अभिभावक र नोबेल कलेजको सम्झौतामा विद्यार्थी संगठनको आपत्ति, आन्दोलन नरोकिने

अभिभावक र नोबेल कलेजको सम्झौतामा विद्यार्थी संगठनको आपत्ति, आन्दोलन नरोकिने

विराटनगर । विद्यार्थीका अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर नोबेल मेडिकल कलेजले ५ बुँदे सहमति गरेको भन्दै विद्यार्थी संगठनहरूले विरोध जनाएका छन्। आईतबार नेविसंघ, अनेरास्ववियुलगायत ६ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन जारी रहने जनाएका छन्।

विद्यार्थी संगठन, चिकित्सा शिक्षा संर्घष समिति, पिडित विद्यार्थी र जिल्ला प्रशासन कार्यालयको प्रतिनिधित्व बिना एकलौटी रुपमा विद्यार्थीका अभिभावकलाई आर्थिक प्रलोभनमा पारेर सहमति गरिएको उनीहरुको आरोप छ।

विद्यार्थी संगठनहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘नोबेलले चिकित्सा शिक्षा आयोगद्वारा तोकिएको भन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थी र संयुक्त विद्यार्थी संगठनले निरन्तर आन्दोलन गर्दै आइरहेको थियो। तर, आन्दोलन चलिरहेकै बेला १ माघ कलेज प्रशासन र केही बिकाउ अभिभावकले ५ बँुदे सहमति गरिएको कार्यप्रति हामी संयुक्त विद्यार्थी संगठन र पिडित विद्यार्थीहरुको गम्भिर आपत्ति रहेको छ।’

विद्यार्थी संगठनहरुले आयोगद्वारा तोकिएको शुल्क र निर्देशन अक्षरस पालना हुनुपर्छ भन्ने माग गरेका छन्। उनीहरुले राज्यको कानुन नमान्ने नोबेल मेडिकल कलेजलाई कानुनी दायरामा नल्याईए विद्यार्थी संगठनको आन्दोलनले अझ सशक्त रुप लिने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघका मोरङ जिल्ला प्रतिनिधि जसवन्त पौडेलले बताए। उनले नोबेललाई आफ्नो गल्ती सुधार गर्न आग्रह समेत गरे।

विद्यार्थी संगठनको अनुपस्थितिमा कलेजले शनिबार विद्यार्थीका अभिभावकहरूसँग सहमति गरेको थियो। शनिबार भएको द्विपक्षीय वार्तामा अभिभावकका तर्फबाट ४ जनाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। विरेन्द्र कुमार यादव, राजेन्द्र बहादुर थापा, प्रकाश फुयाँल र राम कुुमार भट्टराई वार्तामा सहभागी अभिभावकहरु हुन्।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको शिक्षण शुल्क ४४ लाख ३६ हजार ५२ निर्धारण गरेको छ। तर, नोबेल शिक्षण अस्पतालले विश्वविद्यालय सम्बन्धन शुल्क, रजिष्ट्रेशन शुल्क, परीक्षा शुल्क र होस्टेल शुल्कलगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग ३५ देखि ४० लाख रुपैयाँ अतिरिक्त असुल गर्ने गरेको छ। चिकित्सा शिक्षा आयोगले छात्राबास ऐच्छिक हुने निर्णय गरेको भएपनि नोबेलले त्यसलाई अनिवार्य गरेर विद्यार्थीहरुसँग मासिक २४ हजार रुपैयाँ असुल गर्ने गरेको छ।

यसबाहेक कलेजले खानाको ७ हजार र बिजुलीबत्तीको समेत बेग्लै शुल्क लिने गरेको छ। यसका अतिरिक्त कलेजले एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग काठमाण्डौं विश्वविद्यालय रजिष्ट्रेशन शुल्क बापत २५ हजार, काठमाण्डौं विश्वविद्यालय सम्बन्धन शुल्क बापत ९८ हजार ५ सय ७९, नोबेल मेडिकल कलेज रजिष्ट्रेशन शुल्क बापत ५ हजार र काठमाण्डौं विश्वविद्यालय परीक्षा शुल्क बापत एकमुष्ठ ११ हजार असुल गर्ने गरेको छ।

सोही बिषयलाई लिएर नोबेलमा एमबीबीएस अध्ययन गर्न भर्ना भएका १५ औं ब्याचका विद्यार्थीहरु पुसकोे पहिलो हप्तादेखि आन्दोलनरत थिए। विद्यार्थीहरुले तालाबन्दी र पुत्ला दहन समेत गरेका थिए। विद्यार्थीहरुको आन्दोलनमा संयुक्त विद्यार्थी संगठनले समेत ऐक्यबद्धता जनाएको थियो। विद्यार्थीहरुको चरणबद्ध आन्दोलन रोकिने सम्भावना नदेखिएपछि शनिबार कलेजले उनीहरुसँग वार्ता बसेर सहमति गरेको हो।

शनिबार भएको सहमतिमा कलेजका तर्फबाट कलेजका प्राचार्य प्रा.डा.रामहरी घिमिरे र जनसम्पर्क अधिकृत नारायण दाहाल हस्ताक्षर गरेका छन्। विवाद बढेपछि समस्या सुल्झाउन विराटनगरका आएका डा. केपी शर्मालाई साक्षीमा राखिएको छ।

सहमति अनुसार विद्यार्थीले चार किस्तामा नोबेललाई सम्पुर्ण शिक्षण शुल्क भुक्तानी गर्नुपर्ने छ। जसमा भर्ना हुँदा पहिलो किस्तामा १४ लाख ७८ हजार ६७५ र त्यसपछि क्रमशः ३ वर्षसम्म ९ लाख ८५ हजार ७८४ रुपैयाँका दरले शिक्षण शुल्क भुक्तानी गर्नुपर्ने सहमतिमा उल्लेख छ। सहमतिमा कलेजले छात्रावासलाई अनिवार्य गरेको छ। परिच्छेद १ को परिमार्जित सम्झौताको शर्त नं. ५ मा भनिएको छ, ‘एमबीबीएस अध्ययन गर्ने राष्ट्रिय र अन्तराष्ट्रिय विद्यार्थीहरुलाई अध्ययन अवधिभर छात्रावास अनिवार्य छ।’

होस्टेल शुल्कमा मात्र २ हजार छुट गरिएको छ। होस्टेल शुल्क १२ हजारदेखि १० हजारमा झारिएको छ। तर, होस्टलमा बस्दा प्रयोग गरिने खानेपानी, बिजुली बत्ती र वाईफाई इन्टरनेटको शुल्क विद्यार्थीहरुले नै व्यहोर्नुपर्ने कलेजले जनाएको छ। सहमति पत्रको शर्त नं. ५ को (ग) मा त्यसबारे उल्लेख गरिएको छ।

यस्तो छ विद्यार्थी संगठनहरूले जारी गरेको प्रेस विज्ञप्ति :


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved