गठबन्धन नटुटोस् भनेर लचक बन्दै देउवा, विकल्प खोज्दै प्रचण्ड !

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भने यही गठबन्धन कायम राख्ने कि नराख्ने भनेर विचार गरिरहेका छन्, सल्लाह-सुझाव बटुल्दैछन् । उनले यसबारे निर्णायक छलफल गर्ने भन्दै फागुन २८ गते पार्टीको स्थायी समिति बैठकसमेत बोलाएका छन् । माओवादीले के निर्णय गर्छ, त्यसका लागि फागुन २८ कुर्नैपर्छ । तर, कांग्रेस सभापति देउवाले भने गठबन्धन नफुटोस् भनेर लचकता अपनाइरहेका छन् ।

गठबन्धन नटुटोस् भनेर लचक बन्दै देउवा, विकल्प खोज्दै प्रचण्ड !

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता सहयात्री दल नेपाली कांग्रेसबाट पटकपटक धोका भएको निष्कर्ष निकाल्दै गर्दा सभापति शेरबहादुर देउवाले भने लचकता अपनाइरहेका छन् । उनी चाहन्छन्, वर्तमान सत्ता गठबन्धन नफुटोस्, निरन्तर जाओस् ।

शुक्रबार भरतपुर पुगेका उनले प्रधानमन्त्री प्रचण्डलाई नै साक्षी राखेर भनेका थिए, “वर्तमान गठबन्धन फुट्दैन, कायम रहिरहन्छ ।”

तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड भने यही गठबन्धन कायम राख्ने कि नराख्ने भनेर विचार गरिरहेका छन्, सल्लाह-सुझाव बटुल्दैछन् । उनले यसबारे निर्णायक छलफल गर्ने भन्दै फागुन २८ गते पार्टीको स्थायी समिति बैठकसमेत बोलाएका छन् ।

माओवादीले के निर्णय गर्छ, त्यसका लागि फागुन २८ कुर्नैपर्छ । तर, कांग्रेस सभापति देउवाले भने गठबन्धन नफुटोस् भनेर लचकता अपनाइरहेका छन् ।

विगत दुई महिनायता मन्त्री हेरफेरमा सहमति नजनाइरहेका देउवाले पछिल्ला दिनमा यसका लागि ‘ग्रीन सिग्नल’ दिएका छन् । उनी पार्टीका सबै मन्त्री परिवर्तन गर्नसमेत तयार भइसकेका छन् ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने, “मन्त्री हेरफेरका लागि कांग्रेसले सहमति जनाएको छ । प्रधानमन्त्रीलाई नगरी नहुने जस्तो देखियो ।”

उसो त प्रधानमन्त्री प्रचण्ड राष्ट्रियसभा निर्वाचन (माघ ११) अगावै मन्त्रीको ‘सेट’ परिवर्तन गर्ने मनसायमा थिए । तर, उनी देउवाको आग्रहमा रोकिएका थिए । तर, अब भने चाँडै मन्त्रीहरू परिवर्तन हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तर, अझै पनि देउवा राष्ट्रियसभा अध्यक्षको निर्वाचन (फागुन २९) पछि मात्रै मन्त्री हेरफेर होस् भन्ने चाहन्छन् । तर, उनले प्रधानमन्त्री प्रचण्डलाई आफूलाई अनुकूल पर्ने समयमा विस्तार गर्न सुविधा दिएको नेता विश्वकर्माले बताए ।

यस्तै कांग्रेस-माओवादीबीचको सम्बन्धमा खटपट हुनुमा राष्ट्रियसभा अध्यक्ष कसले लिने भन्ने सन्दर्भ पनि एक हो । दुवै पार्टीले ‘राष्ट्रियसभा अध्यक्षमा दाबी गर्ने…’ निर्णय गरेका छन् ।अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई ‘प्रोजेक्सन’ गर्दै आएको कांग्रेसलाई राष्ट्रियसभा अध्यक्ष आफैँले पाउने विश्वास थियो । तर, माओवादीले पनि उम्मेदवारी दिने बताएपछि झस्किएको छ ।

तर, देउवाले भने यसमा पनि लचकता अपनाउने तयारी गरेका छन् । उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका उनका विश्वासपात्र पूर्णबहादुर खड्काले भनेका छन्, “छलफल हुन्छ, सहमति हुन्छ र गठबन्धनबाट एकजना मात्रै उम्मेदवार हुन्छ ।”

गठबन्धन भत्किने अवस्थामा देउवाले राष्ट्रियसभा अध्यक्षमा दाबी छाड्ने योजना बनाएको उनीनिकट स्रोतले जनाएको छ ।

गठबन्धनलाई कायम राखेर त्यसमा पनि छलफल गर्न सकिने प्रधानमन्त्री प्रचण्डसँगको भेटमा देउवाले भनेका छन् । “सभापतिजीले हदैसम्मको लचकता अपनाउँदै हुनुहुन्छ,” देउवानिकट एक नेताले भने, “गठबन्धन बचाउने मुख्य प्रयास हो ।”

कांग्रेसका कारण समस्या आएको छ, राष्ट्रियसभा अध्यक्ष नदिए गठबन्धनमै पुनर्विचार हुनसक्छ : वर्षमान पुन

गत वर्षको मंसिरमा भएको संसदीय निर्वाचनयता नै कांग्रेससँग खासै चित्त नबुझाइरहेको माओवादी कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनपछि थप बिच्कियो । कोशी प्रदेशबाट उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्की कांग्रेसले ‘फ्लोर क्रस’ गरेपछि पराजित हुन पुगिन् । यसपछि प्रधानमन्त्री प्रचण्डले कांग्रेसबाट धोका भएको सार्वजनिकरूपमै बताउने गरेका छन् ।

सँगै फागुन १० गते सम्पन्न कांग्रेस महासमिति बैठकका तीनवटा विषयले माओवादी थप सशंकित बनेको छ । महासमिति बैठकबाट कांग्रेसले निर्वाचनपूर्व कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने मात्रै निर्णय गरेको छैन, त्यही बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादी जनयुद्धलाई असान्दर्भिक करार गरिएको छ । त्यस्तै माओवादीको एक प्रमुख एजेन्डा धर्मनिरपेक्षताका विरुद्धमा हस्ताक्षर सङ्कलन भएको छ । यी तीनवटा विषयले पनि कांग्रेसका प्रति खासै भरोसा गर्न सकिने अवस्था नरहेको माओवादी नेताहरू बताउँछन् ।

माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’ भन्छन्, “राष्ट्रियसभा निर्वाचनदेखि यहाँसम्म आइपुग्दा कांग्रेस र हाम्रो बीचमा अविश्वासहरू बढेका छन् । यसलाई हाम्रो पार्टीले गम्भीररूपमा ग्रहण गरेको छ र छलफलको विषय बनाएको छ ।”

तर, देउवा महासमिति बैठकबाट पारित दस्ताबेजहरू केन्द्रीय समितिबाट परिमार्जन गरेर प्रधानमन्त्री प्रचण्डलाई आश्वस्त पार्न चाहन्छन् । उनले प्रधानमन्त्री प्रचण्डलाई यसका लागि आफूलाई मौका दिनसमेत आग्रह गरेका छन् । देउवानिकट ती नेता भन्छन्, “महासमिति बैठकको अन्तिममै पनि उहाँले कार्यसमिति बैठक बाँकी नै रहेको कुरा बताउनुभएको थियो ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved