भर्ना अभियानमा जुटे कर्णालीका सामुदायिक विद्यालय

भर्ना अभियानमा जुटे कर्णालीका सामुदायिक विद्यालय

सुर्खेत । कर्णाली प्रदेशका सामुदायिक विद्यालयहरूले भर्ना अभियान सञ्चालनलाई तीव्र पारेका छन् । १० वटै जिल्लामा सामुदायिक विद्यालयहरूले वैशाख २ गतेबाट भर्ना अभियानलाई तीव्रता दिएका हुन् ।

नयाँ शैक्षिक सत्रमा विद्यालय जाने उमेर समूहका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना गर्ने लक्ष्यका साथ घरदैलो अभियान सुरू भएको छ ।

सामुदायिक विद्यालयहरू विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षित गर्न अभिभावकको घरदैलोमा पुग्ने गरेका छन् ।

पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–८ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयले सोमबारबाट घरदैलो अभियान सुरू गरेको छ । आफ्ना सेवा क्षेत्रभित्रका टोल–टोलमा पुगेर अभिभावक भेटभाट कार्यक्रम सुरू गरिएको विद्यालयका प्रध्यानाध्यापक जगतराज जोशीले जानकारी दिए ।

‘विद्यालय उमेर समूहका बालबालिकाका घरमै पुगेर विद्यालयभित्र ल्याउन उत्प्रेरणा दिने गरिएको छ ।’ उनले भने, ‘शिक्षक, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि वडाअध्यक्षलगायतको टोलीले घरदैलो कार्यक्रम गरिरहेको छौं ।’

त्यस्तै, कालीकोटमा रहेका आधारभूत विद्यालय २२५ वटा, माध्यमिक विद्यालय ७५, बालविकास केन्द्र ४२ वटा र सामुदायिक सिकाई केन्द्र ३० वटा र खुला विद्यालय एक गरी जम्मा ३७३ विद्यालयहरूले भर्ना अभियान सञ्चालन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइ कालीकोटका प्रमुख प्रकाशचन्द्र धितालले बताए ।

‘जिल्लाका नौ स्थानीय तहका ती सय सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनका लागि अभियान नै सञ्चालन गरिएको छ ।’ उनले भने,‘सरकारले सामुदायिक विद्यालयमा विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क भर्नादेखि निःशुल्क पाठ्यपुस्तक, छात्रवृत्ति र दिवा खाजा उपलब्ध गराउदै आएको छ । त्यही आधारमा सबै बालबालिकालाई विद्यालय भर्ना अभियान चलाइएको छ ।’

विद्यालयमा विद्यार्थी संख्या वृद्धि गर्न अभियान सुरू गरेको विद्यालयका वडिमालिका माध्यमिक विद्यालय कालीकोट रास्कोटका प्रधानाध्यापक पुष्पराज बरालले बताए ।

‘गत वर्षदेखि नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन सुरू भएकाले त्यसको सन्देश दिन पनि भर्ना अभियान घरदैलो गरिरहेका छौं ।’ उनले भने, ‘गत वर्ष हामीले अभियान चलाएर ७५ जना विद्यार्थी थपेका थियौं । यस वर्ष पनि विद्यालयले विद्यार्थीको संख्या बृद्धि गर्ने लक्ष्य राखेका छौं ।’

कालीकोट जिल्लामा पहिलो स्कुल बस सेवा
विद्यार्थीको सामुदायिक विद्यालयमा आकर्षण बढाउनका लागि कालीकोट जिल्लाका खाँडाचक्र नगरपालिका–८ को जनप्रभात माध्यमिक विद्यालय शेरावाडाले पनि घरदैलो अभियानसँगै सामुदायिक विद्यालयमा बस सेवा सञ्चालन गरेको छ ।

विद्यार्थीको संख्या बृद्धि गर्नका लागि र कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनु भन्ने उद्देश्यका साथ बस सेवा सञ्चालनमा ल्याएको विद्यालयका प्रधानाध्यापक पदमवहादुर मल्लले बताए ।

‘जिल्लाका सबै सामुदायिक विद्यालयमध्ये पहिलो पटक हामीले बस सेवा सञ्चालनमा ल्याएका छौं ।’ उनले भने,‘भर्ना अभियान जारी रहेको छ । शैक्षिक सत्र २०८१ बाट बस सेवा सञ्चालन गर्ने गरेका छौं ।’

भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा स्कुलले बस उपहार पाएको प्रधानाध्यापक मल्लले जानकारी दिए ।

‘हामीलाई भारत सरकारको सहयोगमा स्कुल बस पाएका छौं ।’ उनले भने,‘आगामी शैक्षिक सत्रबाट स्कुलमा अध्यायन गर्ने विद्यार्थीले स्कुल बसबाटै आवातजावत गर्न सजिलो हुनेछ ।’

कर्णालीका १८ हजार बालबालिका विद्यालय बाहिर
प्रदेशभरि १८ हजार बालबालिका विद्यालय बाहिर छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार बाढी पहिरोलगायतका प्राकृतिक विपद्, आर्थिक अभावजस्ता विभिन्न कारणले १० वटा जिल्लाका १८ हजार ६ सय १ जना बालबालिका विद्यालय जाँदैनन् ।

जसमा आठ हजार नौ सय ९५ बालिका र नौ हजार छ सय छ जना बालक छन् । कर्णालीको कुल जनसंख्या १६ लाख ८८ हजार चार सय १२ मा ६ लाख ७७ हजार ४८ जना बालबालिका छन् ।

१० वटा जिल्ला, २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिकाका ७२९ वडाहरूमा नै अभियान सञ्चालन भएको कर्णाली प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी लोकप्रसाद पौडेलले बताए ।

‘कर्णाली प्रदेशका दशवटै जिल्लामा रहेको बालविकास केन्द्र २६०७, प्राथमिक विद्यालय १९७१, निम्नमाध्यमिक विद्यालय ६२४, माध्यमिक विद्यालय २२९ मा नै भर्ना अभियान सञ्चालन भएका छन् ।’ उनले भने,‘यसका लागि अहिले कार्ययोजना नै बनाएर भर्ना अभियानको काम भइरहेको छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved