राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादी दुवैको दाबी, सिटौलालाई मन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कांग्रेससँग नयाँ समझदारी गरेर राष्ट्रियसभा अध्यक्ष आफूले लिने ध्याउन्नमा देखिन्छन् । त्यसका लागि कांग्रेसले प्रोजेक्सन गरिरहेका कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाएर अघि बढ्न प्रचण्डले प्रस्ताव गरिसकेका छन् । 

राष्ट्रियसभा अध्यक्षमा कांग्रेस र माओवादी दुवैको दाबी, सिटौलालाई मन्त्री बनाउने प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । अहिले राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सिनाको पदावधि आगामी फागुन २० गते सकिँदैछ । त्यसपछि रिक्त हुने उक्त पदमा सत्तारूढ दलहरू नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसले दाबी गरिरहेका छन् ।

यी दुई दलले विविध कारण देखाउँदै राष्ट्रियसभा अध्यक्ष आफूले पाउनुपर्ने बताइरहेका छन् । संवैधानिक परिषद्‌को सदस्यसमेत रहने राष्ट्रियसभा अध्यक्षका सन्दर्भमा बृहत्‌रूपमा छलफल गरेर सहमतिका साथ मात्रै अघि बढ्नुपर्ने दुवै दलका नेताले बताएका छन् ।

माओवादी केन्द्रका नेताहरू राष्ट्रियसभा अध्यक्ष आफूले पाउँदा मात्रै शक्ति सन्तुलन मिल्ने बताउँछन् । त्यसो त गठबन्धनमा भएको समझदारीअनुसार अबको एक वर्षपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदबाट हट्नुपर्छ ।

त्यसबेला संवैधानिक परिषद्‌मा आफूहरूको सहभागिता शून्य हुने उल्लेख गर्दै माओवादी केन्द्रका नेताहरूले राष्ट्रियसभा अध्यक्ष आफूहरूले नै पाउनुपर्ने बताउँछन् ।

प्रतिनिधि सभाका प्रमुख सचेतकसमेत रहेका माओवादी केन्द्रका नेता हितराज पाण्डे भन्छन्, “राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल हामी हौँ, पहिलो कुरा त त्यसैले अध्यक्ष हामीले पाउनुपर्छ भन्ने आधार तयार पारेको छ । दोस्रो कुराचाहिँ सन्तुलन मिलाउनका लागि पनि राष्ट्रियसभा अध्यक्ष हामीले पाउनुपर्छ ।”

माओवादी नेताहरू अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल नै अध्यक्षको स्वाभाविक दाबेदार हुने बताउँछन् । माओवादी केन्द्रका एक नेता भन्छन्, “उहाँ (उर्मिला अर्याल) नै स्वाभाविक दाबेदार हुनुहुन्छ । पात्रकै विषयमा त अहिले छलफल भएको छैन । तर, पार्टीले उहाँलाई अघि सार्ला । अहिले गठबन्धनमा समझदारी गरेरै भएपनि अध्यक्ष लिने प्रयासमा खासगरी अध्यक्ष कमरेड लाग्नुभएको छ ।”

यता कांग्रेस नेताहरू पनि राष्ट्रियसभा अध्यक्ष आफूले पाउनुपर्ने बताउँछन् । उसो त अनौपचारिकरूपमा कांग्रेस नेताहरूले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षको रूपमा ‘प्रोजेक्सन’ गरिरहेका हुन्छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका कोशी प्रदेशसभा सदस्य उद्धव थापा भन्छन्, “उहाँ राष्ट्रियसभा अध्यक्ष नै बन्नुहुन्छ । त्यसैका लागि उहाँलाई अहिलेसम्म अघि सारिएको हो ।”

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने कांग्रेससँग नयाँ समझदारी गरेर राष्ट्रियसभा अध्यक्ष आफूले लिने ध्याउन्नमा देखिन्छन् । त्यसका लागि कांग्रेसले प्रोजेक्सन गरिरहेका कृष्णप्रसाद सिटौलालाई मन्त्री बनाएर अघि बढ्न प्रचण्डले प्रस्ताव गरिसकेका छन् ।

यसअघि नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड कांग्रेसकै सुझावअनुसार रोकिएका थिए । अब मन्त्रिपरिषद् विस्तार गर्दा सिटौलालाई कहीँ व्यवस्थापन गर्ने र राष्ट्रियसभा अध्यक्ष आफूले लिने माओवादी नेताहरू बताउँछन् ।

प्रधानमन्त्रीनिकट एक नेताकाअनुसार अनौपचारिकरूपमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई त्यसका सम्बन्धमा प्रस्तावसमेत गरिसकेका छन् । सिटौलालाई कुनै मन्त्रालय दिएर अघि बढ्दा कसो हुन्छ ? भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई सोधेका थिए । देउवाले पार्टीमा छलफल गर्ने र थप कुरा भन्ने बताएका छन् ।

उसो त सिटौलाको नाम गृहमन्त्रीका रूपमा पनि चर्चामा छ । यसअघि नै एकपटक गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका उनलाई उपप्रधानसहित गृह दिने र आफूले राष्ट्रियसभा लिने सोचमा प्रधानमन्त्री प्रचण्ड पुगेको बताइन्छ । त्यस्तो हुँदा मात्रै संवैधानिक परिषद्‌मा सन्तुलन मिल्नेमा प्रधानमन्त्री प्रचण्ड जानकार छन् ।

पाँच सदस्यीय संवैधानिक परिषद्‌मा प्रधानमन्त्रीसहित, प्रतिनिधि सभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीश हुन्छन् । गठबन्धनमा भएको समझदारीअनुसार प्रचण्डले अबको एक वर्षपछि प्रधानमन्त्री पद छाड्नुपर्छ । त्यस अवस्थामा पनि संवैधानिक परिषद्‌मा माओवादी केन्द्रको सहभागिता शून्य नहोस् भनेर प्रधानमन्त्री प्रचण्डले समझदारी गर्न खोजिरहेका छन् ।

अहिले प्रतिनिधि सभाका सभामुख नेकपा (एमाले) को पृष्ठभूमिबाट आएका देवराज घिमिरे छन् । यसमा अब रिक्त हुँदै गरेको राष्ट्रियसभा अध्यक्ष पनि छाड्दा संवैधानिक परिषद्‌मा आफूहरूको सहभागिता शून्य हुनेमा प्रधानमन्त्री प्रचण्डसँगै माओवादी नेताहरू जानकार छन् । त्यसैले पनि उनीहरूले राष्ट्रियसभा अध्यक्ष लिन जोड गरिरहेका छन् ।

प्रचण्डले प्रधानमन्त्री पद छाड्नेबित्तिकै कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । अहिलेका प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ कांग्रेसनिकट मानिन्छन् । कार्यकाल सकिन लागेका तिमिल्सिना एमाले पृष्ठभूमिका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved