छठमय मधेश

छठमय मधेश

जनकपुरधाम। आदि देव सूर्यको उपासना गरि आज मिथिलाञ्चलसहित तराई मधेशमा हर्सोल्लास पूर्वक छठ पर्व मनाइँदै छ।

चार दिनसम्म निष्ठा एवं श्रद्धापूर्वक मनाइने छठ पर्वको आज (बुधबार) मुख्य दिन हो। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। अस्ताउँदो सूर्यलाई अर्घ दिन जनकपुरको पोखरी तलाउमा बनाइएको घाटमा रातिदेखि नै पूजा सामग्री लिएर भक्तजनहरू पुगेका छन्।

यस्तै ग्रामिण भेगहरूमा आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरू घाटमा पुग्नेछन्।

रातभरि पूजापाठ गरेर भोली बिहीबार उदाउँदो सूर्यको अर्घ दिएर छठ समापन हुन्छ । यो पर्व व्रतालु महिलासहित घरका अन्य सदस्यले निष्ठापूर्वक मनाउने चलन छ । छठमा बनाइने ठकुवा र भुसुवासहितका मिष्ठान्न परिकार इष्टजनलाई घरमै बोलाएर खुवाउने र आफन्त नातेदारकहाँ पुर्‍याउन जाने मैथली परम्परा छ। पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ। अर्घ दिने पूजा सामग्रीमा बनाइने ठकुवा तथा भुसुवा सहितका मिष्ठान्न परिकार ढिकी र जाँतोमा कुटिएको र पिसिएको पीठोबाटै तयार गरिन्छ।

छठको प्रमुख दिन आज मिथिलाञ्चलका गाउँ र गल्लीदेखि शहर बजारसम्म छठका नानाथरी सुमधुर गीतले यहाँको रौनकता नै बदलिएको छ।

सन्तान प्राप्ति, निरोग, सुख र समृद्धि हुने तथा चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सद्भावको प्रतीक यो पर्व मनाइन्छ। यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गरेको पाइन्छ।

छठको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्‍याउने गरेका कारण पनि यो पर्वमा श्रम विभाजनको अत्यन्त वैज्ञानिक रूप दृष्टिगोचर हुन्छ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान् विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको मान्यता पनि पाइन्छ। छठ पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिष सम्बन्धी तथ्य समेत रहेको छ।

वैज्ञानिक, ज्योतिष तथा चिकित्सकले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन्। ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले यो पर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने विश्वास पाइन्छ।

यसैबीच जनकपुरधाममा श्रद्धालु इतिहास वर्णित सरोवर गङ्गासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणीसर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायतका कुण्ड, पोखरी, तलाउमा यो पर्व गए रातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन्। जलाशय र कुण्ड दुलही झैं सिंगारिएका छन्।

जनकपुरको मुख्य मुख्य चोकहरूमा आकर्षक प्रवेशद्वारहरू निर्माण गरिएको छ। अहिले गाउँघर, शहर बजार, गल्लीमा गुञ्जिरहेको छठपर्वको सुमधुर लोकगीतले सारा जनकपुर, मिथिलाञ्चललगायत तराई मधेश नै अहिले छठमय उल्लास वातावरणमा डुबेको छ।

गए राति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गरिरहेका छन्।

भोजपुरी र मैथली भाषी मधेशी समुदायले परम्परागत रूपमा मनाउँदै आएको छठपर्व हिजोआज पहाडी, मारवाडी र मुस्लिम समुदायका मानिसहरूले पनि मनाउन थालेका छन्। पहिला भारतको उत्तर प्रदेश र बिहारसँग जोडिएका तराईका जिल्लामा सीमित यो चार दिने पर्व केही वर्षदेखि काठमाडौं उपत्यका र नेपालका अन्य स्थानमा पनि मनाउने गरिएको छ। अरुले पनि छठपर्व मनाउँदा समाजमा एकता र सद्भाव कायम राख्न सहयोग पुगेको धारणा संस्कृतिविद् र समाजशास्त्रीहरूको छ।

दशैँ र तिहारमा गाउँ आउन नसक्नेहरू पनि छठमा घर फर्केका छन्। रोजगारीका कारण अरु बेला सुनसान जस्तै बनेका गाउँघरमा यति बेला चहलपहल बढेको छ । छठका धार्मिक, सांस्कृतिक, सांगीतिक लगायत विभिन्न विशेषता छन्।

छठका आठ विशेषता

सामाजिक सद्भावको पर्वः

छठ समाजिक सद्भावको पर्व हो। हाम्रो समाजमा छुवाछूत, भेदभाव, तल्लो जाति–माथिल्लो जातिबीच पानी बराबारको अवस्था अझै कायमै छ। कानुनी रुपमा छुवाछुतको अन्त्य भएपनि समाजमा छुवाछुत भने कायमै छ। तर छठ पर्वले सामाजिक भेदभावको बाँध भने परापूर्व कालदेखि नै भत्काइएको देखिन्छ। अपहेलित र कथित अछुत भनिने जातले निर्माण गरेका ढक्की, नाङ्लो, सुपा, डालिया, सुपली आदिमा छठी मैयालाई चढाउन प्रसाद राखिन्छ। यसले सामाजिक सद्भावको विकास गरी जातिय विभेद अन्त्य गर्न योगदान पुर्‍याउने गरेको छ। त्यसैगरी यो पर्व मनाउने सनातन धर्मावलम्बी बीच समुदायगत, जातिगत, भाषागत भिन्नता पनि छन्। धार्मिक भिन्नता पनि छन् तर यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच त्यसका आधारमा कुनै बैमनश्यता वा द्वन्द्व कहिल्यै हुने गरेको छैन। कुनै जात जाति हुन, तिनको दौरा, छैंटी श्रीपताको अगाडि मिलेर, मिलाएरै राखिएका हुन्छन्। सबै एउटा गोलमा अटाएको दृश्यले छुट्याएको पहाडी, मधेशी, जातजाति भेद टुंगिन्छ।

तसर्थ यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको देखिन्छ। अझै ध्यान दिनुपर्ने कुरा के छ भने अरू बेला अछुत भनेर तिरस्कार गर्ने समाजका कुलीन वर्गका छोरी र बुहारी पनि बाटोको छेउमा अँचरा (आँचल) थापेर प्रसाद माग्छन् र प्रसाद जुनसुकै जातजातिको होस, आँचलमा पर्‍यो भने त्यसलाई पवित्र मानेर ग्रहण गर्छन्। यसले के प्रमाणित गर्छ भने हाम्रो समाजलाई एकताको सूत्रमा बाँध्न यस्ता पर्वहरूको ठूलो योगदान छ।

एकताको पर्व:

सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाईचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेशमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। पहाड र राजधानी यति बेला छठमय भएको छ। बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम छ।

लोकतान्त्रिक पर्व:

लोकतन्त्रमा सबै बराबर हुन्छ भने जस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रुपले प्रकाश छर्छन्। सूर्यको प्रकाश विना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन।

रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुःख, पारिवारिक सुःख, सुस्वास्थ्य, दिर्घायूको कामना गर्दै सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ।

अहिंसाको पर्वः

छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ। शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ। ब्रतालुहरू यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ।

आस्थाको पर्व:

छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ। त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसंगै सद्भावको पर्व पनि भनिन्छ।

सांगीतिक पर्व:

छठको सुरुदेखि अन्त्यसम्म सबै विधिविधानहरू गीतबाटै बुझ्न सकिन्छ। छठ पर्व आउन २० दिन अघिदेखि नै छठको गीत संगीत घरघरमा गुञ्जिन्छ। जसले छठ आएको भान हुन्छ। गीतले ‘छठ आउँदैछ, तयारीमा जुट’ पनि भन्छन्।

कृषकको पहिचानको पर्वः

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ। गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ।

नारी सशक्तीकरणको अनुष्ठानको पर्वः

छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ। सूर्यको उपाशनामा कृपालु छठी माईको आशिषविना अनुष्ठान पूरा हुनै सक्दैन। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved