प्रधानमन्त्री कप महिला क्रिकेट :

सुदूरपश्चिम र बागमतीको दोस्रो जित

नेपालभ्युज

सुदूरपश्चिम र बागमतीको दोस्रो जित

काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशले दोस्रो जित दर्ता गरेका छन्। सुदूरपश्चिम र बागमतीले आफ्नो तेस्रो खेलमा दोस्रो जित हासिल गरेका हुन्।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतबार भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ८१ रनले पराजित गरेको हो।

१५२ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा मात्र ७० रन बनायो। कर्णालीका लागि तृष्णा विश्वकर्माले २८ रन बनाईन्। अन्जु खड्का र रश्मी गुरुङले १०–१० रन जोडे। सुदूरपश्चिमका लागि रितु कनौजिया र जानकी थापाले ३–३, कविता जोशीले २ तथा मनिशा चौधरीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १५१ रन बनायो। सुदूरपश्चिमका लागि कविता जोशीले अविजित ७० रन बनाइन्। उनले सो क्रममा ५० बलम १० चौका र १ छक्का प्रहार गरिन्। रेवती धामी भने २२ रनमा अविजित रहिन्। कर्णालीका लागि भने अन्जु गुरुङले २, यमुना थारु तथा रश्मी खड्काले १–१ विकेट लिए।

यस्तै, मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले गण्डकीलाई ४ विकेटले पराजित गर्यो। ११३ रनको लक्ष्य बागमतीले १८.४ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो। बागमतीका लागि यशोदा बिस्टले अविजित ३९ र सोनी पाख्रिनले १७ रन बनाइन्। गण्डकीका लागि भने सृष्टि जैसीले २ तथा आकृति तिवारीले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको गण्डकीले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ११२ रन बनायो। गण्डकीका लागि अन्जली विश्वकर्माले ३२ रन र सुमन खतिवडाले अविजित २८ रन बनाइन्। बागमतीका लागि मनिशा उपाध्याय, अस्मिना कर्मचार्य र कृष्मा गुरुङले १–१ विकेट लिए।

यससँगै ३ खेलबाट ४ अंकसहित सुदूरपश्चिम तेस्रो स्थानमा छ भने बागमती ३ खेलबाट ४ अंकसहित अंकतालिकाको चौथो स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved