अन्तर्वार्ता

भ्लादिमिर पुटिनलाई नेपालमा देख्न पाए मलाई निकै खुसी लाग्नेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु सम्मेलनमा भाग लिन दुबई जानु अघि रुसी समाचार एजेन्सी तासलाई अन्तरवार्ता दिएका थिए । अन्तरवार्तामा प्रधानमन्त्री प्रचण्डले रुस-युक्रेन युद्ध, इजरायल-प्यालेस्टाइन संघर्ष, विश्व समाजवाद, नेपालको छिमेक सम्बन्ध, जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्या लगायतका विषयमा चर्चा गरेका छन् । प्रस्तुत छ उक्त अन्तरवार्ताको नेपाली अनुवाद । 

नेपालभ्युज

भ्लादिमिर पुटिनलाई नेपालमा देख्न पाए मलाई निकै खुसी लाग्नेछ : प्रधानमन्त्री प्रचण्ड

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दक्षिण एसियाका सबैभन्दा विवादित राजनीतिज्ञ हुन्, जसको जीवनी कुनै रोमाञ्चक उपन्यासको कहानी नै बन्नसक्छ । उनी गृहयुद्धको समय (सन् १९९६-०६०) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महामन्त्री अर्थात् एउटा क्रान्तिकारी समूहका कमाण्डर रहेका थिए । त्यतिखेर उनले भूमिगत युद्ध लडेका थिए र राजनीतिक छद्‌मनाम कमरेड प्रचण्डको रूपमा चर्चा पाएका थिए ।

राजतन्त्रको पतनपछि उनले धेरैपटक सरकार प्रमुखको रूपमा काम गरेका छन्, ९ अगस्ट २००८ देखि मे २००९ सम्म, अगस्त २०१६ देखि मे २०१७ सम्म र डिसेम्बर २६, २०२२ देखि वर्तमान समयसम्म ।

पूर्वविद्रोही र आजका एक प्रसिद्ध राजनीतिज्ञ, उनै प्रचण्ड आज पहिलोपटक रूसी प्रेसका प्रतिनिधिसँग भेट्न सहमत भएका छन् । रुसी समाचार एजेन्सी ताससँगको एक विशेष अन्तर्वार्तामा कमरेड प्रचण्डले २१औं शताब्दीमा समाजवादी विचार कसरी विकसित हुनुपर्दछ, नेपाल र रुसबीचको सिधा उडान पुनः सुरू गर्ने प्रयास किन गरिनुपर्छ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग व्यक्तिगतरूपमा आफू किन भेट्न चाहन्छन् भन्ने बारेमा कुरा गरेका छन् ।

प्रश्न- तपाईं धेरैवर्ष माओवादी विद्रोहीको नेता हुनुहुन्थ्यो र प्रचण्ड (भयानक) पनि भनिन्थ्यो । र, आज नेपाल सरकारको नेतृत्व गर्दै हुनुहुन्छ । यो कसरी भयो, नेपाली जनताले तपाईंको आन्दोलनलाई किन समर्थन गरे र तपाईंको पार्टीलाई आजसम्म विश्वास गरिरहेका छन् ?

जवाफ- सबैभन्दा पहिले त म यो भन्न चाहन्छु कि रुसी समाचार एजेन्सी तासलाई अन्तर्वार्ता दिन पाउनु मेरो लागि धेरै रोचक र महत्त्वपूर्ण छ । मलाई थाहा छ, तास एउटा निकै सम्मानित र प्रसिद्ध एजेन्सी हो ।

तपाईंको प्रश्नको जवाफ दिनको लागि मैले भन्नैपर्छ कि नेपालले आफ्नो राजनीतिक परिप्रेक्षमा धेरै नै उतारचढाव देखेको छ । तर, अन्तमा हामी विभिन्न राजनीतिक दलसँग सहमतिमा पुग्न सफल भयौँ । म क्रान्तिको नेतृत्वमा हुँदा हामी तत्कालीन सामन्ती र निरंकुश राजतन्त्रको सरकारबाट उत्पीडित आर्थिक र सामाजिकरूपमा पिछडिएका जनताको आवाज बनेका थियौँ । त्यसैले जनताले हाम्रो आन्दोलनलाई सहर्ष समर्थन पनि गरे । किनकि हामीले त्यस्ता समस्या उठाएका थियौँ । जुन उनीहरूले धेरै वर्षदेखि भोगेर आएका थिए । निरंकुश राजतन्त्रको शासनकालमा भोग्न बाध्य बनाइएका थिए । तसर्थ, हामीले मुख्यतया ग्रामीण क्षेत्रमा विशाल समर्थन पाएका थियौँ ।

त्यहीबेला हामीले राजनीतिक आन्दोलनको नेतृत्व गर्‍यौँ । हामीले संसद्‌मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग वार्ता गरेका थियौँ । त्यसबेला निरंकुश राजतन्त्रविरुद्ध सात दल एकजुट भए । यसपछि हामी १२ बुँदे भनिने ऐतिहासिक सम्झौतामा पुग्यौँ, जसले सहमतिको वातावरण सिर्जना गर्‍यो र बृहत् शान्ति सम्झौताका लागि शर्तहरू प्रदान गर्‍यो । र, यही सहमतिको ढाँचाभित्रै हामीले संविधानसभाको निर्वाचनमा भाग लियौँ ।

यही चुनाव गराउने सहमतिको बदलामा शान्ति स्थापना सम्भव भएको थियो, जसलाई सबै राजनीतिक दलले स्वीकार गरेका थिए । हामीले संविधानसभामा बहुमत प्राप्त गरी अत्यधिक सिट जित्न सफल भयौँ । यसप्रकार सन् २००८ को अगस्टमा संघीय लोकतान्त्रिक नेपालको पहिलो सरकारको नेतृत्व गर्ने अवसर पाएको थिएँ, जुन निकै छोटो अवधिमा क्रान्तिको माहोलबाट शान्ति सम्झौतामा र त्यसपछि निर्वाचनमा परिणाम प्राप्त भएपश्चात् सम्भव भएको थियो ।

राजतन्त्रबाट एकाएक प्रजातन्त्रमा यस्तो हिसाबले छलाङ्ग लगाइनु कुनै चमत्कार नै थियो र जनताले पनि हामीलाई पूर्णरूपले साथ दिएका थिए । म ध्यानाकर्षण गराउन चाहन्छु कि देशमा अझै पनि गठबन्धन सरकार नै सत्तामा छ । म मन्त्रिपरिषद्को नेतृत्व गर्छु, जसमा धेरै दल सहभागी छन् । स्मरण रहोस्, यो एक अद्वितीय शान्ति प्रक्रिया हो जुन आन्तरिक शक्तिहरूको प्रयासले सफल भएको थियो । जसले यस देशमा वर्तमानमा जारी रहेको विशाल राजनीतिक परिवर्तनलाई सुनिश्चित गरेको छ ।

प्रश्न- के सामान्य राजनीतिक जीवनमा प्रवेश गरेपश्चात् तपाईंको विश्व दृष्टिकोणमा कुनै असर परेको छ ? वा यस्तो भन्न सकिन्छ कि तपाईं नेपाल सरकारको प्रमुखको हैसियतले नयाँ ठाउँमा रहेर आफ्नो सङ्घर्ष जारी राख्दै हुनुहुन्छ ? नेपालको राजनीतिक प्रणालीको भविष्य कस्तो देख्नुहुन्छ ?

जवाफ- मार्क्सवादी भएका नाताले हामी द्वन्द्वात्मक भौतिकवादको दर्शनमा विश्वास गर्छौँ । हाम्रो दर्शनअनुसार, विशिष्ट परिस्थितिहरूलाई विशिष्ट विश्लेषण चाहिन्छ, जुन भौतिकवादको आधार हो । भ्लादिमिर लेनिनले कट्टरता र कट्टरताको अस्वीकार्यतालाई मान्यता दिनुभयो । किनकि हामीले सम्पूर्ण विश्व, क्षेत्र र देशमा राजनीतिक परिवर्तनको गतिशीलता बुझ्नुपर्छ । र, उनीहरूको प्रतिक्रियाका आधारमा हाम्रो नीति निर्माण गर्नुपर्छ ।

वास्तवमा लेनिनबाट म धेरै प्रभावित छु । विश्व र क्षेत्रीय विकासको राजनीतिक प्रकृतिको विश्लेषण गर्दा हामी आफैँ पनि परिवर्तनशील हुनुपर्छ भन्ने महसुस गरेका छौँ । त्यसैले हामी सशस्त्र सङ्घर्षबाट शान्ति प्रक्रिया, प्रतिस्पर्धात्मक राजनीतिक प्रणालीतर्फ लाग्यौँ । हामीले सामन्ती राजतन्त्रलाई भत्कायौँ र पहिले उत्पीडनमा परेकालाई सामाजिक प्रक्रियामा समावेश गर्‍यौँ । यो हाम्रो संविधानको मुख्य विशेषता बन्यो ।

अब हामीले हाम्रो आर्थिक विकासमा विशेष ध्यान दिनुपर्छ । तब मात्रै देशमा परिवर्तनलाई दीगोरूपमा स्थापित गर्न सकिन्छ । मलाई लाग्छ कि देशको एकमात्र सुनिश्चित भविष्य त्यतिखेर सम्भव हुन्छ, जब त्यहाँ शान्ति, स्थिरता र समृद्धि हुन्छ । र, हामी उक्त सुनिश्चित भविष्य निर्माणका लागि हर सम्भव प्रयास गर्दैछौँ ।

प्रश्न- संसार परिवर्तन भएको छ । के आज समाजवाद र साम्यवादका सन्दर्भमा केही भन्ने ठाउँ छ ? भविष्यमा हाम्रो संसार कस्तो होला, तपाईं यसलाई कसरी हेर्नुहुन्छ ?

जवाफ- संसार साँच्चै स्थिर छैन । विज्ञान र प्रविधिको विकासले सूचना प्रविधिमा क्रान्ति ल्याएको छ । ती सबैले संसारभरको अवस्थालाई पूर्णरूपमा परिवर्तन गरेको छ । यसका साथै अहिले नयाँ विश्वव्यापी भूराजनीतिक ध्रुवीकरण भएको छ । वर्तमानमा हामी रूस-युक्रेन, प्यालेस्टाइन-इजरायलबीचको द्वन्द्व देखिरहेका छौँ ।

साथै, तपाईंलाई थाहा छ कि नेपाल दुई एसियाली ठूला देशहरू भारत र चीनको बीचमा अवस्थित छ र हाम्रो लागि यो अत्यन्तै संवेदनशील भूराजनीतिक अवस्था हो । चीन र अमेरिका, चीन र भारतबीच निश्चित विरोधाभासहरू छन् । भारत र अमेरिकासमेतले दक्षिण एसियाको क्षेत्रीय अवस्थालाई फरक-फरक ढंगले हेर्न सक्छन् । किनकि यस क्षेत्रमा धेरै जटिल प्रकृतिका क्रियाकलाप हुने गर्दछन् ।

हामी प्रगतिशील राष्ट्रवादमा अडिग छौँ । हामी समाजवादी विचारधारालाई अँगालेर अघि बढिरहेका छौँ । एक्काइसौं शताब्दीमा विकसित भएको अवस्थाका लागि हामीले १९औं शताब्दीमा परिभाषित गरिएको कट्टरपन्थी मार्गलाई हुबहु यत्तिखेर अनुसरण गर्न सक्दैनौँ । संसारको परिवर्तन सँगसँगै हामीले पनि आफ्नो विचारधारा परिवर्तन गर्नुपर्छ । हामीले परिस्थितिलाई विश्लेषण गरेर त्यसबाट पाठ सिक्नुपर्छ । अब नयाँ रणनीति र नयाँ दृष्टिकोणको आवश्यकता छ ।

मैले सोभियत संघको इतिहास राम्ररी अध्ययन गरेको छु र भ्लादिमिर लेनिनको नेतृत्वमा भएको रुसी क्रान्तिको गतिशीलता बुझ्ने प्रयास गरेको छु । उनका धेरै लेख र कार्यहरूको अध्ययन गरेको छु । मैले रूसमा सन् १९८०-१९९० को दशकमा भएका घटनालाई पनि केलाएको छु । चीनमा भएका परिवर्तन र त्यहाँको सरकारमा आएको परिवर्तनले पनि मेरो ध्यान खिचेको छ । हामीले यी सबै कुरालाई विश्लेषण गरेर अगाडि बढ्ने प्रयास गरेका छौँ ।

प्रश्न- नेपाल दुई ठूला राष्ट्र भारत र चीनबीच कुनै ‘स्यान्डवीच’ झैँ अवस्थित भएको कुरामा तपाईंले जोड दिनुभयो । एक अर्कासँगको सम्बन्धको जटिल प्रकृतिलाई ध्यानमा राख्दै यी राज्यसँग कसरी सम्बन्ध विस्तार गर्दै लानुहुन्छ ?

जवाफ- ऐतिहासिकरूपमा नेपालको परराष्ट्र नीतिको आधार नै असंलग्नता रहेको छ । हामी हाम्रो स्वतन्त्रताको हितमा आधारित हाम्रा जनताका आधारभूत आवश्यकता सुनिश्चित गर्दै भारत र चीनप्रतिको विदेश नीतिमा सन्तुलन कायम राख्ने प्रयास गर्छौँ । र, अहिले हामीले स्वतन्त्रता र असंलग्नताको नीतिलाई नै निरन्तरता दिइरहेका छौँ ।

दुई महिनाअघि मैले भारत भ्रमण गरेको थिएँ र त्यहाँको नेतृत्वको हामीप्रति राम्रो समझदारी रहेको पाएको थिएँ । म चीनको बेइजिङमा पनि भ्रमणमा रहेको थिएँ । जहाँ, मैले चिनियाँ नेतृत्वबाट पनि उही समझदारीलाई बुझेको थिएँ । त्यसपछि म संयुक्त राज्य अमेरिकामा संयुक्त राष्ट्रसंघको महासभामा गएको थिएँ । र, त्यहाँ हामीले नेपालको विकाससँग सम्बन्धित मुद्दाबारे राम्रोसँग छलफल गरेका थियौँ । यसर्थ, हामी विदेश नीतिमा तटस्थ र सन्तुलनको लागि प्रयास गरिरहेका छौँ ।

यसका साथै हामी विश्व मञ्चमा विद्यमान उत्पीडितहरूलाई समर्थन गर्छौँ, जो स्वतन्त्रताको हकदार छन् । हामी प्यालेस्टाइनलाई समर्थन गर्छौँ, हामीले सधैँ प्यालेस्टिनीलाई समर्थन गरेका छौँ र संयुक्त राष्ट्रसंघको महासभामा इजरायल र प्यालेस्टाइन दुवै राष्ट्रलाई अन्तर्राष्ट्रिय समुदायले मान्यता दिनुपर्छ भनेर मैले विश्व समुदायलाई भनेको थिएँ । यसको अलावा मार्क्सवादी र कम्युनिष्टका रूपमा समाजवादतर्फ उन्मुख देशहरूसँग पनि हामीले निश्चित समझदारी हासिल गरेका छौँ ।

प्रश्न- अहिले नेपालको अवस्था कतिको स्थिर छ ? देशको राजनीतिक व्यवस्थाको गठन पूरा भयो भन्न सकिन्छ कि ? मलाई थाहा छ, भर्खरै काठमाडौंमा राजतन्त्रका समर्थकले विरोध प्रदर्शन गरेका थिए ।

जवाफ- हरेक क्रान्तिले प्रतिक्रान्ति निम्त्याउँछ । लोकप्रिय क्रान्तिकारी आन्दोलनबाट परास्त भएका वर्गहरू पुन: सत्तामा फर्किन खोजिरहेका छन् । यही हो इतिहासको नियम । हामीले अधिनायकवादी सामन्ती राजतन्त्रलाई ध्वस्त पारेका छौँ र म विश्वस्त छु कि यसको समय बितिसकेको छ । अब विगतमा फर्कन सम्भव छैन । तैपनि एउटा निश्चित मानिसहरूको समूहद्वारा विगतमा फर्कनका लागि यस्ता प्रयास भने बेला बेलामा नभएका हैनन् ।

नेपालको राजनीतिक व्यवस्था स्थायी रहनेछ, अनि सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र हाम्रो देशमा दीर्घकालसम्म रहने मैले विश्वास लिएको छु । वर्तमान समयमा; जब कि एउटा राजनीतिक स्थायित्व कायम भइसकेको अवस्था छ, अब आर्थिक विकासमा लाग्नुपर्छ । स्थायित्व र आर्थिक समृद्धिको बीचमा पारस्परिक सम्बन्ध रहेको हुन्छ ।

प्रश्न- तपाईंले स्थायित्व कायम गर्न आर्थिक विकासको महत्त्वबारे कुरा गर्नुभयो । नेपालको अर्थतन्त्रको विकासका लागि के गर्नुपर्छ ? कुन उद्योग सबैभन्दा आशाजनक छन् ?

जवाफ- प्रत्यक्ष वैदेशिक लगानी हाम्रा लागि अहिले महत्त्वपूर्ण छ । त्यसैले हामी त्यसका लागि अनुकूल वातावरण बनाउन र लगानीकर्ताका र आर्थिक विकासका बाधाहरू हटाउन प्रयासरत छौँ । हाम्रो देश कृषिप्रधान भएकाले मुख्यत: हामी कृषि र कृषि उद्योगमा विशेष ध्यान दिन्छौँ ।

हिमाली नदीहरूको प्रचुरताले गर्दा नेपालमा जलविद्युत्‌मा पनि ठूलो सम्भावना छ । मेरो पछिल्लो भारत भ्रमणमा नेपालले भारतलाई १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उपलब्ध गराउने सहमति भएको थियो । बंगलादेशमा हाम्रो बिजुली आपूर्ति गर्ने सम्झौता पनि भएको छ । यी सबैले जलविद्युत्‌को विकासको लागि अनुकूल वातावरण सिर्जना गर्दछ ।

प्रचुर सम्भावना बोकेको पर्यटन उद्योग हाम्रा लागि महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । हाम्रो देशमा लुम्बिनीमा बौद्ध तीर्थयात्री आउँछन् । यस ठाउँमा बुद्धको जन्म भएको थियो । र, यो संसारभरका पर्यटक र बौद्धमार्गीको लागि ठूलो तीर्थस्थल हो । विश्वको सर्वोच्च शिखर, माउन्ट एभरेष्ट पनि नेपालमै अवस्थित छ, जसलाई हामी सगरमाथा भन्छौँ । ऐतिहासिक स्मारक र सुन्दर प्रकृतिको पनि धनि देश हो नेपाल । नेपालप्रति परम्परागतरूपमा विभिन्न देशका पर्यटक आकर्षित हुन्छन् ।

प्रश्न- रुससँग नेपालको सम्बन्धलाई कसरी चित्रण गर्नुहुन्छ ? नेपाल-रुस सम्बन्धको अवस्थाबाट कतिको सन्तुष्ट हुनुहुन्छ ?

जवाफ- नेपाल र रुसबीचको सम्बन्धको इतिहास विभिन्न तहमा आपसी समझदारी र राम्रो साझेदारीको यथार्थ रूप हो । तपाईंको देशमा उल्लेखनीय संख्यामा नेपाली विद्यार्थीले उच्च शिक्षा प्राप्त गरेका छन् र हाम्रो देशको विकासमा ठूलो योगदान गरेका छन् । तपाईंहरूले पूर्वाधार निर्माण गर्न, कृषिलाई आधुनिकीकरण गर्न र अन्य क्षेत्रमा पनि सोभियत काल र त्यसपछि पनि ठूलो सहयोग गर्नुभएको छ । यसर्थ दुई देशबीच कुनै समस्या छैन ।

दुई देशबीच आर्थिक साझेदारी र यातायात कनेक्टिभिटीको ठूलो सम्भावना रहेको भएपनि अझै पूर्णरूपमा त्यसलाई कार्यरूपमा परिणत गर्न नसकिएकोमा साँच्चै नै हामीलाई चिन्ता छ । मैले नेपालका लागि रुसी राजदूत महामहिम अलेक्सेई नोभिकोभसँग यस विषयमा छलफल गरेको थिएँ । जहाँ, हामीले आर्थिक सहयोगको वातावरण कसरी बनाउने, कनेक्टिभिटी कसरी सुनिश्चित गर्ने, र विशेषत हवाई यातायातका विषयमा कुरा गर्दै रुसबाट नेपाल सिधा उडान पुनर्स्थापना गर्नुपर्ने विषयमा कुरा गरेका थियौँ । साथै हामीले आर्थिक सहयोग, शिक्षामा अन्तर्क्रिया, कृषि, पूर्वाधार परियोजनाका अन्य क्षेत्रमा पनि छलफल गरेका छौँ ।

हामीले विशेष गरी ठूला जलविद्युत आयोजनाहरूमा चासो राखेका छौँ । यहाँहरूलाई अवगतै होला, १०.८ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने क्षमता रहेको कर्णाली नदीको तल्लो भागमा कर्णाली चिसापानी आयोजना जलविद्युत् केन्द्र निर्माणको सम्भावनाबारे प्रतिवेदन तयार गर्दैछौँ । यस प्रकारको निर्माणको लागि हामीलाई विशेषगरी ठूलो पुँजी र अन्य सहयोगको आवश्यकता पर्छ । हामी सडक र सुरुङ निर्माणमा पनि सहकार्यको अपेक्षा गर्छौँ । यसका लागि अनुभव र प्रविधि चाहिन्छ, जुन हामीलाई थाहा छ । रूससँग छ ।

यस्तैगरी हामी रसियामा धेरैभन्दा धेरै नेपाली विद्यार्थीले शिक्षा प्राप्त गर्न सकून् भन्ने चाहन्छौँ । यी सबै हाम्रो प्रारम्भिक प्राथमिकतामा पर्दछन्, विशेषगरी सहकार्यका लागि अनुकूल वातावरण सिर्जना गर्न।

प्रश्न- मस्को-काठमाडौं सिधा उडान सञ्चालन गर्ने सम्भावना रहेको बताउनुभएको हो ?

जवाफ- हामीले सिधा उडानहरू पुनर्स्थापित गर्ने प्रक्रिया सुरू गर्नुपर्छ । हाम्रो तर्फबाट कुनै समस्या छैन । हामीलाई थाहा छ रुस-युक्रेन द्वन्द्व सुरू भएपछि केही देशले रुससँगको सम्बन्धमा कठिनाइ देखेका छन् । तर, हाम्रो सन्दर्भमा कुनै समस्या छैन । म यो पनि भन्न चाहन्छु कि हाम्रो दुई देशको सन्दर्भमा भन्ने हो भने हामीबीच उच्चस्तरीय भ्रमणको आवश्यकता रहेको मलाई महसुस भएको छ ।

नेपाली संसद्‌को राष्ट्रियसभाका प्रमुखले रुस भ्रमण गरेपछि (नेपालको संघीय संसद्को माथिल्लो सदन ‘राष्ट्रिय सभा’ का अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही अप्रिल १९-२५ मा संसदीय प्रतिनिधिमण्डलको नेतृत्वमा रुसको भ्रमण गरेका थिए- तास नोट) हामी रूसी संसद्को सभामुखको नेपाल भ्रमणको लागि पर्खिरहेका छौँ । यस्तो भ्रमणले आर्थिक सहकार्यलाई प्रोत्साहन गर्नेछ । यस्तो भ्रमणका क्रममा लामो समयदेखि सिधा उडान सञ्चालन गर्ने विषयमा पनि छलफल हुनसक्छ । तर, दूर्भाग्यबस् यो भ्रमण स्थगित भयो । हामी उच्चस्तरीय भ्रमणको आशा गर्दछौँ । जुन तत्काल आवश्यक छ । साथै अझै उच्चस्तरिय भ्रमणको सम्भावना पनि छँदैछ ।

प्रश्न- त्यसोभए के हाम्रो एजेन्सीमार्फत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिनुहुन्छ त ?

जवाफ- भ्लादिमिर पुटिनलाई नेपालमा देख्न पाए मलाई निकै खुसी लाग्नेछ । साथै म आफैँ पनि रूस जान तयार छु । ब्रिक्स र बिमस्टेक शिखर सम्मेलनहरू एकैसाथ भारतको गोवा शहरमा भएको बेला (सन् २०१६ मा शिखर सम्मेलन भएको थियो- तास नोट) जहाँ म मेरो दोस्रो कार्यकालमा प्रधानमन्त्रीको रूपमा उपस्थित थिएँ, त्यसबखत राष्ट्रपति पुटिनसँग मेरो भेट भएको हो । तर, दूर्भाग्यबस् यो द्विपक्षीय वार्ता भने थिएन । केवल सामूहिक छलफलको रूपरेखाभित्रको वार्ता थियो ।

हाम्रा देशबीचको उच्चस्तरीय भ्रमणले सबै क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न मद्दत गर्नेछ भन्नेमा म विश्वस्त छु ।

प्रश्न- विश्वको वर्तमान अवस्थाबारे तपाईंको धारणा के छ ? कोभिड महामारीका कारण उत्पन्न आर्थिक समस्या र अहिले सक्रिय चरणमा रहेका द्वन्द्वका बारेमा के भन्नुहुन्छ ? के नेपाल यी समस्याबाट टाढा छ वा यसले नेपाललाई पनि असर गरेको छ ?

जवाफ- कोभिड महामारी; जसमाथि हामीले पहिले नै विजय प्राप्त गरिसकेका भएपनि त्यसले निकै नकारात्मक प्रभाव पारेको छ । जब चुनौतीहरूको कुरा आउँछ, हामी जलवायु परिवर्तनलाई हाम्रो लागि एउटा ठूलो खतरा मान्दछौँ । हिमालयका हिमशृंखला पग्लन थालेकाले स्थानीय जनताको जनजीवनमा गम्भीर असर परेको छ । त्यसैले हामी अन्तर्राष्ट्रिय समुदायलाई पनि यससम्बन्धी सहयोग गर्न आग्रह गर्छौँ ।

म दुबई शहरमा आगामी संयुक्त राष्ट्रको जलवायु सम्मेलनमा भाग लिन जाँदैछु । म त्यहाँ यो भन्न गइरहेको छु कि हामीसँग जलवायु परिवर्तनका प्रभावविरुद्ध लड्न आर्थिक सहायता माग गर्ने अधिकार छ । जलवायुू नेपालका लागि मात्र नभई सम्पूर्ण क्षेत्र र विश्वका लागि नै एउटा महत्त्वपूर्ण र विशेषरूपमा ध्यान केन्द्रित गर्नुपर्ने विषय हो । हामी उल्लेखनीय तवरले यस्ता वातावरणीय परिवर्तन महसुस गरिरहेका छौँ । किनकि हिमालयका हिमशृंखला दिन प्रतिदिन पग्लिँदैछन् ।

म दुबईमा हुन भइरहेको उक्त फोरममा रुसी प्रतिनिधिमण्डल पनि पुगेको खण्डमा भेट्न पनि चाहन्छु ।

प्रश्न- रुसलगायत धेरै देशविरुद्ध लगाइएको पश्चिमी प्रतिबन्धप्रति तपाईंको दृष्टिकोण कस्तो छ ? के पश्चिमी देशहरूको स्थितिले हाम्रो द्विपक्षीय सम्बन्धलाई असर गर्न सक्छ ?

जवाफ- यो हाम्रा लागि निकै संवेदनशील विषय हो । हामी असंलग्नताको नीतिप्रति बफादार छौँ । हामी सबै समस्या शान्तिपूर्णरूपमा वार्ताबाट समाधान गर्ने वकालत गर्छौँ । हामी पश्चिमको स्थिति रुसको तथा चीनको पनि दृष्टिकोण बुझ्छौँ । तर, कुनै एक पक्षलाई समर्थन गर्दै अर्को पक्षविरुद्धको नीति लिनु नेपालजस्तो देशको लागि कठिन विषय हो । हाम्रो भूराजनीतिक स्थिति र सामान्य सामाजिक-आर्थिक अवस्थाका कारण ।

प्रश्न- एउटा लामो अवधिको अन्तरालमा नेपाली नेताको रुसी सञ्चारमाध्यमसँग गरिएको यो पहिलो अन्तर्वार्ता हो । रुसीहरूलाई के भन्न चाहनुहुन्छ ?

जवाफ- रूसको धेरै गौरवशाली इतिहास छ । यसका प्रतिनिधिले मानवताको विकासको लागि धेरै योगदान दिएका छन् । हामीले रुसी इतिहासका उदाहरणहरूबाट आफूले पनि सिक्ने प्रयास गरेका छौँ । र, अहिले पनि यो सम्मानजनक मनोवृत्ति उस्तै छ । हामी रूसी जनतालाई सम्मान गर्छौँ । म रूस र यसका नागरिकहरूको कल्याण र समृद्धिको कामना गर्न चाहन्छु ।

(यो अन्तरवार्ता रुसी समाचार एजेन्सी तासका लागि येभगेनी पाखोमोभले लिएका हुन्-सम्पादक )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved