काठमाडौं। नेपाली युवा टोलीले मैत्रीपूर्ण फुटबल खेलमा चीनको युशु युवा टोलीलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा नेपालले युशुलाई ५–१ को फराकिलो गोलअन्तराले पराजित गरेको हो। नेपालका लागि समिर तामाङले २ तथा सन्जीब विष्ट, छिरिङ लामा र निराजन धामीले १–१ गोल गरे। चीनका लागि झाछी पेंगकुओले सान्त्वना गोल फर्काए ।
युशुले पहिलो मिनेटमा नै गोल गरेपनि त्यो अफसाइडका कारण मान्य भएन । दोस्रो मिनेटमा सन्जीव विष्टले आयुष घलानको पासमा हेडर गोल गर्दै नेपाललाई अग्रता दिलाए । ३९ औं मिनेटमा समिर तामाङले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए।
५४ औं मिनेटमा समिरले हेडर गोल गर्दै नेपालका लागि तेस्रो गोल गरे। ६३ औ मिनेटमा छिरिङले नेपालका लागि चौथो गोल गरे। ७४ औं मिनेटमा निराजन धामीले नेपालको लागि पाँचौं गोल गरे । ७८ औं मिनेटमा भने चीनका झाछी पेंगकुओले गोल गरे।
चीनको नयाँ वर्षको अवसरमाचिनियाँ दूतावास, राष्ट्रिय खेलकुद परिषद् राखेप र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा खेल आयोजना गरेको हो।
Facebook Comment
Comment