श्रीलंकाको एक खेलाडीलाई पहिलो हाफमै बाहिर पठाउने रणनीति छः प्रशिक्षक अलमुताइरी

प्रशिक्षक अलमुताइरीले भने, “श्रीलंकासँगको यो खेल हाम्रो लागि फाइनल म्याचसरह हो। त्यसैले जसरी पनि जित्नैपर्छ।” 

नेपालभ्युज

श्रीलंकाको एक खेलाडीलाई पहिलो हाफमै बाहिर पठाउने रणनीति छः प्रशिक्षक अलमुताइरी

काठमाडौं। नेपाली टिमका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले श्रीलंकाविरुद्धको फुटबल खेलमा अनौठौ रणनीति लिएका छन्। माल्दिभ्समा जारी साफ च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आज नेपाल श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

यो खेलमा श्रीलंकाका एक खेलाडीलाई पहिलो हाफमा नै रातो कार्ड खुवाएर मैदान बाहिर पठाउने रणनीति अलमुताइरीको छ।

आइतबार प्रशिक्षक अलमुताइरीले प्रतिक्रिया दिँदै भने,“उनीहरू कडा ट्याक्लिङ् गर्छन्। त्यसैले श्रीलंकाको एक खेलाडीलाई पहिलो हाफमै मैदान बाहिर पठाउन केन्द्रित हुनेछौँ, जसले हामीलाई सजिलो हुनेछ। उनीहरू ट्याक्लिङमा आक्रामक छन्। हामी यइसैलाई एड्भान्टेजको रुपमा प्रयोग गर्नेछौँ।”

हुन पनि श्रीलंकाका खेलाडीले बंगलादेशसँगको पहिलो खेलमा विपक्षी खेलाडीविरुद्ध ६७ ट्याक्लिङ गरेका थिए। तीमध्ये २३ ओटा त फल नै थिए।

त्यसैले प्रशिक्षक अलमुताइरीले यसैलाई रणनीति बनाए, उनी थप्छन्,“यसलाई हामी फाइदाका रूपमा किन नलिने? हाम्रो खेलमा श्रीलंकाका एउटै खेलाडीले कडा दुई ट्याक्लिङ गरे भने दुई पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिनेछन्। यो हाम्रो सामान्य रणनीति हो।”

साफको पहिलो खेलमा माल्दिभ्समाथि ऐतिहासिक जित हात पारेपछि खुशी भएका नेपाली फ्यानलाई प्रशिक्षक अलमुताइरीले भनेका थिए,“अहिल्यै खुशियाली मनाउन हतार नगरौँ,  हामीले धेरै गर्न बाँकी छ। अब हाम्रो खेल श्रीलंकाविरुद्ध छ। हामीले अहिले नै सबै प्राप्त गरेका छैनौँ।”

पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० ले पराजित गरेको थियो। माल्दिभ्सलाई साफमा नेपालले हराएको यो पहिलो पटक हो। पहिलो खेलमा १० जनामा समेटिएको श्रीलंकाले बंगलादेशसँग १–० को हार भोगेको थियो।

फिफा वरीयता क्रममा श्रीलंका नेपालभन्दा ३७ स्थान तल छ। वरीयता क्रममा नेपाल १ सय ६८ औँ स्थानमा छ भने श्रीलंका २०५औँ स्थानमा छ।

तर प्रशिक्षक अलमुताइरी फिफा वरीयतालाई साँचो मान्दैनन्। उनी भन्छन्, “हामी के सोचिरहेका छौ भने श्रीलंका दुई सय पाँच स्थानमा छ र हामीले उसलाई सजिलै हराउनुपर्छ। धेरै फ्यानले श्रीलंकालाई ५–० वा ६–० को गोलले हराउनुपर्छ भन्ठानेका छन्। तर यो त्यति सजिलो छैन। यदि मैले १–० ले मात्रै हराएँ भने पनि म धेरै खुशी हुनेछु। मलाई मात्रै तीन अंक चाहिएको छ। म ठूलो रिजल्टको बारेमा सोच्दिनँ।”

अलमुताइरीका अनुसार नेपालका लागि च्याम्पियनसिपको सबैभन्दा कठिन टिम श्रीलंका हो। श्रीलंकाको फुटबल संघले यसअघि यो च्याम्पियनसिपपछि आफ्नो टिमको प्रशिक्षक परिवर्तन गर्ने घोषणा गरिसकेको छ। त्यसैले यहाँ श्रीलंकाको टिममा कसैलाई केही गुमाउनुछैन। त्यसैले श्रीलंकाबाट केबल तीन अंक मात्रै लिन सक्नु ठूलो हुने उनी बताउँछन्।

खेल अघि नेपाली टिमका कप्तान किरण चेम्जोङ भन्छन्, “श्रीलंकाविरुद्ध तीन अंकका लागि खेल हुनेछ। मैले माल्दिभ्ससँगको पहिलो खेलमा हामी गोर्खाली पिचमा ९० मिनेटसम्मै फाइट गर्ने बताएको थिएँ। श्रीलंकाविरुद्ध पनि जितका लागि ९० मिनेटसम्मै फाइट गर्नेछौँ। मलाई म र मेरो टिमप्रति बिश्वास छ कि श्रीलंकासँगको खेल हामी पक्कै जित्नेछौँ।”

दक्षिण एसियामा राष्ट्रिय टिमको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिने साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन। साफमा तेस्रो स्थानसम्म पुग्नु नै ठूलो उपलब्धि भएकाले अहिले फाइनलसम्म पुग्नु नेपालको पहिलो लक्ष्य हो।

कप्तान चेम्जोङ थप्छन्,“श्रीलंकाविरुद्धको खेल एकदमै महत्वपूर्ण छ, हाम्रो लक्ष्य अनुसार अगाडि बढ्न यो अर्को एउटा स्टेप हो। यसलाई हल्का रुपमा लिएका छैनौँ। राउन्ड रोविन लिग भएकाले सबै खेल उत्तिकै महत्वपूर्ण छ। यो खेल जित्न निकै गाह्रो हुनेछ। तर हामीले राम्रो तयारी गरेका छौँ। मलाई बिश्वास छ कि सफल रिजल्ट आउँनेछ।”

यो संस्करणमा दक्षिण एसियाका ५ टिम मात्रै सहभागी भएकाले इतिहास रच्ने सुनौलो मौका नेपाललाई छ। पाकिस्तान र भूटान बाहेक ५ टिम मात्र भएकाले प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुनेछ। जसमा सबै टिमले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् र शीर्ष २ टिम उपाधिका लागि फाइनल भिड्नेछन्।

हाल श्रीलंकालाई नेपालभन्दा कमजोर मानिएतापनि ‘हेड टू हेड’ हेर्दा श्रीलंकासँग नेपालको इतिहास राम्रो छैन। श्रीलंकासँगका १७ खेलमा नेपालले हालसम्म ४ ओटा मात्रै खेल जितको छ भने ६ खेलमा पराजित भएको छ। बाँकी ७ खेल भने बराबरीमा सकिएका छन्।

“श्रीलंकाविरुद्ध यो प्रतियोगिताकै उत्कृष्ठ खेल हुनेछ। मालदिभ्ससँगको खेल के भएको थियो हामीले बिर्सिसक्यौँ अब यस खेलमा मात्रै हामी फोकस गरिरहेका छौँ,” प्रशिक्षक अलमुताइरीले भने, “श्रीलंकासँगको यो खेल हाम्रो लागि फाइनल म्याचसरह हो। त्यसैले जसरी पनि जित्नैपर्छ।”

उता श्रीलंकन टिमका प्रशिक्षक आमिर आलाजिकले पनि नेपालसँगको खेललाई चुनौतीका रूपमा हेरेका छन्। नेपाल प्राविधिक रूपमा राम्रो खेल्ने गरेको मान्यता उनमा छ। त्यसैले उनले पनि नेपाली टिमको अध्ययन गरेर खेल जित्ने रणनीति बनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved