कोभिड महामारीले बालबालिकामा मनोसामाजिक विचलन ल्याएको छ

अहिले बालबालिकालाई पढाउने तरिका नै नमिलेको हो। पढाउने तरिका फरक पार्ने बित्तिकै कोभिडका कारण भएको क्षति न्यून गर्न सकिन्छ।

कोभिड महामारीले बालबालिकामा मनोसामाजिक विचलन ल्याएको छ
डा. मीनाक्षी दाहाल

कोभिड महामारीका कारण बालबालिकाको सिकाइमा कस्तो असर पर्‍यो भनेर ललितपुरका केही विद्यालयमा अनुगमन गरेका थियौं। त्यसलाई विश्लेषण गर्दा पायौं, तीन कक्षाका बालबालिकाको सिकाइ स्तर एक कक्षाको जति पनि छैन। गणित र नेपालीमा उनीहरूको सिकाइ न्युन छ।

अनलाइनमा पढ्ने र नपढ्ने बालबालिकाले कति सिके भन्नेबारे मेरो फरक मत छ।

सिकाउने तरिकामा परिवर्तन नल्याउँदासम्म अनलाइन कक्षामा सहभागी भएका बालबालिकाको सिकाइ प्रभावकारी हुन सक्दैन। सिकाइ प्रभावकारी हुन नसक्दा बालबालिका मोबाइलको लतमा फसेका छन्।

अनलाइन कक्षाबाट बालबालिकाले सिक्नुपर्ने र नसिक्नुपर्ने कति सिके भन्न अर्को बहसको कुरा हो।

१२ वर्ष भन्दा मुनिका बालबालिकाले छिटो सिक्छन्। यो उमेरका बालबालिकालाई कक्षाकोठा बाहिर ल्याएर सिक्ने अवसर दिनुपर्छ। यो अभ्यास प्रयोगमा ल्याउन सके सिकाइ प्रभावकारी हुन्छ।

अहिले बालबालिका कक्षाकोठामा बस्न सक्ने अवस्थामा छैनन्। उनीहरू दुई वर्षदेखि स्वतन्त्र जीवन बाँचिरहेका छन्। उनीहरू पढाईमा भन्दा खेलमा बढि केन्द्रित थिए। बन्द कक्षाकोठामा शिक्षकको कुरा सुनेर बस्ने एकाग्रता र धैर्य अहिलेका बालबालिकामा छैन्।  धेरै मनोसामाजिक विचलन आएका छन्।

कोभिड महामारीमा देखियो शिक्षामा सरकारको कमजोरी र असमानता

अहिले कक्षाकोठामा ल्याएर छिटो छिटो पाठ सिकाउने र जाँच लिने अभ्यास झन् ठुलो गल्ती हुन्छ। बालबालिकाको मनोभावना बुझेर सिकाइलाई निरन्तरता दिनुपर्छ। घरायसी समस्या, पढाई, विभिन्न रोगबाट प्रभाबित बालबालिकाको मनोसामाजिक भावनालाई बुझेर बालबालिकामैत्री सिकाइ क्रियाकलाप नबनाए सिकाइको क्षती मात्र नभई मनोसामाजिक बिचलन समेत आउनसक्छ।

बालबालिकालाई मनोसामाजिक विचलनबाट जोगाउनका लागी अभिभावक र शिक्षक एकदम सचेत भएर प्रयोगात्मक सिकाइ तयार पार्नुपर्छ।

कोभिडको पहिलो लहरमा करीब नौ महीनापछि स्कुल खोल्दा साना कक्षाका बालकालिकाले वर्णमाला बिर्से। उनीहरूलाई घोकाइएको छ। अक्षरबाट वर्णमाला सिकाउने तरिका मलाई स्विकार्य छैन। क, का, कि, अ, आ, इ सिकेर यसको प्रयोग कसरी गरिन्छ भन्ने थाहा नहुन्जेलसम्म घोकेर वर्णमाला सिकाउनु हुदैँन।

वर्णमाला शब्दको एक भाग हो। वर्णमालासँग जोडेर खेलाउँदै, चित्रहरू देखाउँदै शब्दहरू बताएर सिकाउँदा सहजै सिक्थे। उनीहरूको पढाई र सिकाइ पनि द्रुत हुने थियो।

कोभिडले खस्कियो स्कुले विद्यार्थीको सिकाइ, पुस्ता नै कमजोर हुने जोखिम

हामीले वर्णमालालाई जोड दियौं तर शब्दलाई ध्यान दिएनौं। शब्दबाट अक्षरमा गयौं भने बालबालिकाले बिर्सिदैनन्। शब्द पढ्न जाने भने पढाइको गति पनि राम्रो हुन्छ।

अहिले बालबालिकाले शब्द त जानेका हुन्छन्। घरमा कुराकानी गर्दा उनीहरूले सुनिरहेका र बोलिरहेका हुन्छन्। बालबालिकाले घरमा जटिल जोडिएको शब्दहरू घरमा बोलिरहेका हुन्छन्।

चारवटा, पाँचओटा अक्षरले बनेका शब्दहरू घरमा कुराकानी गर्दा बोलिरहेका हुन्छन्। त्यसैलाई उनिहरूको सिकाइसँग जोड्नुपर्छ।

कोभिडले शिक्षामा पारेको असरबारे सरकार र विश्वविद्यालय गम्भीर हुनुपर्छ

उनीहरूलाई थाहा भएको शब्दबाट बोल्नुपर्छ। हामी अक्षरमा जान्छौं शब्दमा जादैनौं। जसका कारण बालबालिकाहरूले शब्दलाई अक्षरसँग जोड्न जान्दैनन्। त्यहि भएर अहिलेको सिकाइ ढिला भएको हो।

अहिले बालबालिकालाई पढाउने तरिका नै नमिलेको हो। पढाउने तरिका फरक पार्ने बित्तिकै कोभिडका कारण भएको क्षति न्यूनीकरण गर्न सकिन्छ।

बदलौं सिकाउने तरिका

सिकाइका केहि आधारभुत सिद्धान्त छन्। बालबालिकाले आफै अनुभव र खोज गरेर सिक्नु एक आधारभुत सिद्धान्त हो। उनीहरूलाई यसरी सिक्न सजिलो हुन्छ। त्यसैले बालबालिकालाई खेल्ने खोज गर्ने, अनुभव गर्ने अवसर दिनुपर्छ।

किताब घोकाएर त्यहिबाट प्रश्न गर्ने उत्तर लिने काम मात्र भइरहेको छ। घोकाएको छिट्टै बिर्सिने भए। बच्चालाई जाँगर पनि लाग्दैन। पाठ्यपुस्तक केन्द्रित होइन पाठ्यपुस्तकले दिएको लक्ष्यलाई आधार बनाए सिकाइ सहजीकरण गर्न सकिन्छ।

पाठ्यपुस्तक एउटा नमुना हो। त्यसलाई क्रियाकलापमा ढालेर सिकाउनुपर्छ। बालबालिकालाई रुची र क्षमता हेरेर सिकाउनुपर्छ। सबै बालबालिकाले एकै तरिकाबाट नसिक्न सक्छन्।  उनीहरूको रुची र क्षमतालाई ध्यान दिएर सिकाइ क्रियाकलापमा जोड दिनुपर्छ। उनीहरूलाई अभिनय गर्न लगाउने, कक्षा कोठा बाहिर लगेर विभिन्न वस्तुको प्रयोग गरेर सिकाउन सकिन्छ।

शिक्षा सपार्न शिक्षकलाई अवसर र अधिकार दिनुपर्छ

साना बालबालिकालाई बिषयगत सिकाइभन्दा पनि प्रयोगात्मक सिकाइ गराउनुपर्छ। खेल्दा खेल्दै गणित, विज्ञान, सामाजिक लगायत अन्य विषयहरू सिक्छन्।

यस्ता क्रियाकलाप तयार पार्यौं भने छिटो र प्रभाबकारी हुन्छ। बच्चाहरू पनि रमाएर सिक्छन्।

अहिलेका बालबालिका पढ्न जान्दैनन्, पढ्न जाने पनि एक मिनेटमा जति  पढ्नुपर्ने हो त्यति पढ्न सक्दैनन्।  जसका कारण उनीहरूको पढाई नै मिसगाइड हुन्छ।  बालबालिकाहरू पढाई र सिकाइमा कमजोर हुनुको कारण  पढाउने तरिका नमिलेको हो।

घोकेर पढ्दा जनशक्ति उत्पादन त हुन्छ तर ती दक्ष हुँदैनन्। यस्ता जनशक्तिबाट विकास असम्भव छ। अहिलेको मुख्य चिन्ता नै यही हो। बालबालिका एकदमै कमजोर हुने भए।

यो समस्या समाधान गर्न परीक्षा केन्द्रित भएर घोकाउने परिपाटि बदल्नुपर्छ। पाठ्यपुस्तक भन्दा क्रियाकलापमा आधारित भएर सिकाउनुपर्छ। पढाइ–लेखाइ त हुन्छ नै तर सिर्जनशिलता, धैर्यता, नयाँ सोच र चाहना उनीहरूमा विकास हुन्छ। जुन जीवनभरी चाहिन्छ। त्यसैले पाठ्यपुस्तक र परिक्षा केन्द्रित सिकाइलाई परिर्वतन गरिएन भने यस्तै रहिरहन्छ।

चाहिन्छ बलियो जग

सिकाइ कमजोर भए पनि माथिल्लो तहमा पठाउने परिपाटीले सिकाइको गुणस्तर निकै खस्किएको छ। बालबालिका माथिल्लो कक्षमा त पुग्छन् तर जुन सिकाइको स्तर उनीहरूमा हुनुपर्ने हो त्यो हुन सकेको छैन।

विद्यार्थीको सिकाइ स्तर आवश्यक भन्दा कम हुँदा पनि माथिल्लो कक्षामा उकालिदिँदा उनीहरूको जग नै कमजोर हुन्छ। कमजोर जगले भविष्यमा पनि कमजोर व्यक्ति उत्पादन हुन्छ।

अहिले त बालबालिकाले सिक्न जानेनन् पढ्न जानेनन् भनेर सामान्य रुपमा लिन्छौं। के भयो त सिकिहाल्छन नी भन्ने धेरैको मानसिकता छ। तर यो सामान्य होइन्। माथिल्लो कक्षमा पुग्दा उनीहरूसँग जुन सीप वा क्षमता हुनुपर्ने त्यो हुदैन।

तिम्रा किताब खोइ त?

यस्ता व्यक्तिले राम्रो जागिरको अवसर पाए पनि त्यहाँ सफल हुन सक्दैनन्। त्यसैले विद्यार्थीको सिकाइको जग मजबुत हुनुपर्छ। यो एकदमै महत्वपुर्ण बिषय हो।

सिकाइ भनेको लेखेको अक्षर बुझ्नु मात्र होइन्। सिकाइ भनेको सिर्जनशिलता हो। सिकाइ भनेको विश्लेषण गर्ने क्षमता हो। सिकाइले आफ्नो बुझाईबाट आफ्नो विचार राख्न सक्षम हुनु हो।  अहिलेका बालबालिकाले घोकिरहेका छन् सिकिरहेका छैनन्। उनीहरू रोजगारीमा जाँदा सिकाइस्तर छर्लङ देखिन्छ।

सिकाइ क्रियाकलाप केन्द्रित हुनुपर्छ। सानो कक्षाहरूमा सिकाइ मापदण्ड तयार पार्नुपर्छ।

अहिले दुई खाले बालबालिका देखिन्छन्। एकखाले साधारण सिकाइ नभएका र अर्को खाले आवश्यकता भन्दा बढि सिकाइ भएका बालबालिका छन्। त्यसैले यो उमेरका बालबालिकालाई यति कुरा सिकाएकै हुनुपर्छ मापदण्ड तयार पार्नुपर्छ।

त्यस्तै क्रियाकलाप केन्द्रित सहयोगी पाठ्यपुस्तकहरू हुनुपर्छ। घोकाउने कण्ठ पार्ने भन्दा पनि शिक्षकहरूलाई सहज होस्। कसरी सिकाउने भन्दा यस्ता खालका क्रियाकलाप गर्नुस  भनेर नमुना क्रियाकलाप सहितको पाठ्यपुस्तकहरू चाहिन्छ।

स्थानीय तहले अनुगमन बलियो गरिदियो भने समस्या हुने थिएन्।

(काठमाडौं विश्वविद्यालयबाट ‘ओरल ल्यांग्वेज एण्ड अर्ली लिटरेसी’मा विद्यावारिधी गरेकी डा. दाहाल शिक्षाविद् हुन्। यो लेख भागिरथी पण्डितसँगको कुराकानीमा तयार पारिएको हो।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved