महामारीमा जीवन

तिम्रा किताब खोइ त?

पहिल्यैदेखि शिक्षा क्षेत्रमा रहेको असमानतालाई कोभिड महामारीले बढाउँदै लगे पनि सामुदायिक विद्यालयले सम्भावना खोज्न कुनै कसर बाँकी राखेका छैनन्। तर विकल्प सीमित छन्, असर गहिरा।

तिम्रा किताब खोइ त?

काठमाडौं। “तिम्रा किताब खोइ त ?”

प्रश्न सुनेर उनले टाउको अलिकति उठाए। भित्तामा ठोकिराखेको किलामा एउटा निलो रङको झोला झुन्डिरहेथ्यो। त्यतैतिर औंलाले इसारा गर्दै भने, “ऊ त्यहाँ छ।”

झोला एक्लै थिएन। त्यसमाथी उनका बुबाको जिन्स पाइन्ट, टिसर्टहरू पनि झुन्डिरहेथे। आफूमाथि थोपरिएको भार थाम्न झोलालाई हम्मेहम्मे भएको प्रष्टै देखिन्थ्यो। ठाउँठाउँमा फाटेको झोलाको एउटा प्वालबाट सुन्तला रङको गाता भएको कापी देखिइरहेथ्यो।

किताबबारे सोधपुछ भएपछि उनकी आमाले किलाबाट निकालेर झोलालाई खाटमा राखिदिइन्। अनि एक–एक गर्दै झोलाबाट सामान निस्कन थाले। त्यसभित्र किताब भन्दा बढी अरू सामान रहेछन्– प्याड, न्याप्किन, भित्रीवस्त्र, घरायसी सामान। अटाउनेजति सबै।

सबै सामान हटाएपछि अन्तिममा किताब–कापीको पालो आयो। किताबका गाता खुइलिइसकेका थिए। पानाहरू पनि ठाउँ–ठाउँबाट छुट्टिन लागेजस्तै देखिन्थे। प्रश्न गरेँ, “यी किताब नछोएको कति भयो बाबु ?”

प्रश्न सुनेर ११ वर्षे हरिकृष्ण श्रेष्ठले सानो स्वरमा महीनाहरूको नाम लिँदै औंला भाँच्दै गनेर भने, “चार/पाँच महिना भयो होला।”

“यहाँसम्म पढेको छु। त्यसपछि पढेको छैन”, भन्दै गर्दा उनका औंला अंग्रेजी विषयको किताबको पृष्ठ संख्या ४८ मा थियो। २०७७ माघमा विद्यालय खुलेका बेला दुई महिना श्रेष्ठले यी किताब पल्टाएका थिए। लगातार पढ्न पाएको भए उनी अहिले कक्षा चारका विद्यार्थी हुनेथिए। मेधावी विद्यार्थी थिए उनी। ३० भन्दा बढी विद्यार्थीलाई उछिन्दै उनी कक्षामा दोस्रो भएर कक्षा तीनमा पुगेका थिए। त्यसपछि उनले कक्षा चढेका त छैनन् नै, पढ्न पनि पाएका छैनन्। कोभिड–१९ का कारण उनको विद्यालयमात्र होइन पढाइ पनि बन्द भएको छ।

ललितपुरको हरिसिद्धिस्थित न्यू भैरव इँटा उद्योगमा काम गर्ने बा–आमासँग त्यहीँको झुप्रोमा बस्ने हरिकृष्ण श्रेष्ठको दिन अचेल खेलेरै बित्छ। उनलाई आफू पढिरहेको ‘श्री हरिसिद्धी माध्यमिक विद्यालय’मा पढाइ भएको छ, छैन पनि थाहा छैन। ८ वर्षअघि उनका बा–आमा बाराको पथलैयाबाट यहाँ काम गर्न आएका उनका बा–आमालाई विद्यालयसम्म पुगेर छोराको पढाइबारे बुझ्न फुर्सद मिलेको छैन। न त उनका शिक्षकहरू नै उनलाई खोज्दै आइपुगेका छन्।

“पढ्न त मन लाग्छ तर स्कुल नै छैन”, अलि लजालु स्वभावका श्रेष्ठ भन्छन्, “पढेर आर्मी हुने मन छ।”

“पढाइ भइरहेको छ, छैन नै थाहा छैन, स्कुलले पनि केही खबर गरेको छैन,” हरिकृष्णकी आमा उमा श्रेष्ठ भन्छिन्, “अनलाइन कक्षा पढ्न के के चाहिन्छ, कसरी पढाउने भन्ने पनि केही थाहा छैन। भिडिओ चल्ने मोबाइल पनि छैन। अब बिस्तारै राम्रो विद्यालय खोजेर पढाउनुपर्ला।”

सबै विद्यार्थी भने हरिकृष्णजस्तो पढाइबाटै वञ्चित भने भइसकेका छैनन्। सोही इँट्टाभट्टामा काम गर्ने दिलमाया थापाका छोरा र छोरीको पढाइ भने रोकिएको छैन। महामारीका कारण केही महीना पढाइ रोकिए पनि उनीहरूको कक्षा नियमित छ। नजिकैको निजी विद्यालय ‘विश्व विद्या मन्दिर’मा कक्षा आठमा छोरा काशिराम थापा र कक्षा तीनमा छोरी केशरी थापा अध्ययनरत छिन्। सन्तानको पढाइलाई सुविधा होस् भनेर दिलमायाले आफू बस्ने टहरोमा ‘वाइफाइ’ जोड्ने लगाएकी छन्। बर्खा लागेपछि भट्टाको काम रोकिएको छ। कामसँगै कमाइ पनि रोकिएको छ तैपनि विद्यालयले उनीहरूको समस्या बुझेको छ।

“शिक्षकहरू घरमै आएर पैसा भनेको सके तिर्नु, नसके पछि भएको बेलामा तिर्नु, तर बच्चाहरूको पढाइ चाहिँ बन्द नगर्नुहोला भन्नुभएको छ,” दिलमाया भन्छिन्, “विद्यालयमा २५ हजार तिर्नुछ, बिस्तारै कमाएर तिर्छु।”

सोही विद्यालयमा पढ्ने ११ वर्षे सरु बुढामगर र उनका दाईहरूको भने घरमा मोबाइल नभएकैले पढाइ छुटेको छ। “घरमा भिडिओ हेर्न मिल्ने मोबाइल जम्मा एउटा छ, त्यो पनि आमा काममा जाँदा लिएर जानुहुन्छ,” सरु भन्छिन्, “पढ्न त धेरै मन लाग्छ, तर पढ्नै पाएका छैनौँ।”
सरुका बुवा गणेश बुढामगर भने आर्थिक अभावकै कारण सन्तानको पढाइ रोकिएको बताउँछन्। “हामीसँग पैसा नै छैन, सित्तैमा कसैले पढाइदिँदैन,” उनी भन्छन्, “त्यसैले सबैको पढाइ रोकिएको छ।”

सम्भावना खोज्दै सामुदायिक विद्यालय

कोभिड महामारीका कारण भौतिक कक्षाहरू बन्द भएपछि शिक्षा प्रवाहका माध्यम मोबाइलमा साँघुरिन पुग्यो। नीजि विद्यालयले केही समयपछि नै इन्टरनेटको माध्यमबाट कक्षा सुचारु गर्न थाले। तर सामुदायिक विद्यालयका लागि त्यो विकल्प सहज हुन सकेन।

“२०७७ को बैशाख र जेठ त पुरै लकडाउनमा वित्यो, असारबाट सरकारले भर्चुअल प्रविधिबाट पठनपाठन सुरु गर्न निर्देशन दियो, नगरपालिकाले शिक्षकलाई तालिम पनि दियो,” चाँगुनारायण नगरपालिका–७ को ‘बाल्मिकी आधारभुत विद्यालयका प्रधानाध्यापक हेमन्त सिटौला सुनाउँछन्, “तर हामीकहाँ पढ्ने अधिकांश विद्यार्थी डिभाइस र इन्टरनेटको पहुँचबाट टाढा थिए, त्यसैले त्यतिबेला अनलाइन कक्षा चलाउन सम्भव नै भएन।”

अनलाइन कक्ष सम्भव नभएपछि विद्यालयले विद्यार्थीलाई विद्यालयमै बोलाएर गृहकार्य दिने गर्न थाल्यो। तर त्यो शिक्षण प्रभावकारी हुन सकेन। आफ्नो विद्यालय पछि पर्ने भएपछि विद्यालयका शिक्षक र व्यवस्थापन समितिले नै अनलाइन कक्षा चलाउने निर्णय गरेको प्रधानाध्यापक सिटौला सुनाउँछन्।

तर सबै विद्यार्थी इन्टरनेट र मोबाइलको पहुँचमा छैनन्। अहिले पनि विद्यालयका २५ प्रतिशत मात्रै विद्यार्थीहरू त्यस्तो सुविधाको पहुँचमा छन्। ७५ प्रतिशत विद्यार्थीसँग मोबाइल र इन्टरनेटको सुविधा नभएको प्रधानाध्यापक सिटौला बताउँछन्। त्यसको पनि विकल्प खोजे उनीहरूले।

“यसरी विद्यार्थीको पढाइ बिग्रन्छ भन्ने सोचेर हामीले इन्टरनेट र मोबाइल हुनेलाई अनलाइनमा र नहुनेलाई विद्यालयमै भौतिक दुरी कायम गरी पढाउन थाल्यौँ,” उनी भन्छन्, “बिहान १० बजेदेखि १ बजेसम्म विद्यालयमा भौतिक दूरी गरी वर्क सिट बाँड्छौँ, त्यसपछि अनलाइन कक्षा पढाउँछौँ।”

ललितपुर महालक्ष्मी–४ इमाडोलस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयले त विद्यार्थीलाई अनलाइन कक्षा पढ्न सहज बनाउन दातासमक्ष हात नै फैलाएको छ। ‘के हजुरहरूसँग प्रयोगमा नभएको स्क्रिनटच मोबाइल छ ? के त्यो मोबाइल कसैलाई दिएर सहयोग गर्न चाहनुहुन्छ ?’– सामाजिक सञ्जालमा विद्यालयको यस्तो अनुरोध देखेर केही दाताले केही जेहेन्दार तथा विपन्न विद्यार्थीलाई मोबाइलसमेत दिएका छन्।

विद्यालयका प्रधानाध्यापक एक बहादुर भण्डारीका अनुसार भौतिक कक्षा सहज नभएपछि अनलाइन माध्यम अपनाइयो। तर अधिकांश अभिभावक न्यनू आयस्रोतका छन्। “जसले गर्दा कैयौँ विद्यार्थीहरू पढ्न पाउने अधिकारबाट वञ्चित भएका हुन पुगेका छन्,” उनी भन्छन्, “त्यस्ता अभिभावक र विद्यार्थीलाई हालको महामारीको अवस्थामा सिकाइ सहजीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका पूर्वविद्यार्थीहरू, शुभचिन्तकहरू, शिक्षाप्रेमी, समाजसेवीलगायत सम्पूर्ण फेसबुकका साथीहरूमाझ सहयोगको अपेक्षा गरेका हौँ।”

काठमाडौं महानगरपालिका–४ स्थित बाँसबारी माध्यमिक विद्यालयको पनि २५ प्रतिशत विद्यार्थी इन्टरनेट र मोबाइलको पहुँचबाट टाढा भएको प्रधानाध्यापक अनिल कुमार झा बताउँछन्। त्यस्ता विद्यार्थीलाई विद्यालयमै बोलाएर पढाउने गरेको उनले जानकारी दिए।

प्रधानाध्यापक झाका अनुसार कक्षा १ देखि १० सम्म ५८० जना विद्यार्थी छन् भने कक्षा ११ र १२ मा थप १४० जना। सबै विद्यार्थीलाई पढाउन मिल्ने गरी गतवर्ष विद्यालयले प्रदेश सरकारको १५ लाखको लगानीमा कम्प्युटर र प्रोजेक्टर किनेर व्यवस्थापन गरेको थियो। अहिले सबै शिक्षकको टेबलमा नेट र डेक्सटप जोडिएको छ। गतवर्ष असारमा शिक्षकहरूलाई २० दिनको तालिम पनि दिइएको थियो।

बालबालिकाका अभिभावकलाई पनि तीन चरणमा मोबाइलबाट कक्षामा जोडिन तालिम दिएको उनी बताउँछन्। शुृरूमा एक घण्टाको कक्षा भए पनि विद्यार्थीको मोबाइल धेरै तात्न थालेपछि ५० मिनेटको गराइएको उनले बताए।

धेरै विद्यार्थीको घरमा वाइफाइको सुविधा नहुँदा डाटाबाट जोडिन परेको उनी बताउँछन्। “डाटाबाट जोडिन पर्दा विद्यार्थीको खर्च बढेको छ। सरकारले सस्तो, सुलभ डाटा पाउने गरी नीति बनाउन जरुरी थियो”, प्रधानाध्यापक झाको गुनासो छ। भन्छन्, “विद्यालयमा पढ्ने ३० प्रतिशत विद्यार्थीहरू न्यून वर्गका छन्। तर एकछाक खाएर भए पनि बच्चाको शिक्षामा लगानी गर्ने अभिभावक पनि छन्,” उनी भन्छन्।

सबैभन्दा गाह्रो त अरूको घरमा काम गर्न बसेका विद्यार्थीलाई परेको छ। उनीहरूका निम्ति मोबाइल किनिदिन अनुरोध गर्दा काममा राख्नेहरूले चासो नदिएको प्रधानाध्यापक झा सुनाउँछन्। “शुरूमा त्यस्ता विद्यार्थीलाई डिभाइस दिनुपर्छ भनेर किनिदिएनन्,” उनी भन्छन्, “कतिलाई फकायौँ, कतिलाई थकायौँ। त्यसपछि धेरैले डिभाइस किनिदिए। तै पनि डिभाइस किन्न नसक्नेहरूलाई विद्यालयमै बोलाएर छुट्टै कम्प्युटरमा राखेर पढायौँ।”

सरकारसँगै छैन तथ्यांक

शहरी क्षेत्रका केही सामुदायिक विद्यालयका विद्यार्थी बाहेक अन्य क्षेत्रका अधिकांश विद्यार्थी गुणस्तरीय शिक्षाको पहुँच भन्दा बाहिर रहेको मार्टिन चौतारीका अनुसन्धाता देवेन्द्र उप्रेतीको विश्लेषण छ। उप्रेती सहितको संलग्नतामा अहिले मार्टिन चौतारीले कोभिडले सामुदायिक विद्यालयको शिक्षामा पारेको प्रभावबारे अध्ययन गरिरहेछ।

उप्रेतीका अनुसार उक्त अध्ययनका क्रममा ८० भन्दा बढी विद्यालयका प्रधानाध्यापक र विद्यार्थीहरूसँग अन्तरक्रिया भएको छ। “ती अन्तरक्रियाहरूले झण्डै ८० प्रतिशत सामुदायिक विद्यालयमा वैकल्पिक शिक्षाका रुपमा अपनाइको अनलाइन कक्षाहरू प्रभावकारी रुपमा सञ्चालन नभएको देखाएका छन्” उप्रेती भन्छन्।

उप्रेतीका अनुसार कतिपय विद्यालयसँग पूर्वाधार नै छैन भने अधिकांश विद्यार्थी अनलाइन कक्षाका लागि आवश्यक न्यूनतम सामग्री पनि छैन। त्यसरी शिक्षाको पहुँचबाट टाढा हुन बाध्य विद्यार्थी कति छन् भन्ने तथ्याक नेपाल सरकारको ‘शिक्षा तथा मानव स्रोत विकास केन्द्र’सँग पनि छैन।
केन्द्रका निर्देशक रामचन्द्र शर्माका अनुसार यसवर्ष सामुदायिक विद्यालयहरूको शिक्षा सम्बन्धी जानकारी लिनको लागि ‘एकीकृत शैक्षिक व्यवस्थापन सुचना प्रणाली’ बनाइएको छ।

“हामीले यो प्रणाली विद्यालयहरूलाई पठाइसकेका छौँ, १५ भदौसम्म विद्यालयहरूले अनलाइनमार्फत् विवरण भरेर पठाउनेछन्”, उनी भन्छन्, “त्यसमा कसरी कक्षा सञ्चालन भइरहेको छ, प्रभावकारिता कति छ र कति विद्यार्थी यसबाट लाभान्वित छन् भन्ने उल्लेख हुनेछ। त्यो विवरण मूल्यांकन सार्वजनिक गर्नेर्छाैँ।”

सरकारले एकातिर तथ्यांक तयार पार्नै ढिला गरिरहेछ भने सार्वजनिक गर्ने तथ्यांक पनि प्रश्नरहित नहुने अनुसन्धानता देवेन्द्र उप्रेतीको टिप्पणी छ।

“अधिकांश विद्यालयमा अनलाइन कक्षा भएको छ, छैन भनेर सोध्दा प्रभावकारी भइरहेको छ भन्छन्, तर वास्तविकता अर्कै भेटिने गरेको छ”, उप्रेती सुनाउँछन्, “डिजिटल साक्षरता भएका शिक्षक निकै कम छन्। कतिपय शिक्षकहरू इमेल समेत चलाउन नजान्ने छन्। भर्चुअल कक्षामा गणित, विज्ञान लगायत विषय पढाउन गाह्रो भइरहेको छ। प्रावि, नर्सरी तहका विद्यार्थीलाई त कक्षामा तान्नै मुश्किल भइरहेको छ।”

बढ्न सक्छ ड्रपआउट दर

कोभिडका कारण शिक्षा प्रवाहमा सिर्जना भएका यस्ता समस्यालाई बेलैमा सम्बोधन गर्न सरकारले ढिलाइ गरे विद्यार्थीहरूमा नकारात्मक असर पर्न सक्ने उप्रेतीको ठम्याई छ।

“लामो समय विद्यार्थीहरू शिक्षाबाट बञ्चित हुँदा पढेको पनि बिर्सने वा पढाइमा मन नलाग्ने हुँदो रहेछ,” उनी भन्छन्, “यसले माथिल्लो कक्षामा पढ्ने छात्राहरूको संख्यामा भारी गिरावट आउन सक्छ।”

त्रिभुवन विश्वविद्यालयका पूर्व–उपकुलपति एवं शिक्षाविद् केदारभक्त माथेमा पनि कोभिडकै कारण विद्यालयमा ‘ड्रपआउट’ (बीचैमा पढाइ छाड्ने) हुने विद्यार्थीको संख्या बढ्न सक्ने बताउँछन्।

“यो नेपालको मात्रै चिन्ता होइन,” उनी भन्छन्, “विद्यालयबाट लामो समय टाढा हुने वित्तिकै विद्यार्थीको ध्यान पढ्न भन्दा अन्य कुरामा बढि लाग्न सक्छ। त्यसैले विश्व समुदायमा नै ड्रप आउट हुने विद्यार्थीको संख्या बढ्नेमा चिन्ता छ।”

पहिलेदेखि नै पहुँच वा पूर्वाधारका कारण नेपालको सामुदायिक शिक्षा क्षेत्रमा रहेको असमानताको खाडललाई कोभिडले झनै गहिरो बनाउन मद्दत गरेको उनको ठम्याई छ। तर यस्तो असमानता घटान सरकारले कुनै कदम नचालेकोमा उनको गुनासो छ।

“अहिले त शिक्षा क्षेत्रमा पनि संघीयता आएको छ, तर कोभिडले थिलथिलो बनाएको शिक्षा क्षेत्र सुधार गर्न कुनै प्रभावकारी योजना बनेको देखिएको छैन,” शिक्षाविद् माथेमा भन्छन्, “लथालिंग बनेको शिक्षा सुधार गर्न काम गर्ने त अहिले हो नि। तर मन्त्रालयले केही गरिरहेको छ जस्तो लाग्दैन। मन्त्रालयले नै शिक्षाको बारेमा नसोचे, कसले सोच्छ ?”

‘महामारीमा जीवन’ शृंखलाः

१. जिन्दगी बिथोलिदियो महामारीले, दुःखमा झन् सास्ती दियो सरकारले

२. दुःखका साथी भएनन् राजनीतिक दल


Comment

One thought on “तिम्रा किताब खोइ त?

  1. स्टोरी गज्जव लाग्यो। तर, प्रुफमा धेरै ठाउँमा मिस्टेक छ। बालकको आँखाबाट फिचर लेखिएको सुन्दर छ सुनिता जी। तर, सम्पादनको काममा अलि अल्छि गरेको जस्तो देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved