि पक्षको त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ।

धनुषामा १५ फागुनमा कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ।

आज सोमबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै कांग्रेस धनुषाको सभापतिमा कोइराला समूहले दिनेश प्रसाद प्रसैलालाई आफ्नो उम्मेदवारको रूपमा अगाडी बढाएको छ। कांग्रेसका केन्द्रीय सहमहामन्त्री बद्री पाण्डेले प्रसैलाको नाम सभापतिको लागि घोषणा गरेका हुन्।

सहमहामन्त्री पाण्डेले धनुषा जिल्ला अधिवेशनमा आफ्नो पक्षले जित हासिल गर्ने दाबि गरे। उनले भने, ‘‘केन्द्रीय अधिवेशनमा इतर पक्षमा ४० प्रतिशत मत आएको थियो। अहिले देउवा पक्ष आफै विभाजित रहेकाले हाम्रो जित पक्का हुन्छ।’’

इतर समूहबाट उम्मेदवार बनेका प्रसैला पूर्व सांसद् हुन्। सभापतिको उम्मेदवार बनेका प्रसैलाले आफू सभापतिमा निर्वाचित भए जिल्लाको सबै निर्वाचन क्षेत्रमा कांग्रेसलाई विजयी बनाउने बताए। उनले चार वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन नकसे आफुु पदबाट नै राजिनामा दिने समेत बताए।

यस अघि पार्टीका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा समुहबाट सन्तोष यादव र विमलेन्द्र निधीको समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्।

२०५६ सालदेखि कांग्रेसमा लागेका पजियार आफू पार्टी हित र पार्टीलाई मजबुत बनाउने काम गरेको र आफू पहिल्यैदेखि सभापतिका लागि तयारी गरेकोले आफ्नो जित सुनिश्चित रहेको दाबि गरेका छन्।

उनले नेपालभ्यूजसँग भने, ‘‘म विश्वास दिलाउन चाहन्छु कि सभापतिमा विजयी भएपछि कांग्रेसलाई सदृढ र मजबुत पार्छु। तीनै तहको निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिलाउँछु।’’

पजियारले शेरबहादुर देउवा समूहलाई लक्षित गर्दै कांग्रेसको आन्तरिक चुनावलाई केहि साथीहरु आन्तरिक नसम्झेर विभिन्न खालका धाकधम्की समेत दिने गरेको गुनासो गरे। उनले आफ्नो इच्छाले राम्रा उम्मेदवारलाई अमूल्य मत दिन प्रतिनिधिहरुसँग अपिल गर्न चाहेको पनि बताए।

पजियार नेपाल तरुण दलको धनुषा जिल्ला उपाध्यक्ष, अध्यक्ष र धनुषा निर्वाचन क्षेत्र नम्बर ४ का तीन पटक क्षेत्रिय सभापति भइसकेका छन्।

नेता पजियारले नगरपालिका, गाउँपालिका र क्षेत्रिय अधिवेशनमा सर्वसम्मत पदाधिकारी चयन गर्न आफूले उल्लेखनिय भुमिका खेलेको दाबि गर्दै पहिलो चरणमा नै आफूले जित्ने दाबि गरे।

त्यसैगरी नेपाली कांग्रेस संस्थापन पक्षका उम्मेदवार सन्तोष यादवले एक पटक जिल्ला सभापतिमा आफूलाई मौका दिन अनुरोध गरेका छन्।

वर्तमान जिल्ला उपसभापति रहेका यादवले नेपाल भ्युजसंगको कुराकानीको क्रममा भने, ‘‘आफूले यस अघि पनि सभापतिको लागि उम्मेदवारी गरेकोमा सहमती मै जानु पर्ने भएपछि उपसभापति बनेको हुँदा यस पटक आफ्नो ‍सभापतिमा जित सुनिश्चित छ।’’

उनले आफू सभापतिमा विजयी भएमा अहिलेसम्म नभएको कार्य गरेर देखाउने दाबि गरे। उनले भने, ‘‘म सबैलाई समेटर अगाडि बढ्ने छु ,म प्रतिबद्धता जनाउँछु ,स्थानीय निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई जिताउन राजनीतिको सबै हथकण्डाहरु अपनाउने छु।’’

कांग्रेसमा देखिएको कमीकमजोरीलाई हटाउंदै भविष्यमा संगठन सुदृढिकरण र आउन लागेको तीनै तहको चुनावमा पार्टीलाई जिताउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।

धनुषावासी कांग्रेस सह–महामन्त्री महेन्द्र यादवले अन्य कुनै पनि जिल्ला भन्दा धनुषा जिल्लाको सभापतिमा धेरै नै भिन्नता हुने भएकोले धनुषाको नेतृत्वको लागि बलियो मात्र नभइ पार्टीलाई उच्च सम्मान दिलाउन सक्ने उम्मेदवारको आवश्यकता रहेको बताउँदै उनले सन्तोष यादवको पार्टी भित्र ठूलो लगानी रहेकोले जिल्ला सभापतिमा उपयुक्त भएको बताए।

सह महामन्त्री यादवले भने, ‘‘सन्तोष यादव २०४६ सालदेखि नै पार्टीमा आबद्ध भई नेपाली जनताको अधिकारका लागि लड्दै आएकोले उहाँलाई नै जिल्ला सभापतिमा निर्वाचित गराउन सबैमा आग्रह गर्दछु।’’

त्यसैगरी कांग्रेस प्रदेश २ का सभापति कृष्णा यादवले सर्वसम्मतिले नै जिल्ला कार्यसमितिको चयन हुनु पर्ने आप्mनो चाहना रहेको बताउंदै निर्वाचन नै गर्नु परे सन्तोष यादवको पक्षमा आफू रहेको बताए।

उनले पार्टीको आन्तरिक प्रतिस्पर्धा रहेकोले यसलाई कसैले पनि जित हारको भन्दा पनि सामूहिक रूपमा जिम्मेवारी पाएको अनुभूति गरेर अगाडि बढ्नु पर्ने आजको आवश्यकता रहेको स्पष्ट गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved