सोलुखुम्बु । एक गाउँपालिका एक खेल मैदानको अवधारणअनुसार सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाले रंगशाला निर्माणको काम अगाडि बढाएको छ। स्थानीयबासी र गाउँपालिकाको समन्वयमा करिब २ सय ७० रोपनी भन्दा बढि जग्गामा रंगशाला निमार्ण भइरहेको प्रदेश सांसद् बुद्धिकुमार राजभण्डारीले बताए।
स्थानीय जनताले उपलब्ध गराएको जग्गामा रंगशाला निमार्णका लागि गाउँपालिकाले डिपिआर गरेको उनले बताए। पालिकाकाले तयार पारेको डिपिआरलाई प्रदेश सरकारले रकम विनियोजन गरेर पूर्णता दिने प्रदेश सांसद् राजभण्डारीले बताए।
रंगशाला निमार्णका लागि स्थानीयले निजि जग्गा निशुल्क उपलब्ध गराएका छन्। करिब ३५ घर धुरीले उपलब्ध गराएको जग्गामा अहिले रंगशाला निमार्णको काम भइरहेको छ।
पछिल्लो समय खेलकुदबाट नेपालले विश्वमा चर्चा कमाईरहेको भन्दै खेलकुद विकासका लागि आफ्नै इच्छामा रंगशाला निमार्णका लागि जग्गा उपलब्ध गराएको स्थानीय रुपेश राई र खासबीर खालिङ राईले बताए।
२ सय ७० रोपनी भन्दा बढी क्षेत्रफलमा निमार्ण हुन थालेको रंगशालामा फुटबल मैदान, एथ्लेटिक्स ट्रयाक, भलिबल मैदान र ब्याडमिन्टन कोर्टसमेत रहने गाउँपालिका अध्यक्ष बुद्धि किरण राईले बताए ।