संसद्‌‌मा कांग्रेसको आवाज : कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !

नेपालभ्युज

संसद्‌‌मा कांग्रेसको आवाज : कागलाई बेल पाक्यो, हर्ष न बिस्मात !

काठमाडौं । प्रमुख प्रतिपक्षी बेञ्चमा पुग्नेबित्तिकै नेपाली कांग्रेसले उठाएको मुद्दा हो— उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने (Rabi Lamichhane) को राजीनामा, जुन अहिले पनि निरन्तररूपमा उठाउँदै नै छ ।

पछिल्लो पटक सोमबार मात्रै बसेको संसद् बैठकमा पनि कांग्रेस (Nepali Congress) को माग योभन्दा फरक थिएन । कांग्रेस सांसद प्रतिमा गौतमले भनिन्— सहकारी ठगी प्रकरणमा माननीय रवि लामिछानेविरुद्ध पनि उजुरी परेको छ । तर, सरकार नसुनेको-नसुन्यै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गत फागुन २१ गते कांग्रेससहितको सत्ता गठबन्धन फुटाए र नेकपा (एमाले)कहाँ सारे । यसको ४ दिनपछि फागुन २५ गते अर्थात् नयाँ गठबन्धन बनेपछिको पहिलो संसद् बैठक बसेको थियो । त्यस बैठकमा पनि कांग्रेसको माग गृहमन्त्री लामिछानेकै राजीनामा थियो ।

दिन नै गन्ने हो भने पनि कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामाको मुद्दा उठाएको २५ दिन बित्यो । तर, सत्तापक्ष अर्थात् सरकार भने प्रमुख प्रतिपक्षले उठाएको मुद्दाप्रति उदासीन देखिन्छ ।

नयाँ गठबन्धन बनेयता प्रत्येक दिनको संसद्‌ बैठकको सुरुमा कांग्रेस सांसदहरू जर्‍याकजुरुक उठ्छन्, सभामुख देवराज घिमिरे (Devraj Ghimire) ले कुनै एक सांसदलाई ‘के कुरा हो राख्नुस्’ भनेर समय छुटाउँछन्, प्रत्येक दिन हरेक सांसदले एउटै कुरा उठाउँछन्; उही गृहमन्त्री लामिछानेको राजीनामा, त्यो नभए उच्चस्तरीय संसदीय छानबिन समिति ।

यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वयम् गृहमन्त्री लामिछानेले नै संसद्‌मा जवाफ दिए । तर, कांग्रेसले चित्त बुझाएन । उनीहरूको जवाफपछि त झन् कांग्रेसले भन्न थाल्यो— हाम्रो एकसूत्रीय माग भनेको राजीनामा नै हो ।

राजीनामा नआएपछि कांग्रेस उच्चस्तरीय संसदीय छानबिन समिति बनाउन माग गर्‍यो । त्यो पनि सत्तापक्षले सुनेको छैन । अहिले पनि माथि उल्लेख गरिएको जस्तो सांसदहरू उठ्ने, सभामुखले बोल्न दिने चक्र नै चलिरहेकै छ । अर्थात् दैनन्दिनको घटनाक्रम परिवर्तन छैन ।

त्यसो त कांग्रेसले संसद् अवरुद्ध नै चाहिँ गरेको छैन । अरु दलहरूले समेत ‘लामो लोकतान्त्रिक विरासत भएको दल’ भनेकाले हुनुपर्छ, उसले बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल भइरहँदा आफूले अवरुद्ध नै चाहिँ नगर्ने बताएको छ ।

प्रमुख प्रतिपक्षी बेञ्चमा पुगेपछिको दोस्रो बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद गगनकुमार थापाले भनेका थिए— सिद्धान्त तथा प्राथमिकतामाथि छलफल भइरहेको छ । यसबेला हामीले सदन अवरुद्ध गर्न हुँदैन । तर, प्रमुख प्रतिपक्षको आवाज सरकारले सुन्नुपर्छ ।

तर, विडम्बना; कांग्रेसले केही विरोधबाहेक सदन अवरुद्ध त गरेन तर, सत्तापक्षले प्रमुख प्रतिपक्षको आवाज भने सुनेन । यस अर्थमा संसद्‌भित्रको कांग्रेसको आवाज ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भनेजस्तो भएको छ ।

त्यसो त कांग्रेसले आफूहरूको माग कुनै पनि हालतमा सम्बोधन हुनुपर्ने अडान राखेको छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी देखिएको यथेष्ट प्रमाणहरू रहेको उल्लेख गर्दै कांग्रेस सांसदहरूले राजीनामा, राजीनामा नभए उच्चस्तरीय संसदीय छानबिन समितिको विकल्प नरहेको बताउँछन् ।

कांग्रेस सांसद बद्री पाण्डे (Badri Pande) भन्छन्, “हाम्रो मागबारे सरकारबाट कुनै प्रयास पनि भएको छैन । अझै यही प्रवृत्ति रहिरह्यो भने हामी अझ कठोरूपमा अघि बढ्नेछौँ ।”

गृहमन्त्री लामिछानेलाई प्रहरी प्रमुखले पनि संसदीय समितिमै पुगेर ‘क्लिन चिट’ दिएको उल्लेख गर्दै उनले भने थपे, “यसको मतलब सरकार र सरकारका निकायबाट अनुसन्धान हुन सक्दैन, हुँदैन भन्ने पुष्टि भएको छ । यस्तो अवस्थामा कि राजीनामा कि संसदीय छानबिन समिति हो ।”

अर्का कांग्रेस सांसद सञ्जयकुमार गौतम आफूहरूको माग पूरा नभए यो चुनावी मुद्दा बन्ने बताउँछन् । सरकारबाट तपाईंहरूको मागको सम्बोधन हुने सम्भावना छैन त ? भन्ने नेपालभ्युजको जिज्ञासामा उनी भन्छन्— कुनै पनि हालतमा सम्बोधन हुनुपर्छ । यो नैतिकताको पनि कुरा हो । त्यो उहाँहरूले जान्ने कुरा हो । तर, यदि त्यो भएन भने यो मुद्दा हामी जनताका बीचमा लिएर जानेछौँ ।

सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) सचिव दीनानाथ शर्मा (Dinanath Sharma) भने कांग्रेसले ठीक नगरेको बताउँछन् । अहिलेको कांग्रेसको कदम विगतदेखि नै हुर्किँदै संसदीय संस्कारको उपज भएको उल्लेख गर्दै उनले भने, “खासगरी ०४७ पछि हामीले नै गरेको संसदीय अभ्यासको उपज हो अहिलेको कांग्रेसको कदम पनि । सत्तापक्ष हुँदा ठीक र विपक्षमा जानेबित्तिकै सबै बेठीक भन्ने चलन हामीले नै चलाएका हौँ । अहिले कांग्रेसले पनि त्यसै गरिरहेको छ ।”

यसलाई विकृत राजनीतिक अभ्यासको संज्ञा दिँदै उनी थप्छन्, “यसमा सबै सच्चिनुपर्छ । अहिले कांग्रेसले गरिरहेको विरोधका लागि विरोध हो । कुरा उठाउन बेठीक होइन । तर, त्यसैलाई ईस्यू बनाएर महिनौं विरोध गर्नुचाहिँ गलत हो ।”

प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली (Pradip Kumar Gyawali) कांग्रेसले प्रतिशोध साँधिरहेको बताउँछन् । कुनै प्रमाणबिना कांग्रेस बोलिरहेको उनको धारणा छ । “सत्तामा रहँदासम्म ठीक भएको कुरा विपक्षमा जानेबित्तिकै बिग्रने हुँदैन, कांग्रेसले प्रतिशोध साँधिरहेको छ,” उनले भने ।

उनी कांग्रेसले सहजरूपमा सदन चल्न दिएर जनताका दैनन्दिनका समस्याबारे बोल्नुपर्ने बताउँछन् ।

२५ दिनसम्म निरन्तर चलिरहेको यो क्रम कहिलेसम्म चल्छ, थाहा छैन । तर, चाँडै टुङ्गिने सम्भावना पनि देखिँदैन । कांग्रेस टसमस हुने देखिँदैन । उता सत्तापक्षीय दलहरू पनि नसुनेको-नसुन्यै छन् । यस्तो अवस्थामा यही क्रम लामै समय रहन्न भन्न सकिन्न ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved