आलेख

एसियाका लोकतान्त्रिक नेता किन यति धेरै लोकप्रिय हुन्छन् ?

एसियाली लोकतान्त्रिक नेताहरूको लोकप्रियताले कम्तिमा विश्व लोकतन्त्रको स्वास्थ्य स्थितिबारे सकारात्मक सङ्केत दिन्छ । पश्चिममा छवि केन्द्रित प्रतिवेदन र स्वतन्त्र संस्थाले त्यहाँ लोकरिझ्याइँ राष्ट्रवाद र लापरवाहीले खोक्रो भएका नेताको चित्र दिन्छन् । तर, यथार्थ त्यति डरलाग्दो भने छैन ।

एसियाका लोकतान्त्रिक नेता किन यति धेरै लोकप्रिय हुन्छन् ?

इन्डोनेसियाको राष्ट्रपतीय निर्वाचनमा कडा त्रिपक्षीय सङ्घर्षको निर्वाचन अभियानपछि प्राबोवो सुवियन्तोले सानदार जित हासिल गरेका छन् ।

फेब्रूअरी १४ को पहिलो चरणको मतदानमै उनको जित हुने सङ्केत थियो । कतिपय विश्लेषक चुनाव दोस्रो चरणमा जान सक्ने ठान्थे । तर, उनले पहिलो चरणमै करिब ५८ प्रतिशत मतसहित भीषण जित निकाले ।

प्रोबोवोले जित्ने धेरै कारण थिए । तर, उनको जितको प्रवृति भने निक्कै फराकिलो छ । अर्थात् एसियाका धेरै उदीयमान बजार लोकतन्त्रमा राजनीतिक नेताहरूको आश्चर्यजनक लोकप्रियता छ ।

धनी र पश्चिमा राष्ट्रमा सरकार प्रमुखहरूको यो स्तरको लोकप्रियता छैन । बरु तिनको विश्वव्यापी निन्दा भइरहेको हुन्छ । संसदीय प्रणाली भएका देशमा पनि सत्तारुढ पार्टीहरूको लोकप्रियता गठबन्धन धान्न पनि गाह्रो पर्नेगरी ह्रास भइरहेको छ ।

ठीक विपरीत इन्डोनेसियामा भने प्राबोवोले आफूभन्दा पनि लोकप्रिय राष्ट्रपति जोको विदोदोलाई प्रतिस्थापन गर्दैछन् । सामान्यतः उनलाई जोकोवी भनिन्छ । जोकोवीले आफ्नो कार्यकाल समाप्त गर्न लाग्दा अनुमोदन मूल्याङ्कनमा उनको लोकप्रियता ८० प्रतिशत देखिन्छ ।

फिलिपिन्समा जनताले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरलाई उत्तिकै मन पराउँछन्, जति पूर्वराष्ट्रपति रोड्रिगो दुर्तेटलाई मन पराउँथे । र, भारतमा जहाँ चुनाव अप्रिलबाट सुरू हुने ठानिएको छ, प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रोपटक ठूलो जित निकाल्ने निश्चितजस्तो लाग्दछ ।

यस्ता नेताहरूलाई पपुलिस्टको लेबल लगाइने गरिन्छ । केहीलाई जस्तो कि दुर्तेटलाई यो शब्द सुहाउँदो पनि देखिन्छ । ठीक यही कुरा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको बारेमा पनि भन्न सकिन्छ । खानको लोकप्रियताले पाकिस्तानी चुनावमा विपक्षी बयानबाजीका बाबजूद उनको पार्टीसँग जोडिएका स्वतन्त्र उम्मेदवारलाई ठूलो सङ्ख्यामा अप्रत्यासित सफलताका लागि प्रेरित गर्‍यो ।

प्राबोवोको चुनावी अभियानमा थुप्रै नौटङ्की देखिएका थिए । तर, सभ्रान्तहरूको सहजताको तुलनामा ती थोरै थिए । लोकप्रिय अभियानकर्ताहरूबाट यस्तो अपेक्षा राखिन्छ पनि । यो लेबल नि:सन्देह जोकोवीसँग भने मेल खाँदैन । उनी एक सचेत राजनीतिज्ञ थिए, जसलाई इन्डोनेसियाली मतदाताले विकास पूर्वाधार, सामाजिक सेवा केन्द्रित स्वच्छ प्रशासनका लागि प्रशंसा गर्दछन्, प्रतिष्ठा दिन्छन् ।

हरेक नेता प्रष्टरूपमा आफ्नो राष्ट्रिय परिस्थितिको उपज हो । प्राबोवोको विजय मापन गर्ने एउटा हिस्सा जोकोवीको समर्थन थियो । प्राबोवोले जोकोवीका छोरालाई आफ्नो जोडाका रूपमा रोजे । फलतः शक्ति सभ्रान्तहरूको गठजोड बन्यो ।

फिलिपिन्समा मतदाता दुर्तेटको पागलपनको तुलनामा मार्कोस जुनियरको शासनलाई न्यानो र शान्त शैलीको ठान्दछन् । भारतमा मोदीको लोकप्रियता आशिंकरूपमा धार्मिक राष्ट्रवादी अपिलबाट उत्पन्न भएको छ । यसले उनलाई विश्व लोकतन्त्रको कुनै पनि लोकप्रिय नेता, यहाँसम्म कि इन्डोनेसियाका जोकोवीको लोकप्रियतासँग प्रतिस्पर्धा गर्न सक्ने बनाएको छ ।

यो भनिन्छ कि पश्चिमा नेताका तुलनामा एसियाली लोकतन्त्रका नेताहरूको अनुमोदन मूल्याङ्कन उच्च हुनुको तीन कारण छन् । तीमध्ये एक, स्मार्ट सञ्चार हो । अमेरिकी राष्ट्रपति जो बाइडन राष्ट्रिय फुटबल लिगको अवसरमा भर्खरै टिकटक प्रवेश गरे ।

तर, उनका एसियाली समकक्षीले लामो समयदेखि यस्ता मञ्चलाई उनीहरूको अभियानको केन्द्रबिन्दु बनाएका छन् । प्राबोवो एक भूतपूर्व सैन्य जर्नेल हुन् । तर, उनले आफ्नो नरम छवि देखाउन टिकटकको व्यापक प्रयोग गरे । उनलाई कार्टुनिस्ट बच्चाजस्तो अनुहार भएको हजुरबाका रूपमा टिकटक क्लिपहरूमा चित्रण गरियो ।

मोदीको पुनर्निर्वाचन अभियान पहिलेदेखि नै एक उच्च र परिष्कृत डिजिटल अभियानजस्तो गरी चलिरहेको छ । युवा जनसङ्ख्या तथा मतदाता धेरै भएको देशमा यी कुरा धेरै फलदायी हुन्छन् ।

इन्डोनेसियाका २० करोड मतदातामध्ये झन्डै आधा ४० वर्षभन्दा मुनिका छन् । भारतमा झनै धेरै युवा मतदाता छन् ।

आर्थिक व्यवस्थापनका लागि एक विशिष्ट दृष्टिकोण नेतालाई मतदातासँग जोड्ने दोस्रो कारक तत्त्व हो । अक्सर यसभित्र राजनीतिज्ञहरूले सित्तैमा बाँडिने सेवा-सुविधा र बाचा समावेश गर्दछन् ।

प्राबोवोको निर्वाचन अभियानमा विद्यार्थीलाई नि:शुल्क खाजा र दूधको बाचा गरिएको थियो । सन् २०२२ मा मार्कोसको विजय अभियानलाई धानको समर्थन मूल्यले मद्दत गरेको थियो । मोदीको चुनावी अभियानलाई विगतका खाना पकाउने चुल्हो वितरण र शौचालय निर्माणले बलियो बनाएको छ ।

भारत सरकारका एक पूर्वप्रमुख आर्थिक सल्लाहकार अरविन्द सुब्रमन्यम यसलाई एक नयाँरूपको परोपकारवाद भन्छन् । यस विधिमा राजनीतिज्ञले भौतिक वस्तु तथा सेवा अनुदान उपलब्ध गराउँछन्, जो अन्यथा निजी क्षेत्रले आपूर्ति गर्ने गर्दछ । यो रणनीतिबाट मतदाताको मन जित्न आर्थिक व्यवस्थापनमा गडबडी हुनु हुँदैन ।

तर, जब बलियो आर्थिक वृद्धि र भ्रष्टाचारमुक्त प्रशासन हुन्छ, यस्ता नुस्खाले मतदातामा व्यापक अपिल गर्दछन ।

तेस्रो र अन्तिम मुद्दा भने सुरक्षाको हो । पश्चिममा जस्तै एसियाली मतदातामा पनि आफू वरपरको विश्व परिस्थिति भूराजनीतिक जोखिमको युगमा छ, र यो झन् खतरनाक हुँदैछ भन्ने महसुस छ । फलस्वरूप मतदाता त्यस्ता नेतालाई पुरस्कृत गर्न चाहन्छन्, जो अन्तर्राष्ट्रिय विश्वासनीयता प्रस्तुत गर्न सक्दछन् ।

यो अपिलभित्र परम्परागत बलियो राजनेताको कम र विश्व रङ्गमञ्चमा आफ्नो देशलाई सुरक्षित राख्न सक्ने दाबी गर्ने व्यक्तिको बढी खोजी भइरहेको हुन्छ ।

दक्षिण चीन सागरमा सैन्य झडप श्रृङ्खलाका बाबजुद चीनलाई नचिढ्याउने मार्कोसको इच्छालाई राम्रो स्वागत प्राप्त भयो । गत वर्षको जी-२० शिखर सम्मेलनमा आफ्नो भूमिकाको कारणले मोदीले आफ्नो छविलाई अन्तर्राष्ट्रिय राजनेताका रूपमा प्रस्तुत गर्न सके ।

तर, यीमध्ये कुनै पनि प्रकारका लोकप्रियता अनिश्चितकालसम्म दीगो र बढ्दोस्तरमा कायम राख्न सकिन्न । विशेषतः आर्थिक सङ्कटको सामना गर्न यस्ता लोकप्रियता पर्याप्त हुँदैनन् । जस्तो कि सन् २०२३ का मार्कोसको अनुमोदन मूल्याङ्कन ८० प्रतिशतबाट ६५ प्रतिशतमा घटेको थियो । यसको कारण भने बढ्दो मुद्रास्फिति थियो । आर्थिक सङ्कट सामना गरेर पनि लोकप्रिय रहन सकेको नेता एसियाली मनोदशामा कोही हुँदैन ।

आफ्नो ६ वर्षे कार्यकालको अन्त्यतिर आइपुग्दा पनि मेक्सिकोका वर्तमान वामपन्थी राष्ट्रपति एन्ड्रेस म्यानुअल लोपज ओब्राडोर ६० प्रतिशत र त्यसभन्दा बढीको अनुमोदन मूल्याङ्कन कायम राख्न सफल छन् । उनले प्रेरित गरेकी उत्तराधिकार क्याउडिया सेनबाउम आफ्ना विरोधीभन्दा २५ अङ्कले अगाडि छन्, त्यहाँ जुन २ मा चुनाव हुँदैछ ।

धेरैजसो एसियाली नेताहरूको लोकप्रियतालाई मान्यता दिनुको अर्थ तिनीहरूको लोकतन्त्रको अवस्थाबारेमा चिन्ता गर्नुपर्ने स्थिति छैन भन्नेचाहिँ होइन । गुथेनबर्ग स्वीडेन विश्वविद्यालयको भी-डेम प्रतिष्ठानको प्रतिवेदनअनुसार भारत, इन्डोनेसिया र फिलिपिन्समा सन् २०२२ मा निरङ्कुशता थप बलियो थियो ।

एक सैन्य नेताका रूपमा प्राबोवोको मानव अधिकार अभिलेख सन्दिग्ध छ, जसले गर्दा उनले अमेरिका प्रवेश प्रतिबन्धको अवस्था खेप्नुपरेको थियो । इन्डोनेसियाको लोकतान्त्रिक मार्गको बारेमा अहिले पनि पर्याप्त चिन्ता व्याप्त छन् । उनले जसरी जेकोवीको छोरालाई आफ्नो जोडाका रूपमा लिए, त्यसबाट अध्याँरो कोठामा अवाञ्छित सम्झौता भएको शङ्का गरिन्छ ।

मोदीका हिन्दू राष्ट्रवादी नीतिहरूलाई उनकै देशका अल्पसङ्ख्यक, कम्तिमा २० करोडभन्दा बढी रहेका मुस्लिम जनसङ्ख्याले बढ्दो चिन्ताको रूपमा हेर्दछ ।

यद्यपि एसियाली लोकतान्त्रिक नेताहरूको लोकप्रियताले कम्तिमा विश्व लोकतन्त्रको स्वास्थ्य स्थितिबारे सकारात्मक सङ्केत दिन्छ । पश्चिममा छवि केन्द्रित प्रतिवेदन र स्वतन्त्र संस्थाले त्यहाँ लोकरिझ्याइँ राष्ट्रवाद र लापरवाहीले खोक्रो भएका नेताको चित्र दिन्छन् ।

तर, यथार्थ त्यति डरलाग्दो भने छैन । जस्तो कि प्राबोवोको विजयले इन्डोनेसियाको लोकतन्त्रको पतन देख्नुपर्ने छैन । मनिलामा मार्कोस वंशको पुनरागमनलाई कुनै बेलाको मार्कोस परिवारको तानशाही फर्किएको भन्न मिल्दैन ।

एसियाका लोकतान्त्रिक नेताहरू नि:सन्देह पूर्णताबाट टाढा छन् । तर, मतदाता उनीहरूको प्रदर्शनबाट खुसी छन् । यदि लोकतन्त्रले साँचो अर्थमा आफूलाई संसारभर दीगोरूपमा टिकाउने हो भने उच्च पदमा केही लोकप्रिय लोकतान्त्रिक नेताहरू हुनु कुनै खराब सुरुवात अवश्य हैन ।

(फोरेन पोलिसीबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved