नेपाल-ओमान खेल समीक्षा

बलरको जादूले ओमानमाथि नेपाल हाबी, विश्वकप यात्रामा अर्को पाइला

बलरको जादूले ओमानमाथि नेपाल हाबी, विश्वकप यात्रामा अर्को पाइला

काठमाडौं। ओमान टुरअघि नेपालका प्रशिक्षक, कप्तान र समर्थक सबैको एउटै धारण थियो- यो पटक नेपालको बलिङ केही कमजोर छ भने ब्याटिङ सुधारिएको छ।

तर टी-ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा ओमानविरुद्ध सर्वोत्कृष्ट बलिङ प्रदर्शनले नै खेल जितायो भने ब्याटिङ सम्झनलायक रहेन। निकै खराब ब्याटिङका कारण खेल जित्नै लगभग असम्भव प्रायः देखिएको थियो। ११७ रनको सामान्य लक्ष्यलाई प्रशंसनीय बलिङले भेट्टायो।

यो खेलमा नेपालको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको बलिङमा देखाएको आत्मविश्वास नै रह्यो। ११७ रनको लो स्कोर पनि रक्षा गर्न सक्ने आत्मविश्वासपूर्ण बलिङ नै ओमानलाई लगातर दोस्रो टी-ट्वान्टी खेलमा हराउन नेपाल टिमको प्रमुख कडी बन्यो।

११८ रनको सामान्य विजय लक्ष्य पछ्याएको ओमानविरुद्ध नेपालले ३९ रनको जित हात पार्‍यो। ओमानलाई १७ ओभरमा ७८ रनमा नै अल आउट गर्न नेपालले ब्याटिङमा जति खराब प्रदर्शन गरेको थियो, बलिङमा ठिक उल्टो शानदार खेल देखायो।

आफ्नो कम स्कोर डिफेण्डका लागि पहिलो ओभरदेखि नै आक्रामक बलिङमा उत्रेको नेपालसामु ओमानको शुरुआत पनि ठ्याक्कै नेपालजस्तो नै भयो। नेपालका बलरहरू चम्केपछि आठौं ओभरमा मात्र ३३ रन जोड्ने क्रममा ओमानका आधा ब्याटरहरू क्रिजबाट फर्किसकेका थिए।

ओमानको इनिङको तेस्रो बलमा नै कमल सिंह ऐरीले ओपनर कश्यप प्रजापतीलाई डक आउट गरे। लगत्तै अर्को ओभरको पाँचौं बलमा जितेन्द्र मुखियाले आयन खानलाई पनि विकेट किप्परद्वारा आउट गराएपछि ओमानले मात्र सात रनमा दुई विकेट गुमाएको थियो।

नेपाली बलरले लगातार विकेट खसालिरहेपछि ओमानको खेल आफैं दबाबमा पर्‍यो।

छैटौं ओभरमा नेपालका थ्रीडी खेलाडी दीपेन्द्रले ओमानका आक्रमक ओपनर जतिन्दर सिंहलाई डाइरेक्ट हिट मार्फत उत्कृष्ट रन आउट गराए। जसकारण ओमान पावर प्लेमा तीन विकेट गुमाउँदै २५ रनमा समेटियो।

यसपछि पहिलो इनिङमा नेपालको ब्याटिङ अर्डर ढले जस्तै ओमानले पनि लगातार तीन ओभरमा तीन विकेट गुमायो। सातौं ओभरमा सन्दीपले खवार अलीलाई बोल्ड आउट गरे।

अर्को ओभरमा दिपेन्द्रले जिसन कप्तान मक्सुडलाई क्याच आउट गराए। त्यस्तै अर्को ओभरमा सोहेब खानलाई जितेन्द्र मुखियाले विकेट किपर आसिफद्धारा क्याच आउट गराउँदा नौ ओभरमा ओमानले मात्र ३३ रन जोड्दा ६ विकेट गुमाइसकेको थियो।

यसपछि ११ औं ओभरको पहिलो बलमा नेपालका विकेट किपर आसिफले ओमानका नसिम खुसीको सजिलो क्याच छोडे। १३ औ ओभरमा सन्दीपलाई नसिमले नै दुई छक्का प्रहार गरेपछि त्यो क्याच ड्रप महँगो पर्नसक्ने देखिएको थियो।

तर पाँचौं बलमा सन्दीपले नसिमलाई बोल्ड आउट गर्दै दुई छक्काको बदला मात्र लिएनन् कि नेपाललाई जित नजिक पुर्‍याएका। ओमानका लागि नसिम एक जनाले मात्र राम्रो ब्याटिङ गर्दै १८ बलमा सर्वाधिक २४ रन जोडेका थिए।

यसबाहेक ओमानका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन लिन सकेनन्।

यसपछि चौधौं ओभरमा दीपेन्द्रले एक विकेट लिए भने १७ औं ओभरमा कमलले ओमानको बाँकी दुवै विकेट झारे। अन्ततः नेपालको कसिलो बलिङसामु शुरुदेखि नै डगमगाएको ओमानको इनिङ ७८ रनमा समेटियो।

कमलले तीन ओभरमा मात्र १५ रन दिएर तीन विकेट लिएका थिए। त्यस्तै दीपेन्द्र र सन्दीपले दुई दुई विकेट झारेका थिए।

यति सानो स्कोर पनि डिफेण्ड गर्दै आकर्षक जित निकाल्न आजको खेलमा नेपालको बलिङसँगै नवकप्तान सन्दीपको कप्तानी पनि महत्वपूर्ण भूमिका रह्यो। यो लो स्कोर डिफेण्डमा उनले जसरी बलरलाई प्रयोग र रोटेसन गरे त्यो तारिफयोग्य छ।

बिर्सन लायक ब्याटिङ

यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निकै खराब प्रदर्शन गर्‍यो। चारदेशीय सिरिजको अन्तिम खेलमा आयरल्याण्डसँगको खेलमा नेपालले जे गल्ती गरेको थियो त्यही यो खेलमा पनि दोहोरियो। यो खेलमा पनि अधैर्य र असंवेदनशील ब्याटिङ गर्दा नेपाल मात्र २० ओभरमा आठ विकेट गुमाउँदै ११७ रनमा समेटिएको थियो।

कुनैबेला नेपाललाई रन जाड्नुभन्दा पनि खेलमा २० ओभरमा टिक्न नै गाह्रो परेको थियो। इनिङभरि नै नेपालको विकेट लगातार यसरी खस्यो कि मानौं हरेक ब्याटरलाई पेभेलियन फर्किने हतारो थियो।

आक्रामक ब्याटिङ टी-ट्वान्टी क्रिकेटको प्रमुख विशेषता हो। तर त्यसो भन्दैमा ब्याटरले खेलमा आफ्नो विकेट पनि जोगाउनुपर्छ भन्ने कुरा भुल्नु हुँदैन। टी-ट्वान्टी क्रिकेट भन्दैमा हरेक बलमा लामो सट खेल्ने छुट ब्याटरलाई हुँदैन। बलरको कमजोर बलमा मात्र बाउण्ड्रीका लागि सट खेल्ने हो।

तर नेपाली ब्याटरहरू, विशेषगरी धेरै आशा गरिएका ओपनिङ जोडीले विष्फोटक ब्याटिङ गरेर ठूलो रनको योगफल बनाउने लोभमा नेपालको इनिङलाई धरापमा पारे।

नेपाली टिमले अनुभवी ब्याटसम्यान शरद भेषावाकरसँगै युवा खेलाडी सागर ढकाल र गुलशन झालाई बेन्चमा राखेर पहिलो रोजाइको टिमलाई मैदानमा उतारेको थियो। ओपनिङमा ठूलो भर गरिएका आशिफ शेख र कुशल भर्तेल दुवै सारै सस्तैमा पेभोलिएन फर्किए भने यसपछि आएका हरेक ब्याटरले उनीहरूकै पदछाप पछ्याए।

पहिलो ओभरको अन्तिम बलमा नै ओपनार आशिफ शेख मात्र चार रन बनाउँदै आउट भए। पहिलो ओभरमा नै विकेट गएपछि दबाबमा आएको नेपालका अर्का ओपनर कुशल पनि तेस्रो ओभरमा नै आउट भए।

ओमानका फाष्ट बलर बिलाल खानले दुवै ओपनरलाई क्याच आउट गराएका थिए। तेस्रो ओभरमा १२ रनमा दुई विकेट गुमाएको नेपालको इनिङलाई समाल्ने जिम्मा अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र उच्च फर्ममा रहेका दीपेन्द्रसिंह ऐरीको काँधमा थियो।

शुरुमै विकेट गुमेपछि आक्रकम खेल खेल्न नसकेको नेपालले ६ ओभरको पावर प्लेमा मात्र ३० रन जोड्न सक्यो। यसपछि सातौं ओभरमा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि १५ रनमा आउट हुँदा नेपालले मात्र ३३ रन जोड्ने क्रममा ३ विकेट गुमाइसकेको थियो।

धरापमा परेको नेपालको इनिङलाई दीपेन्द्रसिंहले जोगाउने आशा थियो। तर उनी पनि नवौं ओभरमा मात्र ११ रन विकेट किपरद्वारा क्याच आउट भएपछि भने नेपाल संकटमा पर्‍यो। मात्र ४० रनमा नवौं ओभरमा नै शुरुआती चार विकेट गुमाएको नेपाललाई अब ठूलो स्कोर जोड्नुभन्दा पनि २० ओभरको पूरै खेल खल्नु नै चुनौती थियो।

१२ ओभरमा मात्र ५५ रन जोडेको नेपालले इनिङले हार्ड हिटर लोकेश बमबाट केही आशा गरेको थियो।

आक्रमक खेल खेल्न माहिर मानिने उनले १३ औं ओभरको पाँचौ बलमा एक छक्का त प्रहार गरे। तर अर्को ओभरको दोस्रो बलमा पनि छक्का हान्न जाँदा उनी क्याच आउट भए। नेपालको १४ औं ओभरमा ६७ रनमा टिमका आधा ब्याटर आउट भए।

यसपछि पनि यो क्रम रोकिएन। विवेक यादव सात र कमल सिंह ऐरी एक रनमै आउट भए। कुनै बेला १०० रनको सँघार तर्न पनि हम्मे पर्ने देखिएको नेपालको इनिङलाई आरिफ शेख र कप्तान सन्दीप लामिछानेले तानेका थिए।

अन्य कुनै पनि ब्याटरले गर्न नसकेको काम आरिफले गरेका थिए र त्यो थियो समालिएको ब्याटिङ। आरिफले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै ३७ बलमा ३८ रन जोडेका थिए। यसपछि फिनिसरको पारी खेलेका कप्तान सन्दीपले मात्र सात बलमा एक छक्का र एक चौकाको रुपमा १६ रनको योगदान दिएका थिए।

खेलमा आरिफले खेलको इनिङले नै उनलाई प्लेएर अफ दी म्याचको उपाधि दिलायो। यी दुईले बनाएको रनले नै दोस्रो इनिङमा नेपाललाई खेलमा डिफेण्ड गर्न सक्नेसम्मको स्कोर बनाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved