मन्त्री रेणु यादवको अभिव्यक्ति : भीडन्तको उक्साहट

मन्त्री रेणु यादवको अभिव्यक्ति : भीडन्तको उक्साहट

काठमाडौं । भौतिक योजनामन्त्री तथा जनता समाजवादी पार्टीकी नेतृ रेणु यादवले बुधवार सीके राउतलाई लक्षित गर्दै ‘गौर काण्ड’ दोहोर्‍याउने चेतावनी दिएपछि मधेशमा भीडन्तको भय मडारिएको छ।

मधेशमा सक्रिय अधिकारकर्मी र विश्लेषकले उक्त अभिव्यक्तिले फेरि त्रास निम्त्याएको बताएका छन्। पुराना पत्रकार एवं उपप्राध्यापक विजय मिश्र यादवको अभिव्यक्तिले फेरि १५ वर्षअघि जस्तै हिंसात्मक घटना हुने त होइन भन्ने त्रास उत्पन्न गरेको बताए।

“दुवैथरीका अभिव्यक्ति र गतिविधिले फेरि मधेशमा हिंसा र भीडन्त आशंका जन्माएको छ”, उनले नेपालभ्यूजसँग भने, “सीके राउतको जनमत पार्टीले किसानको मुद्दा उठाइरहेको बेला ती मुद्दा सुल्झाउनेतिर नलागी भीडन्त रोज्दा राजनीतिक रूपमा जसपालाई अप्ठेरो पर्नसक्छ।”

मधेशका अधिकारकर्मी रवि ठाकुर पनि रेणु यादवका अभिव्यक्ति गलत भएको बताउँछन्। ०६३ मा भएको गौर घटनादेखि निरन्तर मधेशका आन्दोलनलाई नजिकबाट हेरेका ठाकुर भन्छन्, ‘मधेश विस्तारै हिंसाका पीडा भुल्दै थियो। यादवका अभिव्यक्तिले पुनः जे पनि हुनसक्ने शंका उब्जाइदिएको छ।’

जसपा–जनमत आमनेसामने

सीके राउत पृथक् मधेशको मुद्दा बोकेका अतिवादी थिए। यसअघिको ओली नेतृत्वको सरकारसँग सम्झौता गरेर राउत मूलधारको राजनीतिमा फर्किन तयार भए। अहिले उनका गतिविधि विशुद्ध आउने चुनावकेन्द्रित छन्। मधेशका जनताको आकर्षणमा कसरी बस्ने भन्ने मुल ध्ययेले हिंसामुखी प्रदर्शनहरू समेत गर्दै आएका राउत चुनावी राजनीतिबाट आफूलाई अगाडि ल्याउन चाहन्छन्।

यस्तै हिंसामुखी गतिविधिबाट मधेशी राजनीतिमा आएको उपेन्द्र यादव समूहलाई राउतका गतिविधिले ‘थ्रेट’ महसूस गराएको छ। रेणु यादवका राउतविरुद्ध हिंसामुखी अभिव्यक्तिले त्यो प्रस्टै देखाउँछ। “सीके राउतको पछिल्लो गतिविधिले मधेशमा नयाँ तरंग देखिएकै हो,” अधिकारकर्मी ठाकुरले भने, “यद्यपि अहिले नै के हुन्छ त्यो भन्न सकिन्न, तर जनमत र जसपा कतै मुठभेडमा जालान् कि भन्ने आशंकाचाहिँ जन्मिएको छ।”

राउतले जनमतलाई आकर्षित गर्ने मुद्दा बोकेको छ। बिउ, मल नपाएका किसान सधैं हैरान छन्। यो अवस्था बुझेका राउतले तिनको मनोविज्ञानलाई आफूतिर तान्न गतिविधि गरिरहेको छ। विश्लेषक विजय मिश्र भन्छन्, “मधेशको हरेक किसानले कतै न कतै घुस खुुवाउनुपरेको छ। तैपनि बिउ,मलसहज पाइरहेको छैन, जो ठूलो समस्या हो। यो समस्यालाई राउतले आफ्नो मुद्दा बनाएको छ।” उनको विश्लेषणमा किसानका मुद्दालाई उठाएर आफनो राजनीतिको ग्राउन्ड बनाउन लागिपरेका राउत र आफ्नो बनेको ग्राउण्डमा अरूले धावा बोलेको देखेर उद्देलित भएको जसपाबीच आमनेसामनेको अवस्था उत्पन्न भएको छ। भन्छन्, “यी दुवै कसले कसलाई कमजोर बनाउने भन्नेमा छन्।”

राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो केही समययता किसानहरूको मुद्दा अघि सारेर मधेशका जिल्लाहरूमा लगातार विरोध गर्दै आइरहेका छन्। किसानसँग सम्बन्धित ११ ओटा आफ्नो माग अघि सारेको राउतले मधेशका जिल्लाहरूमा विरोध कार्यक्रम गर्न स्थानीय तहसम्म समिति नै बनाएर कार्यक्रमहरू गरिरहेको छ।

अक्षम्य अभिव्यक्ति

गत बुधबार यादवले दिएको अभिव्यक्तिले मधेशदेखि काठमाडौंसम्म तरंगित भएको छ। मन्त्री यादवले १५ वर्ष अगाडि रौतहटको गौरमा भएको नरसंहार दोहोरिने चेतावनी दिएपछि त्यसले सबैको ध्यान तानेको हो। बुधबार मन्त्री यादव गौर जाँदै गर्दा राउत नेतृत्वको जनमत पार्टीले उनको विरोध गर्दै बाटोमा अवरोध सिर्जना गरेका थिए। जसवाट आक्रोशित भएका जसपा नेतृ एवं मन्त्री यादव गौरमा हिसांत्मक गतिविधि भडकाउने अभिव्यक्ति दिएपछि त्यसको मधेशदेखि काठमाडौंसम्म विरोध भइरहेको छ।

प्रधानमन्त्री शेरबहदुर देउवामाथि उनलाई बर्खास्त गर्न दबाब बढेको छ। नागरिक समाजका केही अगुवाहरूले सामूहिक रूपमा एक विज्ञप्ति नै जारी गरेर भौतिक योजना मन्त्री रेणु यादवलाई तत्काल बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका छन्। प्रतिपक्षी एमालेका नेताहरूले पनि प्रधानमन्त्रीको मौनताप्रति रोष प्रकट गरेका छन्।

यो रोष किन पनि प्रकट भएको हो भने, १५ वर्षअघि गौरमा तत्कालीन फोरम र माओवादीबीच भीडन्त हुदा सानोतिनो हिंसा होइन, नरसंहारमै मच्चिएको थियो।

७ चैत ०६३ मा रौतहटको गौरमा तात्कालीन फोरम र माओवादीबीच झडप हुँदा २७ जनाको मृत्यु भएको थियो भने ५३ जना घाइते भएका थिए। गौरमा रहेको राइस मिलमा फोरम र माओवादी दुवैले कार्यक्रम राखेपछि दुई पक्षबीच कार्यक्रम गर्ने विवादमा झडप भएको थियो। जसमा तत्कालीन फोरम अध्यक्ष उपेन्द्र यादवसहित १३ नेताहरूप्रति मुद्दा नै दायर भएको थियो। यादवसहित उक्त मुद्दा अझै अदालतमा विचारधीन छ। केही महिनाअघि गौर घटनाका पीडितहरू काठमाडौं आएर आफूलाई न्याय दिलाई दिन आग्रहसँग आग्रह गरेका थिए।

यो पृष्ठभूमिमा यादवको अभिव्यक्ति आपत्तिजनक मात्रै होइन, अक्षम्य छ।

राउत पार्टीका उपाध्यक्ष दीपक साहले बिहीबार साँझ एक विज्ञप्ति निकालेर मन्त्री यादवलाई कारबाही नगरिए त्यसविरुद्ध जनमत पार्टी थप आन्दोलनमा जाने चेतावनी दिएका थिए। यद्यपि मन्त्री यादवले बिहीबार नै सञ्चारर्मीहरूसँग गौरमै कुरा गर्दै आफूले जनमत पार्टीका अध्यक्ष राउतलाई ज्यान मार्ने धम्की नदिएको र गौर घटना पुनः घटाउने आशय आफ्नो नरहेको प्रष्टोक्ति दिएकी थिइन्

जसपाले अहिलेसम्म औपचारिक रूपमा यसबारे मुख खालेका छैन। तर उनलाई गौर लगेका जसपा नेता तथा मधेशका कृषि राज्यमन्त्री योगेन्द्र यादवले बिहीबार जनकपुरमा पत्रकार सम्मेलन गरेर पार्टी नेतृ तथा संघीय सरकारका भातिक योजना मन्त्रीले कुनै हिंसात्मक गतिविधि गर्ने अभिव्यक्ति नदिएको भन्दै बचाउ गरे। उनीनिकट मधेशमा नेता कार्यकर्ताले रेणुको बचाउमा सामाजिक सञ्जालमा लेखे पनि उनको विरोध थामिने छाँटकाँट छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved