शङ्काकै भरमा हिंसाको खेल : ‘भ्यालेन्टाइन्स् डे’मा फूल दिए, सातापछि ज्यान लिए !
छाडेनन् अवोध छोरी र नातिनीलाई पनि
राजु घिमिरे ऊर्फ काजी विकले शंकाकै जगमा परिवार सखाप पारे र, आफू पनि सकिए । पत्नीलाई मारे । घन, रड, चक्कु प्रहार गरी छाडेनन् २ वर्षकी नातिनी शिवानी र ८ वर्षकी छोरी अनिशालाई पनि । शान्त सितापाइलाका बासिन्दा भयानक त्रासदीमा रुमल्लिँदै प्रश्न गरिरहेका छन्, ‘यस्तो अकल्पनीय घटना किन र कसरी भयो ?’
श्रीमतीलाई फूल दिइरहेका राजु घिमिरे उर्फ काजी विक र पत्नी ईश्वरी, छेउमा नातिनी २ वर्षकी सिवानी श्रेष्ठ र छोरी ८ वर्षकी अनिशा श्रेष्ठ (सबै मृत भेटिएका)
काठमाडौं । बुधबार बिहान साढे ८ बजे काठमाडौं उपत्यका प्रहरी कार्यालयमा १०० मा फोन आयो । फोन गर्ने मान्छेले भने, “मैले बूढी, छोरी र नातिनी मारेँ । म पनि मर्न जाँदैछु ।” यत्ति भनेपछि फोन काट्यो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो सूचना मोबाइल लोकेसन हेर्ने प्राविधिक टिमसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा रिले गर्यो ।
काठमाडौं प्रहरी परिसर र प्रहरी वृत्त सितापाइलामा पनि तत्कालै खबर पुग्यो । एकैछिनमा प्राविधिक टोलीले सूचना फरवार्ड गर्यो, ‘लोकेसन सितापाइला भैरबटोल ।’ ‘हत्या गरेर आत्महत्या गर्न जाँदैछु’ भनेर सूचना दिने मान्छेको खोजीमा खटिए काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र काठमाडौं प्रहरी परिसरको टोली ।
प्रहरी वृत्त सितापाइलाको टोली घटना भएको भनिएको ठाउँ खोज्दै पुग्यो, नागार्जुन ६ भैरागटोल । पिङ्क कलरको साढे २ तल्ले घरमा प्रहरीले केही मानिस भेला भएको देखे । त्यतिबेला साढे ८ बजिसकेको थियो ।
बद्री चापागाईंको घरमा लागेको भीडलाई पन्छाएर भुइँतल्लाको कोठामा छिर्दा लास देखियो । प्रहरी टोलीले स्थानीयसँग सोधपुछ गरी घटनास्थलको मुचुल्का उठाउँदै प्रतिवेदनमा लेखे— सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भई त्यहाँ डेरामा बस्दै ३८ वर्षीया ईश्वरी श्रेष्ठ, पेटीकोट र चोलो लगाएको, मुख धारिलो हतियारले काटिएको, अनुहार छिया-छिया भएको भेटियो । टाउको र शरीरका विभिन्न भागमा चोट लागेकोले धारिलो हतियार प्रहार गरी कसैले कर्तव्य गरी मारेको जस्तो देखिन्छ । लाससँगै मृतक ईश्वरीकी छोरी आठ वर्षकी अनिशाा श्रेष्ठ र २ वर्षकी नातिनी शिवानीको पनि लास भेटियो । उनीहरूको मृत्युको प्रकृति हेर्दा कर्तव्य गरी मारेको जस्तो देखिन्छ ।
विवरण यतिमा सीमित थिएन । घटनाको बीभत्स अवस्थाहरू चित्रित थियो । यता प्रहरीले भैरबटोलमा लास जाँच प्रकृति मुचुल्का उठाउँदै माथि सूचना रिले गर्दै थियो ।
प्रहरीमा आएको सूचना सत्य भएको ‘भेरिफाई’ भएपछि सूचना दिनेको खोजीमा अर्को प्रहरी टोली थप सक्रिय भयो । तर, सामूहिक हत्या गरेर आत्महत्या गर्न जाँदैछु भन्नेको मोबाइल अफ भइसकेको थियो ।
उनको अन्तिम लोकेसन नागार्जुन ५ सितापाइला हरिसिद्धी थियो । प्रहरीले त्यहाँ पुगेर वरपर खोजी गर्यो । सुधा तामाङको घरभन्दा केहीमाथि ढल्किएको रुखमा केही वस्तुजस्तो देखियो ।
अलि पर गएर हेर्दा थाहा भयो, हल्का ढल्किएको रुखमा मान्छे झुन्डिएको रहेछ । प्रहरी टोली र स्थानीय सँगै गएर हेरे । उनी जिउँदा थिएनन् । उनको साथमा रहेको मोबाइल अन गरेर प्रहरीले हेर्यो ।
पत्ता लाग्यो, प्रहरी जसको खोजीमा हिँडेका थिए, उनै रहेछन् । जसले प्रहरीको कन्ट्रोल १०० मा फोन गरेर श्रीमती छोरी र नातिनीको हत्या गरेको बताएका थिए । र, आफू पनि आत्महत्या गर्न जाँदैछु भनेका थिए ।
०००
घटनाले काठमाडौंमा सनसनी मच्चियो । तीनजनाको हत्या, त्यहीमाथि अबोध केटाकेटीसमेत । शान्त सितापाइला भैरबटोलका बासिन्दा भयानक त्रासदीमा रुमल्लिए । स्थानीय निःशब्द भए । कसले यस्तो अकल्पनीय घटना गर्यो, अनुमान लगाउन सकेनन् ।
बीभत्स हत्या र आत्महत्याको कारण खोतल्न प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थाल्यो । अनुसन्धान सुरू गर्न प्रहरीलाई खासै अन्योल भएन, लासको पहिचान थियो । प्रहरीमै फोन आएको थियो, हत्याको दाबी गर्दै । तर, हत्यारा बताउने जिउँदा भने थिएनन् ।
केहीबेरमा घटनाको रहस्यहरू खुल्दै गए । प्रारम्भिक निचोडमा प्रहरी पुग्यो, “सोलुखुम्बुको दुधकुण्ड नगरपालिका १० घर भई नागार्जुन नगरपालिका ६ भैरागटोल बस्ने राजु घिमिरे विकले श्रीमती, छोरी र नातिनीको हत्या गरेर आत्महत्या गरे ।”
काममा गएकाले बाँचिन् बुहारी
स्थानीयका अनुसार राजु बुधबार बिहानसम्म घरको आसपासमै घुमिरहेका थिए । छोरी, नातिनी र श्रीमतीको हत्या गर्दा उनकी बुहारी भने बिहानै ७ बज्नुअघि नै काममा निस्किसकेकी थिइन् ।
छिमेकीहरू भन्छन्, “बुहारी सानै उमेरमा बिहे भएकाले उन्नाइस-बीस वर्षकी मात्रकी छिन् । बिहानै ७ बजे काममा जान्थिन् । उनी मजदुरी गर्छिन् । मजदुरीमा जानुपर्ने भएकाले छोरीलाई सानै उमेरमा स्कूल हालेकी हुन् । २ वर्षमै उनी पिपुल्स स्कूलमा फुपू र अङ्कलसँगै जान्थिन् । धन्न उनी काममा गएकीले उनी बाँचिन्, बालाखा छोरी भने बचाउन सकिनन् ।”
मृतक शिवानीका बुवा भने वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।
राजु घिमिरे उर्फ काजी विकका नातिनी २ वर्षकी शिवानी श्रेष्ठ र छोरी ८ वर्षकी अनिशाा श्रेष्ठ, जसलाई उनले श्रीमतीसँगै हत्या गरे ।
छोरालाई पसल पठाएर अरूको हत्या
घटनाअघि राजु घिमिरे विकले १४ वर्षका छोरा अनिशलाई भने नास्ता किन्न पठाएका थिए । उनले अनिशलाई एक किलोमिटर पर सितापाइला चोकमा गएर ‘ग्वारामारी’ किन्न पठाए ।
स्थानीय भन्छन्, “पसल नजिकै हुँदाहुँदै सितापाइला चोकमा सामान किन्न पठाए । हत्याको योजना बुनेका रहेछन् । यसैले अवरोध नहोस् भनेर टाढा पसल पठाएका रहेछन् ।”
राजुले घरबाट निस्कँदा बाटोमा राजुको सामान किनेर आउँदै गरेको छोरासँग भेट भयो । ‘तेरो आमालाई मार्दिएँ, जा छिटो घर,’ राजुले छोरालाई भने ।
उनले छोरालाई मोबाइलबाट आफ्नो भिडिओ खिच्न लगाए । उनले हत्या गर्नुको कारण खुलाउँदै छोरा-बुहारीलाई मिलेर बस्न आग्रह गरे ।
श्रीमतीको परपुरुषसँग सम्बन्ध रहेका आरोप लगाए । सोही कारण हत्या गरेको बताए । घटनाबारे बुहारी जेनीलाई पहिल्यै थाहा भए पनि आफूलाई नभनेका कारण घटना हुन पुगेको राजुले बताए ।
भिडिओमा उनले बुहारीलाई भनेका छन्, “मैले श्रीमती, छोरी र नातिनीको हत्या गरेँ । बुहारी आउँदा दिनमा छोरासँग मिलेर बस्नु । छोरा अनिशलाई (देबर) हेला नगर्नु । तैँले सबै कुरा किन गुपचुपमा राखिस् ? पहिल्यै सबै कुरा मलाई भनेको भए आज यो घटना नै हुने थिएन । तैँले मलाई पहिले नै केही कुरा भनिनस्, त्यही भएर मैले यस्तो निर्णय गरेँ।”
त्यसपछि राजुले आफन्तलाई फोन गरेर तीन जनाको हत्या गरिसकेको बताएका थिए । नजिकै शुभकामना कोलनीमा ‘सोलुखुम्बु होटल’ चलाएर बस्ने ससुरालाई फोन गरे ।
घटनाबारे बताउँदै आफू पनि ‘मर्न जान लागेको’ भनेका थिए ।
राजु घिमिरे उर्फ काजी विकले नातिनी शिवानी र छोरी अनिशाासँगै हत्या गरेका श्रीमती ईश्वरी श्रेष्ठ ।
शंकाकै भरमा हत्या !
ईश्वरी श्रेष्ठ र राजु घिमिरे विकले १८ वर्ष पहिले प्रेम विवाह गरेका थिए । काजीसँग विवाह गर्नुअघि ईश्वरीले पहिलाका श्रीमान्सँग सम्बन्धविच्छेद गरेकी थिइन् । तर, छोराहरूसँग सम्बन्ध राम्रो थियो ।
ईश्वरीका पहिलेका श्रीमानबाट जन्मिएका छोरा हुन् अनिल । वैदेशिक रोजगारीमा रहेका उनकी छोरी आफ्नी नातिनी शिवानीकै हत्या गरेका थिए, राजुले । अनिलकी श्रीमती जेनी हुन् । ईश्वरी र काजीको सम्बन्धबाट एक छोरा र एक छोरी जन्मिएका थिए । १४ वर्षका अनिश र ८ वर्षकी अनिशाा । तर अनिशाको आमासँगै हत्या गरे ।
ज्याला-मजदुरी गर्ने मजदुरी गर्ने राजुले श्रीमतीलाई परपुरुषसँगको सम्बन्धमा शंका गर्दै ज्यान लिएको प्रहरीको प्रारम्भिक आकलन छ। जिल्ला प्रहरी परिसर काठमाडौंले छोरा अनिशलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको बताएको छ ।
प्रहरी प्रमुख एसएसपी भूपेन्द्र खत्रीले भने, “हत्या गरेको र आत्महत्या गर्न जान लागेको भन्ने भिडिओ फेला परेको छ । यस विषयमा हामी अनुसन्धान गर्दै छौँ । उनीहरूको सम्बन्धमा केही वर्ष पहिलेबाटै खटपट भएको खुलेको छ । छोरालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौँ ।”
‘भ्यालेन्टाइन्स् डे’मा दिएका थिए फूल उपहार
हत्या गरिएकी ईश्वरीले एक महिनाअघि विष सेवन गरेकी थिइन् । मुसा मार्ने विष खाएकी उनलाई तत्काल शहीद मेमोरियल अस्पताल लगियो । पछि उनी निको भएकी थिइन् ।
भित्र घरायासी झगडा भएपछि राजु बाहिर भने श्रीमतीलाई माया गरेको देखाउँथेँ । उनकी श्रीमती पनि पतिसँग राम्रो सम्बन्ध रहेको देखाउँथिन् ।
राजुले ७ दिनअघि मात्रै ‘भ्यालेन्टाइन्स डे’ मा श्रीमतीलाई गुलाफको फूल दिएका थिए । त्यो भिडिओ श्रीमती ईश्वरीले छोरीको नाममा खोलेको टिकटक एकाउन्टमा राखेकी थिइन् ।
Facebook Comment
Comment