अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको सुपर सिक्समा पुग्यो, देव र आकाश ‘नायक’

अब भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्ने

सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आगामी बुधबार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्नेछ । 

नेपालभ्युज

अफगानिस्तानलाई हराउँदै नेपाल विश्वकपको सुपर सिक्समा पुग्यो, देव र आकाश ‘नायक’

काठमाडौं । अफगानिस्तानलाई हराउँदै नेपाल अन्डर १९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ ।

कप्तान देव खनाल ब्याटिङ र आकाश चन्द बलिङमा नायक बनेपछि नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराएको हो ।

जितसँगै समूह डीबाट तेस्रो स्थानमा रहँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ । सुपर सिक्समा नेपालले समूह एको पहिलो र दोस्रो स्थानमा रहेका भारत र बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । आगामी बुधबार बंगलादेश तथा फेब्रुअरी २ तारिखमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

१४६ रनको लक्ष्य नेपालले ३२ बल अगाडी ९ विकेट गुमाउँदै पुरा गरेको थियो । अन्तिम समयमा नेपालले लगातार विकेट गुमाएपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

त्यसअघि कप्तान खनाल ५८ रनमा आउट भए । तर, उनले नेपालको जितको आधार खडा गरेका थिए । ८९ बल खेलेका खनालले ७ चौका प्रहार गरे ।

सुरुवातमा लगालग तीन विकेट गुमाएर संकटमा परेको नेपाली इनिङ्स सम्हाल्दै खनालले जितको आशा जगाएका थिए । उनलाई दिपक बोहराले राम्रो साथ दिए । बोहरा २७ रनमा आउट भए ।

त्यसअघि आकास त्रिपाठी १६, अर्जुन कुमाल १०, दिपक डुम्रे ५, दिपेश कँडेल ४, विपिन रावल २ र गुल्सन झा १ रनमा पेभेलियन फर्किएपछि नेपाल संकटमा परेको थियो ।

अन्तिममा सुवास भण्डारीले चौका प्रहार गर्दै विजयी रन जोडे । उनी ९ रनमा अविजित रहेका थिए ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपालले कसिलो बलिङ गरेपछि अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा आलआउट भएको थियो ।

अफगान टोलीलाई सस्तैमा अलआउट गर्न आकाश चन्दले पाँच विकेट लिए । दिपेश कँडेलले २ तथा तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले १ विकेट लिए ।

नेपाल तेस्रो पटक अन्डर–१९ विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० र बंगलादेशमा २००२ मा भएको अन्डर–१९ विश्वकपमा पनि नेपाल दोस्रो चरण पुगेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved