संसद बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको तयारी

नेपालभ्युज

संसद बैठक बस्दै, अवरोध गर्ने कांग्रेसको तयारी

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ।

त्यस्तै, बैठकमा आर्थिक वर्ष २०८१/ ८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने कार्यसूची छ ।

तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/ ८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । सोही विधेयकमा छलफल गर्ने कार्यसूची तय गरिएको संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

फागुन २१ गतेदेखि नै सो विधेयकमाथि छलफल गर्ने समय तोकिएको थियो । सत्ता समिकरण फेरबदलका कारण छलफल हुन नसकेको विधेयकमा आजदेखि छलफल गर्ने कार्यसूची बनाइएको हो । यद्यपी आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने बताएको छ ।

कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री र सुन काण्डमा मुछिएका अर्थमन्त्रीको बर्खास्तीको माग गर्दै संसद अवरोध गर्ने तयारी गरेको छ । विवादित मन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने बताएको कांग्रेसले अहिलेसम्म आफ्ना सांसदलाई सो बारेमा सर्कुलर जारी नगरेको सांसद देवप्रसाद तिमल्सिनाले बताए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved