इमाडोल घटना:

‘नानीबाबुको ख्याल राख्नु’ भन्दै तीन तलाबाट फाल हालिन् रबिना, मारिए अश्वेत र रिवा !

परिवारमा एक छोरा, एक छोरी, रबिना महर्जन र उनका पति । दुवैजना जागिरे । बाहिरबाट हेर्दा परिवार खुसी नै थियो । तर, शनिबारको दिन कहालीलाग्दो बन्यो । रबिनाले तीन तला माथिबाट फाल हालेर ज्यान दिइन । छोरा-छोरी पनि मारिए । मुर्छा परिरहेका छन् बाबु-आमा र श्रीमान् ।

‘नानीबाबुको ख्याल राख्नु’ भन्दै तीन तलाबाट फाल हालिन् रबिना, मारिए अश्वेत र रिवा !
रविना महर्जनको घर र ओचुहाइट टोल जाने गेट

काठमाडौं । शनिबार अपराह्न साढे ४ बजेतिर ललितपुरको इमाडोलस्थित ओचुहाइट स्थित आफ्नो घरबाट रातो ठूलो बुट्टेकुर्था लगाएर माथिल्लो तल्लामा उक्लिइन् रबिना महर्जन । चौथो तल्लामा सासू र ससुरा बस्थे । आफू बस्ने तेस्रो तल्लाबाट माथि उक्लँदै ससुरालाई बोलाइन् ।

“आमा ! नानीबाबू दुवैजना सुतिरहेका छन् । राम्रोसँग ख्याल गर्नुहोला है,” यति भनेर रबिना भर्‍याङको माथिल्लो तल्लाबाटै फर्किइन् ।

सहकारीमा काम गर्ने उनी शनिबार बिदा भएकाले घरमै थिइन् । ३६ वर्षीया रबिनाका ६ वर्षीय छोरा अश्वेत र २ वर्षीया छोरी रिवा भित्र खाटमा सुतिरहेका थिए ।

पोहोर साल प्रेसर बढेर बिरामी भएकी उनकी सासूको एक खुट्टा राम्रोसँग चल्दैन । तैपनि तल्लो तलासम्म विस्तारै झर्न सक्छिन् । उनकी सासूलाई लाग्यो ‘बुहारी सोनाम ल्होसारको निम्तो मान्न छिमेकमा जाँदैछे । यसैले छोराछोरीको ख्याल गर्नु भनेकी हुन् ।’

इमाडोलस्थित ओचुहाइटमा बनेका धेरै घर नयाँ हुन् । स्थानीय नेवार समुदाको त्यो टोलमा अहिले काभ्रे, सिन्धुपाल्चोक, सिन्धुलीलगायत धेरै जिल्लाका मानिस पनि बसेका छन् । ओचुहाइट’ जाने वस्ती छिर्ने गेटबाट १०० मिटर पूर्वतिर छ रबिनाको घर ।

वरपर केही तामाङका घर छन् । तामाङको घरमा सोनाम ल्होसारको रौनक थियो । रबिनाको घर पछाडि रहेको केही घरका तामाङ सेलो घन्किरहेको थिए । पाहुनाको जमघट चलिरहेको थियो । वरपरका घरमा मानिस पनि निम्तो मान्न आइरहेका थिए ।

अपराह्न साढे ४ बजेको हुँदो हो । मानिसहरूको ठूलो हल्लाखल्ला भयो । ‘ए एम्बुलेन्स बोलाऊ एम्बुलेन्स बोलाऊ’ बाहिर केही घटना भएको जस्तो सुनियो । स्थानीयहरू दौडँदै गए ।

आफ्नै घरको बरन्डाबाट उनै रबिनाले फाल हालेकी रहिछन् । चारतले घरको उनी बस्ने तेस्रो तल्लाबाट आँगनपट्टी फाल हानेकी थिइन रबिनाले ।

रबिना महर्जनको घर, जुन घरको तेस्रो तल्लाबाट उनले फाल हानेकी थिइन् ।  

एक छिमेकीले नेपालभ्युजसँग भनिन्, “हामी ल्होसार मनाउँदै थियौँ । हल्ला भएपछि गएर हेरेको टाउकोमा गहिरो चोट लागेछ । रगत भुइँभरी थियो । उनी बेहोश थिइन् ।”

उनका पति बाहिर थिए । ‘साउन्ड सिस्टम’ व्यवस्थापनका लागि महालक्ष्मी नगरपालिको कार्यक्रममा रहेका रबिनाका पति तुरुन्तै घर आए ।

उनी आएपछि रबिनालाई एम्बुलेन्समा हालेर किष्ट अस्पताल कुदाइयो । घरमा रुवाबासी चलिरहेको थियो । यत्तिकैमा छोरा-छोरीको खोजी भयो । केहीले भने, ‘माथि सुतिरहेका छन् ।’

छोराछोरी अश्वेत र रिवा सुतिरहेको ठाउँमा गएर रबिनाकी कान्छी देउरानीले हेरिन् । छोराछोरी ब्ल्याङ्केट ओढिरहेका थिए । ब्ल्याङ्केट तानेर हेर्दा दुवै जनाको अनुहार कालो र हातमुख निलो देखियो । अचेतजस्ता देखिन्थे । छोरा-छोरीको अवस्था देखेर रबिनाकी देउरानीले हारगुहार गरिन् ।

नाजुक अवस्थाका दुवै जनालाई पनि अस्पताल दौडाइयो । घरबाट डेढ किलोमिटर तल किष्ट अस्पताल पुग्नासाथ डाक्टरले अश्वेत र रिवा दुवैलाई मृत घोषणा गरे ।

“लगतै स्थानीय घटनास्थल पुगे । आमालाई अस्पताल लगेर छोरा-छोरी खोज्न माथि जाँदा उनीहरू सुतेकै अवस्थामा मृत्यु भएको भेटियो,” महालक्ष्मी ४ का वडाध्यक्ष अमित खत्रीले नेपालभ्युजसँग भने ।

रबिनाले छोरा-छोरी मारेर फाल हालिन् ?

‘सुतिरहेका छोराछोरीको ख्याल गर्नु’ भनेर आमाले फाल हानेपछि घटना रहस्यमय देखियो । रबिनालाई उपचारका लागि अस्पताल पठाएर घरभित्र हेर्दा उनका छोरा-छोरी अचेत अवस्थामा थिए । किष्ट अस्पताल लग्नासाथ बच्चालाई मृत घोषणा गरियो । राति आमा रबिनाले पनि प्राण त्यागिन् ।

घटनाको प्रारम्भिक अनुसन्धानले ‘हत्यापछि आत्महत्या’ भएको हुनसक्ने देखाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एसपी नवराज कार्की भन्छन्, “छोरा-छोरीको हत्यापछि आमाले आत्महत्या गरेको हुनसक्ने जस्तो देखिन्छ । अनुसन्धान जारी छ । घटनाको प्रकृति हेर्दा विष सेवन गराएको वा मुख थुनिएको हो भन्ने जस्तो देखिन्छ तर, पोस्टमार्टम रिर्पाेट आउन बाँकी छ ।”

ओचुहाइट टोल जाने गेट, जहाँबाट १०० मिटरभित्रको घरमा घटना भएको हो ।

घरमा कुनै सूसाइड नोट वा अन्य कुनै सङ्केत पनि भेटिएको छैन । घटना सम्बन्धमा प्रहरीले सूक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको छ । घटनापछि प्रहरीले परिवारका अरू सदस्य र छिमेकीसँग सोधपुछ गरिरहेको छ ।

तीनजना सदस्य गुमाएका परिवारका सदस्यहरू बोल्नसक्ने अवस्थामा छैनन् । यसकारण प्रहरीले घटनाबारे विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको एसएसपी शेखर खनाल बताउँछन् ।

छिमेकीका अनुसार रबिना र पतिको सबन्ध राम्रो थियो । अरू सबै सदस्यसँग पनि नराम्रो थिएन । चारतले घरमा चार परिवार बस्थे ।

सबै छोरा छुट्टिएर एकएक फ्याटमा बस्थे । माथिल्लो कौसीमा बुबा आमा बस्थे । त्यो भन्दामुनि रबिना, पति र दुई सन्तान अश्वेत र रिवा बस्थे । भुइँतलामा कान्छो र माथिल्लोमा माइलो छोराका परिवार थिए ।

“रबिना र उनका बुढासँगै अफिस जान्थे । बीचमा छोराछोरीलाई राखेर स्कूल पुर्‍याउँथे । साँझ घर आउँदा पनि सँगै आउँथे । नराम्रो केही थिएन । परिवारका अरूसँग पनि राम्रो सम्बन्ध थियो,” छिमेकी भन्छन् ।

घटनापछि परिवारका सदस्यले भेउ पाएका छैनन्, सपना हो कि विपना । रबिनाकी बिरामी सासू अचेत छिन् ।

सान्त्वना दिन उनको घर पुग्ने परिवारको अवस्था देखेर उल्टै भक्कानिएर फर्किँदै आएका छन् । “घटना भएदेखि बूढीआमा मुर्छित छिन् । होश खुलेका बेला बिलौना गर्छिन् । मेरो नाति नातिनीले परान जानेबेला पानी पनि पाएनन्, ऐया भन्न पनि पाएनन् । भन्दै भक्कानिन्छिन् र मुर्छा पर्छिन्,” छिमेकी सुनाउँछन् ।

बुहारीको आत्महत्या र नाति-नातिनीको मृत्युले आफ्नो मुटुको टुक्रा खोसेको ससुरा बताउँछन् । उनी भन्छन्,”फूलजस्ता कोपिला नानी-बाबू चुँडिए । बुहारी पनि गइहाली । मेरो जेठो छोराको परिवार नै सकियो । बाँचेका हामीलाई जिउनु न मर्नु भो !”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved