सम्पादकीय

प्रधानमन्त्रीलाई जवाफदेही बनाउने अख्तियारको मार्गनिर्देशक कदम

नेपालभ्युज

प्रधानमन्त्रीलाई जवाफदेही बनाउने अख्तियारको मार्गनिर्देशक कदम

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले  बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै अख्तियारको कदमबारे बहस चर्किएको छ । मन्त्रिपरिषद्का हरेक निर्णय नीतिगत हुने भन्दै  अख्तियार प्रवेश गर्न नपाउने बहस एकथरीले गरिरहेका छन् । तर, अख्तियारले पतञ्जली प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै मन्त्रिपरिषद्का निर्णय नीतिगत भन्दै प्रधानमन्त्री पन्छिन नमिल्ने नजिर  स्थापित गरेको छ ।

प्रधानमन्त्रीको ठाडो संलग्नतामा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई देशको प्रचलित भूमि कानुनविपरीत  हदबन्दीभन्दा बढी जग्गा खरिद तथा बिक्री गर्न दिएको, बैंकमा धितो जमानी राखेर ऋण प्रवाह गराएको र सरकारी स्वामित्वमा आउनुपर्ने जमिन विक्री गराउन प्रधानमन्त्रीको संलग्नता रहेको अख्तियारको ठहर छ ।

यो घटनाले भ्रष्टाचार तथा आर्थिक अनियमितता छानबिन र कारवाहीको सन्दर्भमा केही नयाँ पक्ष र आयामलाई आकर्षित गरेको छ । मन्त्रिपरिषद्को नीतिगत निर्णयमा अख्तियार प्रवेश गर्न नपाउने मान्यतालाई यसले तोडेको छ । मन्त्रिपरिषद्ले गरेका निर्णय ‘नीतिगत हुने’ र त्यस कारण प्रधानमन्त्रीलाई छानबिन र कारवाही प्रक्रियामा नल्याउने यसअघिका मान्यता तोड्दै अन्य काण्डहरूको छानबिन गर्ने बाटो पनि खुलेको छ ।

मन्त्रिपरिषद्‍बाट निर्णय गराउने प्रधानमन्त्री उम्किने, तर निर्णयका आधारमा कार्यसम्पादन गर्नेहरू दोषी करार हुने  कुरा अन्यायपूर्ण थियो ।  यो प्रचलनले संविधानप्रदत्त समानताको सिद्धान्त र विधिको शासनको उपहास भइरहेको थियो । अख्तियारले नीतिगत निर्णयबारे प्रस्ट पारिदिन आफ्ना प्रतिवेदनहरूमार्फत आग्रह गरिरहेको थियो ।

राष्ट्रियसभामा उत्पत्ति भएको  अख्तियारसम्बन्धी विधेयकले  नीतिगत निर्णयको व्याख्या गरेको छ । तीन निर्णयलाई नीतिगत मान्न नसकिने त्यसमा उल्लेख छ ।  पहिलो, सर्वसाधारणलाई समान रूपमा लागू नहुने र सार्वजनिक रूपमा घोषणा भएको नीतिको प्रतिकूल हुने गरी कुनै खास व्यक्ति वा निजी संस्थालाई मात्र लागू हुने गरी गरिएको निर्णय । दोस्रो,  कुनै निकाय वा अधिकारीले निर्णय गर्नुपर्ने विषयमा अधिकार क्षेत्र नाघेर मन्त्रिपरिषद्‌मा लगेर गरिने निर्णय, तेस्रो,  सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनविपरीत सार्वजनिक खरिद सम्बन्धमा गरिएको निर्णय पनि नीतिगत नमान्ने उल्लेख छ ।

मन्त्रिपरिषद्का हरेक निर्णयलाई नीतिग मान्न नसकिने कानुन बनाउन शीर्ष नेताहरू नै तयार छैनन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा यो विधेयक अड्किरहेको छ । समितिअन्तर्गतका उपसमितिका संयोजक हृदयराम थानीले शीर्ष नेताहरूको दबाबबारे बारम्बार बोल्दै आएका छन् । ठीक यही बखत, अख्तियारले हरेक निर्णयलाई नीतिगत मान्न नसकिने नजिर स्थापित गरेको हो ।

पूर्वप्रधानमन्त्री नेपालविरुद्धको यो मुद्दा १३ वर्षपछि व्युँतिएको हो । तामेलीमा राख्ने आफ्नै निर्णय उल्ट्याउँदै अख्तियारले मुद्दा चलाएपछि राजनीतिक प्रतिशोधका रूपमा व्याख्यासमेत भएको छ । संवैधानिक नियुक्तिमा हुने अधिक राजनीतीकरणले यो आशंका उब्जाएको हो । निर्णयको बदनियतमा प्रश्न उठाउँदै सुशासनकै खातिर कदम चालिएको हो भने त्यसले नयाँ मानक स्थापित गर्ने छ । बदलाप्रेरित हो भने यसको असर भयावह हुनेछ ।

यो विषयलाई राजनीतिक रंग दिने प्रयत्न पनि सुरू भइसकेको छ। अभियोग लागेका पूर्वप्रधानमन्त्री नेपालले आफ्नो राजनीतिक करियर समाप्त पार्ने षड्यन्त्र भनेका छन् । यो विषय अब न्यायिक परीक्षणमा गएको छ । तसर्थ, राजनीतिक प्रतिवादभन्दा पनि कानुनी निवारणमा सघाउँदै विधिको शासनप्रति जवाफदेहीता प्रस्तुत गर्नु उपयुक्त हुनेछ ।

संवैधानिक आयोग अख्तियारमाथि निष्पक्षताको प्रश्न उठेको हुँदा उसले बलियो जवाफ दिनुपर्ने आवश्यकता छ । यो कदमपछि दलहरूसामु नयाँ जिम्मेवारी आइपरहेको छ । राजनीतिक स्वार्थका कारण अड्काएको अख्तियारसम्बन्धी विधेयक अघि बढाउने र संवैधानिक आयोगको नियुक्ति दलीयकरण नगर्ने । अख्तियारको यो मार्गनिर्देशक कदमलाई विवादित बनाउनुभन्दा सुशासनको प्रतीक्षामा मुलुक रहेकाले कानुनी र व्यवाहरिक सुधारमा दलहरू अघि बढ्नुपर्छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप सम्पादकीय

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved