मधेसको मुख्यमन्त्रीमा गठबन्धनका तीन दलको दाबी, कांग्रेससँग मिलेर सरकार बनाउने जनमतको ‘धम्की’ 

मधेसको मुख्यमन्त्रीमा गठबन्धनका तीन दलको दाबी, कांग्रेससँग मिलेर सरकार बनाउने जनमतको ‘धम्की’ 

जनकपुरधाम । सङ्घमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर मधेस प्रदेशमा प्रत्यक्षरूपमा देखिन थालेको छ । यसपछि जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकार के हुने भन्ने चासो देखिएको छ ।

सङ्घीय सत्ता गठबन्धनबाट नेपाली कांग्रेस बाहिरिएपछि मधेसमा पनि नयाँ शिराबाट सरकार गठन गर्ने तयारी थालिएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पनि समावेश गर्ने प्रयास गरिरहेका छन् । जनमतले सङ्घीय गठबन्धनमा सामेल हुन मधेस प्रदेशको मुख्यमन्त्रीको सर्त राखेको छ ।

१०७ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले)का सभामुखसहित २४, नेपाली कांग्रेसका २२, जसपाका १९, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९/९, नेकपा (एकीकृत समाजवादी) का ७, नगरिक उन्मुक्ति पार्टी (नाउपा) का १, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १, सङ्घीय समाजवादी पार्टी (ससपा) का १ र १ स्वतन्त्र सांसद छन् ।

वर्तमान गठबन्धनको अङ्कगणितअनुसार एमाले, जसपा र माओवादी केन्द्रको ५२ सांसद मात्र पुग्छ । त्यसैले एमाले, जसपा र माओवादीको मात्र सरकार भने बन्दैन । १०७ सदस्यीय प्रदेश सभामा सरकार बन्नका लागि कम्तिमा ५४ सांसद चाहिन्छ ।

यस्तो अवस्थामा जनमतले सहयोग नगरे पनि मधेसमा एमाले (२४), जसपा (१९), माओवादी (९), नाउपा (एक) र एक स्वतन्त्र (रिजवाल अन्सारी) नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक सांसदको सहयोगमा सरकार बन्नसक्छ ।

त्यसैगरी कांग्रेस (२३),जनमत (१३), लोसपा (९) र एकीकृत समाजवादी (६) लाई पनि दुई मत कम हुन्छ  । अर्थात् जनमत, लोसपा र एकीकृत समाजवादीमध्ये कुनै दल नयाँ सत्ता गठबन्धनमा सहभागी नभएमा कांग्रेसले पनि सरकार गठन गर्नसक्ने सम्भावना देखिन्छ ।

यही अङ्कगणितको फाइदा उठाउँदै जनमतले सङ्घीय सरकारमा सहभागी हुन मधेसको मुख्यमन्त्रीको सर्त राखेको हो । जनमतका उपाध्यक्ष वसन्त कुशवाहा वर्तमान सरकारमा सहभागी हुन नसकिने बताउँछन् ।

त्यसो त जनमतले एक महिनाअघि मात्रै मधेस सरकार त्यागेको थियो । “हामीलाई सरकारको नेतृत्व नदिए कांग्रेससँग मिलेर सरकार गठनको प्रयास गरिनेछ,” उनले भने ।

अर्कोतिर केन्द्रमा एमालेसहितका गठबन्धनमा जसपासमेत रहेकाले तत्कालै मधेस सरकारको नेृत्व परिवर्तन नहुने आकलन गरिन्छ । अन्य प्रदेशको तुलनामा जसपाको बलियो उपस्थिति मधेसमा छ । यसकारण केन्द्रको अवस्था जे-जसो भएपनि जसपा मधेस सरकार नछाड्ने पक्षमा छ ।

केन्द्रमा समीकरण फेरिए पनि मधेसमा जसपाको नेतृत्व यथावत् रहने जिकिर गर्छन् जसपा प्रदेश सांसद सरोज कुशवाहा । उनले भने, “मधेसमा यही सरकारले निरन्तरता पाउँछ ।”

तर, मधेस सरकार यथावत् रहने वा नेतृत्व परिवर्तन हुने; यो भने हेर्न बाँकी नै छ ।

आलोपालो सरकारको नेतृत्व हुने विषयमा सङ्घीय गठबन्धनले टुङ्गो लगाएपछि मात्र केही भन्ने माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साह बताउँछन् । उनका अनुसार आलोपालो नेतृत्व गर्ने सहमति गठबन्धनमा हुने सम्भावना छ ।

यद्यपि केन्द्रमा लोसपा र एकीकृत समाजवादी गठबन्धनमा नरहेकाले यी दुईमध्ये एक दल अथवा अन्य एक/एक सिट भएका दल वा स्वतन्त्र सांसदहरूलाई जोड्न सके मात्र बहुमत सरकार कायम राख्न सकिने देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved