सम्झनामा भक्तराज

इलामको सूर्योदयले यसरी सम्झियो भजन शिरोमणिलाई, ‘भक्तराज श्रद्धाञ्जली साँझ’ सम्पन्न

इलामको सूर्योदयले यसरी सम्झियो भजन शिरोमणिलाई, ‘भक्तराज श्रद्धाञ्जली साँझ’ सम्पन्न

इलाम । सोमबार साँझ शान्तिचोकमा रहेको विश्व होटलको हल दर्शकले खचाखच थियो । त्यो भीड थियो, आफ्नो लौकिक यात्रा बिसाएर परलोक महाप्रस्थान गरेका प्रसिद्ध गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति अपार श्रद्धा र कृतज्ञता जनाउन आएका इलामेलीको ।

सङ्गीतका पारखीहरूले आयोजना गरेका थिए, भक्तराज आचार्यको सम्मानमा श्रद्धाञ्जली साँझ ।

गायक/गायिकाको एकल गायन कार्यक्रम भइ नै रहन्छन् । तर, सङ्गीतकर्मीको निधनपछि सम्झना साँझ भने बिरलै आयोजना हुन्छन् । चिसो सकिन लागेको वसन्तको अन्ततिरको साँझमा इलामको मुटु सूर्योदयमा खचाखच दर्शक सामुन्ने कलाकारहरू आए ।

ठिक साढे ७ बजे कार्यक्रम सञ्चालक सञ्जय बरालले उद्घोष गरे— अब सुरू हुन्छ, भजन शिरोमणि भक्तराज आचार्यको सम्मानमा श्रद्धाञ्जली साँझ, सम्झनामा भक्तराज ।

गत साताको सोमबार भजन शिरोमणि भक्तराज आचार्य भौतिकरूपमा बिदा भएका थिए । उनी त अब हामीमाझ रहेनन् । तर, उनले सङ्गीतप्रेमीलाई आफ्ना कालजयी गीत-सङ्गीत उपहार दिएका थिए । त्यही उपहार गाएर उनको सम्झनामा श्रद्धाञ्जली साँझ आयोजना गरेका थिए, इलाम सूर्याेदयका बासिन्दाले ।

धेरैले सोध्छन्, मृत्युको परिभाषा के हो ? एउटा जीवित शरीर ढल्नु मृत्युको सामान्य परिभाषा हुन सक्छ । भन्नेहरूले भन्छन्, कोही जिउँदै मरिरहेका हुन्छन्, कोही मरेर पनि बाँचिरहेका हुन्छन् । कसैको प्वाँखजस्तै हल्का मरण हुन्छ, कसैको पहाडभन्दा गह्रुँगो मृत्यु हुन्छ । भौतिकरूपमा जन्मेपछि एक दिन मर्नैपर्छ ।

मृत्युलाई पर धकेल्न सकिन्छ । तर, मृत्युलाई रोक्न भने सकिँदैन । तर, कोही भौतिकरूपमा अस्ताए पनि उसका सृजनामार्फत सधैँ बाँचिरहन्छन्, अमर हुन्छन् ।

पहाडभन्दा गह्रुँगो मृत्यु भएको महसुस गरिएको भक्तराजको पनि भौतिक शरीर सकिसक्यो । घाटमा खरानी भएको उनको शरीर कणकण भएर पानी, हावा आदिमा हरायो । तर, उनले सृजना गरेको सङ्गीत कालजयी छ । भक्तराजको त्यही अमर कृति गाउँदै इलामेलीले सम्झना गर्दै थिए ।

“भक्तराजका सृजनालाई यसलाई सम्हालेर राख्नुको अर्थ एकबाट अर्को पुस्तालाई उनका गीत हस्तान्तरण गर्दै जानु हो । उनका गीत कालजयी बनेर युगौँ युग गुन्जिनु हो । हामीले उहाँको स्मरणका यो साँझ आयोजना गरेका हौँ,” इलामेलीको प्रतिनिधित्व गर्दै कार्यक्रम उद्घोषक सञ्जय बरालले भने ।

दर्शक-दीर्घाबाट सबैलाई अभिवादन गर्दै हलमा प्रवेश गरेका गायक तथा सङ्गीतकार गणेश पराजुलीले भन्दै थिए, “श्रद्धाञ्जली साँझबाट शोकलाई सङ्गीतमार्फत हामी शक्तिमा बदल्नेछौँ ।”

जीवन नै सङ्गीतका निम्ति तर्फ्याएका भक्तराजलाई श्रद्धाञ्जली साँझमा दर्शकका स्मरणमा उभ्याउन आएका थिए, दर्जन जति अरु कलाकारहरू ।

वाध्यवाधकहरू हार्मोनियम, बाँसुरी, ढोलकलगायतको सुरमा गायक गायिकालाई हौस्याउँदै थिए । हार्मोनियम समाएर आफैँ बसे गायक तथा सङ्गीतकार गणेश पराजुली । हातका औँलाहरूले ताल र सुर मिलाउँदै लयात्मक धुन पनि पस्किन थाले । शास्त्रीयपनाका गीतमा तबलाको कलात्मक धुन पनि पस्किरहेका थिए, लहरै बसेका अरू सङ्गीतकर्मीहरू ।

अनि सुरू भयो, ‘जहाँ छन्, बुद्धका आँखा …।’ गायक तथा सङ्गीतकार गणेश पराजुली, विकास चौधरीलाई साथ दिन आए अरू कलाकारहरू, भूपेन राई, पुजन प्रधान, रविन गुरुङले स्वरमा स्वर मिलाए । यस्तै गायिका निर्मला कट्टेल, गायत्रा ओली, सपना थापा मगर, महेश गदाल, बेलकुमार प्रधानलगायतको पनि सामूहिक स्वर गुन्जियो ।

त्यसपछि स्टेजमा आइन्, निर्मला कट्टेल अग्रवाल । उनले गाइन ‘जति चोट दिन्छौ देऊ मायालु ।’ ‘हजार आँखा हेर्ने मेरी मायालु’लाई गीत गाउन आइपुगे, भूपेन गुरुङ । त्यसपछि ‘जति चोट दिन्छौ देऊ मायालु,’ युगल गीत ‘माया तिमीलाई केही भन्न मन लाछ’ गीत गुन्जियो ।

गायत्रा ओलीले गाएको ‘मुटु जलिरहेछ’ गीतमा दर्शहकहरू स्वरमा स्वर मिलाउँदै गाइरहेका थिए । दर्शकहरू पनि शोकमग्न मुद्रामा थिए, भक्तराजको गीतको हरफ जस्तै ‘…तिम्रो याद आइदिँदा आँसु त्यसै बगेछ ।’

त्यसपछि सपना थापा मगर, महेश गदाल, बेलकुमार प्रधानलगायतले पालैपालो गाए । उनीहरूले ‘हजार आँखा हेर्ने’, ‘एक दिन मैले प्रभुसँग सोधे’लगायत गीत गाए ।

सूर्योदय नगरपालिकाका उपमेयर दुर्गाकुमार बराल अतिथिको लहरमा थिए । लोकप्रिय गायक यम बरालका आफ्नै दाइ रहेका उनी पनि राम्रै लयमा गीत गाउँदा रहेछन् । दर्शकतिरै बसेका उनलाई गायक गणेश पराजुलीले माइक थिए, दुर्गाकुमार बरालले गाए, ‘माया मेरी साँझ बिहान…।’

अन्ततिर फेरि स्टेजमा आए गायक तथा सङ्गीतकार विकास चौधरी । उनले चर्चित गीत ‘हजार सपनाहरूको माया लागेर आउँछ, बाँच्ने रहर जस्तो फेरि भएर आउँछ’ गाइरहँदा बीचमा भजन शिरोमणिको नाम लिइरहे । लोकप्रिय यो गीतले सङ्गीत पारखीको मनमनमा उसैगरी झन्कार दियो ।

अन्तमा कार्यक्रमको श्रद्धाञ्जली साँझको बिट मार्ने पालो आयो, गायक तथा सङ्गीतकार गणेश पराजुलीको । उनले ‘तन मन बचनले प्रभु नाउ गाउँ’ भन्दै भक्तराजको प्रसिद्ध भजन आफ्नो स्वरलहरीमा पस्किए । ‘जीवन भन्नु त घात छ’ गीत गाएर अगाडि रहेको इलामेलीलाई भावुक बनाए ।

भक्तराज आचार्य स्वरसम्राट नारायण गोपालको समकालीन थिए, त्यही सम्झनामा गणेश पराजुलीले नारायण गोपालको गीत गाए, ‘यति चोखो यति मिठो दिउँला तिमीलाई माया ।’

‘दिन ढल्यो अँधेरी रातमा’ गीतका सङ्गीतकार रहेका गणेश पराजुलीलाई त्यो गीत गाउन अफर आयो, त्यो मौकामा केही लाइन गाइदिए । अन्तमा उनको अर्को गीत ‘तिमीलाई आफ्नो भनेर कसम खाइसकेँ’ गाएर कार्यक्रमको समापन गरे ।

“नेपाली सुगम सङ्गीतमा भक्तराजको महत्त्वपूर्ण योगदान छ, उहाँको निधनले सङ्गीत क्षेत्रको एउटा धरोहर ढलेको छ । हाम्रो पुस्ता र मेरो समकालीन स्रष्टाहरू भक्तराज आचार्यहरूबाटै प्रभावित भएर यहाँसम्म आएको हो । हामीलाई पनि उहाँको गायन तथा सङ्गीतबाट उत्प्रेरणा र दिशानिर्देश गरेको हो,” गीत सकेपछि गणेश पराजुलीले स्मरण गरे ।

चारसय जति गीतमा सुसज्जित छन्, भक्तराजका रेशमी स्वर लहरीबाट । तीमध्ये भक्तराजका एक दर्जन बढी गीत श्रद्धाञ्जली साँझमा गुन्जियो । ती कालजयी गीतहरू सुनेर पूर्वेली दर्शक स्रोता धन्य भए । मन जित्ने गीत गाएका गायक गायिकालाई सङ्गीतप्रेमीले अँगालो मारे ।

थुप्रै कालजयी गीतले लाखौँ नेपाली सङ्गीतप्रेमीको मन जितेका भक्तराज १९९९ सालमा धनकुटामा जन्मिएका थिए । ७२ वर्षपछि काठमाडौंमा स्वर्गे भए । उनी जन्मेको धनकुटाबाट केही किमी परको इलामेलीले भक्तराजलाई सम्झन कार्यक्रम गरेको थियो ।

तत्कालीन समयमा पूर्वी नेपालमा महामारी फैलिएपछि भारतको कालिम्पोङ डुम्सीपाडामा बसाइँ सरेको थियो, भक्तराजको परिवार । संयोगवश कार्यक्रमस्थलको भूगोल इलाम भक्तराज जन्मिएको धनकुटा र सानो छँदा सङ्घर्ष गरेको कालिम्पोङको बीच भागमा थियो ।

०००

इलामको सूर्योदय नगरपालिकाका बासिन्दाले स्वर्गीय भक्तराज आचार्यको सम्झना गरेका हुन्, उनलेनै गाएको गीतमार्फत । कार्यक्रम आयोजक थिए, सूर्योदय नगरपालिकाका सङ्गीत अनुरागीहरू ।

कार्यक्रमको आयोजक सूर्योदय सङ्गीत अनुराग टीमका सञ्जय बराल, निर्मला कट्टेल अग्रवाल, भूपेन्द्र राई, गायत्रा ओली, रगुन गुरुङ, सुरेन पौडेल पनि थिए ।

कार्यक्रम संयोजकमध्ये एक सञ्जय बरालले भने, “भक्तराजको भौतिक शरीर नभए पनि नेपाली साङ्गीतिक क्षेत्रमा उहाँ विस्मृत हुनुहुनेछैन । झन्‌झन् स्मरणीय बन्नुहुनेछ । उहाँका गीत र भजनहरूले सङ्गीत पारखीको मनमनमा उसैगरी झन्कार दिइरहने छ भन्ने सन्देशका साथ उहाँको सम्झनामा श्रद्धाञ्जली साँझ आयोजना गरेका हौँ ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका उपसंयोजक चित्रकला बराइली, सूर्योदय नगरपालिका मेयर रणबहादुर राई, उपमेयर दुर्गाकुमार बराल, वडानम्बर ८ का अध्यक्ष जङ्ग गुरुङ, सूर्योदय ११ का वडाध्यक्ष सन्तोष राईलगालगायत पनि थिए ।

सूर्योदयका मेयर राईले भक्तराजको स्मरण गर्दै भने, “नेपाली सङ्गीतको लागि उहाँ एउटा तुलना नै गर्न नसकिने पात्र हुनुहुन्थ्यो । सङ्गीतप्रति उहाँको समर्पण र योगदान सधैँ अमर रहनेछ ।”

उपमेयर दुर्गाकुमार बरालले थपे, “भजन शिरोमणिको उपाधि पाउनुभएका भक्तराज नेपाली गीतसङ्गीतको आकाशमा बिर्सनै नसक्ने नाम हो, जसको स्वरको गाम्भीर्य, मिठास तथा शास्त्रीयताको जादु अद्भुत तथा अनुपम थियो ।”

भक्तराजबारे वडाअध्यक्ष जङ्ग गुरुङले प्रशंसा गरे, “नेपाली संगीतको लागि उहाँ एउटा तुलना नै गर्न नसकिने पात्र हुनुहुन्थ्यो । सङ्गीतप्रति उहाँको समर्पण र योगदान सधैँ अमर रहनेछ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved