आहारारा गोल्डकपमा मच्छिन्द्र र जावलाखेल पहिलो पटक भिड्दै

नेपालभ्युज

आहारारा गोल्डकपमा  मच्छिन्द्र र जावलाखेल पहिलो पटक भिड्दै

काठमाडौं । पोखरामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दै छन् । साढे २ बजे पोखरा रंगशालामा हुने खेलमा जावलाखेल उच्च मनोवलका साथ मैदान उत्रने तयारीमा छ ।

कुनै पनि संस्करणमा अहिलेसम्म यी टिम भिडेका थिएनन् । आज पहिलो पटक मच्छिन्द्र र जावलाखेलबीच खेल हुन लागेको हो । आजको खेल जित्ने टिम क्वार्टर फाइनलमा प्रवेश गर्नेछ । अन्तिम ५ का लागि आजको विजेताले माघ १५ गते मनाङ् मस्र्याङ्दीसँग प्रतिस्पर्धा गर्नेछ ।

दशौं आहा रारा गोल्डकपमा पहिलोपटक सहभागी भएको जावलाखेल डेब्यु प्रतियोगितामै फाइनलसम्म पुगेको छ । आहारारामा जावलाखेल एक दशकपछि फेरि फर्किएको हो ।

यसपटक जावलाखेलले नरेश थापाको प्रशिक्षणमा टोलीलाई मैदान प्रवेश गराएको छ । मच्छिन्द्रले आहारारामा यसअघि नै ५ पटक सहभागिता जनाइसकेको छ । अघिल्लो संस्करणमा प्रिक्वार्टर फाइनलमा चर्च ब्वाइजसँग मच्छिन्द्र ३–१ ले पराजित हुँदै घर फर्किएको थियोे ।

जावलाखेल युथ क्लबको भने यो चौथों सहभागिता हो । आहाराराको २३औं संस्करणसम्म आइपुग्दा दुवै टोली उपाधिविहीन छन् ।

प्रतियोगितामा अहिलेसम्म प्रिक्वार्टरका २ खेल भइसकेका छन् । जसमध्ये पहिलो खेलमा आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै थ्रीस्टार क्लब र राइजिङ स्टार क्लबलाई १–० ले हराउँदै विभागीय टिम नेपाली आर्मी क्लबले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved