झापाको टाउको दुखाई बनेको हात्ती आतंक, एक वर्षमा १२ जनाको मृत्यु

नेपालभ्युज

झापाको टाउको दुखाई बनेको हात्ती आतंक, एक वर्षमा १२ जनाको मृत्यु
फाइल तस्वीर

काठमाडौं । पूर्वी नेपालको झापा र मोरङमा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटना बढ्न थालेका छन् । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्तीहरु गाँउ पसेपछि मानवीय प्रतिरोधका कारण हिंसात्मक घटना बढ्न थालेका हुन् ।

झापामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु भइसकेको छ भने १३ जना घाइते भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । सोही अवधिमा ६ वटा हात्ती पनि मारिएका छन् ।

हात्ती आक्रमणका घटना अध्ययन गर्दा बिहानी पैदलयात्रा गर्ने, जङ्गल छेउछाउ घाँसदाउरा काट्ने र जङ्गलभित्र निगुरो र च्याउ टिप्न जाने मानिस निशानामा परेको देखिन्छन् । कचनकबल–७ का ८२ वर्षीय वृखबहादुर राईको एक वर्षअघि हात्तीको आक्रमणमा दिनदहाडै मृत्यु भएको थियो । दीपज्योति सामुदायिक वनमा निगुरो टिप्न जाँदा उनलाई हात्तीले आक्रमण गरेको थियो ।

गत असारमा भद्रपुर–७ का ५३ वर्षीय गिरेन कर्मकारलाई बिहानको ४ बजेतिर देउनिया खोलाको बगरमा हात्तीले खेदाएर मार्यो । उनी हल्दिबारीको चिया बगानमा जङ्गली च्याउ खोज्न जाँदा हात्तीको आक्रमणमा परेका थिए । उत्तरी चुरे भागबाट दक्षिणको जलथल प्राकृतिक वन क्षेत्र हात्तीको पुरानो विचरण क्षेत्र मानिन्छ ।

त्यहाँ भारतको आसामबाट हात्तीको बथान बर्सेनि आउने गर्छन् भने डेढ दर्जनभन्दा बढीको सङ्ख्यामा रहेका रैथाने हात्तीको बासस्थान पनि त्यहीका जङ्गल भएको छ ।

हात्तीको पुरानो बासस्थान भनिएको उहिलेको जङ्गली ठाउँमा अहिले मानव बस्ती बाक्लिइसकेको छ । बितेको ६० वर्षमा जङ्गल मासिएर हात्तीको बासस्थान मान्छेको बस्तीले ढाकेपछि हात्ती गाउ पस्न थालेका हुन् ।

तीक्ष्ण स्मरण शक्ति भएको हात्तीले आफ्नो पुर्खादेखिको विचरण स्थानमा स्वतन्त्रतापूर्वक हिडडुल गर्ने चाहना राख्ने गरेको हात्ती अध्येता शङ्कर लुइँटेलको भनाई छ । “पुरानो विचरण क्षेत्रमा अहिले मानव बस्तीले ढाकेको देखेर हात्तीमा क्रोध उत्पन्न हुन्छ”, लुइँटेल भन्छन् , “यसकारण हात्तीले बस्ती पसेर घर भत्काउने गर्दै आएको छ ।”

हात्तीले आफ्नो पुरानो विचरणस्थल अतिक्रमण भएकोमा भन्दा बढी आफ्नो आहारमा मानिसले अवरोध पुर्याएको ठान्दा हिंस्रक व्यवहार प्रदर्शन गर्ने उनको भनाई छ । हात्ती आहारको खोजीमा गाउँ पसेको बेला मर्निङ वाकमा हिँडेका, निगुरो र च्याउ टिप्न गएकाहरु हिंस्रक आक्रमणको निशानामा पर्ने गरेका हुन् ।

हल्दिबारी–२ वडा कार्यालयका कर्मचारी पताल राजवंशीको यही पुसको पहिलो साता मर्निङ वाकमा हिँडेका बेला हात्तीको आक्रमणमा परेर मृत्यु भयो ।

हात्तीले एकान्तस्थलमा मारेपछि स्याउला र पत्करले छोपेर हिँडेको पाइएको थियो । शिवसताक्षी–११ का ४५ वर्षीय मेघराज राईको यही पुस १३ गते राति हात्तीले घरछेउमै आक्रमण गर्दा मृत्यु भयो । हात्ती घर भत्काउन थालेपछि ज्यान जोगाउन बाहिर निस्कँदा राई हात्तीको निशानामा परेका थिए ।

हात्तीको क्षति न्यूनीकरणका लागि मानव–हात्ती सहअस्तित्वको नीति अख्तियार गर्न आवश्यक रहेको मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की बताउछन् । “हात्ती आफैँमा आक्रामक प्राणी होइन । उसको बासस्थान र आहारमा व्यवधान भएको महसुस भयो भने उसले आक्रामक व्यवहार देखाउँछ”, वडाध्यक्ष कार्की भन्छन्, “मान्छे र हात्तीबीच द्वन्द्वको सबैभन्दा लामो इतिहास भएको बाहुनडाँगीमा हामीले सहअस्तित्वको नीतिलाई व्यवहारमा लागू गर्न थालेका छौँ । यसले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुगेको छ ।”

जिल्लामा हात्तीले पहिलोपल्ट चार दशकअघि बाहुनडाँगीमा मानिसलाई आक्रमण गरी मारेको थियो । बर्सेनि बाहुनडाँगीमा मानिसको मृत्यु हुने कारण हात्तीको आक्रमण भएको थियो । त्यहीकारण बाहुनडाँगी हात्तीपीडित क्षेत्रका रूपमा चिनिन पुग्यो । तर सहअस्तित्वको नीति व्यवहारमा लागू गर्न थालिएपछिको विगत पाँच वर्षमा बाहुनडाँगीमा एक जनाको पनि मृत्यु भएको छैन ।

हात्ती छेक्न सीमा क्षेत्रमा विद्युतीय तारबार लगाइएका कारण एक दशकदेखि भारतीय जङ्गलबाट आउने हात्तीको बथान मेचीको बगरमै रोकिने गरेका छन् ।

बाहुनडाँगीमा हात्तीले बाली खाएमा क्षतिपूर्ति दिनका लागि बाली बीमा गर्न थालिएको कार्कीले बताए । हात्तीलाई तालिमप्राप्त युवा दस्ताले रातभर गस्ती गर्ने र बस्तीमा पस्न नदिने सुरक्षात्मक रणनीति पनि बाहुनडाँगीमा अपनाइएको छ ।

हात्ती गाउँतिर पसेको संकेत दिनका लागि साइरन जडान गरिएका छन् ।

झापा र मोरङमा हात्तीका कारण जनधनको क्षति हुनुमा मानव–हात्तीबीच अस्तित्वका लागि हुने द्वन्द्व मुख्य कारण रहेको हात्तीका विषयमा विद्यावारिधि गरेका दिनेश न्यौपानेले बताए । उनका अनुसार हात्तीलाई बिच्क्याउने प्रवृत्तिका कारण हात्ती अझ बढी हिंस्रक भएर मानिसमाथि जाइलाग्ने गर्दछ ।
रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved