राजेन्द्र महतोको बहुल राष्ट्रिय मुक्ति क्रान्ति : वस्तुसङ्गत सोच कि निराशाको अभिव्यक्ति ?

यो कुनै सुविचारित वस्तुगत विचार हो कि लहडबाजी ? वा महतोको व्यक्तिगत राजनीतिक निराशाबाट बाहिर निस्कने प्रयत्न ? के नेपालजस्तो बहुसांस्कृतिकतावादी देशमा बहुल राष्ट्रिय मुक्ति क्रान्तिको कुनै सान्दर्भिकता छ ? कि यो एक हावादारी अवधारणा र अभ्यासको निरर्थक प्रयत्न हो ?

राजेन्द्र महतोको बहुल राष्ट्रिय मुक्ति क्रान्ति : वस्तुसङ्गत सोच कि निराशाको अभिव्यक्ति ?

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्याग गर्दै ‘बहुल राष्ट्रिय मुक्ति क्रान्ति’ का लागि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

फाल्गुन १४ गते राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो घोषणा गरेपछि कतिपयमा जिज्ञासा उत्पन्न भएको छ— के हो यो ‘बहुल राष्ट्रिय मुक्ति क्रान्ति’ ? कस्तो हो यो अवधारणा ? के दिन्छ यसले परिणाम ?

अझ कतिपयको शङ्का छ— यो कुनै सुविचारित वस्तुगत विचार हो कि लहडबाजी ? वा महतोको व्यक्तिगत राजनीतिक निराशाबाट बाहिर निस्कने प्रयत्न ? के नेपालजस्तो बहुसांस्कृतिकतावादी देशमा बहुल राष्ट्रिय मुक्ति क्रान्तिको कुनै सान्दर्भिकता छ ? कि यो एक हावादारी अवधारणा र अभ्यासको निरर्थक प्रयत्न हो ?

पार्टी नै थिएन सहमत

राजेन्द्र महतोको यो नयाँ राजनीतिक सोच र परियोजनाप्रति स्वयम् उनको पार्टी विश्वस्त थिएन । ठाकुर नेतृत्वको लोसपा गत निर्वाचनमा ५ दलीय गठबन्धनको हिस्सा थियो । अहिले १० दलीय गठबन्धनको सरकारमा सामेल छ । पार्टीका तर्फबाट शरदसिंह भण्डारी श्रममन्त्री छन् ।

ठाकुर-भण्डारी समूह महतोको नयाँ विचार र मार्गदिशासँग सहमत मात्र हैन, उनीहरूले यो कदमलाई बेमौसमी बाजा ठानेका छन् । महतोको नयाँ सोच र आन्दोलनमा लोसपा पार्टी पङ्क्तिले साथ दिने कुनै सम्भावना नभएपछि उनले पार्टी परित्याग गरेका हुन् । अन्यथा उनी पार्टीको समग्र नेतृत्व आफ्नो हातमा लिएर यो काम गर्न चाहन्थे ।

तर, सद्भावना धारका उनका समर्थक यद्यपि लोसपामै छन् । ती लोसपामै बस्छन् वा विस्तारै महतोको नयाँ अभियानमा सामेल हुन्छन्, स्पष्ट छैन ।

लोसपाका एक नेता भन्छन् —गत चुनावमा पराजित भएपछि महतो राजनीतिमा आफ्नो नयाँ सान्दर्भिकता खोजिरहेका थिए । तसर्थ, उनी लामो समय बेखबर र मौन बसे । उनमा एक प्रकारको महत्वकांक्षी र स्टन्टबाज सोच छ । केही न केही नगरी उनी बस्न सक्दैनन् । अब उनी मौन ब्रतबाट बाहिर निस्कन खोज्दैछन् । तर, उनको कदमले कुनै सार्थक परिणाम दिएको उदाहरण भने छैन । हुनसक्छ, पूर्वसद्भावना धार समेटेर विस्तारै उनले आफ्नो भिन्नै पार्टी गठन गर्दछन् । तर, त्यसले अब देश र मधेसको राजनीतिमा खासै ठूलो अर्थ राख्दैन ।

मधेसकेन्द्रित छवि : जनजाति जोड्ने प्रयत्न

राजेन्द्र महतोका ‘राजनीतिक गडफादर’ सद्भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंह थिए । सिंहको प्रेरणा र सङ्गतले उनी सद्भावना पार्टीमा लागे । तर, सिंहको निधनपछि सद्भावना पार्टी क्षतविक्षत भयो । आधा दर्जन टुक्रामा बाँडिएको सद्भावना धारको एक टुक्रालाई पक्रिएर उनले मधेस राजनीतिमा आफ्नो सान्दर्भिकता बनाइरहे ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरममार्फत आन्दोलन भड्किएपछि मधेसको राजनीतिक स्पेसमा नेतृत्वको त्रिकोणात्मक प्रतिस्पर्धा बन्यो । यादव मधेस राजनीतिका सबैभन्दा ठूला र बलिया खम्बा बनेर देखिए भने कांग्रेस परित्याग गरेका महन्थ ठाकुर पनि यो ‘स्पेस’मा आए । पुरानो सद्भावना धारको विरासत राजेन्द्र महतोसँग थियो ।

यी तीन नेताको सहकार्य र विभाजनको भिन्नै शृङ्खला छ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसमेत मिसिएर जनता समाजवादी पार्टी (जसपा)सम्म पुग्दा सबैजसो मधेसकेन्द्रित र पहिचानवादी धारका नेता एक ठाउँ भएका थिए । तर, त्यो अभ्यास पनि टिक्न सकेन ।

जसपा विभाजित हुनुको एक मुख्य कारण महतोको महत्वाकांक्षा ठान्नेहरू धेरै छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलोपटकको संसद् विघटनलाई ‘प्रतिगमन’ भन्दै सडक आन्दोलनमा उत्रिएका महतो उस्तै प्रकृतिको दोस्रो संसद् विघटनलाई साथ दिँदै ओली सरकारमा सामेल भए । उनी २१ दिनको छोटो अवधि ओली सरकारको उपप्रधानमन्त्री रहे ।

उनी निकट एक कार्यकर्ता भन्छन्— महतोमा ओली सरकारमा सामेल भएको खिन्नता र पश्चातापको भावना छ । ओली-गोयल भेटपछि एउटा पक्षले उनलाई सर्वोच्च अदालतले दोस्रो संसद् विघटनलाई मान्यता दिने र ओली नेतृत्वको सरकारले नै नयाँ चुनाव गराउने वचन दिएको थियो । यस आधारमा त्यो बेला ठाकुर-महतो ओली सरकारमा सामेल हुने निर्णयमा पुगेका थिए । तर, त्यो कुरा झुटो सावित भयो । यसले महतोको राजनीतिक ‘करिअर’मा ठूलो धक्का लाग्यो ।

राजेन्द्र महतो अब मधेसकेन्द्रित नेताको छविमा सीमित हुन चाहँदैनन् । जनजाति आन्दोलनलाई पनि मधेस आन्दोलनसँग जोड्न चाहन्छन् र नयाँ तरिकाले राष्ट्रिय नेताको छवि बनाउने प्रयत्नमा छन् ।

अर्थात् महतोको ‘बहुल राष्ट्रिय मुक्ति क्रान्ति’ को नयाँ सोच मधेसी र जनजाति आन्दोलनलाई एकीकृत गरी खस-आर्य वर्चस्वविरुद्ध एक नयाँ राजनीतिक तथा मनोवैज्ञानिक समीकरण बनाउने प्रयत्न हो भन्न सकिन्छ ।

नयाँ हैन यस्तो प्रयत्न

महतोको प्रेस विज्ञप्तिमा त्यसको प्रष्ट झल्को छ । गजेन्द्र नारायण सिंहको सद्भावना धार र गोरेबहादुर खपाङ्गी र एमएस थापाको राष्ट्रिय जनमुक्ति पार्टीको धारलाई एक ठाउँमा ल्याउने प्रयत्नमा महतो र उनको समूह लागेको छ ।

महतोको प्रेस विज्ञप्तिमा भनिएको छ— तराई मधेसमा गजेन्द्र नारायण सिंह, रघुनाथ ठाकुरहरूले तथा हिमाल, पहाडमा गोरेबहादुर खपाङ्गी, एमएस थापा, गोपाल गुरुङहरूले विद्रोह गरे । त्यस आन्दोलनको निरन्तरता आज पनि छ । दुर्भाग्य, उक्त आन्दोलनले ठोस उपलब्धि दिन सकेको छैन ।

मधेसी, जनजाति र उत्पीडित खस मनोविज्ञानलाई जोडेर राजनीतिक शक्ति बनाउने प्रयत्न भएको यो पहिलोपटक भने हैन । उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम, अशोककुमार राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टीबीच एकीकरण भइ सङ्घीय समाजवादी फोरम बनाउँदा यही तर्क अघि सारिएको थियो । तर, यो अभ्यासले खासै परिणाम नदिएको मात्र हैन, अन्ततः असफलतामा पुगेर अवसान भयो ।

भनिन्छ, उपेन्द्र यादवले यो असफलताको राम्रो अनुभव र बोध गरेका छन् । डा. बाबुराम भट्टराई र युवराज कार्की यादवको नेतृत्वमा लामो समय टिक्न सकेनन् । विजय सुब्बालगायतका जनजाति नेताको एउटा पङ्क्ति एमाले फर्कियो भने अर्को एउटा पङ्क्तिले जसपा छोड्ने तयारी गरिरहेको बुझिन्छ । तसर्थ, महतोको प्रयत्न कुनै नयाँ हैन । यादव असफल भइसकेको अभ्यासलाई महतोले फेरि दोहोर्‍याउने प्रयास गर्दैछन् ।

को होलान् महतोका नयाँ राजनीतिक साझेदार ?

महतोले आदिवासी जनजाति धारका केही नेतालाई आफ्नो नयाँ राजनीतिक साझेदार बनाउने प्रयत्न गरिरहेका छन् । तर, उनले भरपर्दो साथ पाउने सम्भावना भने कम छ । पूर्वमा उनले सञ्जुहाङ र केपी पालुङवालाई पक्रिन खोजेका छन् ।

सञ्जुहाङ लिम्बूवान् आन्दोलनका नेता हुन् भने केपी पालुङवा, गोरेबहादुर खपाङ्गी धारको एक समूहको विरासत समातेर बसेका छन् ।

तामाङ क्षेत्रमा उनले डा. गणेश योञ्जन र बुद्धछिरिङ मोक्तानको साथ लिन खोजेका छन् । उपेन्द्र यादवले समेटेका जनजाति नेताभन्दा महतोले साथ खोजेका यी जनजाति नेता निकै ‘लो फ्रोफईल’ र कमजोर हुन् । यिनले महतोको नयाँ राजनीतिक महत्वाकांक्षाको खेललाई वैतरणीको भेल तार्न कति सहयोग गर्न सक्ने हुन्, यसै भन्न सकिन्न । राजनीतिकरूपमा त्यति बलिया र सशक्त साझेदार भने हैनन् ।

के हो बहुल राष्ट्रिय मुक्ति क्रान्ति ?

‘बहुल राष्ट्रिय मुक्ति क्रान्ति’ बुद्धछिरिङ मोक्तानले दक्षिण अमेरिकी देश बोलिभियालाई मानक बनाएर तयार गरेको एक राजनीतिक ‘थेसिस’ हो । मोक्तानले यसलाई ‘स्वदेशवाद’ नामाकरण गरेका छन् । यसबारे महतो र मोक्तानको नाममा एक संयुक्त पुस्तिका प्रकाशित छ ।

महतोको प्रेस वक्तव्यमा भनिएको छ— पश्चिमा ज्ञानसत्तामा आधारित आधुनिकीकरण र विकासले ऐतिहासिक बहुल राष्ट्रहरूलाई राज्यविहीन बनायो । अतः अब पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शनमार्फत स्वदेशवादको पुनर्स्थापना जरुरी भइसकेको छ ।

महतोनिकट एक कार्यकर्ता भन्छन्— बुद्धछिरिङको विचारमा महतो खासै विश्वस्तचाहिँ छैनन् । दुवैले एकअर्कालाई उपयोग गरिरहेका छन् । मोक्तान आफ्नो ‘थेसिस’ बोक्दिने कुनै चिनिएको नेता खोजिरहेका थिए, उनले महतो पाए । महतो जनजातिसँगको सहकार्य खोजिरहेका थिए, उनले मोक्तान पाए । तर, यो सहकार्य धेरै लामो जान भने गाह्रो छ ।

कति वस्तुगत छ बहुल राष्ट्रिय मुक्ति क्रान्ति ?

राष्ट्रिय मुक्ति क्रान्तिको अवधारणाले प्रत्येक जातीय समुदायलाई एक राजनीतिक एकाइ मान्दछ । र, प्रत्येक जातीय समुदायको कुनै न कुनै प्रकारको राजनीतिक एकाइ, पहिचान वा परिषद् हुनु पर्ने मान्यता राख्दछ ।

गजेन्द्रनारायण सिंहको ‘मधेस अवधारणा’ भने ‘बहुल राष्ट्रिय राज्य’ को सोचभन्दा फरक थियो । सिंह मधेसका सबै जातीय तथा भाषिक समुदायलाई सांस्कृतिक राष्ट्रवादको अवधारणाअनुरूप मधेसको बृहत् छाताभित्र समेट्न चाहन्थे ।

महतो आफैँ लामो समय एकीकृत मधेस, सङ्घवाद र समावेशिताको पक्षधर रहे । लामो समय ‘बहुराष्ट्रिय राज्य’ को पैरवी गरे । ‘बहुल राष्ट्रिय राज्य’ को सोच भने खास बिन्दुमा पुगेर स्वयम् सङ्घवाद र समावेशिताको सिद्धान्तसँग टकराउँछ ।

भन्न सकिन्न महतोले ‘बहुराष्ट्रिय राज्य’ र ‘बहुल राष्ट्रिय राज्य’ बीचको यो भिन्नतालाई कति र कसरी बुझेका छन् । उनी कुनै वस्तुगत सोचभन्दा असान्दर्भिक हुँदै गएको आफ्नो राजनीतिक जीवनको निराशाबाट प्रेरित देखिन्छन् ।

आफूलाई राजनीतिक वृत्त र चर्चामा सान्दर्भिक बनाइराख्न उनले चालेको कदम भविष्यमा स्वयम् उनी र उनको मधेस राजनीतिका लागि आत्मघाती हुन सक्नेछ । तसर्थ, यो नयाँ बाटोमा महतोका लागि सम्भावनाभन्दा जोखिम धेरै छन् ।

जनजातिलाई साथ लिएर खस-आर्य वर्चस्वलाई प्रतिवाद गर्ने चक्करमा उनले मधेसको आफ्नो परम्परागत समर्थन र जनमत हिस्सासमेत गुमाउन सक्ने छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप विश्लेषण/टिप्पणी

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved