अर्को गठबन्धन बनाउन कांग्रेसका दुई मोडेल, एमालेसँग सहमति नभए गैरकम्युनिष्ट सरकार

माओवादीबाहेक सबै दलसँग संवाद

कांग्रेसले पहिलो मोडेलमा एमालेसँग मिलेर स्थायी सरकार बनाउने र त्यसमा सहमति नजुटे एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर अर्को गठबन्धन बनाउने उद्देश्यअनुसार छलफल अघि बढाएको छ ।

अर्को गठबन्धन बनाउन कांग्रेसका दुई मोडेल, एमालेसँग सहमति नभए गैरकम्युनिष्ट सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट पटक-पटक राजनीतिक बेइमानी भएको निष्कर्षसहित वैकल्पिक गठबन्धन बनाउन जुटेको नेपाली कांग्रेसले मूलत: दुईवटा मोडेलमा संवाद अगाडि बढाएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग बदला लिन तम्सिएको कांग्रेसले जसरी पनि नयाँ गठबन्धन बनाउनेगरी सक्रियता अघि बढाएको छ । यसकै लागि सभापति शेरबहादुर देउवाले संसद्‌मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेतासँग घरमै पुगेर भेटिरहेका छन् । त्यसको सुरुवात उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबाट गरेका छन् ।

कांग्रेसले पहिलो मोडेलमा नेकपा (एमाले) सँग मिलेर स्थायी सरकार बनाउने र त्यसमा सहमति नजुटे एमाले र माओवादी केन्द्रलाई बाहिरै राखेर अर्को गठबन्धन बनाउने उद्देश्यअनुसार छलफल अघि बढाएको छ ।

यसै क्रममा बुधबार बिहान मात्रै उनले नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग मिलेर जाने सन्दर्भमा सघन संवाद गरेका थिए । छलफलका विषय गोप्य राखिए पनि उक्त संवादमा मिलेर जाने विभिन्न मोडेलहरूमा छलफल भएको छ ।

देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टीलगायतका नेताहरूसँग भेट्ने तयारी गरेका छन् ।

कांग्रेसले संसद्‌को दोस्रो ठूलो दल एमालेलाई मिलेर सरकार बनाउन प्रस्ताव गरेको छ । यदि एमालेले कांग्रेसको प्रस्ताव स्वीकारेर आफ्नो नेतृत्वमा हालै बनेको नयाँ गठबन्धन तोड्ने अवस्था आए नयाँ सरकार बनाउन दुई दलको सङ्ख्या पर्याप्त हुनेछ ।

गठबन्धनमा नयाँ ‘ट्वीस्ट’- मिलेर सरकार बनाउनेगरी एमाले-कांग्रेसबीच संवाद

संसद्‌‌को सबैभन्दा ठूलो दल कांग्रेससँग ८७ र एमालेसँग ७७ सिट छ । एमाले-कांग्रेस मिलेको खण्डमा १६४ सिट पुग्छ । जुन २७५ सदस्यीय संसद् (प्रतिनिधिसभा) मा सरकार बनाउन प्रचुर सङ्ख्या हो । यो मोडेलमा सहमति नभए कांग्रेसले गैरकम्युनिष्ट गठबन्धन बनाउने प्रयास पनि गरिरहेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपा, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा, डा. सीके राउत नेतृत्वको जनमत, महन्थ ठाकुर नेतृत्वको लोसपालगायतका दल मिलाएर गैरकम्युनिष्ट गठबन्धन बनाउनेगरी पनि कांग्रेसले संवाद अघि बढाएको छ ।

यदि यी दल मिलेको खण्डमा पनि बहुमत पुग्ने देखिन्छ । कांग्रेस ८७, रास्वपा २१, राप्रपा १४, जसपा १२, जनमत ६, लोसपा ४ एकजुट बनेको खण्डमा १४४ सिट हुन्छ । जुन सङ्ख्या सरकार गठनका लागि पर्याप्त हो । सरकार गठनका लागि १३८ सिट चाहिन्छ ।

त्यसो त यी दल प्रधानमन्त्री प्रचण्डसँग सकारात्मक छैनन् । गठबन्धन भत्काउँदा आफूहरूसँग सल्लाहसमेत नगरेको भन्दै उनीहरू प्रधानमन्त्री प्रचण्डसँग चिढिएका छन् । यसअघि गठबन्धनले गरेको ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरिसकेको जसपा पनि  ‘पर्ख र हेर’ को अवस्थामा छ ।

यसअघि मङ्गलबार अपराह्न बसेको पार्टीको कार्यकारिणी समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले नयाँ गठबन्धनलाई समर्थन गर्नुअघि धेरै विषयवस्तु बुझ्नुपर्ने ब्रिफिङ्ग गरेका थिए । “अवस्था के हुन्छ, हेर्दै जाउँ । परिस्थिति परिपक्व र स्थिर बन्न दिनुपर्छ,“ ब्रिफिङ्गका क्रममा अध्यक्ष यादवले भनेका छन् ।

जसपा तत्काल सरकारमा नजाने, मधेसको मुख्यमन्त्री जसले दिन्छ उसैलाई समर्थन गर्ने !

जसै राप्रपा, जनमत, लोसपालगायतका दलहरू पनि प्रधानमन्त्री प्रचण्डसँग खुसी छैनन् । यस्तो अवस्थामा पार्टीहरूको त्यही ’सेन्टिमेन्ट’लाई समाएर अघि बढ्ने कांग्रेस नेताहरू बताउँछन् ।

देउवानिकट नेता मीन विश्वकर्मा भन्छन्, “प्रचण्डजीले बेइमानी नै गर्नुभयो । कमसेकम माधवकुमार नेपालजीसँग त सल्लाह गर्नुपर्छ नि, त्यो पनि छैन । उहाँले पटकपटक त्यही व्यवहार दोहोर्नुभयो । उहाँसँग पहिलेको गठबन्धनका कुनै पनि दलहरू खुसी छैनन् । यही अवस्थालाई बुझेर हामी चल्दैछौँ “


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved