बडादशैं नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाडसमेत मानिने यस पर्वलाई नवरात्र पनि भनिन्छ ।
हिन्दू धर्मावलम्बीहरूले आश्विन र कार्तिक महिनाको शुक्ल प्रतिपदाको दिनदेखि नवमीसम्म देवीहरूको पूजा-आराधना गरी दशमीका दिन आफूभन्दा ठूला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरेर विशेष रूपमा कोजाग्रत पूर्णिमासम्म मनाउने गर्छन्।
घटस्थापनाका दिनदेखि नवमीसम्म प्रत्येक दिन फरक देवीहरूको पूजा-आराधना हुन्छ। पहिलो दिनदेखि क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी, सिद्धिधात्रीको पूजा गरी नवदुर्गाको पूजा सकिन्छ ।
बडादशैंको पर्वमा मालसिरी वा मालश्री धुन बजाएर र गीत गाएर रमाइलो पनि गरिन्छ । देश विदेश वा टाढा-टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ । पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ त्यसको बेग्लै मज्जा छ । दशैंमा दक्षिणा, टीका, जमरा र पिङको मज्जालाई छुट्टै खास अर्थ र महत्त्वका रूपमा लिइन्छ।
हिन्दू धर्मग्रन्थअनुसार नवदुर्गा भवानीका यी नवरूपको आश्विन शुक्ल पक्ष प्रतिप्रदाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक-एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ ।
दशौं दिन विजयादशमीमा दुर्गा भगवतीले आसुरी शक्तिमाथि विजय हासिल गरेको खुसीयालीमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट रातो टीका र जमरा लगाएर र आशीर्वाद थापेर मनाइन्छ । टाढा-टाढादेखि आउने पाहुनाहरूले पूर्णिमासम्मै पनि टीका लगाएर आशीर्वाद लिने दिने गरिन्छ।
त्यस्तै, हिन्दूहरूको महान चाड बडा दशैंलाई मुख्य चाडको रूपमा मनाइने नेपाल एक मात्र देश हो भन्ने मानिन्छ र बडा दशैंको सन्दर्भमा नेपालको इतिहासमा छुट्टै वंशलेख पाइन्छ।
गोरखा जिल्लाको (ऐतिहासिक) लिगलिगकोटमा बर्षेनि टीकाको दिनमा राजा फेर्ने चलन रहेको वंशावलीहरूमा लेखिएको पाइन्छ। तर, त्यो टीकाको दिन विजय दशमीको टीकाको दिन थियो या अरु कुनै दिन।
विक्रम वि.सं १६१६ भन्दा पहिले गोरखा राज्यमा बडादशैं मनाइन्थ्यो या मनाइँदैनथियो भन्ने कुनै पनि तथ्यगत सामग्री भेटिएको छैन। वि.सं १६१६ असोज २३ गते मंगलबारको रातमा गंगाराम रानामगर, गणेश पाण्डे, महिसुर पन्त, नारायण दास अर्ज्याल र मुरली खवास आदिको सहयोगमा गोरखाका खड्का राजालाई मारेर त्यसै रात अर्थात् वि सं स् १६१६ असोज २४ गते बुधबार द्रव्य शाह गोरखाका राजगतिमा बसेको वंशावलीमा लेखिएको छ।
गोरखाको खड्का राजाको निर्माण हत्या गरी आफू राजा भएको खुसियालीमा द्रव्य शाहले आश्विन शुक्ल पक्षभरी खुसियाली मनाएको र त्यही खुसियालीलाई वर्षैपिच्छे मनाउने गरेको हुन सक्छ। त्यसरी नै नेपालमा दशैं संस्कृति विकसित भएको हो भन्ने अनुमान गरिएको छ।
द्रव्य शाहका सन्तति राजा पृथ्वीनारायण शाहले १७६९ मा काठमाडौंमा विजय प्राप्त गरी त्यहाँ दशैं संस्कृति प्रवेश गराएका हुन् भन्ने मान्यता रहेको छ र यसरी नै दशैं पर्व विकास भएको भन्ने मान्यता पनि रहेको पाइन्छ।
आफ्ना नाता कुटुम्ब ठूलाबडा र मान्यजनबाट टीका तथा जमरा लगाउने र आशीर्वाद प्राप्त गर्ने नयाँ-नयाँ कपडाहरू लगाउने, आफ्नो क्षमताअनुसार मिठो खाना खाने-खुवाउने, घर-आँगन, बाटो-घाटो, गाउँ-बस्ती सफासुग्घर राख्ने जस्ता काम यस चाडमा विशेष उत्साहका साथ गरिन्छ । यसो गरेमा वर्षभरि नै सुख प्राप्ति हुने, दैविक शक्ति प्राप्त भई कार्य सफलता मिल्ने शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
पहिले दशैंमा आफ्नो घर रङ्ग लगाउने, गाउँ-घरमा लिङ्गे पिङ हाल्ने, आफूसँग जे छ त्यही कुरामा रमाउने, परिवारहरू भेटघाट गर्ने, मीठो मीठो कुरा खाने गरिन्थ्यो तर, अहिले विगतको तुलनामा दशैंमा विकृति पनि उत्तिकै बढ्दो क्रममा देखिन्छ।
अहिले दशैं एक-अर्काको देखासिकीमा मनाउने गरिन्छ। कसले कस्तो लुगा लगायो ? कस्तो खानेकुरा खायो ? कसरी अरु भन्दा राम्रो देखिने ? भन्दै आफूसँग पैसा नहुँदा पनि ऋण लिएर दशैं मनाउने गरिन्छ। दशैंको नाममा विकृति दिन दिनै बढ्दो क्रममा छ। पहिले गाउँ-घरमा दशैंको बेला हालिने लिङ्गे पिङ, रोटेपिङ अहिले कतै कतै मात्र देखिन थालेको छ । पारिवारिक भेटघाटको नाउँमा जुवा, तासको विकृति बढ्दो छ। गाउँ-घरमा रात भरि दशैंकै नाममा रक्सी पिउँदै जुवा, तास खेलिने गरिन्छ।
यता दशैंको बेला व्यवसायीहरूले सर्वसाधारण जनतालाई म्याद गुज्रिएका सामानहरू बिक्री गर्दै आएका छन् । सहरबाट दशैं मनाउन घर फर्किनेहरू पनि लुटिँदै आएका छन् ।
घर फर्कँदा टिकट नपाउँदा यात्रुले महँगो शुल्क तिर्नुपरेको छ। दशैंकै बेला घर फर्कंदा अव्यवस्थित बाटो र चालकको लापरवाहीका कारण कयौंको लागि दशैं दशा साबित हुँदै आएको छ। यो विषयमा सरकार आफ्नो दायित्वबाट पन्छिँदै आएको छ। सरकारले यो विषय देखे नदेखेको जस्तो गर्दै आएको छ। चाडबाडको बेला सरकार आफ्नु दायित्वबाट पन्छिँदा नागरिकहरूले सास्ती भोग्दै आएका छन् भने अर्कोतर्फ देखावटी र बनावटी गर्न खोज्दा हाम्रा रीतिरिवाज कमसल हुँदै गएको छ।
सामाजिक मूल्य मान्यता र ऐतिहासिक महत्त्वहरूलाई भुल्दै नयाँ र देखावटी हँसिमजाकहरू हुन थालेका छन् । यस्तै, प्रकृतिका बनावटी चाडबाड विकसित हुँदै जाने हो भने हाम्रो सांस्कृतिक मूल्य मान्यता हाम्रो भावी पुस्ताले देख्न पाउलान् या नपाउलान् भन्ने तर्क मनमा गुञ्जिन थालेको छ।
मीठो खाने, राम्रो लगाउने र मनोरञ्जन गर्ने फुर्सदिलो क्षण मात्र नभएर नातासम्बन्धलाई गाढा बनाउने तथा चिसिएको सम्बन्धलाई न्यानो बनाउने पारिवारिक तथा सांस्कृतिक अवसरको रूपमा पनि दशैंको महत्त्व छ । सरकारले पनि यस पर्वमा लामो छुट्टी दिएर र एक महिनाको तलब दशैं खर्च दिएर दशैंको महत्त्वलाई अझै उजागर गरेको छ । हुने खानेहरूलाई सधैंको दशैं कार्यक्रम छँदै छ ।
हुँदा खानेहरूलाई दशैं दशा नबनोस् । देशको आर्थिक अवस्था झनै नाजुक बन्दै गइरहेको छ । सामान्य दुई छाक टार्न पनि विदेसिनुपर्ने अवस्था सिर्जना भएको छ। यस्तो अवस्थामा देशमा नै सरकारले केही गर्न सक्ने अवस्थाको सिर्जना गरोस् । दशैं राष्ट्रिय एकताको कारण बनोस्, देशमा सर्वत्र शान्ति छाओस्, समाजमा सकारात्मक सोचको विकास गर्न दशैं कोशेढुङ्गा बनोस्। देश तथा विदेशमा रहनुभएका आमाबुबा, दाजुभाइ तथा दिदी-बहिनीहरूमा विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना !
Facebook Comment
Comment