कस्तो होला आसन्न भारतीय लोकसभा निर्वाचनको परिदृश्य ?

भाजपाले ४०० भन्दा बढी सिट जित्ने दाबी गरेको छ भने विपक्षी गठबन्धनले उसलाई बहुमतमा पुग्न नदिने बताइरहेका छन् । दुवै गठबन्धनका आ-आफ्ना दाबी भए पनि विश्लेषकले तुलनात्मकरूपमा भाजपा र एनडीए गठबन्धन नै बलियो भएको बताउँछन् । पछिल्ला मत सर्वेक्षण र प्रादेशिक निर्वाचनले पनि त्यही देखाएको छ ।

कस्तो होला आसन्न भारतीय लोकसभा निर्वाचनको परिदृश्य ?

काठमाडौं । भारतीय निर्वाचन आयोगले १८औं लोकसभा निर्वाचनको मिति घोषणा गरिसकेको छ । निर्वाचनको मिति घोषणादेखि मतगणना प्रारम्भसम्म यसको प्रक्रिया ८२ दिन लामो हुनेछ । यो भारतीय निर्वाचनको इतिहासमै सर्वाधिक लामो अवधि हो ।

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारले १० वर्ष पूरा गर्दैगर्दा नयाँ निर्वाचन हुन लागेको हो । अहिलेको संसद्को कार्यकाल मेमा पूरा हुनेछ । योसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले दुई कार्यकाल पूरा गर्नेछन् ।

मोदी १० वर्षभन्दा बढी कार्यकाल पूरा गर्ने जवाहरलाल नेहरू, इन्दिरा गान्धी, मनमोहन सिंहपछि चौथो तथा भाजपाका पहिलो प्रधानमन्त्री हुन् । भाजपाका प्रथम प्रधानमन्त्री अटलबिहारी बाजयेपीको कार्यकाल करिब साढे ६ वर्षको थियो ।

७३ वर्षीय मोदी आफ्नो पार्टी र गठबन्धनबाट तेस्रोपटकका लागि भावी प्रधानमन्त्री घोषित छन् । तर, विपक्षी गठबन्धनले भने भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छैन । विपक्षी गठबन्धनले जितेमा भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे वा वरिष्ठ नेता राहुल गान्धीमध्ये एक प्रधानमन्त्री हुनसक्ने अनुमान छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ‘ह्याट्रिक’ गर्ने दाबी गरिहँदा विपक्षी गठबन्धनका मूल प्रचारक नेता राहुल गान्धी मोदीको तुलनामा सर्वेक्षणहरूमा कमजोर र कम लोकप्रिय देखिन्छन् ।

सबैभन्दा ठूलो लोकतन्त्रमा चुनाव

भारतीय लोकतन्त्रलाई ‘संसारकै सबैभन्दा ठूलो’ भनिन्छ । यसको कारण भारतको जनसङ्ख्या तथा मतदाता सङ्ख्या हो । ठीक यसैगरी बेलायतले संसारको सबैभन्दा पुरानो संसदीय लोकतन्त्र र अमेरिकाले सबैभन्दा पुरानो गणतान्त्रिक लोकतन्त्रको मान्यता पाएका छन् ।

सन् २०२३ अघि चीनको जनसङ्ख्या तथा मतदाता हुनसक्ने वयस्क जनसङ्ख्या भारतको भन्दा धेरै थियो । तर, चीनमा एकदलीय कम्युनिष्ट प्रणाली भएको हुँदा त्यसलाई संसारको सबैभन्दा ठूलो लोकतन्त्र कहलिने अवसर प्राप्त थिएन । अब भारत चीनलाई समेत उछिन्दै संसारको सबैभन्दा धेरै जनसङ्ख्या र मतदाता भएको देश बन्न पुगेको छ ।

भारतको जनसङ्ख्या सन् २०२३ यता करिब १ अर्ब ४० करोड पुगेको छ । आसन्न आम निर्वाचनका लागि करिब ९७ करोड मतदाता छन् ।

यसरी हुँदै छ चुनाव

भारतीय चुनाव आयोगले शनिबार सार्वजनिक गरेको समय तालिकाअनुसार निर्वाचन ७ चरणमा हुनेछ ।

अप्रिल १९ मा पहिलो चरणको मतदान हुनेछ भने देशभरिको मतगणना एकै पटक जुन ४ मा हुनेछ ।

५४३ सिटका लागि हुने लोकसभा निर्वाचनको मतदानमा पहिलो चरण अप्रिल १९ मा १०२ निर्वाचन क्षेत्र, दोस्रो चरण अप्रिल २६ मा ८९, तेस्रो चरण मे ७ मा ९४, चौथो चरण मे १३ मा ९६, पाँचौँ चरण २० मेमा ४९, छैठौँ चरण मे २५ मा ५७, र अन्तिम सातौँ चरणमा जुन १ मा ५७ निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

करिब १० लाख ५ हजार मतदान केन्द्र हुनेछन् भने करिब ५५ लाख भोटिङ मेसिन प्रयोग हुनेछन् ।

विपक्षी दल र नेताहरूले विद्युतीय भोटिङ मेसिन (ईभिएम) को विश्वसनीयतामा शङ्का गर्ने गरेका छन् । विद्युतीय मतदानमा कम्प्युटर ह्याकिङ वा अवैध भोट ट्रान्सफर हुनसक्ने भन्दै विरोध हुने गरेको छ । तर, भारतीय निर्वाचन आयोगले भने यो आरोप अस्वीकार गर्दै आएको छ ।

ईभिएमको प्रयोग सत्तारुढ दल भाजपाका लागि फाइदाजनक भएको तर्क गरिए भने त्यसको पुष्टि हुने आधार भने देखिन्न । ईभिएमको प्रयोगपछिका विभिन्न चुनावमा अन्य दलले पनि जित्दै आएका छन् ।

गठबन्धन

निर्वाचन प्रतिस्पर्धा मुख्य दुई गठबन्धनबीच हुने निश्चितप्राय छ । सत्तारुढ एनडीए गठबन्धनको नेतृत्व भाजपाले गर्नेछ भने विपक्षी इन्डिया गठबन्धनको नेतृत्व भारतीय राष्ट्रिय कांग्रेसले गर्नेछ ।

भाजपा अध्यक्ष जेपी नड्डा र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे भए पनि दुई गठबन्धनका मूल नेता प्रधानमन्त्री नरेन्द्र मोदी र राहुल गान्धी हुनेछन् ।

भाजपाका अतिरिक्त शिव सेना (सिन्धे समूह), जेडियु, एनपीपी, जनता दल (सेक्युलर) आरएलडी, एनसीपी, राष्ट्रिय लोक जनशक्ति पार्टी आदि एनडीए गठबन्धनका सहयोगी दल हुन् ।

इन्डिया गठबन्धनमा कम्तिमा २६ वटा विपक्षी दल समाष्टि हुने अपेक्षा छ । यस गठबन्धनमा कांग्रेसका अतिरिक्त भारतीय कम्युनिष्ट समूहहरू, समाजवादी पार्टी, आम आद्‌मी पार्टी, राजद, तृणमूल कांग्रेस, शिव सेना (ठाकरे समूह) लगायतका दल समावेश छन् ।

कतिपय क्षेत्रीय दलले दुवै गठबन्धनमा नरहेर चुनाव लड्न सक्नेछन् । सबै दलले गठबन्धनबारे प्रष्ट निर्णय लिइ नसकेको हुँदा मनोनयनका दिनसम्म केही फेरबदल हुन सक्ने छ ।

मुख्य एजेन्डा

निर्वाचनमा भाजपाको प्रमुख एजेण्डा मोदी सरकारका १० वर्षका उपलब्धि हुनेछन् । भाजपाले आर्थिक विकास, सुशासन, बलियो र आत्मनिर्भर भारत तथा विश्वमा भारतीय गौरवको स्थापना गरेको विषयलाई जोड दिनेछ । विगत १० वर्षमा भारतको अर्थतन्त्र ११औंबाट ५औं स्थानमा आएको र आगामी ५ वर्षभित्र विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनाउने विषय भाजपाले उठाउने छ ।

त्यसैगरी चन्द्रयानको सफलता, डिजिटल भारत, महिला, दलित र आदिवासी सशक्तिकरण, ठूला पूर्वाधार विकास, विश्व रङ्गमञ्चमा भारतको उपस्थिति र जी-२० मा भारतको अध्यक्षताजस्ता विषय पनि भाजपाले मुद्दा बनाउने तयारी गरेको छ । विपक्षी दलको नेतृत्वमा रहेको परिवारवाद भाजपाको अर्को मुख्य चुनावी अस्त्रमध्ये एक हुनेछ ।

मोदी सरकारले चुनावको मुखमा विवादास्पद नागरिकता ऐन लागू गरेको छ । यस ऐनमा पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट भारत आउने गैरमुस्लिम धर्मालम्बी शरणार्थीलाई भारतीय नागरिकता दिने प्रावधान समावेश छ । विपक्षी दलले यसलाई धार्मिक आधारमा मापदण्ड बनाइएको भनेर विरोध गर्दै आएका छन् ।

विपक्षी गठबन्धनले भने हिन्दुत्वको जोखिम, अन्धराष्ट्रवाद, मोदीको व्यक्तित्वपूजा, भ्रष्टाचार, बेरोजगारी, अल्पसङ्ख्यक अधिकार, बहुलवाद र धर्मनिरपेक्षताको मुद्दा उठाउने तयारी गरेका छन् । संविधानको धारा ३७० को खारेजी अर्को चुनावी मुद्दा हो । विपक्षी दलले यसको विरोध गर्दै कश्मीर स्वायत्तताको माग गर्नेछन् भने भाजपाले खारेजीको प्रतिरक्षा गर्नेछ ।

भाजपाले विचारधारा र मिसन आधारित पार्टीका रूपमा स्थापित हुने प्रयत्न गरिरहेको छ । भाजपा हिन्दुत्वभन्दा अझ बढी सांस्कृतिक राष्ट्रवाद र सभ्यता-राष्ट्रको पक्षमा रहेको छ । विपक्षी दलले भने धर्म, संस्कृति र सभ्यताको राजनीति गर्न नहुने बताउने गरेका छन् ।

सम्भावना के छ ?

भाजपाले ४०० भन्दा बढी सिट जित्ने दाबी गरेको छ भने विपक्षी गठबन्धनले उसलाई बहुमतमा पुग्न नदिने बताइरहेका छन् । सिट, तालमेल र सहकार्य बढाउन सके गैरभाजपा सरकार बन्नसक्ने विपक्षी दलको दाबी छ ।

दुवै गठबन्धनका आ-आफ्ना दाबी भए पनि विश्लेषकले तुलनात्मकरूपमा भाजपा र एनडीए गठबन्धन नै बलियो भएको बताउँछन् । पछिल्ला मत सर्वेक्षण र प्रादेशिक निर्वाचनले पनि त्यही देखाएको छ । राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा भाजपाले बहुमत हासिल गरी सरकार गठन गरेको थियो भने कांग्रेस तेलङ्गनामा सीमित भएको थियो ।

विश्वको नजर

भारतको नयाँ आम निर्वाचनलाई विश्वले नियालिरहेको छ । मोदी तेस्रोपटक प्रधानमन्त्री भएमा विश्व शक्ति सन्तुलनमा भारतको अडानमा कुनै नयाँपन आउने छैन ।

भाजपा र एनडीए गठबन्धनलाई विश्व राजनीतिका विश्लेषकले दक्षिणपन्थी राष्ट्रवादी शक्तिका रूपमा हेर्दछन् भने विपक्षी गठबन्धनलाई ‘लिबरल’ शक्ति मानिन्छ । तसर्थ, भारतीय चुनावले विश्व विचारधाराबीचको सङ्घर्षलाई पनि अभिव्यक्त गर्नेछ ।

भारतलाई एक उदीयमान विश्व शक्ति राष्ट्रका रूपमा संसारले स्वीकार गरिसकेको छ । यस दृष्टिकोणले पनि भारतीय आम निर्वाचन विश्वकै लागि महत्त्वपूर्ण हुनेछ ।

नेपाल प्रभाव

भारतीय लोकसभा निर्वाचन परिणामको नेपाल प्रभाव आफ्नै प्रकारको हुनेछ । भाजपा र एनडीए गठबन्धन पुन: विजयी भएमा हिन्दू राष्ट्र पक्षधर शक्तिहरू उत्साहित हुनेछन् भने विक्षपी गठबन्धन विजयी भएमा धर्मनिरपेक्षतावादी शक्ति उत्साही हुनेछन् । तर, जुन गठबन्धनले जिते पनि भारतको नेपालसम्बन्धी अन्य नीतिमा ठूलो परिवर्तनको अपेक्षा भने गरिएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved