कर्णालीका हिमाली जिल्लामा सधैँ नुन कै दुःख

कर्णालीका हिमाली जिल्लामा सधैँ नुन कै दुःख

सुर्खेत । कर्णाली प्रदेशमा हिमाली तथा दुर्गममा जिल्लाका नागरिकहरूले नुन पाउनका लागि सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ । हिमाली जिल्ला कालिकोट, जुम्ला, हुम्ला, डोल्पा र मुगुका नागरिकहरूले अहिले पनि नुनका लागि कष्ट भोग्नु परेको छ ।

पूर्णरूपमा बजारीकरण नभएको र दुर्गम पहाडी गाउँ भएकाले नुनका लागि टाढा–टाढा सदरमुकाममा धाउनुपर्ने बाध्यताका कारणले नुनका लागि नागरिकहरूले सास्ती खेप्ने गरेका छन् ।

नुनका लागि नागरिकहरूले सास्ती खेप्न थालेपछि पाँच जिल्लाका केही स्थानीय तहले खरिद गरेर नुन बिक्रि गर्न थालेका छन् । दुर्गम तथा हिमाली जिल्लामा जाने अनुदानको नुन ढुवानीमा ठेकेदारले बीच बाटोमा छोड्ने तथा अन्य कारणले ती जिल्लाहरूमा नुनको अभाव हुँदै आएको छ ।

हिमाली यी पाँच जिल्लाका नागरिक पाँच पाकेट नुन किन्न सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । त्यो पनि सहजै पाइँदैन, लाइन लाग्नुपर्छ ।

कालीकोट नरहरिनाथ गाउँपालिका–८ लालुका राजकुमार विष्टले दिनभर लाइन बस्दा बल्लतल्ल पाँच किलो नुन पाएको बताए ।

उनी फागुन पहिलो साता नुन किन्न सदरमुकाम मान्म आएका थिए । नुन किन्न आउँदाजाँदा झन्डै दुई हजार रूपैयाँ खर्च भएको उनको दुखेसो छ ।

‘लालुबाट मान्मको गाडीभाडा साढे सात सय रूपैयाँ छ ।’ उनले भने,‘खाजाखाना खर्च छुट्टै छ । मान्म पुगेकै दिन नुन नपाइए होटेलमा वास बस्नुपर्छ ।’

साल्ट ट्रेडिङले दुर्गम क्षेत्रमा आयोडिनयुक्त एक किलो नुन प्रतिकिलोको नौ रूपैयाँमा बिक्री गर्छ । साल्ट्र ट्रेडिङ कर्पोरेसन मान्म डिपोका प्रमुख लालबहादुर बमका अनुसार चालु आव ०८०/८१ को हालसम्म तीन हजार पाँच सय क्विन्टल नुन आइसक्नुपर्ने हो ।

तर, दुई सय ८२ क्विन्टल नुन अझै आउन बाँकी रहेका कारणले नुनका लागि लाइन लाग्नु बाध्यता रहेको र अहिले धेरै किलो नुन उपभोक्ता दिन नसकिएको बताए ।

जिल्लामा उपभोक्ताको मागअनुसार नुन ढुवानीका लागि बजेट नहुँदा बर्सेनि अभाव झेल्नुपर्ने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पा डिपो प्रमुख प्रकाशबहादुर धामीले बताए ।

‘डोल्पामा अघिल्लो आर्थिक वर्षमा पाँच सय क्विन्टल नुन ढुवानीका लागि ठेक्का भएको थियो । त्यो नुनले चार महिना पनि नपुग्ने भएपछि फेरि थप आठ सय क्विन्टल ढुवानी गरियो ।’ उनले भने, ‘उक्त नुन गोदाममा दुई सय क्विन्टल मात्र मौज्दात छ । दिनहुँ ७० देखि ८० जनासम्म नुन लिन आउँछन् । हरेक व्यक्तिलाई दुई किलोका दरले वितरण गर्दै आएका छौँ ।’

साल्ट ट्रेडिङबाट सहुलियतमा वितरण हुने आयोडिनयुक्त नुन लिन मुगुका बासिन्दा पनि सदरमुकाम गमगढी पुग्न बाध्य छन् । जिल्लाका चार स्थानीय तहमध्ये सदरमुकाम मगमढीमा साल्ट ट्रेडिङ कर्पोरेसनको डिपो कार्यालय छ ।

त्यहाँबाट सातामा तीन दिन मात्रै नुन वितरण हुने गरेको छ । खत्याड र सोरू गाउँपालिकामा बिक्री केन्द्र छ । ती दुवै केन्द्रमा वर्षको एकपटक पुस–माघमा मात्रै नुन बिक्री–वितरण हुन्छ ।

हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि बाजुराको गोदाममा
हुम्लाका लागि अनुदानमा ल्याइएको १६० बोरा अर्थात् ८० क्विन्टल नुन अलपत्र अवस्थामा रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ । नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको र नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको र हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशंका भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको बाजुरा हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताए ।

‘नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्पर्कमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी भएको छैन् ।’ उनले भने, ‘साल्ट टे«डिङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुनसक्छ ।’

नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रूपमा प्रयोग गरेको वडाध्यक्ष बुढथापाले बताए । ‘गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन् ।’ उनले भने,‘घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घर मालिकले भाडा दिने हुन्/होइन भन्ने आशंकाले अर्को ताला लगाइएका छन् । लामो समयसम्म ठेकेदार र घर मालिकको सम्पर्क नहुँदा दुईवटै ताला खोलिएका छैनन् ।’

कालीकोटका चार स्थानीय तहबाट नुन वितरण
कालिकोटका नौ स्थानीय तहमध्ये चार स्थानीय तहले साल्ट ट्रेडिङ कर्पोरेसन कालिकोटसँग खरीद गरेर स्थानीय तहमा नै बिक्रि गर्न थालेका छन् । जिल्लाका रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै र सान्नी त्रिवेणी गाउँपालिकाले आफै खरीद गरेर नागरिकलाई वितरण गर्न थालेका छन् ।

सान्नी त्रिवेणीले नौवटै वडाका नागरिकका लागि पहिलो चरणमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग एक सय ७५ क्विन्टल नुन खरिद गरेर वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले बताए ।

आयोडिनयुक्त नुन गाउँमै उपलब्ध गराउने उद्देश्यले प्रत्येक वडामा नुन ढुवानी गरिएको र तत्काल नै वितरण थालिने गाउँपालिका अध्यक्ष केसीले बताए । विगतमा नुन लिन रू दुई हजारभन्दा बढी खर्च र पूरै एक दिन समय लगाएर सदरमुकाम पुग्नुपथ्र्यो ।

तिलागुफा नगरपालिकाका प्रमुख शंकरप्रसाद उपाध्यायले साल्ट ट्रेडिङ कर्पोरेसनसँगको सहकार्यमा नगरपालिका केन्द्रमै अस्थायी डिपो स्थापना गरेर नुन वितरण सेवा दिएको बताए । ‘लामो प्रयासपछि स्थानीय तहबाटै नुन वितरणको हुन थालेको छ ।’ उनले भने, ‘अहिले अस्थायी कार्यालय खोलेर वितरण गर्न थालिएको छ, यसलाई स्थायी बनाएर पछि नियमित वितरण गर्ने तयारीमा छौँ ।’

यसअघि रास्कोट नगरपालिकाका नागरिकले सास्ती खेप्न थालेपछि अहिले स्थानीय तहबाट नै नुन वितरण गर्दै आएको रास्कोट नगरपालिकाका प्रमुख धर्मराज शाहीले बताए । ‘हामीले गत वर्षदेखि नै रास्कोटबाट नुन वितरण गर्दै आएका छौं ।’ उनले भने,‘यसले नागरिकको समयको बचत र नागरिकको खर्च बचत भएको छ ।’

महाबै गाउँपालिकाले गाउँबाटै नुन वितरण सुरू गरिसकेको त्यसले नागरिकको नुनको सास्ती खेप्नुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले बताए ।

हुम्लाको गाउँ-गाउँमा हेलिकप्टरबाट नुन ढुवानी
स्थलमार्गबाट नुन ढुवानीमा समस्या देखिएपछि हुम्लास्थित साल्ट टेडिङ कर्पोरेशनले हेलिकप्टरबाट नुन ढुवानी गर्ने गरेको छ । नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै सर्केगाड गाउँपालिका–४ दुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि सो ठाउँबाट हेलिकोप्टरको माध्यमबाट ढुवानी गर्ने गरिएको छ ।

चालु आर्थिक वर्षको दुुई हजार दुुईसय क्विन्टल नुन हेलिकप्टरबाट ढुवानी गरिएको साल्ट टेडिङ कर्पोरेशन सिमकोट शाखाका प्रमुख राजबहादुुर लामाले बताए । ‘हामीले दुर्गम तथा विकट ठाउँमा हेलिकप्टरबाट नुनको ढुवानी गर्दै आएका छौं ।’ उनले भने,‘अहिले नुनका अभाव कुनै ठाउँमा देखिएको छैन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved