(हरेक स्थानले आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक, आर्थिक इतिहास रचेका हुन्छन्। त्यस्ता थलोहरू सभ्यता र संस्कृतिको जगमा उभिएका हुन्छन्। कुनै थलोको विम्ब सामुन्नेमा उभिने बित्तिकै त्यो थलोको सामाजिक-सांस्कृतिक विम्बहरू स्वतः प्रकट हुन पुग्छन् नै।
हाम्रा काव्य-सर्जकहरूले देशका विभिन्न सहर, बजार, ऐतिहासिक, धार्मिक, पर्यटकीय महत्वका स्थानमाथि कविता कोरेका छन्। विशेषतः हामी यो स्तम्भमा स्थानहरूमाथि लेखिएका कविताहरू समेट्ने छौं। यस पटक विकट कर्णालीको चर्चित ठाउँ जुम्लामाथि विमल निभा, दिनेश अधिकारी र राम विनयको काव्य-अनुभूति समेटेका छौं।)
विमल निभा

उज्यालो कतै छैन
स्वप्न हराएको छ
के तपाईं अन्धकारको खुराक भएको
बस्तीमा जानुभएको छ ?
अपराधी झैं उभिएका छन्
नाङ्गा पहाडहरू
जोसँग खान दिनलाई केही छैन
जे छ, त्यो बाँझो भूमि झैं चारैतिर
फैलिएको छ
मानिसको मुटु
गाई, गोरु र भेंडाहरूका करुण करङ्गमा
धड्की रहेछ
र दुई चिसा हातहरू स्पर्श गर्न
निरन्तर अघि बढिरहेछन्
गाउँहरूलाई छोएर बगिरहेछ
नदी
जहाँ साना ठूला ढुङ्गाहरू
एक आपसमा टकराइरहेका छन्
तर आवाज कतै छैन
के जुम्ला मौन छ ?
रोटीको अनुहार फेरिएको छ
भोकको स्वाद तीतो भएको छ
र पेटभित्रको खालीपन
छचल्किएर
बाहिर निस्किएको छ
यसपालि जाडो धेरै छ
पसिना आइरहेछ
र आगोनेर उभिएको मानिसको
शरीर
तामा झैं चम्किरहेछ
जुम्लामा मौसमको कुनै ठेगान छैन
एक छिनमै जङ्गलको हावा सिट्ठी बजाउन थाल्छ
के तपाईंले फाँसीको तख्ता झैं हल्लिरहेको
सल्लाको हाँगालाई हेर्नुभएको छ ?
दिनेश अधिकारी

पहाडैपहाडको बीचमा
अर्घौतो आकारको
बिनानिकासको
पोखरी भएर बसेको छ जुम्ला।
दौराको बाहुला र फेरले
बिरामी सिँगान पुछ्दापुछ्दै
नाकभरि कटकटिएर
आफ्नै सासमा गनाएको छ जुम्ला।
ढुङ्गै चपाएर भए पनि
पेटभरि अघाउन पाए
मानौं अर्थोक केही चाहिँदैन
अरू त अरू
दूधमुखे बालककै पेटहरूमा
भोकाएको छ जुम्ला।
यो वर्ष पानी परेन
यो वर्ष हिउँ झरेन
धामीझाँक्री पनि उफ्, कति लगाउनु ?
आफ्नै नौनारीमा फत्रक्क गलेर
माटाका हरेक छानामुनि
सोकाएको छ जुम्ला।
देखे, जुम्ल्याहा पहाडहरूले देखेका छन्
यसको छटपटी र घाउहरू
सुने, बग्दै गरेको तिला र जवाले सुनेका छन्
यसका सुस्केरा र क्रन्दनहरू
अरू त खै
कसले हेर्यो र ?
चन्दननाथको घण्ट, लिङ्गो र ध्वजासहित
मानौं आफ्नै देशको मानचित्रबाट
बेखबर, कतै हराएको छ जुम्ला।
राम विनय

हुन सक्छ
कुनै बेला
सम्पन्नताको सन्तति भई हुर्किएको
पछि आफ्नै पहिचानबिना मिल्किएको
एक्लिएर
अभावग्रस्ततामा अडिएर
आफैमा रमाएर
भ्रमजालको जन्जालमा हराएर
गतिशीलताबाट अलग्गिएर
खिया लागिसकेको परम्परालाई
धोईपखाली नगरेर
फगत छोपेर
निकास नपाएको रह बनेर
सम्पन्नताको खानीमा पनि
मनमनै कुँडिएर
गन्तव्य नपाएर
लुरुलुरु हिँडेर पनि थचक्क बसेको छ
जुम्ला।
हिउँ छल्न ओर्लन्छ जुम्ला
विपन्नताको सुइरोले घोचिएको घाउ लिएर
सम्पन्नताको मलम खोज्दै मैदानमा
तर घाउ भने सधैँ आलै रहन्छ
गहु्रँगो भारीले थिचिएर जुम्ला।
सल्लाको काठको राँको बालेर अँध्यारोमा
आफ्नो बाटो खोज्दै हिँड्छ
झिँगाले मुख छोपे पनि
चल्लाले जीउभरि टोके पनि
कालो ध्वाँसोले नचिनिने भएर आफै पनि
हिँड्न छोड्दैन कहिल्यै
जुम्ला।
कहिले उठ्न खोज्छ
डाँफेको लेकसित दाँजिएर
छिनासिमको हरियालीमा रमाएर
कहिले कुर्लन खोज्छ
तिला नदीको आवाज बनेर
उड्न खोज्छ
महाभू र हाउडी लेकलाई उछिनेर
सबैतिर छरिन खोज्छ
जुम्ला
छटपटाएर उठ्न खोज्छ
नदी किनारदेखि
उच्च लेकाली पाटनसम्म म भौंतारिएर
आफ्नो जीउको वासनाको स्रोत खोज्ने कस्तुरी मृग बनेर
अल्मलिएर
आफैं जुम्ला।
स्वस्थ रक्तसञ्चारबिनाको
जीउ लिएर बसेको बिरामीजस्तो
जुरुक्क उठ्न खोजे पनि नसकेर
मनमनै आक्रोशित बनेर
के गरौं र कसो गरौं भएर
मनमनै गुम्सिएर
टुलुटुलु हेरेर
बिलखबन्दमा परेको यात्री बनेको छ जुम्ला
उन्मुक्त भएर उठ्ने
समय कहिले आउला भनेर
सपना देख्न थालिसकेको छ जुम्ला
सपनामा बाँच्नेहरूको माझमा उभिएर
जुम्ला।
Facebook Comment
Comment