व्यक्तिवृत्त

‘ब्याक टू मंगलमान’-मन्थन

एक पटक उनी गृहसचिवकहाँ गएछन्, कुनै आन्दोलनबारे छलफल गर्न। गृहसचिवसँग केही समय नोकझोक चलेपछि उनी बम्किएछन्, “चानचुने नठान्नुस्, यो मंगलमानले व्याक गरेको आन्दोलन हो।”
भनिन्छ, त्यसपछि भन्न थालियो- ‘व्याक टू मंगलमान’।

‘ब्याक टू मंगलमान’-मन्थन

“सधैँ दाल, भात डुकुका लागि
भागिरह्यो, दौडिरह्यो मंगलमान
पर्खालको पनि कान हुन्छन् भनेर
डराइ डराइ बाँचिरह्यो मंगलमान
उसले हाँस्ने फुर्सदै पाएन
जिन्दगीलाई अर्को कोणबाट हेर्नै भ्याएन
अहिले म सम्झन्छु
मंगलमानको भावसून्य अनुहार
कुनै मोनालिसाभन्दा कम थिएन
सिंगै मंगलमान
कुनै महाकाव्यभन्दा कम थिएन।”
(कालीप्रसाद रिजाल/ ‘मंगलमानः एक शब्दचित्र’)

कवि कालीप्रसाद रिजालले “आम मंगलमान” को कथा लेखे। जो सदैव रुटिनबद्ध जिन्दगी बाँचिरहेका हुन्छन्। घर-कार्यालय, कार्यालय-घर। दाल, भात र डुकुको पिरलोले थिचिइरहेका हुन्छन् सधैँ। त्यस्ता “मंगलमान” हरूलाई समाज परिवर्तनको एजेन्डा बोकेर अथवा कुनै विषयगत मुद्दा समातेर माइतीघर मण्डला वा नयाँ बानेश्वर वरपर कुद्ने फुर्सद नै हुँदैन। विद्रोहको शंखनाद फुक्ने औसर नै जुर्दैन कहिल्यै।

यो कथा हो- एक पृथक मंगलमानको। अर्थात मंगलमान प्रधान ‘नेपाली’ को। जसले विक्रमाब्द १९९७ देखि सघन रुपमा चम्किएको राणा शासन विरोधी क्रान्तिको क्रममा २००४ देखि २०१७ सालको राजनीति उतारचढावको अवधिसम्म हरेक क्षण विद्रोहको शंख फुके, सामाजिक कुरीति, जडता र निस्क्रियतालाई तोड्नका निम्ति आवाज बुलन्द पारे। कहिले अखबार निकालेर जागरण प्रवाहमा रुचि देखाए, कहिले शताब्दीयौंदेखि गहिरिँदै आएको जातीय विभेद र छुवाछुतको जह्रा उखेल्न तल्लीन रहे। हात बाँधेर बसेनन्, केही न केही गरिरहे।

तिनै विद्रोही मंगलमानले नेपाली साहित्यमा भने यदाकदा मात्र स्थान पाए। जसको ठुलो श्रेय जान्छ- युगकवि सिद्धिचरण श्रेष्ठलाई। २००७ सालको प्रजातन्त्र प्राप्तिअघि-पछि नेपाली परिवेशमा विद्रोहका प्रतीक मानिने मंगलमानलाई साहित्याकाशमा चम्काउने काम “मंगलमान” (खण्डकाव्य) ले गर्‍यो। जुन युगकवि श्रेष्ठको कालजयी कृतिको लहरमा उभिएका छन्। विडम्बना के भइदियो भने, सिद्धिचरणले जीवनकालमा “मंगलमान” को प्रकाशन देख्न पाएनन्। युगकविको निधनको दुई वर्षपछि मात्र निस्किएथ्यो- “मंगलमान”। मंगलमानका दुई भाइ हिरण्यमान र चन्द्रमानले प्रकाशनको अभिभारा उठाए।

सिद्धिचरणलाई परेको त्यो सकस
“मस्त नीद तोडी मेरो भित्र कोही पस्छ
करुण शब्द “हेर” भन्दै चीसो याद पोख्छ
आहा, सुस्केराको स्याँठ कोठाभित्र छिर्छ
“कलमले-कलमले” तीर आई बिझ्छ।”

गर्न त युगकविले “मंगलमान” को शुभमुहूर्त यसरी गरे। तर युगकविका अरू काव्यभन्दा “मंगलमान” कठिन प्रशवपछि जन्मिएको सिर्जना बन्यो। जसको दुई-दुई पटक भएथ्यो, गर्भाधान।

युगकवि स्वयं होमिएका थिए, नेपालीको घरदैलोमा प्रजातन्त्रको सुनौलो आभा भित्र्याउन। “क्रान्ति नभई शान्ति आउँदैन” भन्ने उद्घोष गर्ने उनले राणा शासकको तिखो बक्रदृष्टिका कारण केही समय जेलको कोठरीको अनुभव पनि बटुले। जेलमा रहँदा भेटिएका पात्रहरूमाथि उनले संस्मरणहरू पनि लेखे। खड्गमान सिंहदेखि राममाया पोडेनीसम्म। साथै, जेल जीवनमा केही समय सँगै बिताएका मंगलमानको विद्रोही चरित्र र क्रियाकलापलाई उनले नजिकैबाट देखे र पछि तिनै पात्रलाई उभ्याए, आफ्नो काव्य धरातलमा।

मंगलमान नेपालीको मृत्युलगत्तै लेखेका अनुमान गरिँदै आएको छ, युगकविले “मंगलमान”। २०१८, पुस १७ गते विश्राम लिएका थिए, मंगलमानले। २०१७ सालको जाडो मौसममा राजा महेन्द्रले कू गरेपछि त्यसको विरोधमा उत्रिएका मंगलमानले लामो समय जेलको चिसोमा बिताए। जेलभित्रै बिरामीले थलिएपछि उनलाई जेलमुक्त त गरियो तर शारीरिक रुपमा पूरै गलेका उनी केही समयपछि नै पञ्चतत्वगत भए।

“मंगलमान” को रचनाकाल २०१८-०२० को अवधिलाई मानिन्छ। तर, प्रकाशनको मुख देख्न पायो- २०४६ सालमा बहुदल आएपछि मात्र। यो विषयमा युगकवि सिद्धिचरणमाथि प्रश्न उठाइँदै आएको छ- किन पञ्चायतकालभरि यो खण्डकाव्य बाहिर ल्याइएन ? त्यसमा वरिष्ठ साहित्यसर्जक कृष्णचन्द्रसिंह प्रधान र परिवारका सदस्यहरूले समेत समवेत सवाल उठाएका छन्।

युगकविले झेल्नुपरेको सकस के थियो भने, पञ्चायती व्यवस्थाको प्रादुर्भावसँगै उनी व्यवस्था निकट हुन पुगे। नियुक्त भए- नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ र पछि राजसभा स्थायी समितिमा पनि। ती आकर्षक पद र सुविधाका सामु उनले “मंगलमान” लाई उपेक्षा गर्नु स्वाभाविकै रह्यो।

२०४६ मा बहुदलीय व्यवस्था पुनस्र्थापना भएको तीन वर्षपछि बल्ल प्रकाशित “मंगलमान” को ढिलाइप्रति कृष्णचन्द्रसिंह प्रधानले प्रश्न उठाएका छन्, “यसको संरचना काल पनि २०१८ देखि २०२० साल अनुमान गरेको छु। तीस वर्ष भने जस्तो अघि नै शब्दांकित यो काव्यको मुद्रण किन अहिले, प्रजातन्त्रको पुनः बहालीपछि मात्र हुन सक्यो ? प्रश्न उठ्न सक्छ। प्रश्न ढिलो भएकोमा होइन, ढिलो गरिएकोसित सम्बन्धित छ। तीन दशकपूर्व यसको पहिलो लेखनकार्य भइसकेको चर्चा माथि गरिसकें। उसबेला कवि नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानका सदस्य थिए। त्यसपछि राजसभा स्थायी समितिका सदस्यमा मनोनीत भए।”

छट्पटीको कुनै सीमांकन भएन, मंगलमानका भाइहरूलाई त। थाहा थियो, युगकविले उहिल्यै “मंगलमान” लेखिसिध्याएका। सिंगो पञ्चायतकालभरि नै बाहिर ल्याइएन्। मंगलमानका कान्छा भाइ चन्द्रमान प्रधानले आत्मकथा “चन्द्रकमलः एक थुँगा” लेखेका छन्, “युगकवि श्रेष्ठले मंगलमान प्रकाशनमा ल्याउन नचाहनु भएपछि मैले त्यसको कारण बुझ्न उहाँकहाँ धेरै पटक धाएको थिएँ। कम्तिमा पनि २०-२५ पटकसम्म उहाँकहाँ पुगेको थिएँ। एक पटक उहाँ सिरहा जिल्लास्थित आफ्नो मौजामा बाली उठाउन जानुभएको थियो। म त्यहाँ पनि पुगेको थिएँ र उक्त खण्डकाव्यको विषयमा कुरा उठाएको थिएँ। मैले सिरहामा उहाँलाई भेट्दा भनेका पनि थिएँ, “त्यो खण्डकाव्य सिध्याएर प्रकाशनमा ल्याउनु पर्‍यो अब। त्यस्तो के समस्या छ र ?”

त्यति बेला उहाँले “हँ, हँ, हुन्छ” मात्रै भनेर टानुभएको थियो। कुनै स्पष्ट जवाफ दिनु भएन।”

जेहोस्, “मंगलमान” आयो- २०४९ तिर। इतिहासको गर्तमा पुरिनै लागेका एक विद्रोही पात्र सतहमा उत्रिए। युगकविले २०१७ सालताका मंगलमानलाई गिरफ्तार गर्दाको घटनाक्रमलाई यसरी सम्झेका छन्-

“एक दिन मंगलमान बस्दाबस्दै घरमा
थुनुवाको पुर्जी आयो पोलाहाको भरमा
अर्कोतिर असीमित शक्तिसँग जुझ्दै
कांग्रेस नि बढ्दै थियो ढलमल गर्दै
मौका हेरी राजाले नि संसद गरे भंग
के भो, के भो, कस्तो, कस्तो अर्कै रुपरंग
मंगलमान अक्कबक्क तीन छक्क पर्‍यो
कसरी लौ, घाम छर्दै अँधेरो यो झर्‍यो।”

ब्याक टू मंगलमान
अझै पनि राजनीति वा सामाजिक वृत्तमा एउटा थेगो चल्तीमा छन्, ‘ब्याक टू मंगलमान’। यो उखानको उत्पत्ति मात्र मंगलमानको जीवन-प्रसंगसँग जोडिएको छ। उनका भाइद्वयले पनि खुशी प्रकट गरेका छन्, “ब्याक टू मंगलमान आज उखान भएको छ। एउटा व्यक्ति उखान हुनु जनप्रिय हुनु हो।”

२००४ सालतिर मंगलमानका जेठा दाजु जुजुमान प्रधानलाई राणाका सैनिकहरूले गिरफ्तार गरे। कारण थियो- राणाका सैनिकहरूलाई तालिम दिँदा राणा सरकारकै विरोध गर्नु। जुजुमानको गिरफ्तारीपछि पनि उनको घरमा प्रहरीले खानतलासी गर्न छाडेनन्। कहिले के बहाना, कहिले के बहानामा घरमा खानतलासी गर्न थालेपछि त्यति बेला २० वर्षका युवा मंगलमान भित्रभित्रै सल्किइरहेका थिए, विद्रोही चेतले। राणाका सैनिकहरूलाई सिधै लल्कारे उनले। त्यसपछि उनलाई पनि गिरफ्तार गरियो र जेल चलान गरियो।

२००५ सालतिर प्रधान परिवारले ठूलो बज्रपात बेहोर्नु पर्‍यो। वैशाख-जेठतिरको कुनै दिन। घरमा पूजा थियो। पूजापछि प्रसाद ग्रहण गरेपछि हैजा फैलियो। हैजाको महामारीले क्रमशः उनका बहिनी, आमा र काकाका छोरा बिते। केवल दुई दिनको अन्तरालमा। त्यति बेला जेलमा रहेका जुजुमान र मंगलमानलाई हत्कडी लगाएरै आमाको किरिया बस्न ल्याइएको थियो।

तीन वर्षको कठोर काराबास बसाइपछि ४ फागुन २००७ मा जुजुमान र मंगलमान रिहा भए। जेलमा रहँदा नै राजनीतिक रुपले पूरै सचेत भइसकेका मंगलमान प्रजातन्त्र आएपछि झनै प्रखर रुपमा राजनीतिक क्रियाकलापमा संलग्न रहन थाले।

त्यस्तै २००९/१० सालतिरको कुरा हुनुपर्छ। उनको नाममा थेगो नै बन्यो, “ब्याक टु मंगलमान।” यद्यपि, यो थेगोको व्युत्पत्ति कसरी भयो भन्नेमा दुइटा कथा छन्।

एउटा, संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको तात्कालिक राजनीतिक र सामाजिक परिवेशभित्र दिनहुँ हुन्थे, केही न केही घटना। कुनै मुद्दा भेट्टाए भने मंगलमानमा विद्रोहभाव सल्बलाइहाल्थ्यो र उनी नाराबाजीमा अग्रसर भइहाल्थे। मूलतः उनले काठमाडौंका सफाइ मजदुरहरूलाई संगठित तुल्याएका हुँदा कतै केही गर्नुपर्‍यो भने एउटा समूहलाई उठाइहाल्थे।

एक पटक उनी गृहसचिवकहाँ गएछन्, कुनै आन्दोलनबारे छलफल गर्न। गृहसचिवसँग केही समय नोकझोक चलेपछि उनी बम्किएछन्, “चानचुने नठान्नुस्, यो मंगलमानले ब्याक गरेको आन्दोलन हो।”
भनिन्छ, त्यसपछि भन्न थालियो- “ब्याक टू मंगलमान”।

त्यो बेला उनी राजनीतिज्ञ डा. डिल्लीरमण रेग्मीसँग निकट थिए। कुनै मुद्दा भेट्टाए कि आन्दोलन उछालिहाल्ने मंगलमानको स्वभाव देखेर एक दिन डा. रेग्मीले भनेछन्, “इट इज ब्याक्ड बाई मंगलमान”। डिल्लीरमणको त्यही उच्चारण अपभ्रंश भएर “ब्याक टू मंगलमान” भयो पनि भनिन्छ। जेहोस्, नेपालको राजनीति वृत्तमा आजपर्यन्त यो थेगोले स्थान पाइरहेको छ र थेगोमै भए पनि बाँचिरहेछन्, मंगलमान।

जातीय विभेदका प्रखर विरोधी
काठमाडौंका कथित तल्लो जातका मानिसलाई जागृत तुल्याउने अगुवा- मंगलमान। नेवार समुदायको उच्च जातीय कुलमा जन्मिए पनि संगत भने च्यामे, पोडे, कुसुलेहरूसँग। के पचाउँथ्यो र, समाजले ? पारिवारिक वृत्तले ? तर कुनै पर्वाह थिएन उनलाई। समाज बदल्न हिँडेका उनलाई झिनामसिना कुराले प्रभावित तुल्याउँदैनथ्यो। कथित तल्लो जातकहाँ जाने, बस्ने र खाने सबै गर्दथे।

उनी चाहन्थे, तल्लो जातकै कन्याको सिउँदो रङ्ग्याउन। एउटा कथा-प्रसंग छ। ढल्को पाखाकी एउटी युवतीसँग उनको गहिरो प्रेम बसेको थियो। पोडे थरकी। उनी र ती युवतीबिच प्रेम यति चुलियो- एक दिन उनले ठ्याक्कै विवाहको प्रस्ताव नै राखे। युवतीले भने एउटा सवाल उठाइन्, “काजी, तपाईंले मलाई विवाह गरेर के गर्नु हुन्छ ? तपाईंको घरपरिवारले हाम्रो विवाहलाई स्वीकार्दैन। मलाई कता लगेर पाल्नु हुन्छ ?”

अवाक् मंगलमान। अझ, ती युवतीले भनिछन्, “यदि मलाई बिहे गरेर मसँगै मेरो टोलमा बस्नु हुन्छ भने म तपाईंसँग बिहे गर्न तयार छु।”

युवतीको कुरा सुनेपछि मंगलमानले अरू थप कदम चालेनछन्।

त्यतिबेला जनकवि दुर्गालाल श्रेष्ठ र उनीबिच थियो- एकदमै दोस्ती। क्रान्तिकारी कविता लेख्ने दुर्गालाल त्यही समय नै चर्चित भइसकेका थिए। उनी त झन् भइहाले चलेका विद्रोही। एक दिन मंगलमानले दुर्गालाललाई ढल्कोस्थित दलित समुदायको बस्तीमा लिएर गएछन्। एउटा घरमा दुवैले नेवारी परिकार छोयला, कचिला खान थालेछन्।

त्यही समय दुर्गालाललाई लघुशंकाले च्यापेछ र बाहिर निस्किएछन्। बाहिर निस्किँदा त्यो घरमा भैंसीको करङ देखेछन्, उनले। त्यो समय भैंसीको करङले दिसा-पिसाबले भरिएको भाँडो उठाइने गरिन्थ्यो र त्यो कार्य दलित समुदायका मानिसहरूले मात्रै गर्ने गर्थे। दुर्गालालले चाल पाइहालेछन्- “मलाई कुनै च्यामे, पोडेको घरमा ल्याएछन्।”

छोयला, कचिला खान छाडेर दुर्गालाल बेपत्ता।

यस्ता अनेक छन्, किस्सा। मंगलमानसँग जोडिएका। त्यही भएर त, कृष्णचन्द्रसिंह प्रधानले उपाधि दिए- “अछुतहरूको प्रिय नेता”।

राजनीतिमा सधैँ असफल
जेल त मंगलमानका लागि पानीपधेंरो नै। २००४ सालदेखि २०१७ सालसम्मका करिब १३ वर्षको अवधिमा उनी १८ पटक जेल गए। कहिले खुर्सानी काण्ड हुन्थ्यो, कहिले के काण्ड। ती सबैमा अग्रपंक्तिमा रहेर विरोध जनाउन थालिहाल्थे। जहिल्यै सरकारको नजरमा विद्रोही।

दुइटा निर्वाचनमा पनि भाग लिए। दुवैमा असफल। २००९ सालको काठमाडौं नगरपालिकाको निर्वाचनमा वडामा प्रत्यासी थिए। हारे उनले, जिते सहाना प्रधानले। २०१५ सालको आमनिर्वाचनमा भाग लिए पनि पराजयको गन्ध पाएपछि आफ्नो बाक्सा घोप्ट्याएर भाग लिएनन्। त्यो बेला उम्मेदवारले बाक्सा घोप्ट्याउन पाइने सुविधा थियो।

राजनीतिबाहेक अरू गतिविधिमा पनि सक्रिय थिए उनी। त्यो बेला भारतीय पक्षको व्यवहार देखेर आजित भएका उनले आफूलाई प्रखर भारत विरोधीका रुपमा मात्र उभ्याएनन्, नेपाल-पाकिस्तान मैत्री संघ खोलेर क्रियाशीलता पनि जनाए। हुन पनि त्यो बेला नेपालको मन्त्रिपरिषद्को बैठकमा भारतका राजदूत नै सहभागी हुन्थे। “बढ्दो भारतीय प्रभुत्वप्रति उनी बेलाबेलामा आक्रोश पोखिरहन्थे।” उनका कान्छा भाइ चन्द्रमान प्रधान सम्झिन्छन्।

राजनीति क्षेत्रमा मात्र होइन्, सामाजिक रुपमा पनि उनले विद्रोहका झिल्का बाल्थे, कहिलेकाहीं। आफ्नै काकाको घरको एउटा कोठामा हरिजन (दलित समुदाय) का बालबालिकालाई पढाउनका निम्ति उनले स्कुल खोलेका थिए र पढ्थे पनि केही दलित बालबालिका। एक पटक भने उनका काकाले त्यही कोठामा पुरेतलाई बोलाएर श्राद्ध लगाइरहेका थिए। श्राद्ध सकिने बेला पुरेत मात्र भएको बेला उनले कोठामा ताल्चा लगाएर पुरेतलाई थुनिदिए। पुरेत्याइँप्रतिको विमतिका कारण उनले यस्तो कदम चालेका थिए।

विद्रोह त उनको नसा-नसामा प्रवाहित थियो नै, सामाजिक सुधार र बौद्धिक क्रियाकलापमा पनि उत्तिकै सम्बद्ध। “भूगोलपार्क”, “ममता” र “नेपाली” दैनिकका सम्पादक नै भए। हरिजन स्कुल स्थापना गरे। नेपाल समाजसुधार संघका अध्यक्ष भए। समाजसुधारमा लाग्नुपर्छ भन्ने चेत र ज्ञानको ढोका २००४ सालमा राणाविरोधी आन्दोलनमा जेल पर्दादेखि नै खुलेको थियो उनको। इतिहासकार भुवनलाल प्रधानले “नेपालमा जनक्रान्ति” नामक पुस्तकमा पनि उनको योगदानलाई यसरी अंकित गरेका छन्, “वि.सं. २००४ साल असारमा मंगलमान प्रधान “नेपाली”, मदनलोचन सिंह, नाति नापित, नूतनबहादुर थपलियाहरूका प्रयासबाट अछुत छात्रछात्राहरूका लागि एउटा छुट्टै स्कुलको संस्थापन भयो। नेपाल ज्योत्सना विद्यालय भनेर नामकरण गरिएको यस स्कुलको उद्घाटन नर्स सावित्री श्रेष्ठबाट भएको थियो। यो स्कुल तःननी स्थित मंगलमान प्रधान “नेपाली” कै काकाको घरमा चलाइएको थियो। यसमा दुई जना शिक्षक अछुत नै थिए- गोविन्दमान धोवी (मनोरञ्जन धोवी) र उनका भाइ।”

इतिहासले बिर्सनै लागेको तिनै पात्र, प्रजातन्त्र ल्याउन लडेका तिनै पात्र, सातदेखि सत्रसम्मका राजनीतिक विसंगतिका साक्षी तिनै पात्र, दलित समुदायमा चेतनाको बिगुल बजाउने तिनै पात्र, विद्रोहका अत्युत्तम नमुना तिनै पात्र। लाग्छ, उनी इतिहासको गर्तमा पुरिनु हुँदैन। कवि रिजालले यी पंक्तिहरूलाई फेरि सम्झिँदै-

“तर मंगलमान
भगवतीको मूर्ति चोरिँदा रोयो
राजर्षि महाराज
अम्लेख हुँदा पनि रोयो
राजाको स्वर्गवास हुँदा रोयो
गंगालाललाई गोली हान्दा पनि रोयो
तर मंगलमान मर्दा कोही रोएनन्
उनको निधनलाई असामयिक कसैले भनेनन्
अखबारमा फोटो पनि छापिएन
दर्ता चलानी फेरि पनि भई नै रह्यो
स्टोरको काम फेरि पनि चलिनै रह्यो
जन्म मृत्युको अभिलेखमा
बारम्बार मंगलमान काटियो
बारम्बार मंगलमान थपियो
मलामीहरू रुँदै खाली खुट्टा हिँडिरहेछन्
गुठियारहरू एकहोरो मृत्युको बाजा बजाइरहेछन्।

प्रत्येक दिन म सोध्दछु-
को मर्‍यो ?
उत्तर आउँछ मंगलमान
अर्को दिन फेरि सोध्दछु-
को मर्‍यो ?
उत्तर आउँछ मंगलमान…।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved