यू-१९ विश्वकप

अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित

नेपालभ्युज

अन्तिम खेलमा नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौं। आईसीसी यू–१९ विश्वकप क्रिकेटमा भारतसँग नेपाल १३२ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

२९८ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ओभर खेलेर १६५ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए ।

पुरै ओभर खेल्ने नेपालको लक्ष्य अन्तिममा आएका दुर्गेश गुप्ता र आकाश चन्दले पुरा गरे । दुर्गेशले अविजित २९ र आकाशले १८ रन बनाए ।

त्यसअघि ओपनर अर्जुन कुमाल २६ र दिपक बोहरा २२ रनमा आउट भएका थिए । अन्यले दोहोरो अंक छुन सकेनन् । भारतका समी पाण्डेले चार विकेट लिए ।

दक्षिण अफ्रिकाको ब्लुमफोन्टेनमा पहिले ब्याटिङ गरेको भारतले पूरै ओभर खेलेर ५ विकेट क्षतिमा २९७ रन बनाएको थियो ।

भारतीय बलरसामू नेपालका ब्याट्स्म्यान कमजोर देखिए । नेपाल कुनै पनि बेला लक्ष्यउन्मुख देखिएन ।

सचिन दास र कप्तान उदय सहारनले शतक प्रहार गरेपछि भारतले ठूलो स्कोर खडा गर्यो । चौथो विकेटका लागि सचिन र उदयले २१५ रनको साझेदारी गरेका थिए ।

गुल्सन झाले सचिनलाई ११६ र उदयलाई १०० रनमा पभिलियन फर्काए । तर त्यतिबेलासम्म उनीहरुले आफ्नो काम पुरा गरिसकेका थिए । गुल्सनले तीन विकेट लिए । आकास चन्दको नाममा एक विकेट रह्यो ।

विश्वकपमा नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएर सुपर सिक्समा स्थान बनाएको थियो ।

आइसीसीको नियमअनुसार खेल सुरु नहुँदै सेमिफाइनलको दौडबाट बाहिरिएको नेपाल सुपर सिक्समा भारत र बंगलादेशसँग हारेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved