सम्पादकीय

सरकार, मरीमरी रुख जोगाएको डढेलोका लागि हो ? यसको कारण र निवारण अविलम्ब खोज

हाम्रो वन नीति एकाङ्की र अतिसंरक्षणवादी छ । एकातिर हामी ‘हरियो वन, नेपालको धन’ भन्छौँ । तर, जनतालाई वनजङ्गलको समुचित उपयोग गर्न भने दिँदैनौँ । अर्बौं मूल्य बराबरको काठ विदेशबाट आयात गर्छौँ । तर, राष्ट्रिय वन तथा निकुञ्जभित्र भने त्यसभन्दा बढी मूल्यको काठ सडेर, कुहेर, सङ्कलन हुन नसकेर, यसरी नै डढेलोमा जलेर खेर गइरहेको छ ।

नेपालभ्युज

सरकार, मरीमरी रुख जोगाएको डढेलोका लागि हो ? यसको कारण र निवारण अविलम्ब खोज

जताततै भयावह डढेलोले देश आक्रान्त हुँदै गएको छ । अर्बौं मूल्यका वन पैदावार जलेर नष्ट भएका छन् । दुर्लभ र संरक्षित वन्यजन्तु जोखिममा परेका छन् । तिनको आवास उजाडिएको छ र आहारा नष्ट भएको छ ।

डढेलो र आगलागीको धुवाँले वायु प्रदूषण बढेको छ । वनजङ्गल छेउछाउका गाउँवस्तीमा आगलागीको जोखिम तीव्र छ । हजारौं घर-गोठ जलेका समाचार आएका छन् ।

यो वर्ष ७४ जिल्लाका करिब ५०० स्थानमा डढेलो लागेको तथ्याङ्क छ । यो क्रम अझै रोकिएको छैन । डोल्पा, धादिङ, रामेछाप, ललितपुर, खोटाङ, गुल्मी, स्याङ्जालगायत केही जिल्लामा डढेलोबाट केहीको मृत्युसमेत भएको छ । डोल्पामा सुरक्षाकर्मीको समेत निधन भएको छ ।

वनजङ्गलमा सानातिना डढेलो वर्षैपिच्छे लाग्ने गरेका हुन् । विशेषत : चैत-वैशाख महिनाको सुक्खायामा यस्तो समस्या वर्षेनी आउने गरेको छ । तर, यो वर्ष डढेलोको समस्याले किन विकराल रूप लियो ? जैविक चक्र तथा वातावरणीय-मानवीय सम्बन्धमा के भिन्नता आयो ? भयावह डढेलोका वास्तविक कारण के हुन् ? निवारण के हो ? यसको अविलम्ब खोजी हुन पर्दछ ।

दु:खको कुरा, सम्बद्ध सरकारी निकायले यसबारे पर्याप्त ध्यान दिएका छैनन् । वन था वातावरण मन्त्रालयले यसबारे एक प्रकारको ‘श्वेतपत्र’ नै जारी गर्नुपर्ने स्थिति उत्पन्न भइसकेको छ । डढेलो प्राकृतिक विपत्ति मात्र हैन, यसमा राज्यका नीतिगत त्रुटिको सञ्चिति र मानवीय क्रियाकलापको प्रभावसमेत परेको हुन्छ ।

हाम्रो वन नीति एकाङ्की र अतिसंरक्षणवादी छ । एकातिर हामी ‘हरियो वन, नेपालको धन’ भन्छौँ । तर, जनतालाई वनजङ्गलको समुचित उपयोग गर्न भने दिँदैनौँ । अर्बौं मूल्य बराबरको काठ विदेशबाट आयात गर्छौँ । तर, राष्ट्रिय वन तथा निकुञ्जभित्र भने त्यसभन्दा बढी मूल्यको काठ सडेर, कुहेर, सङ्कलन हुन नसकेर, यसरी नै डढेलोमा जलेर खेर गइरहेको छ ।

वनजङ्गलको पतकर सङ्कलन गरेर प्राङ्गारिक मल बनाउने प्रचलन केही दशक अघिसम्म व्यापक थियो । कृषि कार्यप्रतिको अरुचि, रसायनिक मलको बढ्दो प्रयोग र बसाइँसराइको कारणले वनजङ्गलका पातपतिङ्गर सदुपयोग हुन छोडेका छन् ।

विज्ञ भन्छन्— वन पैदावरको मानवीय प्रयोग कम हुँदा त्यसको ईन्भेन्ट्री वनजङ्गलभित्रै सङ्कलित हुन्छ । डढेलो भयावह हुन यस्ता ईन्भेन्ट्री बढी जिम्मेवार हुन्छन् ।

३० को दशकदेखि देशमा वनजङ्गलको विनाश तीव्र हुँदै गएको थियो । त्यतिखेर घर बनाउने मुख्य सामाग्री नै काठ थियो । पशु चरिचरन वनजङ्गलमै हुन्थे । घाँस दाउरा जङ्गलबाटै सङ्कलन गरिन्थ्यो । ग्रामीण मानवीय जीवनको आधारमध्ये एक वनजङ्गल थियो ।

तर, ५० को दशकपछि यो प्रवृत्ति उल्टो भयो । घर-गोठ सामुदायिक तथा सरकारी भवन बनाउन काठ कम र इट्टा, सिमेन्ट, बालुवा बढी प्रयोग हुन थाल्यो । तसर्थ, वनजङ्गलको प्रयोग घट्दै गयो ।

जस्तापाता दुर्गम गाउँ-गाउँसम्म पुगेपछि खरको प्रयोग हुन छोड्यो र सायद डढेलो व्यापक बनाउन सुकेका खरबारी पनि कारक बनेर देखा परे । एलपी ग्यासको प्रयोग व्यापक हुँदै गएपछि दायराको प्रयोग पनि स्वाभाविक रूपमा कम भयो ।

हिजो संरक्षणमुखी दृष्टिबाट हेर्दा यी प्रवृत्ति वा सूचक राम्रा र सकारात्मक मानिएका थिए । आज भयावह डढेलो निम्तिनुमा यिनै नीतिगत त्रुटिको सञ्चिति मुख्य कारण हुन सक्दछ ।

वन पैदावार डढेलोले सखाप पर्दा देशलाई चौतर्फी हानिनोक्सानी हुन्छ । आगलागीबाट हुने धनजनको क्षति तथा वातावरणीय विनाश र जैविक विविधता ह्रासको समस्या त आउँछ नै, सँगै आर्थिकरूपमा पनि देशले ठूलो नोक्सानी बेहोर्नु पर्दछ ।

एक डोको दाउरा बटुल्ने वा पातपतिङ्गर सङ्कलन गर्ने नागरिक यहाँ कठोर वन नीतिका कारण जेल पर्दछ तर, डढेलोले एक क्षणमै कति मूल्य बराबरको वन पैदावार नष्ट गर्दछ भन्ने हामी कुनै हिसाब राख्दैनौँ ।

वनजङ्गल भनेको जोगाउन, बढाउन वा संरक्षण गरेर रमाउनका लागि मात्र हैन, वैज्ञानिक व्यवस्थापन र उपयोगका लागि पनि हो । आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको निर्माण, आयात प्रतिस्थापन र व्यापार घाटा कम गर्न वनजङ्गलको ठूलो महत्त्व र भूमिका हुन्छ भन्ने हामीले कहिल्यै बुझेनौँ ।

कङ्क्रिटका आधुनिक आवास निर्माण, घरेलु इन्धन प्रयोगमा दाउराको कमी, सामुदायिक वनको अभ्यास, प्राङ्गारिक कृषि कार्य र ग्रामीण पशुपालनमा ह्रास, तीव्र शहरीकरण र आन्तरिक तथा बाह्य बसाइँसराइले ग्रामीण तथा पहाडी क्षेत्रका निजी जग्गा-जमिनसमेत वनजङ्गल तथा झाडी बन्दै गएको जस्ता कारणले देशमा वनजङ्गलको क्षेत्रफल र ईन्भेन्ट्री बढ्दै गएको छ ।

विगत ३० वर्षमा वनजङ्गल ६ प्रतिशतले बढेर कूल क्षेत्रफलको ३६ बाट ४२ प्रतिशत पुगेको छ । देशको ४२ प्रतिशत जमिनलाई अति संरक्षणवादी दृष्टिकोणले प्रभावित भई आर्थिक दृष्टिकोणबाट निष्क्रियजस्तो राख्नु कुनै पनि अर्थमा उचित नीति हैन । राज्यले वनजङ्गलसम्बन्धी नीतिमा अविलम्ब पुनरावलोकन गर्नु पर्दछ ।

जलवायु परिवर्तन, विश्व तापमान वृद्धि र कार्बन उत्सर्जनलाई अनुकूलन गर्न हामीले वनजङ्गलको महत्त्वलाई कम आँक्न सक्दैनौँ । तर, उत्तिकै ठूलो सत्य के हो भने त्यसको सही व्यवस्थापन निष्क्रिय धन नीतिबाट हुन सक्दैन । निष्क्रिय राखेको धन यसरी नै डढेलोले खाइदिन्छ । कसैलाई कुनै फाइदा हुँदैन ।

वनजङ्गलमा आगजनीजन्य साम्रगी नै छैन वा कम छ भने प्राकृतिक हिसाबले नै डढेलो भयावह बन्न सक्दैनन । डढेलो काँचा तथा ठूला वनस्पतिबाट फैलिँदैन । पत्कर, झाडी र सुकेका काठबाट फैलिन्छ । यस्ता वन पैदावारको समयमै व्यवस्थापन हुने हो भने स्थानीय ग्रामीण जनतालाई पनि फाइदा हुन्छ, डढेलोको सम्भावना पनि कमजोर हुन्छ । वनजङ्गलको नियमित थ्रिनिङ, पुनिङ नगर्दा यो समस्या भयावह भएको हो भन्न सकिन्छ ।

राज्यले वैज्ञानिक वन व्यवस्थापनमा ध्यान नदिएको, वैन पैदावारको समुचित र समयमै उपयोग नगरेको, वनजङ्गलमा नागरिकको पहुँचलाई कमजोर बनाएको कारणले डढेलो बढेको हो ।

अर्को पाटो डढेलोप्रति नागरिक सचेतनाको अभाव तथा निभाउने मानवीय तथा भौतिक संयन्त्रको अभाव हुन सक्दछ । जङ्गलमा जथाभावी र अनावश्यक आगोको प्रयोग नगर्ने ज्ञान स्थानीय जनतामा हुनै पर्दछ । साथै डढेलो सानो हुँदै छोप्ने वा निभाउने स्थानीय संयन्त्र सक्रिय हुने हो भने भयावहरूपमा फैलिने थिएन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved