आलेख

चीनका भित्री कथा भन्ने आँट कसको ? सुनाउने कसले ?

चीनमा एक प्रकारको सेन्सरसीप छ । त्यसको अर्थ इतिहास बिर्साउनु मात्र हुँदैन, पार्टी प्रोपागण्डाले सम्झाउन चाहनेको इतिहास मात्र सम्झिनु पनि हुन्छ । मानिस सरकारी संस्करणसँग मिल्नेगरी इतिहास सम्झिन स्वतन्त्र छन् । तर, पहिलेभन्दा अहिले वैकल्पिक व्याख्याको पहुँच बढ्दो छ । इतिहास नियन्त्रण गर्ने पार्टी प्रयास निक्कै कठोर र कठिन हुँदै गएको छ । यो सङ्घर्षलाई राष्ट्रपति सी जीवन-मरणका रूपमा हेर्छन्, पार्टीले जसरी पनि जित्नै पर्छ भन्ने धारणा राख्छन् ।

चीनका भित्री कथा भन्ने आँट कसको ? सुनाउने कसले ?

सन् १९९० को प्रारम्भतिरको कुरा हो । चीनका प्रसिद्ध असन्तुष्टमध्ये एक बेइजिङस्थित अमेरिकी दूतावासमा आफ्नी पत्नी र छोरासँगै बसेर देश हिंसामा परेको दृश्य टिभीमा हेर्दै थिए ।

अघिल्लो वर्षको जुन महिनामा त्यानआनमेन चोक केन्द्रित विद्यार्थी नेतृत्वको विरोध प्रर्दशनलाई अधिकारीहरूले कुल्चिएका थिए । सयौंको हत्या भयो, धेरैलाई निर्वासनमा लखेटियो । फङ लिझी अमेरिकी दूतावासमा लुकेर बसेका थिए । उनलाई देश छोड्न दिने अनुमति पर्खिरहेका थिए ।

निराशाको गहिराइ छोएका फाङले ‘द चाइनिज एम्नेसिया’ लेखे । यो एक निबन्ध थियो, जसले चीनमा त्रासदीहरू किन आइरन्छन् भनि व्याख्या गरेको थियो । उनको दाबी थियो कि चिनियाँ इतिहासमाथि कम्युनिष्ट पार्टीले नियन्त्रण गरेको छ । धेरै जसो चिनियाँ जनता हिंसाको अन्त्यहीन दुश्चक्रबारे अनभिज्ञ छन्।

परिणामतः मान्छेलाई कि आफूले व्यत्तिगतरूपमा अनुभव गरेका कुरा थाहा थियो कि चिनियाँ कम्युनिष्ट पार्टीले दिएको शिक्षा थाहा थियो । फङ भन्छन्— प्रत्येक दशकमा एकपटक इतिहासको वास्तविक अनुहार चिनियाँ समाजको स्मृतिबाट सम्पूर्णतः मेटाइन्छ । इतिहास बिर्साउनु चिनियाँ कम्युनिष्ट नीतिको एक उद्देश्य नै हो ।

आज चीनको विश्लेषण गर्न चाहने धेरैमा फङको हेराइ प्रबल छ । उनीहरूको तर्कमा इतिहासमाथि पार्टीको नियन्त्रण पहिलेभन्दा पनि शक्तिशाली भएको छ । किनकि यस काममा आज अझ शक्तिशाली नेता र प्रविधि सम्पन्न राज्यको हात छ, जो विगतलाई बिर्साउन प्रतिबद्ध छ । “निगरानी राज्य” ले विगत वा वर्तमानमाथि वैकल्पिक विचार भएको जोकोहीलाई नजर राख्छ । ‘चिनियाँ स्मृतिलोप’ पूरा भएको देखिन्छ ।

तर, अहिलेका लागि यो दृष्टिकोण पनि पूर्ण हैन । फङले चीनलाई सन् १९९० को दशकको प्रारम्भमा जस्तो थियो, ठीकै वर्णन गरेका थिए । तर, केही वर्षपछि इतिहास मेटाउने यो तरिका तोडियो । त्यसको कारण नागरिक इतिहासकार आन्दोलनको उदय हो, जसले पार्टी नियन्त्रित इतिहासलाई सफलतापूर्वक चुनौती दिए ।

पीडीएफ र डिजिटल क्यामराजस्ता प्रविधिले त्यसलाई सम्भव बनाए । यी आधुनिक प्रविधिले यो सिद्ध गरे कि चीनजस्तो अधिनायकवादी राज्यले फैलाएको इतिहास विस्मृतिमा कसरी मौलिक परिवर्तन ल्याउन सकिन्छ । यसले प्रतिबन्ध वा मुद्रणबाहिर पुस्तक फोटोकपी गर्न सकिने बनायो । भारी तथा महँगो उपकरण र स्टुडियोबाट उत्पादन हुन् टिभीमा एकपटक झिलिक्क मात्र हेर्न पाइने फिल्म-दृश्यबाट मुक्त भयो ।

परिणामस्वरूप दुई दशकयता ल्यापटप कम्युटरमा बनाइएका किताब, पत्रपत्रिका र सिनेमाको बाढी नै आयो । इमेल, फाइल हन्तान्तरण र मेमेरी कार्डद्वारा ती टाढा-टाढा पुगे । यी साधन आज कमजोरहरूका लागि आधुनिक हतियार सावित भएका छन् । यिनले सरकारका आधिकारिक स्रोतबाहिर गएर मिथकीय तरिकाले इतिहास भन्दछन् ।

पार्टी नियन्त्रित इतिहासले यो भन्दै आएको थियो कि बीसौं शताब्दीको मध्यतिर चीनलाई बचाउन कम्युनिष्ट पार्टीले सत्ता हातमा लिएको थियो । यो काम राम्ररी गर्न सकेको हुँदा पार्टी अझै सत्तामा निरन्तर छ । यो सङ्कथनलाई स्थापित गर्न पार्टीले टिभी, चलचित्र, प्रकाशन र विद्यालय पाठ्यक्रममाथिको एकाधिकारबाट धेरै फाइदा लिएको थियो ।

नागरिक इतिहासकारहरूले अझै पनि फरक इतिहासका लागि राज्यको अवहेलना समाना गर्नुपरेकै छ । राष्ट्रपति सी चिन फिङ शासनकालमा यो झनै बलियो छ किनकि उनी इतिहास बिर्साउने नीतिका हस्ताक्षरकर्तामध्ये एक हुन् ।

चीनमा एक प्रकारको सेन्सरसीप छ । त्यसको अर्थ इतिहास बिर्साउनु मात्र हुँदैन, पार्टी प्रोपागण्डाले सम्झाउन चाहनेको इतिहास मात्र सम्झिनु पनि हुन्छ । मानिस सरकारी संस्करणसँग मिल्नेगरी इतिहास सम्झिन स्वतन्त्र छन् । तर, पहिलेभन्दा अहिले वैकल्पिक व्याख्याको पहुँच बढ्दो छ । इतिहास नियन्त्रण गर्ने पार्टी प्रयास निक्कै कठोर र कठिन हुँदै गएको छ । यो सङ्घर्षलाई राष्ट्रपति सी जीवन-मरणका रूपमा हेर्छन्, पार्टीले जसरी पनि जित्नै पर्छ भन्ने धारणा राख्छन् ।

कुल स्मृति

चिनियाँ कम्युनिष्ट पार्टीको यस्तो प्रयत्न माओ च तोङकै पाला देखिको हो । निकट विगतलाई मिथकीय ढङ्गले बिर्साउने गरिन्थ्यो । चिनियाँ जनगणतन्त्रको इतिहासमा सबैभन्दा नराम्रो आपत् सन् १९५९-६१ को ठूलो अनिकाल थियो । यो अनिकालमा करिब ४ करोड ५० लाख मानिस मरेका थिए । सांस्कृतिक क्रान्तिकालमा जीवन गुमाउनेको सङ्ख्याभन्दा २० गुणा बढी ।

आधिकारिक दस्तावेजमा त्यसलाई ‘तीन कठिन वर्षहरू’ भनिन्छ । केही लाख मानिस मात्र मरेको, त्यो पनि प्राकृतिक विपत्ति र सोभियत सल्लाहकारहरूको पछि हट्ने सल्लाहका कारणले । अर्को शब्दमा भन्दा यसको अर्थ पार्टी निर्दोष छ भन्ने हुन्छ। आज पनि त्यहाँ धेरै मान्छेका लागि यही नै सत्य हो ।

देशभित्रका हुन् वा बाहिरका कुनै पनि महत्त्वपूर्ण इतिहासकारले यो कुरा सिधै खारेज गर्दछन् । उनीहरूको भनाइ हुन्छ कि त्यो महाअनिकालका लागि माओको भ्रामक आर्थिक नीति जिम्मेवार थियो । माओवादीको आर्थिक नीतिले किसानलाई काल्पनिक कृषि र औधोगिक रणनीतिका लागि बाध्य पारेको थियो, जसले गर्दा केही वर्षको बाली बर्बाद भयो ।

चिनियाँ कम्युनिष्ट पार्टीको शासनका ७५ वर्षका यस्ता धेरै घटनालाई इतिहासकारले अविश्वासनीय बनाएका छन् । सन् १९४० र ५० का दशकाका ग्रामीण वर्गसङ्घर्ष, महाअनिकाल, सांस्कृतिक क्रान्ति, तेनमियान चोक नरसंहार र हालैको कोभिड–१९ लकडाउन त्यस्तै घटना हुन् ।

चिनियाँ प्रतिइतिहास आन्दोलनको एक कोशेढुंगो सन् १९६० को विद्यार्थी पत्रिका ‘झिल्को’ थियो । सन् १९५० को दशकमा शिक्षित वर्गविरुद्धको अभियानबाट पश्चिम चीनतिर धपाएका विद्यार्थीले यसको स्थापना गरेका थिए । तिनले महाअनिकालको प्रभाव प्रत्यक्ष देखेका थिए । नरभक्षण र सामूहिक भोकमारी यति भयावह थियो कि अधिकारीहरू माओलाई रिपोर्ट गर्न समेत डराउँथे।

त्यस्तो बेला उनीहरूले एकदलीय शासनको विरोध, अभिव्यक्ति स्वतन्त्रताका अभाव र चिनियाँ किसानहरूको निरीहताविरुद्ध आवाज उठाउने उद्देश्यले यो पत्रिका स्थापना गरेका थिए । तर, पत्रिका छापिन थालेको लगत्तै त्यसलाई बन्द गरियो । पत्रिकाका सबैप्रति जफत भए । ४३ जना पक्राउ परे । ३ जनालाई मृत्युदण्ड दिइयो, बाँकी सबैलाई श्रम शिविरमा पठाइयो ।

सन् १९७६ मा माओको निधनपछि पार्टी सापेक्षिकरूपमा नरमपन्थीहरूको हातमा आयो । पार्टीले त्यो युगका अतिवादको आंशिक परिमार्जन गर्‍यो । मासिनले आफूसँग भएको अभिलेख हेर्ने, संग्रह गर्ने अनुमति पाए । सन् १९८० मा त्यस बेलाकी एक विद्यार्थी चान च्याङक्सुले आफूलाई दोषी प्रमाणित गर्न अधिकारीहरूले राखेको पत्रिकाको एक प्रति फेला पारिन् । त्यसमा मृत्युदण्ड दिइएका विद्यार्थीका प्रेमपत्रसमेत थिए । चानले एक फायल बनाएर त्यसलाई आफ्नो अपार्टमेन्टमा राखिन् ।

सन् १९९० को दशकमा झिल्कोलाई डिजिटल प्लेटफर्ममा पुनर्संरचना गरियो । ती विद्यार्थीले एकदलीय प्रणालीको प्रारम्भिक आलोचना कसरी गरेका थिए भनेर धेरैले पढे । यससँग जोडिएका प्रहरि प्रतिवेदन र प्रमाणको फोटो र फिल्म छ्यापछ्याप्ती भयो । कुनै बेला ती सम्झना व्यक्तिगत जस्ता थिए, अब सामूहिक सम्झना बने । सबै चिनियाँले तीनलाई आफ्ना सम्झना बनाउन पाएनन् । तर, केही शिक्षित र प्रभावशाली मानिसले भने त्यसो गरे ।

चीनका विगत दुई दशक यता इतिहासको पुनर्खोज भइरहेको छ। नयाँ ऐतिहासिक ज्ञानको सृजना हुँदैछ । पार्टी विगतसँग टक्कर लिने सयौं किताब अनलाइनमा उपलब्ध छन् । भिडियोग्राफरहरूले महत्वाकांक्षी डकुमेन्ट्री बनाएका छन् । हराउँनै लागेको मौखिक इतिहास आवाजमा फर्किएर आएका छन् ।

बोल्न सिक्दैछन् चिनियाँ जनता

चिनियाँ स्मृतिको ऐतिहासिकतालाई बुझ्न आधा शताब्दी यताका चिनियाँ लेखकमध्ये एक उपन्यासकार वाङ सियाबाओलाई पर्गेल्नपर्ने हुन्छ । वाङ आफ्नी श्रीमति लिन इन हेबाट असाध्यै प्रभावित छन्, जो कामुकता विशेषज्ञको रूपमा चिनिन्छन् । उनले हालैका वर्षका चीनको समलैङ्गिक तथा तेस्रोलिङ्गी नागरिकका आन्दोलनबारे अनुसन्धान गरेकी छन् ।

वाङ र लिनको भेट सन् १९७९ मा भएको थियो । अर्को वर्ष बिहे गरे, दम्पति बने । सन् १९८४ मा पिटर्सबर्ग विश्वविद्यालयबाट लिले विद्यावारिधी गरिन्, वाङले स्नातकोत्तर गरे । सन् १९८८ मा उनीहरू चीन फर्के । लि समाज विज्ञानसम्बन्धी एक संस्थामा काम गर्न थालिन् । वाङ पेकिङ र रेन्मिन विश्वविद्यालयमा इतिहास र समाजशास्त्र पढाउन थाले ।

सन् १९८९ को विद्यार्थी आन्दोलनमा वाङ मौन बसे । उनमा सांस्कृतिक क्रान्तिकालको गहिरो चोट थियो । उनी आन्दोलनबारे अनिश्चित थिए । आन्दोलनको नेतृत्व कसले गर्दैछ ? उद्देश्य के हो ? प्रष्टै थिएन । उनको पुस्ताका अरु धेरै जस्तै उनी अनावश्यक उपद्रोवमा फस्न डराउँथे । मौन बस्नु उनका लागि एक विषयवस्तु बन्यो । पछि उनले यही शीर्षकको एक महत्त्वपूर्ण निबन्ध लेख– द साइलेन्ट मेजोरिटी अर्थात् मौन बहुमत ।

उनले यो निबन्धमा लेखेका छन् कि माओको युगमा ‘महान् नेताको सर्वव्यापकता’ ले जनतालाई मौन बनायो । माओका सोच, विचार र शब्दहरूको यसरी दिनरात वर्षा भयो कि मानिससँग बोल्नपर्ने अरु कुरै भएन । वाङले त्यो बेलाको दागको एक विम्ब बनाएका छन्— बोल्ने समाजका सदस्यलाई म विश्वास गर्न सक्दिनँ ।

बोल्नका लागि वाङको व्यक्तिगत प्रयास आज समग्र चीनको एक रूपक हो । उनले समलैङ्गिकताको अध्ययन गर्न थाले । उत्पीडित र बञ्चित समुदाय अक्सर मौन बस्न बस्छन् । उनीहरूको आवाजलाई दमन गरिएको हुन्छ । आवाज मात्र हैन, समाजले कहिलेकाहीँ उनीहरूको अस्तित्वलाई पनि अस्वीकार गर्दछ । अन्ततः वाङलाई एक दिव्यज्ञान भयो— फरक यौन रुझान भएका मान्छे मात्र हैन, चिनियाँ समाजमा धेरै आवाजहीनहरू छन् । किसान, विद्यार्थी, आप्रवासी, खानी मजदुर, पुराना जिल्ला र इलाकाका बसोबासीहरू आदि ।

वाङ लेख्नछन्— यी मानिस मौन बस्नुका धेरै कारण छन् । कोही क्षमता नभएको, कोही अवसर नभएको कारणले बोल्दैनन् । अरु कोही छ जो केही लुकाउनपर्ने कारणले बोल्दैनन् । र, कोही यसकारणले बोल्दैनन कि उनीहरू बोल्नुलाई घृणा गर्दछन् । यिनैमध्येको एक भएको नाताले मैले भने देखेका र सुनेका कुरा बोल्नु आफ्नो कर्तव्य ठान्ने गरेको छु ।

वास्तवमा सन् १९८९ का प्रदर्शनकारीलाई समर्थन गर्न नसकेकोमा वाङले आफ्नै असक्षमतामाथि प्रश्न उठाएका हुन् । वाङ आज लेख्छन् । एक पार्टी राज्य प्रणाली भएको देशमा लेख्नुको जोखिम बुझेर पनि लेख्नछन् ।

जरैदेखिका कुरा

वाङ एक प्रख्यात सार्वजनिक बौद्धिक बने । चिनियाँ सञ्चारमाध्यममा व्यापक लेखे । यद्यपि, उनको मृत्यु त्यसको ५ वर्षपछि सन् १९९७ मा ४४ वर्षकै उमेरमा हृदयघातले भयो । तर, उनले मानिसको एउटा पुस्तालाई प्रभापित गरे ।
अर्की एक महिलावादी विद्वान् छन् आई सिआओमिङ । उनी भूमिगत फिल्म निर्माता हुन् । उनका सिनेमाले चिनियाँ समाजका बलात्कार, पीडित, किसान र श्रमशिविरका कैदीजस्ता बहिष्कृत समुदायलाई पछ्याउँछन् ।

अरु धेरै जस्तै लेखक यान लियान्के र लिआयो यिउले समाजका सबैभन्दा नाजुक सदस्यहरू जस्तो कि जेलका कैदीहरू र माओकालका पीडितहरूको वर्णन गरे । जिया झाङके चीनमा एक महान् फिल्म निर्माता मानिन्छन् । उनले यो भन्थे कि वाङ उनका लागि त्यस्ता प्रेरणा थिए राज्यपोषित सामूहिक सङ्कथनको साटो व्यक्तिकेन्द्रित कथाहरू सुनाउने प्रेरित गर्थे ।

वाङ आफैँ अरु धेरै विचारकबाट प्रभावित थिए । माओकालमा हुर्किएका एक युवा उनी लुकेर बर्टोल्ट रसेल पढ्थे । रसेलको वैयक्तिक स्वतन्त्रताको सोचलाई आत्मसात गरेका थिए । पिटर्सवर्गमा उनले मिसेल फुको र उनको राज्य-व्यक्तिबीचको शक्तिसम्बन्धको वर्णन पढेका थिए । वाङको सोचलाई प्रभावित गर्न मात्र हैन, फुको स्वयम् वाङले चिनियाँ समाजमा भोगेको शक्तिसम्बन्धलाई व्याख्या गर्न उपयोगी थिए ।

पश्चिमा जे कुरा बीसौं शताब्दीमा भयो, चीनमा त्यो डिजिटल क्रान्तिपछि मात्र सम्भव भयो । वाङको मृत्युपछिको दशकमा चीनमा नागरिक इतिहासकार फष्टाए । पिडिएफ फायल र सस्ता क्यामेरालाई मात्र हैन, यसको जस इन्टरनेटलाई पनि दिनुपर्छ । इन्टरनेटले ब्लग, बुलेटिन र सामाजिक मिडियालाई फष्टाउन दियो । यिनले अनौपचारिक आवाजलाई मञ्च उपलब्ध गराए ।

सि चिन फिङको उदय त्यो खुल्लापनको युगविरुद्धको प्रतिक्रिया थियो । उनले विचलित पार्टी सदस्य, गैरसरकारी संस्था र सार्वजनिक नीतिको बहसलाई तोडे । तर, उनको अतिसय चासो भने इतिहासमाथिको नियन्त्रणमै थियो ।

सन् २०१३ मा सीले माओकालको आलोचना गर्न प्रतिबन्ध लगाए । सन् २०१६ मा उनले प्रतिइतिहास पत्रिका चाइना थ्रु द एजेजलाई सफा गरे । यद्यपि, स्वयम् उनका पिता सी झोङसुन एक यस्ता उच्च अधिकारी थिए, जसले त्यसको समर्थन गर्थे । सन् २०२१ मा चिनियाँ सरकारले सांस्कृतिक क्रान्तिजस्ता घटनाका यथार्थलाई थप लुकाउने चेष्टा गर्दै इतिहासलाई कसरी चित्रण गर्ने भन्ने बुँदागत निर्देशन नै जारी गर्‍यो ।

तर, विगतको कथामाथि नियन्त्रण गर्ने प्रयासका बीचमा पनि अझै नागरिक इतिहासकारहरूको काम द्रुतरूपमा जारी छ । तीमध्ये केही उत्पीडनमा परेका छन् । तर, काम जारी राखेका छन्। सबैभन्दा प्रभावशाली त भूमिगत इतिहास पत्रिका रिमेम्बरेन्स छ, जुन सन् २००८ देखि पिडिएफमा प्रकाशित हुन्छ । यसको २४५औं अंक भर्खरै प्रकाशित भएको छ ।

यसलाई संयोग मात्र भन्न मिल्दैन होला कि ‘जमिनी बुद्धिजीवी’ बीच महिला आवाज फेला पार्न सजिलो छ । जस्तो कि फिल्मनिर्माता आई, कवि तथा लेखक जियाङ सू । त्यसैगरी अल्पसंख्यक आवाज जस्ता कि जेलमा रहेका उइगुरी बौद्धिक इल्हाम तोहदी, तिब्बती कवि छिरिङ बेसिर आदि । महिला र अल्पसंख्यक आवाज मूलधार वृत्तमा बहिष्कृत थिए । चिनियाँ मूलधार पुरुषप्रधान परम्परागत कन्फुसियसवादी ठूला आख्यान लेखकहरूबाट बन्दछ ।

नागरिक लेखक तथा इतिहासकार भने परम्परागत कन्फुसियसवादी धारका हिस्सा हैनन, जो देश र जनताको अभिभावकत्वको चिन्ता गर्दछन् । यी व्यक्तिगत कारणले यस्ता कार्य गर्न उत्प्रेरित थिए । जस्तो कि वाङले आफ्नो निबन्धमा लेखेका थिए— म जसलाई सबैभन्दा धेरै उचाल्न चाहन्छु, त्यो म आफैँ हो । यो निन्दनीय छ, यो स्वार्थी पनि छ तर सत्य पनि यही हो ।

पत्रकार याङ जेसाङ यसकारण नागरिक इतिहासकार बनिन कि उनले आफ्ना हजुरबा धर्मपितालाई महा अनिकालको समयमा भोकले मरेको आफैँले देखेकी थिएन । उनले त्यो भयानक उथलपुथललाई दस्तावेजीकरण गर्ने निर्णय गरे । भिडियो ब्लगर टाइगर टेम्पलले सन् १९६० को दशकमा रेलवेमा वाल मजदूरका रूपमा काम गरेका थिए । पछि त्यो इतिहासलाई आफैँले दस्तावेजीकरण गरे ।

आई सिआयोमिङले महिलामाथिको उत्पीडन देखेकी थिइन् । जियाङले यो थाहा पाइनकी उनका हजुरबाको मृत्यु अनिकालको भोकमरीबाट भएको थियो र अनिकालबारे अनुसन्धान गर्न थाले । कोभिड- १९ महामारी व्यवस्थापनमा सरकारको गलत नीतिका कारण पीडितका अनुभव र कथा पनि अहिले अभिलेखित हुँदैछन् । जब मान्छेले आफ्नो जीवनलाई बुझ्छन्, आफ्नो बुझाइअनुसार वर्णन पनि गर्दछन् ।

यी भूमिगत नागरिक इतिहासकारहरूको कामलाई दुई तरिकाले मापन गर्न सकिन्छ ।

एक— उनीहरूलाई मटियामेट पार्ने सरकारी प्रतिबद्धताबाट । मान्छेहरू अक्सर यो परिकल्पना गर्दछन् कि अधिनायकादी नेताहरूसँग अनन्त राजनीतिक पुँजी हुन्छ । खासमा तिनले एक लडाइँको छनौट गरिरहेका हुन्छन् । इतिहासमाथिको नियन्त्रण राष्ट्रपति सीका लागि किन प्राथमिकताका छ भने उनलाई लाग्छ कि यो काम महत्त्वपूर्ण छ ।

आफ्ना भाषणहरूमा उनी बारम्बार सन् १९८० पछिको सोभियत संघको चर्चा र आलोचना गर्दछन् । त्योबेला त्यसका नेता मिखायल गोर्भाचेबले खुल्लापन अर्थात् ‘ग्लास्तनोस्त’ नीति अन्तर्गत मान्छेलाई बोल्न र पार्टी इतिहासको आलोचना गर्न अनुमति दिएका थिए । सीलाई लाग्दछ कि गोर्भाचेबले पार्टी इतिहासको आलोचना गर्ने अनुमति दिएर देशको वैचारिक आधारशीलालाई खोक्रो पारे ।

सीको विश्लेषणमा सोभियत संघको पतन वा विघटन हुनुको मुख्य कारण नै यही हो । र चिनियाँ कम्युनिष्ट पार्टीले अनौपचारिक इतिहासकारहरूलाई मटियामेट पार्न चाहनुको कारण पनि यही हो ।

दोस्रो— भर्खरैका केही श्वेतपत्र प्रतिरोधले यो देखाउँछन् कि ‘अन्डरकरेन्ट’ राजनीतिक नतिजा देखिन सक्दछन्, जो पार्टीका लागि सन् १९८९ को त्यानआनमेन चोक विद्रोहपछिको सबैभन्दा ठूलो चुनौती हो। अहिले जियाङजस्ता लेखक चिनियाँ सामाजिक सञ्चारमा असाध्यै लोकप्रिय छन् ।

आफ्नो लेखन करिअरको सुरुवातमा जियाङले ‘झिल्को’ पत्रिका तथा शीतयुद्धकालमा मध्य र पूर्वी युरोपको आम असन्तुष्टिलाई परख गर्दै लामा निबन्ध लेखेकी थिइन् । सन् २०२२ र २३ का वर्षभरि सेन्सरसीपले त्यसमाथि प्रतिबन्ध लगायो तर हजारौंपटक सामाजिक सञ्जालमा पोष्ट र रिपोष्ट भए ।

हुन त चीनले यतिखेर धेरैवटा मोर्चामा समस्या भोगिरहेको छ । जस्तो कि आर्थिक बृद्धिमा सुस्तता, जनसांख्यिक समस्या, तनावपूर्ण विदेशनीति वातावरण आदि । श्वेतपत्र प्रतिरोधजस्ता घटना यो नाजुक समयको प्रवाहभन्दा बाहिरका हुन् सक्दछन् । तर, त्यसबाट यो पनि देखिन आउँछ कि चिनियाँ जनता आफ्नो देशको विगतमाथिका आधिकारिक कथनप्रति प्रश्न गर्न, देशको वर्तमान र भविष्यलाई आकारित गर्ने शक्तिहरूबारे नयाँ बुझाइ विकास गर्न तयार हुन् सक्दछन् ।

(द फोरेन अफियर्सबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved