आक्रामक बन्दै कांग्रेस, संसद् चल्न नदिने चेतावनी

त्यसो त कांग्रेसको यो माग नयाँ होइन, यसअघिको संसद् अधिवेशनमा सत्तापक्षीय बेञ्चमा रहेको कांग्रेस प्रतिपक्षी बेञ्चमा पुगेलगत्तै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो ।

नेपालभ्युज

आक्रामक बन्दै कांग्रेस, संसद् चल्न नदिने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् चल्न नदिने चेतावनी दिएको छ । बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा पार्टी महामन्त्रीसमेत रहेका कांग्रेस सांसद विश्वप्रकाश शर्माले भने— हाम्रो मागप्रति सरकार उदासीन छ । अब पनि संसदीय छानबिन समिति नबने सदन चल्दैन ।

त्यसो त कांग्रेसको यो माग नयाँ होइन, यसअघिको संसद् अधिवेशनमा सत्तापक्षीय बेञ्चमा रहेको कांग्रेस प्रतिपक्षी बेञ्चमा पुगेलगत्तै संसदीय छानबिन समिति बनाउन माग गरेको थियो । आफू प्रतिपक्षी बेञ्चमा पुगेपछि पहिलोपटक गत फागुन २५ गते बसेको बैठकमै कांग्रेसले भनेको थियो— सहकारी ठगी प्रकरणमा दोषी देखिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको कि राजीनामा चाहियो, कि संसदीय छानबिन समिति चाहियो ।

तर, झन्डै एक महिनाअघिदेखि प्रतिपक्षी कांग्रेसले उठाइरहेको मुद्दालाई सरकारले सम्बोधन गरेको छैन । बरु उल्टै गृहमन्त्री लामिछानेको संलग्नता नरहेको स्पष्टीकरण दिइरहेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम्‌ले नै गृहमन्त्री लामिछानेको संलग्नता नरहेको भनेर संसद्‌बाटै ‘क्लीन चिट’ थमाएका छन् ।

यसपछि थप चिढिएको कांग्रेसले सबै बैठकहरूमा आफ्नो माग दोहोर्‍याउँदै आएको छ । तर, सरकार नसुनेको-नसुन्यै छ । हिजोआज  संसद् बैठकको सुरुमा कांग्रेस सांसदहरू नउठे बैठक नै हुँदैन कि जस्तो अवस्था बनेको छ । हरेक दिन बस्ने बैठकको सुरुमा कांग्रेस सांसदहरू जर्‍याकजुरुक उठ्ने, सभामुख देवराज घिमिरले ‘के कुरा हो राख्नुस्’ भनेर एक सांसदलाई समय दिने र सभामुखको ‘बस्नुस्’ भन्ने आग्रहपछि कांग्रेस सांसदहरू बस्ने क्रम चलेको निकै दिन भइसक्यो ।

तर, सरकार अझै उदासीनतामै छ । यसपछि कांग्रेसले सदन चल्न नदिने चेतावनी दिएको हो । उसो त अहिलेसम्म कांग्रेसले संसद् अवरुद्ध नै भने गरेको छैन । बैठकको सुरुमा विरोध गरेपनि त्यसपछि सहजरूपमै बैठक बस्दै आएको छ । तर, अब भने आफूहरूको मागमा थप उदासीनता देखिए अवरुद्ध नै गर्ने चेतावनी दिएको छ ।

बजेटका सिद्धान्त तथा प्राथमिकताबारे छलफल भइरहेकाले संसद् अवरुद्ध नै चाहिँ नगर्ने बताउँदै आएका कांग्रेस सांसदहरूले अब भने अवरुद्धकै तहमा ओर्लिने चेतावनी दिएका छन् । सांसद शर्मा (Bishwaprakash sharma) ले भने, “अझै पनि अटेरीपन बढे संसद् चल्दैन । अब अल्टिमेटम सकियो । बरु अर्को बैठकमा संसदीय समिति लिएर आउनुस् ।”

सम्बन्धित समाचार-

संसद्‌‌मा कांग्रेसको आवाज : कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved