आलेख

के ‘ग्लोबल साउथ’ नामको कुनै चिज यो दुनियाँमा छ ?

पश्चिमा उदारवादीका लागि ‘ग्लोबल साउथ’ को ढाँचा गैरपश्चिमा विश्वप्रति समानुभूतिको संकेत गर्ने सजिलो माध्यम हो । यस्तो समानुभूति सधै थोरै नम्रताले छोपिएको हुन्छ । यसले कुनै अमूक देशलाई कुनै एक गुटको संयन्त्रका रूपमा व्यवहार गर्न अस्वीकार गर्दछ ।

के ‘ग्लोबल साउथ’ नामको कुनै चिज यो दुनियाँमा छ ?

हामीले ‘ग्लोबल साउथ’ को बारेमा कुरा गर्न आवश्यक छ । १२० वटाभन्दा बढी देशलाई यो श्रेणीमा राखिएको छ भनेर हैन, ‘ग्लोबल साउथ’ को विचार आफैँमा कति ठीक हो, हालैका वर्षको अन्तर्राष्ट्रिय विमर्शमा यसले कसरी जोर पक्रेको छ भन्ने बारेमा ।

तसर्थ एक आधारभूत प्रश्न सुरूमै सोधौँ— यो ‘ग्लोबल साउथ’ भन्ने कुनै चिज यो दुनियाँमा छ ?

विश्वको आधाभन्दा बढी मानवतालाई एउटै बाँस्केटमा हाल्ने यो अवधारणामा गहिरा विश्लेषणात्मक त्रुटि मात्र छैनन्, यो शब्द प्रयोग गर्ने पन्डित, राजनीतिज्ञ र नीतिनिर्माताको नियत राम्रै देखिए पनि गैरपश्चिमा विश्वसँगको गम्भीर संलग्नताका लागि यो बाधा हो । यसले पश्चिम र बाँकी विश्वमा पनि ‘गैरपश्चिम श्रेणी’ बारे भ्रमको दाउमा राख्ने कामलाई समर्थन गर्दछ ।

विशाल, विविध र व्यापक गैरपश्चिम विश्वलाई एउटै श्रेणीमा राख्न सकिँदैन । कोभिड १९, जलवायु परिवर्तन र युक्रेनमाथि रुसी आक्रमणजस्ता सवालमा कथित समान चासोको नाममा यसले सुविधाजनक सारसंक्षेप मात्र उपलब्ध गराउँछ । जस्तो कि धेरै गैरपश्चिम मुलुक संयुक्त राष्ट्रसंघको महासभामा इजरायलको विरुद्ध भोटको लाइनमा उभिए । यसले ‘ग्लोबल साउथ’ ‘ग्लोबल नर्थ’ भन्दा अनौठो गरी फरक छ भन्ने विचारले अझ बढी जोर पक्रियो ।

यथार्थमा ‘ग्लोबल साउथ’ लाई एक श्रेणी र सान्दर्भिक ढाँचाका रूपमा प्रयोग गर्दा विभिन्न क्षेत्र र देशका वास्तविक जटिलता बुझ्न गाह्रो हुन्छ । ‘ग्लोबल साउथ’ शब्दको बढ्दो प्रयोगका बाबजुद अलिकति मात्र गहिरिएर हेर्‍यो भने यसका विश्लेषणात्मक त्रुटि प्रष्टै देख्न सकिन्छ ।

जस्तो कि– चीन र पेरुबीच के समानता छ ? कतार र हैटीबीच ? सियरा लियोन र थाइलैंण्डबीच ? यस्ता धेरै देशलाई एउटै वर्गमा ल्याएर खाँद्नु र ‘ग्लोबल नर्थ’ भन्दा अन्तर्निहितरूपमै फरक भनेर परिभाषित गर्नु विश्व जटिलतालाई बुझ्न बाधा गर्नु हो ।

‘ग्लोबल साउथ’ बौद्धिकरूपमा एक दयालु, भावनात्मकरूपमा धनी शब्द हो, जसले एक साथ धेरै आशाहरू समेट्दछ । तर, राजनीतिक तथा आर्थिकरूपमा अझ बढी समतामूलक विश्व निर्माणमा भय उत्पन्न गर्दछ । यो उत्तरऔपनिवेशिक प्रतिस्पर्धाबाट उत्पन भएको हो, जसले पश्चिम र बाँकी विश्व, विकसित र विकासशील, धनी र गरिब, शक्तिशाली र शक्तिहीनको बहुमुखी भेद सृजना गर्दछ ।

पूर्व जर्मन चान्सलर विल्ली ब्रान्डको नेतृत्वमा रहेको आयोगले सन् १९८० को एक प्रतिवेदनमा विश्वको नक्सामाथि कालो बाक्लो रेखा कोरेर विभाजनलाई संहिताबद्ध गरेको थियो । यो तथाकथित विल्ली ब्रान्ड लाइन पश्चिम र बाँकी विश्वको सम्बन्धलाई बुझ्ने एक तरिका बनेर बाँचेको छ । यो अवधारणा सन् १९९० र सन् २००० को प्रारम्भतिरको सुखद भूमण्डलीकरणको दिनका बौद्धिक शीतनिन्द्राबाट ब्युँझेर हालैका वर्षमा अन्तर्राष्ट्रिय विमर्शमा फर्किएको छ।

यसर्थ यो अवधारणा नयाँ बोत्तलमा पुरानै रक्सी हो । यो अवधारणा युरोप र बाँकी विश्वको जम्काभेट गराउने विचार र वादको ५ शताब्दी लामो लाइनमा उभिएको छ । बीसौं शताब्दीमा यो मुठभेदले धेरै अन्तर्राष्ट्रिय आन्दोलन, समूह र विचारधारा उत्पादन गर्‍यो । समग्र एसियावाद, अरबवाद, अफ्रिकावाद, इस्लामवाद, असंलग्न आन्दोलन, तेस्रो विश्ववाद, जी-७७ आदि जन्मायो ।

यीमध्ये केही स्वदेशी/रैथाने विचार थिए । अरुजस्तो कि तेस्रो विश्ववाद पश्चिमा शैक्षिक अभिजात वर्गको उत्पादन थियो । वास्तविक संसारको गम्भीर मुठभेदबाट यी कुनै पनि बाँच्न सकेनन् । यी पराव्यप्त, पश्चिम विरोधी र उत्तरऔपनिवेशिक विचारधारा राष्ट्रवादसँग छुट्याउनै नसकिनेगरी मिसिएर दौडिएका थिए, जसले पश्चिमसँग उभिन उनीहरूका समर्थकले खडा गरेका अन्तर्राष्ट्रिय पहिचानलाई अस्वीकार गर्थे ।

क्षेत्रीयस्तरमा पनि धर्म र जातिको साझेदारी पहिचानले विभिन्न राष्ट्रबीचको बहुमुखी द्वन्द्वलाई समेटिन दिएन । सन् १९५६ को स्वीज संकटको समयमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री हुसेन सुराहबर्दीले अरब एकतालाई ‘शून्य जोड शून्य बराबर शून्य’ भन्दै खारेज गर्दिएका थिए । अरब एकता निर्माणको समस्या आज पनि विद्यमान छ ।

नि:सन्देह आर्थिक चासो, विकास मार्ग, स्रोत प्राप्ति र राजनीतिक परम्पराले ‘ग्लोबल साउथ’ को विचारलाई एक साथी समूहका रूपमा मान्दछ । वास्तवमा आजका धेरैजसो द्वन्द्व विकासशील राष्ट्रबीच र भित्रै छन। कथित उत्तर-दक्षिण द्वन्द्वको बौद्धिक बर्कोमुनि तिनलाई छोप्ने प्रयास बारम्बार भए । तर, त्यसका बाबजुद ती अन्तर-राज्य र राज्य-आन्तरिक द्वन्द्वको प्रभुत्व गैरपश्चिमा विश्व राजनीतिमा जारी छन् ।

आफ्ना आर्थिक र सुरक्षा लक्ष्य पछ्याउन गैरपश्चिमा शक्ति-सम्भ्रान्तहरूलाई पश्चिमसँग हात मिलाउन विरलै समस्या भएको देखिन्छ । भारतबाट चिन्तित पाकिस्तान अमेरिका नेतृत्वको शीतयुद्ध-गठबन्धनमा सामेल थियो । आज चीनको प्रभुत्वबाट चिन्तित भारतले अमेरिकासँग मिलेर काम गरिरहेको छ । भियतनाम जो विचारधाराले साम्यवादी हो, जो चीनसँग मिल्छ । तर, चीनको क्षेत्रीय प्रभुत्वबाट स्वायत्तता पाउन अमेरिकासँग रणनीतिक साझेदारी खोज्न आतुर छ ।

आर्थिक मोर्चामा तथाकथित ‘ग्लोबल साउथ’ लाई पश्चिम विरोधी गठबन्धन निर्माण गर्न कहिल्यै सजिलो भएन । ५ दशक अघि अरब तेल प्रतिबन्ध र ओपेकको गठन त्यो युगको ‘ग्लोबल साउथ’ द्धारा आफ्नो वस्तुको राम्रो मूल्य प्राप्तिका लागि पश्चिमविरुद्ध एक झड्का थियो । तर, गैरपश्चिमा विश्वका उत्पादक र उपभोक्ताबीच विरोधाभासी हितलाई मिलाउने चुनौती त्यसपछिका दिनमा पनि थियो र अहिले पनि छ । हाइड्रोकार्बनको आशीर्वाद नपाएका विकासशील देशका जनताको जीवनलाई मूल्य बृद्धिभन्दा कठिन अरु केहीले बनाउँदैन ।

आज कंगोसँगको भारत र चीनको आर्थिक सम्बन्ध युरोप र जापानसँगको भन्दा आधारभूतरूपमा फरक छैन । जलवायु परिवर्तन नीतिका दृष्टिकोणले पनि विश्व विभाजित छ । केही राज्य जिवाशेष ऊर्जा चरणगत कटौतीको विषयमा अमेरिका र युरोपको पक्षमा छन् । विकासशील राष्ट्रलाई जनताको गरिबी निवारण गर्न अतिरिक्त इन्धन चाहिन्छ ।

तीमध्ये धेरैजस्तो कि भारत कोइला र अन्य जिवाशेष ऊर्जा अझै प्रयोग गर्न चाहन्छ । मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकाका तेल उत्पादक देश आफ्नो धनको मुख्य स्रोत परित्याग गर्न तयार छैनन् ।

कथित ‘ग्लोबल साउथ’ भित्रका देशको विकासको बाटोको विविधताले धनी देशहरूसँग फरक-फरक सम्बन्ध विकास गरेको छ । पूर्वी एसियाले पश्चिमा पुँजीसँग साझा मैदानको खोजी गरेर आफ्ना जनताको जीवनस्तर द्रुत गतिमा उकास्यो र समृद्ध भयो । दक्षिण कोरिया अब धनी देशको सूचीमा सामेल भइसकेको छ । चीनलाई पश्चिमको आर्थिक तथा प्राविधिक जोडाको रूपमा हेरिन्छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको चिनियाँ उदयको आफ्नै वर्ग छ । चीन र पश्चिमको बीचमा जस्तोसुकै स्वाभाविक द्वन्द्व होस्, चीनको उदयमा पश्चिमको सक्रिय सामर्थ्य-दान छ । त्यो भिन्नै कुरा हो कि पश्चिमसँग चीनको झगडापछि भारतले चीन उदयको किताबबाट एकपन्ना निकालेको छ । तीव्र आर्थिक बृद्धिको आशाले पश्चिमा पुँजी र प्रविधिलाई सदुपयोग गर्ने उत्सुकताले त्यसलाई सहयोग गरिरहेको छ ।

यसले हामीलाई अर्को प्रकारको विश्लेषणात्मक त्रुटिमा पुर्‍याउँछ, त्यो हो— ‘ग्लोबल साउथ’ को तरल सीमारेखा र अस्पष्ट मापदण्ड । चीन बीसौं शताब्दीमा सोभियत संघको कनिष्ठ साझेदार थियो, अहिले रुसको वरिष्ठ साझेदार भएको छ । र, बेइजिङले अझै पनि आफूलाई विकासशील देश दाबी गर्नु सबैभन्दा शंकास्पद कुरा हो ।

युक्रेन युद्धमा रुसी आक्रमणलाई चीनले समर्थन गर्नु, नेटो एसियाबाट बाहिर धकेलिनु, युरोपेली र एसियाली सुरक्षा क्षेत्रको एकीकरण हुनू, ‘ग्लोबल नर्थ’ को विचारलाई निष्क्रिय बनाउनु हो । सुरक्षा क्षेत्रमा लघुपक्षीय साझेदारीको नयाँ समूहले अनुमानित उत्तर-दक्षिण विभाजनको सीमारेखा पार गरेको छ । सुरक्षा हित र चासोको भारले गर्दा पण्डितहरूले तोकेको मापदण्डमा कोही पनि बसेको छैन ।

‘ग्लोबल साउथ’ को अवधारणाले पहिलोपटक आधार प्राप्त गरेपछि विकासशील विश्वभित्रको भिन्नता झनै तिखारिएको छ । खाडी राष्ट्रले प्रसस्त सम्पत्ति आर्जन गरेका छन् । दुबई अब न्यूओर्क, लन्डन, सांघाई, हङकङ र सिंगापुरसँगै प्रमुख विश्व वित्तीय केन्द्रको स्थानमा आएको छ ।

खाडीको पुँजीले मध्यपूर्व र अफ्रिकाको आर्थिक बृद्धिलाई अघि बढाएको छ । यसले खाडी अधिराज्यलाई यमनजस्ता आन्तरिक तथा क्षेत्रीय द्वन्द्वमा सक्रिय हस्तक्षेप गर्न सक्ने आत्मविश्वास दिएका छन् । अब भन्नुस् त ‘ग्लोबल साउथ’ मा हस्तक्षेप पश्चिमा प्रचलन मात्र हो भनेर कस्ले दाबी गर्न सक्दछ ? स्वयम् गैरपश्चिमा देशहरू अकिलति शक्तिशाली हुनेबित्तिकै किन उही प्रवृतितिर उद्यत छन् ?

‘ग्लोबल साउथ’ को भ्रमात्मक विश्लेषणले पश्चिममा भय विस्तार गर्दछ । बर्बरहरू ढोकासम्मै आइपुगे, गैरपश्चिमाबाट पश्चिमलाई जोगाउनपर्छ भन्ने विवेकहीन भएको दोहन भइरहेको छ । सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफ्रिका र हैटीको अध्यागमनबारे छलफल गर्दा आक्रोशपूर्ण ढंगले ‘घटिया देशहरू’ भनेका थिए । समृद्धि र सु-व्यवस्थाको युरोपेली बगैँचामा गैरपश्चिमा जंगलीहरूको आक्रमण हुनसक्ने युरोपेली आयुक्त जोसेफ ब्यारेलको चिन्ता सम्झनयोग्य छ ।

जंगली ‘ग्लोबल साउथ’ बाट पीडितताको भय राख्ने रुढीवाद र पश्चिमी अपराधको भाष्य सृजना गर्ने प्रगतिवाद एउटै सिक्काका दुई पाटा हुन् । मानवताको विशाल र विविध प्रकारलाई एउटै मानसिक प्रवर्गभित्र सामेल गर्ने सङ्कीर्ण सोच हुन् ।

पश्चिमा उदारवादीका लागि ‘ग्लोबल साउथ’ को ढाँचा गैरपश्चिमा विश्वप्रति समानुभूतिको संकेत गर्ने सजिलो माध्यम हो । यस्तो समानुभूति सधै थोरै नम्रताले छोपिएको हुन्छ । यसले कुनै अमूक देशलाई कुनै एक गुटको संयन्त्रका रूपमा व्यवहार गर्न अस्वीकार गर्दछ ।

तिनले पश्चिमा उदारवादी गुटको गुलदस्तालाई सहयोग गर्ने अनुमान गर्दछन । तिनले जलवायु परिवर्तनदेखि सामाजिक न्यायसम्मका सवालमा उनीहरूको सोचलाई समर्थन गर्छन कि गर्दैनन् भनेर हेर्दछ । साम्राज्यहरूको लोपपछि पनि दक्षिणपन्थी हुन वा वामपन्थी दुवैखाले पश्चिमाको प्रवृत्ति अझै अर्ति उपदेश दिने, अरुलाई ‘जज’ गर्ने र सजाय दिने नै छ ।

‘ग्लोबल साउथ’ को अवधारणलाई समर्थन गर्नुपर्ने गैरपश्चिमा शक्ति-सम्भ्रान्तका आफ्नै कारण छन् । पश्चिमलाई दोष दिएर आफ्ना असफलतालाई ढोकछोप गर्ने उनीहरूले राम्रो बहाना पाएका छन् । पश्चिमलाई नराम्रो देखाउने राजनीति उनीहरूलाई सधैँ फापेको छ ।

दुवै संकथनका जरा उत्तरऔपविनेशिक पीडितताको कथासँग जोडिएका छन् । दुवैले गैरपश्चिमा विश्वका धेरै भागमा पछिल्ला केही दशकमा भएका असाधारण प्रगतिलाई बेवास्ता गर्दछन् । पश्चिमा विश्वसँगको संलग्नता शर्तलाई अनुकूल परिवर्तन गर्न तिनले गैरपश्चिमा विश्वको बढ्दो क्षमतास्तरलाई खारेज गर्दछन् ।

पछिल्लो ३ दशकमा चीनको उन्नति र उदय यसको नाटकीय उदाहरण हो । ‘ग्लोबल साउथ’ लाई प्रवर्द्धन गर्ने बयानबाजीका बाबजुद भारत पश्चिमसँग प्रेमपूर्ण शर्तबन्दीको वार्ता गरिरहेको छ ।

‘ग्लोबल साउथ’ अवधारणका संस्थापकको बयानबाजीमा चीन, भारत, खाडी राष्ट्र, एसियाली बाघ र अन्य गैरपश्चिमा शक्तिको उदयलाई क्षेत्रीय तथा विश्व व्यवस्थालाई प्रभावित गर्ने उनीहरूको ठूलो प्रयास भनेर विश्लेषण गरिएको हुन्छ । यदि त्यसो हो भने बेइजिङ र नयाँ दिल्ली किन ‘ग्लोबल साउथ’ को अवधारणाप्रति उम्दा छन् ? जगजहेर छ कि यो प्रभावका लागि विश्वव्यापी लडाइँकै भाग हो ।

चीनका लागि ‘ग्लोबल साउथ’ को बयानबाजी अमेरिकासँगको रणनीतिक प्रतिस्पर्धामा गैरपश्चिमा विश्वलाई परिचालित गर्नु हो । बदलामा भारत आफ्नो छिमेकमा चीनको बढ्दो धक्काबाट चिन्तित छ । गैरपश्चिमा विश्वमा आफ्नो परम्परागत राजनीतिक पुँजीमाथि पुनर्दाबी गरिरहेको छ ।

पश्चिममा व्यप्त धारणाविपरीत भारत पहिल्यै निष्क्रिय भइसकेको असंलग्न आन्दोलन पछाडिको चालक शक्तिको भूमिकामा फर्किरहेको छैन । जस्तो कि भारतीय विदेशमन्त्री एस. जयशंकर भन्छन्— पश्चिम खराब हो भन्ने परम्परागत कथ्यले जमिनमा रहेका जटिल यथार्थलाई प्रतिबिम्बित गर्दैन ।

जयशंकर चीनमा विश्व उत्पादनको केन्द्रिकरण र बेइजिङद्वारा आर्थिक फाइदाको हतियारीकरणतिर औल्याउँदै थिए । प्रभावका लागि एशिया, अफ्रिका र अन्यत्र भारतको प्रतिस्पर्धा बेइजिङसँग छ, वासिङगटनसँग हैन । फेरि उसैले उत्तर-दक्षिण विभाजनको ढाँचालाई विष्फोटक बनाउँदै हुन्छ ।

असहाय ‘ग्लोबल साउथ’ को छविविपरीत साना गैरपश्चिमा विश्वका देशले समेत नयाँ चालका लागि खाली ठाउँ कहाँ छ भनेर चिन्न थालेका छन । बीसौं शताब्दीको मध्यतिरको विपरीत, गैरपश्चिमा शक्ति-सम्रान्त आज विचारधारा प्रेरित हैन, व्यावहारिक छन् । उनीहरू पश्चिमा साझेदारसँग द्विपक्षीय सम्झौता गर्न तयार छन् । यदि उनीहरूले ‘ग्लोबल साउथ’ को अवधारणालाई समर्थन गरेका छन नै भने पनि त्यो ढाँचालाई आफ्नो राजनीतिक तथा आर्थिक हितमा उपयुक्त छ भनेर गरेका छन् ।

‘ग्लोबल साउथ’ जस्तो लोकप्रिय शब्दलाई ध्वस्त पार्ने मेरो यो प्रयत्न, सम्भवत: म हावाको चक्कीसँग लडिरहेजस्तो हुन सक्दछ । मेरो र मेरा जस्तै अरुका यस्तो प्रयासले यो शब्द अन्तर्राष्ट्रिय सम्बन्धको शब्दावलीबाट छिट्टै गायब हुने सम्भावना छैन ।

धेरै जसो पश्चिमाहरूका लागि यो बाँकी विश्वलाई ‘अन्य’ बनाउने र गडबडीको कारक ठहर्‍याउने, पश्चिमा वर्चस्वलाई निरन्तर राख्ने र यसविरुद्धको असन्तुष्टिको गहिरो भण्डारलाई निकास दिने तरिका हो । चीन र भारतजस्ता उदयमान नयाँ शक्तिका लागि तथाकथित ‘ग्लोबल साउथ’ को उम्दाबाजी विश्वव्यापी प्रभाव विस्तारको माध्यम हो ।

तर, हामी कुनै गल्ती नगरौँ । यति फराकिलो, आकारहीन, अधिक सामान्यिकरण गर्ने प्रवर्गको प्रयोगले प्रकट गर्नेभन्दा बढी भ्रमित गर्ने कुरा धेरै हुन्छ । यस अवधारणासँग हाम्रो संसारलाई व्याख्या र पूर्वानुमान गर्ने थोरै मात्र मूल्य छ ।

(फोरेन पोलिसीबाट अनुदित)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved