आलेख

समाजवादका थरीथरी स्वरूप, यस्ता छन् मुख्य विशेषता

वैज्ञानिक समाजवाद मार्क्स–एंगेल्सले अघि सारेको राज्य सम्बन्धी मौलिक र वस्तुवादी मोडल हो । यसले वर्गसंघर्ष, बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको बिलोपीकरणलाई आफ्नो प्राण ठान्दछ ।

समाजवादका थरीथरी स्वरूप, यस्ता छन् मुख्य विशेषता

पुँजीवादी समाजमा श्रमजीवी सर्वहाराहरूमा सार्वभौम रूपमा देखिने मानवीय क्षमताको अलगाव (आफ्नो श्रम, सीप र कौशलबाट उत्पादित माल वा वस्तुको स्वामित्व वा सम्बन्धबाट टाढा रहनु) र चरम आर्थिक शोषणका कारण मालिक-पुँजीपति वर्गको पुँजीमा व्यापक वृद्धि हुँदै जान्छ र मजदुर वर्ग कंगालीकरणमा परिणत हुँदै जान्छ । परिणामतः समाजको ठूलो हिस्सा मजदुर र श्रमजीवी वर्गको क्रयशक्तिमा व्यापक गिरावट आउँछ र उनीहरूलाई जीवन धान्न नै मुस्किल पर्छ ।

अब शोषक वर्ग (पुँजीपतिहरू) र शोषित वर्ग (सर्वहारा श्रमजीवीहरू) बीच शत्रुतापूर्ण अन्तरविरोध विकास हुँदै जान्छ । श्रमजीवी सर्वहारा वर्गको अग्रदस्ता पार्टी (कम्युनिस्ट पार्टी) को नेतृत्वमा श्रमजीवी सर्वहारा वर्गले संगठित रुपमा पुँजीपति वर्गविरूद्ध भीषण संघर्षबाट विजय प्राप्त गरी राज्यसत्तामा सर्वहारावर्गको अधिनायकत्वमार्फत समाजवादी व्यवस्थाको पदार्पण हुन्छ ।

मार्क्स एंगेल्सका अनुसार “अलगाव र आर्थिक शोषण नै पुँजीवादको गर्भमा रहेको समाजवादको भ्रुण हो ।”

मार्क्स–एंगेल्सद्वारा प्रक्षेपित समाजवाद यस्तो आर्थिक सामाजिक व्यवस्था हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व पूर्णतः सरकारमा निहित हुन्छ, जसलाई सामाजिक स्वामित्व पनि भनिन्छ । यस्तो आर्थिक राजनीतिक व्यवस्था अंगीकार गर्ने राष्ट्रलाई समाजवादी राष्ट्र भनिन्छ । स्वामित्व भन्नाले उत्पादनका साधन, वस्तुको उत्पादन, नियन्त्रण, वितरण र व्यवस्थापन आदि पर्दछन् । सामाजिक स्वामित्वका पनि विभिन्न प्रकार हुन्छन्, जस्तैः साझा स्वामित्व, सहकारी संस्थान, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा सञ्चालित स्वतन्त्र संस्थान आदि।

तर, समाजवादको निश्चित परिभाषा यिनै स्वामित्वका प्रकारहरूमा फरक-फरक हुन सक्छ । साम्यवादमा संक्रमण गर्नुपूर्वको आर्थिक राजनीतिक प्रणालीलाई समाजवाद भनिन्छ, जुन कम्युनिस्टहरूको नेतृत्वमा सञ्चालित आर्थिक–राजनीतिक व्यवस्था हो । मार्क्सले समाजवादलाई मानव विकासको एउटा छुट्टै चरण नभएर साम्यवादी समाजको प्रथम अवस्थाको रूपमा व्याख्या गरेका छन् ।

समाजवादको अवधारणा

पुँजीवादको विकास भएका देशको शोषण र उत्पीडनलाई देखेर फ्रान्सका सन्त साइमन, चार्ल्स फुलियर र ब्रिटेनका रोवर्ट ओवेनले यसको विकल्पमा एउटा समतामूलक समाजको अवधारणा अगाडि सारे । उनीहरूका दृष्टिमा पुँजीपति वर्गलाई कन्भिन्स गरेर समाजवाद ल्याउन सकिन्छ भन्ने थियो । उनीहरूले वर्गसंघर्षको सिद्धान्तको वकालत गरेका थिएनन्। तर, मार्क्स–एंगेल्सले काल्पनिक समाजवादको अवधारणाबाट माथि उठेर वैज्ञानिक समाजवादको जग बसाले । सन् १८४८ मा प्रकाशित कम्युनिष्ट घोषणापत्र नै वैज्ञानिक समाजवादको व्यवस्थित जग हो ।

समाजवादमाथि दार्शनिक बहसहरू

काल्पनिक समाजवादका प्रवर्तक बेलायतका थोमस मूर (१४७८–१५३५) हुन् । उनले तत्कालीन समयमा अंग्रेजी सामन्ती भूमिपतिहरूको स्वेच्छाचारिता र उनीहरूद्वारा किसानमाथि गरिएको पासविक दमनको जोडदार विरोध गरे । मूरद्वारा लिखित “युटोपिया” नामक पुस्तकमा एउटा यस्तो काल्पनिक टापुको वर्णन छ त्यसताका बेलायतमा पाइने भन्दा भिन्नै खालको राजनीतिक व्यवस्था हुनेछ, उत्पादन तथा वितरणको सार्वजनिक रूपमा प्रबन्ध हुनेछ र पैसाको कुनै खाँचो हुने छैन ।

१९ औं शताब्दीमा फ्रान्सका सेन्ट साइमन, चार्ल्स फ्युरे तथा बेलायतका रोबर्ट ओवेनलगायत काल्पनिक समाजवादी चिन्तकहरूले समाजवादको थप व्याख्या गरे । उनीहरूका विचारमा सबै मानव जातिको प्रगति र कल्याण होस् भन्ने थियो । उनीहरूका अनुसार पुँजीपति वर्गसँग साझेदारी गरेर भावनात्मक रूपले पुँजीपति र सर्वहारा वर्गबीच मेल गराएर आर्थिक अधिकारमा समानतासहित समाजवाद लागू गर्न सकिन्छ । उनीहरू वर्गसंघर्षबाट होइन वर्ग समन्वयमार्फत समाजवाद लागू गर्नुपर्नेमा जोड दिन्थे ।

काल्पनिक समाजवादीहरूले यस्तो समयको परिकल्पना गरेका छन्, जहाँ मानिसद्वारा मानिसको शोषणमा आधारित सामाजिक व्यवस्थाका ठाउँमा नयाँ सामाजिक व्यवस्था स्थापना हुनेछ, भावी व्यवस्था सबैको सहयोग तथा मेलमिलापमा आधारित हुनेछ र सम्पूर्ण मानव जातिको असीमित सुधार र उन्नति हुनेछ ।

प्रजातान्त्रिक समाजवादलाई फेविनियनवाद पनि भनिन्छ । फेविनियन सोसाइटी इंग्ल्याण्डका एक दर्जन विद्वत व्यक्तिहरूको समाज थियो । यसको मूलमन्त्र उपयुक्त समयको लागि प्रतीक्षा गर्नुपर्छ र उपयुक्त समयमा समाजवाद लागू गर्न सकिन्छ भन्ने थियो । उनीहरू सशस्त्र क्रान्तिमा विश्वास गर्दैनथे यसको साटो क्रमिक विकासमा विश्वास गर्दथे । पुँजीवादबाट समाजवादमा पुग्न सामान्य सुधार र शान्तिपूर्ण संक्रमणबाट नै सकिन्छ भन्ने मान्यता उनीहरू राख्दथे ।

प्रजातान्त्रिक समाजवादीहरूले राज्यलाई कायमै राखी संवैधानिक एवं राजनीतिक सुधारबाट पनि पुँजीवादी व्यवस्थाको अन्त्य गरी विस्तारै समाजवादी व्यवस्थातिर संक्रमण गर्न सकिने विचार प्रकट गर्दथे । उनीहरू वर्गसंघर्षको साटो वर्ग समन्वयको माध्यमद्वारा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने मान्यता राख्दथे । पछि भारतका पं. जवहारलाल नेहरू तथा राम मनोहर लोहियाहरूले प्रजातान्त्रिक समाजवादको थप व्याख्या गरे । उनीहरूकै विचारबाट प्रभावित भएर नेपालमा बीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको विचार अंगालेका थिए।

राष्ट्रिय समाजवादको अवधारणा पहिलो विश्वयुद्धपछि जर्मन तानाशाह हिटलरले अगाडि सारेका थिए । जर्मन मजदुर पार्टी (नाजी) ले अघि सारेको राष्ट्रिय समाजवादको यस अवधारणालाई नाजीवाद पनि भनिन्छ । सन् १९१९ मा हिटलरको नेतृत्वमा नाजी पार्टीले शासन सत्ता कब्जा गरेपछि जर्मन नागरिकको राष्ट्रवादी भावनाको दुरुपयोग गर्दै कठोर तानाशाही व्यवस्था सुरू गर्‍यो । जर्मनहरूको अन्धराष्ट्रवाद र आफूहरु सर्वश्रेष्ठ भन्ने भावनालाई अघि बढायो ।

सुरूमा नाजी राजनीतिको मूल कुरा ठूला व्यापारी, पुँजीपति र बुर्जुवाहरूको विरोधमा केन्द्रीत थियो । नश्लवाद नाजीवादको केन्द्रीय मान्यता थियो । हिटलरकाअनुसार प्रथम विश्वयुद्धमा जर्मनले पराजय भोग्नुका कारण यहुदीहरू हुन् भन्ने थियो । त्यसैले उनले लाखौं यहुदीको हत्या गरेका थिए । एकै नश्लका जर्मनहरू एक हुनुपर्छ र विशाल जर्मन निर्माण गर्नुपर्छ भन्ने उनको मान्यता थियो ।

युरो कम्युनिज्मका प्रवर्तक इटालीका मार्क्सवादी विचारक अन्तानियो ग्राम्स्की (१८९१–१९३७) हुन् । उनले सन् १९२१ मा इटाली कम्युनिस्ट पार्टीको स्थापना गरे । तत्कालीन मुसोलिनीको फाँसीवादी सरकारले सन् १९२६ मा उक्त पार्टीमाथि प्रतिबन्ध लगाउँदै ग्राम्स्कीलाई जेल हाल्यो । सन १९३७ मा जेलमै उनको निधन भयो । उनले जेलमा भएकै समयमा The Prison’s Notebook नामक एक पुस्तक लेखे । त्यसबेला विश्वमा फाँसीवादी राजनीतिको विकासले साम्यवादी विचार संकटमा पर्दै गएको थियो । युरोपमा स्थापित समाजवादी सत्ताहरू एकपछि अर्को प्रतिक्रान्तिको साधनमा रूपान्तरित हुँदै थिए । त्यस अवधिमा फाँसीवादविरूद्ध जुध्न र साम्यवादी विचारको विकासका लागि ग्राम्स्कीले समाजवादसम्बन्धी नयाँ अवधारणा ल्याए, जसलाई यूरो कम्युनिज्म भनिन्छ ।

यूरो कम्युनिज्म समाजवादको नयाँ रूप हो । यो संसदअन्तर्गत काम गर्ने कम्युनिस्ट सिद्धान्त हो । सन् १९७७ मा इटाली, फ्रान्स तथा स्पेनका समाजवादी विचारकहरूबीच महत्वपूर्ण सम्झौता भयो, जसअनुसार असैनिक समदार तथा संरक्षण, सर्वहारा वर्गको अस्वीकार, बुर्जुवा लोकतन्त्रको नियमको परिपालना, सबै लोकतान्त्रिक शक्तिको एकजुटताको प्रयास, शान्तिपूर्ण तरिकाबाट शक्ति प्राप्त गर्ने, राष्ट्रवाद, लोकतन्त्र, समाजवाद एवं संवैधानिकतावादको आदर्शलाई मौलिक तत्वको व्यवस्थालाई युरो कम्युनिज्मको रूपमा व्याख्या गरे ।

वैज्ञानिक समाजवादको मान्यता

काल्पनिक समाजवादीहरूको प्रयोग असफल भएपछि गहिरो अध्ययन र खोजबाट कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सद्वारा ल्याइएको समाजवाद सम्बन्धी नयाँ अवधारणालाई वैज्ञानिक समाजवाद भनिन्छ । वैज्ञानिक समाजवादको दार्शनिक आधार इतिहास सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी धारणा हो, आर्थिक आधार मार्क्सवादी आर्थिक सिद्धान्त हो जसको आधारशीला अतिरिक्त मूल्यको सिद्धान्त हो ।

वैज्ञानिक समाजवाद मार्क्स–एंगेल्सले अघि सारेको राज्य सम्बन्धी मौलिक र वस्तुवादी मोडल हो । यसले वर्गसंघर्ष, बल प्रयोगको भूमिका, सर्वहारा वर्गको अधिनायकत्व र राज्यको बिलोपीकरणलाई आफ्नो प्राण ठान्दछ । पुँजीवादी समाजको गर्भबाट जन्मिएको एउटा राजनीतिक सामाजिक अवस्था, जसले कम्युनिस्ट पार्टीको नेतृत्वमा सर्वहारा वर्गको अधिनायकत्व स्थापित गर्दछ । उत्पादक शक्ति र उत्पादन सम्बन्धमा पुँजीवादी अन्तरविरोधको समाधान गर्दछ । शोषणका विविध रूपहरूको अन्त्य गर्दछ ।

समाजवाद एक आर्थिक सामाजिक दर्शन हो, जहाँ धन सम्पत्तिको स्वामित्व तथा वितरण समाजको नियन्त्रण र अधिनमा रहन्छ । आर्थिक सामाजिक र वैचारिक हिसावले समाजवादले निजी सम्पत्तिमा आधारित अधिकारको विरोध गर्दछ । प्राकृतिक सम्पदाका उत्पादन तथा वितरण समाज वा राज्यको हातमा हुनुपर्ने मान्यता राख्दछ । राजनीतिक अर्थमा समाजवाद पुँजीवादी सिद्धान्त विपरीत देखा पर्दछ ।

समाजवादका चरणहरू

मार्क्स–एंगेल्सले समाजवादमा प्रवेश र सुदृढीकरणसमेतलाई आधार मानी मूलतः तीन चरणको व्याख्या गरेका छन् ।

पदार्पणको चरण– यो एउटा संक्रमणकालीन अवस्था हो । पुँजीवादी अर्थव्यवस्थामा रहेको सम्पत्तिको स्वामित्व र वितरण प्रणालीलाई सामाजिकीकरण गर्न धेरै चुनौतीको सामना गर्न सर्वहारा वर्गले राज्य सत्तामा अधिनायकत्व कायम गर्नुपर्दछ । रूसी समाजवादको यस चरणमा कम्युनिस्ट पार्टीको नेतृत्वदायी भूमिका थियो ।

विकासको चरण– कृषिमा चक्लाबन्दी, उत्पादनमा आधुनिकीकरण र सहकारिताको तीव्र विकासलगायतका माध्यमबाट समाजवादको विकास गरिन्छ ।

अन्तरविरोधको समाधान– सामूहिक स्वामित्व र न्यायिक वितरण, शहर र गाउँबीचको अन्तरविरोध, बौद्धिक श्रम र शारीरिक श्रमबीचको अन्तरविरोधको पूर्ण रूपले समाधान भई विस्तारै राज्यको विलोपीकरणतर्फ गई साम्यवादी समाजको निर्माण हुने मार्क्स–एंगेल्सको प्रक्षेपण छ ।

मुख्य विशेषताहरू

वैज्ञानिक समाजवाद इतिहास सम्बन्धी द्वन्द्वात्मक भौतिकवादी धारणामा आधारित छ । यसले राज्यसत्ता र इतिहासबारे सबैखाले प्रत्ययवाद, अधिभूतवाद र सारसंग्रहवादको खण्डन गर्दछ । समाजवादमा राष्ट्रिय उद्योगबाट प्राप्त लाभांश तथा श्रमिकहरूको श्रमको मूल्यबाट केही हिस्सा कटौती गरी राज्यकोषमा प्राप्त रकम स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा र मजदुरको वृत्ति र विकासका लागि खर्च गरिन्छ ।

वैज्ञानिक समाजवादमा उत्पादनका साधनहरूमाथि सामूहिक स्वामित्व कायम गरिन्छ। शोषक वर्गको अन्त्य र मेहनतकश जनताको राज्यसत्ता स्थापना गरिन्छ । शारीरिक र मानसिक श्रमको भेद अन्त्य, राज्यको बिलोपीकरणतर्फ अग्रसरता जस्ता आयाम समाजवादका आधारभूत शर्त हुने गर्दछन् ।

नेपालको सन्दर्भमा समाजवादको तयारी र समाजवादको अभ्यास हाम्रै मौलिक विशेषतामा आधारित रहन्छ र रहनुपर्दछ । नेपाली समाजको बनोट, विविधता, उत्पादन सम्बन्ध, भूराजनीतिक सन्तुलनजस्ता पक्षमा विचार गरेर हामीले समाजवादको आफ्नै मोडेल विकास गर्न आवश्यक छ । यसका निम्ति समाजवादी शक्तिहरूबीच बृहत् संवाद र सहकार्यमार्फत् हाम्रो आफ्नै मौलिक मोडेलको विकास साझा कार्यभार हो ।

(लेखक मार्क्सवादी ज्ञान केन्द्रका सचिव हुन् )

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved