सरकारी अनुदारका कारण खस सभ्यता बचाउने विधेयक अलपत्र

सरकारी अनुदारका कारण खस सभ्यता बचाउने विधेयक अलपत्र

सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक १० असोज २०७८ मा कर्णाली प्रदेशसभामा पूर्व कानूनमन्त्री तथा जुम्लाबाट तत्कालीन निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘गैरसरकारी विधेयक’ दर्ता गराएका थिए ।

‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ प्रदेशसभामा दर्ता भएर पनि छलफलका लागि अघि बढेको थियो । २४ माघ २०७८ प्रदेशसभा बैठकमा टेबुल भएको थियो । माघ २५ गते विधेयकमाथि सैद्धान्तिक छलफल भएर र फागुन १८ गते सामाजिक विकास समितिमा थप छलफलका लागि सभाले पठाएको थियो ।

प्रशासनिक खर्च धेरै लाग्ने भन्दै पछि सरकारले कार्यान्वयन आलटाल गरेका कारण विधेयक तुहियो । सिंजा सभ्यता भनेको जुम्ला मात्रै नभएर दैलेखको दुल्लू र सुर्खेतको वीरेन्द्रनगरमा सिङ्गो कर्णाली भएकाले त्यो विधेयक ल्याएको पूर्वमन्त्री भण्डारीले बताए ।

‘जुम्लासँग मात्रै सिंजा सभ्यता जोडिएको छैन, दैलेखको दुल्लू हुँदै सुर्खेतको काँक्रेविहारसम्म जोडिएको छ ।’ उनले भने, ‘अझैँभन्दा सिङ्गो नेपालसँग जोडिएको विषय हो । तर, सरकारी अनुदारका कारणले अहिलेसम्म लागु भएन् ।’

विधेयकको सैद्धान्तिक छलफल भएर फागुन १८ गते सामाजिक विकास समितिमा थप छलफलका लागि विधेयक सभाले पठाएको थियो । तत्कालीन सरकारले विधेयक फिर्ताको प्रस्ताव गरेपछि समितिले सरकारको धारणा माग गरेको थियो ।

सरकारले समितिले मागेको धारणामा उक्त विधेयक अघि बढाउन नसक्ने मनसाय देखाएको हो । सरकारले उक्त विधेयकको विषयमा सामाजिक विकास समितिलाई पाँच बुँदे धारणा पठाएको थियो ।

पाँच बुँदे धारणामा उक्त विधेयक पारित भई ऐनको रुपमा कार्यान्वयन गर्दा आर्थिक व्ययभारका कारण अघि बढाउन नसक्ने मनसाय सरकारले देखाएको थियो ।

कर्णाली प्रदेशका जनताको आधारभूत आवश्यकताको परिपूर्ति र विकासका न्यूनतम पूर्वाधार संरचनाको निर्माण गर्न नसकिरहेको अहिलेको अवस्थामा सो माहतको सामाजिक विकास समितिबाट उपयुक्त निर्णय हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको भनिएको थियो ।

सरकारले आफ्नो पाँच बुँदे धारणमा भनेको थियो, ‘विधेयक पारित भई ऐनको रुपमा कार्यान्वयन गर्दा भौतिक संरचना निर्माणमा लाग्ने खर्चबाहेक प्रदेश सरकारले वार्षिक ३० करोड रुपैयाँ भन्दा बढी प्रशासनिक खर्च व्यर्होनुपर्ने भएकाले कर्णाली प्रदेशका जनताको आधारभूत आवश्यकताको परिपूर्ति र विकासका न्यूनतम पूर्वाधार संरचनाको निर्माण गर्न नसकिरहेको वर्तमान अवस्थामा प्रस्तुत विधेयकको सम्बन्धमा सम्मानित कर्णाली प्रदेश सभा र सो माहतको सामाजिक विकास समितिबाट उपयुक्त निर्णय हुने कुरामा प्रदेश सरकार विश्वस्त रहेको छ ।’

विधेयकमा सत्र सदस्यीय सभा, छ सदस्यीय कार्यकारी परिषद्, पूर्णकालिन उपाध्यक्ष, समिति कार्यकारी निर्देशक, प्राधिकरण, कर्मचारी तथा प्रशिक्षकलगायतको प्रशासनिक संरचनाको व्यवस्था प्रस्ताव गरिएकोले खर्च धान्न नसक्ने तत्कालीन प्रदेश सरकारको भनाइ थियो ।

संरक्षणको पर्खाइमा सभ्यता

संरक्षणको अभावमा जुम्ला सिंजा उपत्यकामा रहेको खस राज्यको सभ्यता तथा खस राज्यको दरबार क्षेत्रको संरक्षण हुन नसक्दा इतिहास नै ध्वस्त हुने अवस्थामा पुगेको छ । उचित संरक्षण उत्खनन नहुँदा इतिहास नै नरहने अवस्था अवस्थामा पुगेको हो ।

जुम्लाको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गमस्थल मानिन्छ । त्यसैले नेपाली समाजमा सिंजा सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ । तर, अहिले त्यही उपत्यकाको अस्तित्व र महत्त्व संकटमा परेको छ ।

सिंजाको खस सभ्यता ऐतिहासिक महत्त्व सिंजा क्षेत्रको विशेषता बोकेको यस क्षेत्रमा खस सभ्यता तथा हिन्दु स‌स्कृतिको अनुपम सङ्गम रहेको, उपत्यकामा रहेका पूर्व प्राचीनकालबाट बनाएका धार्मिक मठ, मन्दिर, गुफा, देवल, सिउ बाघ, चालचलन, रीतिरिवाज लगायतका पर्यटकीय क्षेत्रहरू अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेको जुम्ला कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले बताए ।

‘नेपाली समाजमा सिंजा खस सभ्यताको छुट्टै र विशिष्ट महत्त्व छ,’ उनले भने, ‘ऐतिहासिक क्षेत्रहरू अहिले संरक्षणको अभावमा ध्वस्त हुँदै गइरहेका छन्, गाउँपालिकाका एक्लैले चाहेर हुने कुरा पनि छैन ।’

नेपाली भाषाको उद्गम स्थान जुम्ला सिंजा खस सभ्यता रहेको सिंजा कनका सुन्दरी मन्दिर, पाण्डव गुफा, बुढु मष्टा, कनकासुन्दरी नैधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्रयाङग्रा देवता मन्दिर, लेकपर लामा मन्दिर, बातामालिका महादेव मन्दिर लगायत सिन्जा भेगमा रहेका ३ दर्जनभन्दा बढी साना ठूला देवी देउताका मन्दिरहरू जीर्ण भई ध्वस्त हुन लागेको स्थानीय अमरजंग शाहीले बताए ।

‘प्राचीन सभ्यताका चिनारीहरू हराउन थालेका छन्,’ उनले भने, ‘कयौँ मठ मन्दिर जीर्ण अवस्थामा छन् र पुरानो राजाको दरबार पनि ध्वस्त हुँदै गएको छ ।’

त्यसैगरी पाँच भाइ पाण्डव बस्ने पाण्डव गुफा र बिराट दरबारको अवशेषसमेत भेटिन मुस्किल पर्न थालेको छ । खस राज्य सञ्चालनको समयमा बनाइएका यी मठ मन्दिर, सिन्जा सिहु बाघ, ठूला ठूला ढुङ्गामा कुँदिएका चित्रकला, संकेत अक्षर र अङ्कहरू लेखिएका शिला लेखहरू समेत अहिले खेतबारी र पाखाहरूमा बेवारिसे अवस्थामा रहेको जुम्लाका विद्युत् प्राधिकरणका प्रमुखसमेत रहेका स्थानीय नरेशदत्त रावलले बताए । ‘जुम्लामा रहेको खस राज्यको इतिहास नै मेटिन लागेको छ,’ उनले भने, ‘त्यसको संरक्षण जर्गेना गर्न कसैले पनि पहल चालेको छैन ।’

यसैगरी प्रसिद्ध कनकासुन्दरी मन्दिर नजिकै पूर्वतिर धर्मशाला बनाउनको लागि जगा खन्ने क्रममा २०७६ सालमा पाँच वटा मूर्ति भेटिएको छ ।

तत्कालीन अवस्थामा कर्णाली पर्यटन प्रवर्द्धन विकास समितिको लगानीमा भक्तजनहरूलाई बस्नको लागि धर्मशाला बनाउने क्रममा पुराना ढुंगाका मुर्ति भेटिएका हुन ।
पाँच वटा मूर्ति मध्ये तीन ठूला र दुई साना रहेका तत्कालीन धर्मशाला निर्माणका ठेकेदार कालिकोटका पटक बहादुर शाहीले बताए ।

‘विष्णु, जालाफा देवी, शिव, लक्ष्मी, साढे लगायतका मुर्ति रहेका छन् । मुर्ति भेटिएको ठाउँमा पहिले खस राजाको दरबार रहेको अनुमान गरिएको छ,’ उनले भने, ‘कनकासुन्दरी मन्दिर लगायत सिंजा क्षेत्रमा रहेका महत्त्वपूर्ण स्थानहरूको संरक्षण, संग्रहालय, उल्खनन् र सुरक्षाको आवश्यकता छ ।’

कनकासुन्दरी मन्दिर क्षेत्रमा धर्मशाला निर्माण गर्दा तीन सय वर्षभन्दा पुरानो मुर्ति भेटिएका मूर्ति सुरक्षाको लागि इलाका प्रहरी कार्यालय हाडसिंजामा राखिएको छ । अहिले ती मूर्तिको अवस्थाबारे जानकारी नभएको स्थानीय ताराजंग हमालले बताए ।

‘मन्दिर क्षेत्र र खस राज्यको दरबार रहेको क्षेत्रमा उत्खननको आवश्यकता रहेको छ ।’ उनले भने,–‘यसले इतिहास के भन्नेसम्म पनि पत्ता लाग्न सक्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved