विवादबाट माथि उठ्न नसकेका यश कुमार, चर्चाकै लागि क्लिसे कहानीमा अपाच्य शब्द

नेपालमा धेरै सुनिने गायक यश कुमारको गीत चल्न कुनै ‘कन्ट्रोभर्सी’को सहारा लिइराख्नुपर्ने होइन । चल्नको लागि उनका सिर्जना नै पर्याप्त छन् । तर यसपटक भने उनले आफ्नो सिर्जनात्मक शक्तिमा विश्वास गरेनन् ।

नेपालभ्युज

विवादबाट माथि उठ्न नसकेका यश कुमार, चर्चाकै लागि क्लिसे कहानीमा अपाच्य शब्द

काठमाडौं । अधिकांश सृजनामा जातीय विभेद तथा छुवाछुतको विषयलाई उठाउँदै आएका गायक यश कुमारले फेरि निरन्तरता दिएका छन्, नयाँ गीत ‘तिमी छौ र त’ मा । उनले केही दिनअघि सार्वजनिक गरेको म्युजिकल फिल्म नाम दिइएको भिडिओमा पनि पुरानै शैली दोहोर्‍याइएको छ ।

साङ्गीतिक क्षेत्रमा लागेको करिब २५ वर्षको अवधिमा उनले सिर्जना गरेका र गाएका अधिकांश गीतमा छुवाछुत विरोधी विषयलाई उठाएका छन् ।

समाज चेतनाका लागि उनले ल्याएका गीतले सकारात्मक प्रभाव पारेका छन् । तर यसपटक ‘तिमी छौ र त’ भने यश कुमारले चर्चाकै लागि ‘क्लिसे’ कहानीमा केही अपाच्य शब्द प्रयोग गरेका छन् ।

यो गीतमा उनले बाहुन र लिम्बू समुदायबीचको प्रेमको विषयलाई उठाएका छन् । नेपालको पूर्वी जिल्ला ताप्लेजुङ आसपासमा बसोबास गर्दै आएका बाहुन र लिम्बूबीचको भेदभावलाई म्युजिकल फिल्ममा समावेश गरेका छन् ।

भिडिओमा उनी बाहुन युवा बनेका छन् । उनकी प्रेमिका लिम्बु थरकी छिन् । बाहुन केटो र लिम्बू जातिको केटीबीच प्रेम हुँदा परिवार बाधक बनेको भिडिओमा देखाइएको छ । भिडिओमा दुई समुदायबीचको झगडालाई प्रस्तुत गरिएको छ ।

कथा ठिकै भए पनि झगडामा अश्लील शब्द र जातीय रुपमा अपाच्य शब्द जबरजस्ती घुसाइएको छ ।

लिम्बूको छोरीले बाहुन केटा ताकेको भन्दै यश कुमारका बुबाले थाहा पाउँछन् । यस कुमारका बुबा लिम्बूनीको बुबालाई थर्काउन उसैको घरमा पुग्छन् । घर पुग्दा लिम्बूनीको बुबा सुँगुरको मासु काटीरहेका हुन्छन् ।

बाहुन रहेका यश कुमारका बुबाले लिम्बूनीको बुबालाई ‘ओए सुँगुरे’ भन्ने शब्दले थर्काउँछन् । लिम्बूले पनि अश्लील गाली गर्छन् । त्यति मात्र होइन ‘जनावरको मुत खाने’ भन्दै बाहुनलाई जातीय घृणायुक्त गाली गर्छन् ।

सुँगुर काट्दा काट्दैको खुकुरी उझाउँछन् । र सुँगुरको टाउको ताकेर लखेट्छन् । यसरी यशकुमारले आफ्नो गीतमा चर्चाकै लागि बाहुन र लिम्बु समुदायको चित्त दुख्ने शब्द जबरजस्ती घुसाएका छन् । लिम्बुलाई ‘सुँगुरे’ र बाहुनलाई ‘पशुको मुत खाने जात’ भन्दै आपत्तिजनक शब्द राखेका छन् ।

प्रकाश सपुतको ‘मुटु कटक्कै’, कर्णप्रिय गीतभित्र आँखा बिझाउने विज्ञापन

त्यसपछि केटीका बुबाले आफ्नै जातको अर्को केटालाई छोरी दिन्छन् । अन्ततः आफ्नै जातको भएता पनि छोरी प्यारालाइसिस भएपछि माइत नै फर्काइदिन्छ । फेरि यशकुमारले बिरामी भएकी भए पनि लिम्बुकी छोरीसँग बिहे गर्छन् ।

यशकुमारले पहिला प्रेममा हुँदा बाचा गरे अनुसार पाथीभरा देवीको दर्शन गर्दै बिरामी लिम्बुनीलाई सिन्दूर लगाइदिन्छन् । प्रेममा परेकाहरूले जातियता हेर्दैनन् भन्ने भाव गीत र भिडिओको छ । माया प्रेममा कुनै पनि जातले छुँदैन भन्ने शब्दलाई म्युजिकल फिल्ममा समावेश गरिएको छ ।

यो नेपाली समाजमै हुने घटना भएकाले यशकुमारको अहिलेको गीती भिडिओ चेतना बढाउने कतिपयको दाबी छ ।

समय बदलिएर यस्ता घटनामा केही कमीआएपनि जातीय छुवाछुतको अवशेष हाम्रो समाजबाट अझै गइसकेको छैन । अहिले पनि गाउँ ठाउँमा कथित उच्च जातको परिवारले जनजाति परिवारसँग वैवाहिक साइनो गाँसिहाल्न चाहँदैनन् । यतिसम्म गीतले यथार्थ बोलेको छ ।

तर, लिम्बुलाई ‘सुँगुरे’ भन्दै गाली गर्नु र बाहुनलाई ‘पशुको मुत खाने जात’ भन्दै गाली गरेको देखाइनु चाहिँ अतिरञ्जना हो । ‘‘एउटा यथार्थवादी गीतलाई यति फिल्मी नबनाएको भए बढी उद्देश्यमूलक हुन सक्थ्यो’’ कतिपयले टिप्पणी गरेका छन् । यश कुमारले दुवै समुदायमाथि चोट पुग्ने गाली गलाैजको शब्द घुसाएको भन्दै सामाजिक सञ्जालमा आलोचना पनि भइरहेको छ ।

नेपालमा धेरै सुनिने गायक यश कुमारको गीत चल्न कुनै ‘कन्ट्रोभर्सी’को सहारा लिइराख्नुपर्ने होइन । चल्नको लागि उनका सिर्जना नै पर्याप्त छन् । तर यसपटक भने उनले आफ्नो सिर्जनात्मक शक्तिमा विश्वास गरेनन् ।

म्युजिकल फिल्ममा यश कुमारको जोडी अनु थापा बनेकी हुन् । प्रेम सुब्बा, राजेश घतानीलगायतका कलाकारको अभिनय छ। भिडिओको निर्देशन विज्ञान राईले गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved