ब्लग

उता युवा बंकरमा, यता सरकार ‘अपराधी’ को उद्धारमा

सुन्नुहोस्

अहिले इजरायलमा निरन्तरको रकेट आक्रमणले त्रासको वातावरण छ । तर, नेपालले पाँच दिनसम्म एक जनालाई पनि स्वदेश फर्काउन सकेको छैन। न त शव नै परिवारको जिम्मा लगाउन सकेको छ।

उता युवा बंकरमा, यता सरकार ‘अपराधी’ को उद्धारमा

काठमाडौं। आकाश धुवाँको मुस्लोले धमिलिएको छ । जमिन रक्ताम्य छ । हरबखत गोली प्रहार भइरहेका छन् । रकेट र ठुल्ठूला बम विस्फोटका आवाजले थर्काइरहेको छ । हजारौं रकेटबाट हमला भइरहेको छ । यो इजरायलको पाँच दिन यताको दृश्य हो ।

मध्यपूर्वी देश इजरायली भूमिमा र इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीचको भीषण युद्ध बुधबार पाचौँ दिन पनि जारी छ । रोजगारी र सीप सिक्न गएका कैयौं नेपालीसमेत युद्धको चपेटामा छन् ।

इजरायल र प्यालेस्टाइनबीच जारी तनावमा कुनै साइनो सम्बन्ध नराख्ने नेपाली नागरिकसमेत त्यहाँ मारिएका छन् । १० जनाको मृत्यु भएको छ भने एकजना नेपाली हराइरहेका छन् ।

अहिले इजरायलमा निरन्तरको रकेट आक्रमणले त्रासको वातावरण छ । तर, नेपालले पाँच दिनसम्म एक जनालाई पनि स्वदेश फर्काउन सकेको छैन। न त शव नै परिवारको जिम्मा लगाउन सकेको छ ।

भारतले इजरायल युद्धमा फसेका आफ्ना नागरिकलाई भोलिपल्टैदेखि उद्धार सुरु गरेको थियो । अरू धेरै देशले आफ्ना नागरिक लगिसकेका छन् । भारतले इजरायलमा फसेकाको २४ घण्टा पनि नबित्दै उद्धार गर्‍यो । हाम्रो भने पाँच दिनसम्म बल्ल जहाज पठाउने चाँजोपाँजो मिलाइँदैछ ।

०००

सरकारले गर्नुपर्ने र पढ्नुपर्ने पाठको सूची त लामै छ । पहिलो त, सरकारले तत्काल देखिएका चुनौतीको सम्बोधन गर्नु छ । संकटमा परेका विद्यार्थीको उद्धार युद्धस्तरमा गर्नु छ । पाँच दिन भइसकेको छ, शव ल्याउन ढिला भइसकेको छ ।

आफ्नो सन्तान गुमाउँदाको पीडा अभिभावकलाई थाहा हुन्छ । विदेसिन बाध्य बनाउने सरकारलाई के थाहा । इजरायल युद्धको बाछिटा सुनसरी, सल्यानदेखि बझाङको चैनपुरसम्म पुगेको छ । मृतक परिवारको सहमानुभूतिको लागि सिङ्गो नेपाल छ, तर सरकार छैन ।

भगवानले धेरैभन्दा धेरै सहन शक्ति दिउन् भनेर सिङ्गो नेपालीले कामना गरिरहेका छन्, तर सरकारमा हुनेहरूले उनीहरूलाई आफन्तको शव समेत ल्याइदिन सकेका छैनन् ।

सबै देशले आफ्ना नागरिक इजरायलबाट फिर्ता लगिसक्दा नेपाली विद्यार्थी भने अलपत्र अवस्थामा छन् । कतिपय अझै बंकरमै बसेर टिभीमा दृश्य हेरिरहेका छन्, जुन अत्यन्त त्रासदपूर्ण रहेको उनीहरू बताउँछन् ।

उनीहरूको मन-मुटु काँपेको छ । हमासले पहिला माथिबाट रकेट खसाउँथे। यसपालि त सडकमै हत्या गर्दै हिँडेको छ । आक्रमणकारीले जसलाई भेट्यो उसलाई मारिरहेका दृश्य उनीहरूले टिभीमा देखिरहेका छन् । नेपालका आफन्तलाई समेत यो सुन्दा झन् असह्य पीडा भएको छ ।

केही नेपाली भने ज्यान बचाउन भाग्दाभाग्दै इजिप्टको सीमा क्षेत्रमा पुगेका छन् । ३२ नेपाली इजिप्टको बोर्डर नजिक पुगेको खबर आएका छन् । उनीहरूले नेपाल फर्काइदिन पनि सामाजिक सञ्जालमार्फत हारगुहार गरिरहेका छन् ।

उनीहरूले एकजोर कपडा र एक थान पासपोर्ट ब्यागमा हालेर आकाशतिर हेरेको चार दिन बितिसक्यो । यता सरकारी निकाय भने पहल भइरहेको बताउँदै पन्छिरहेको छ ।

बंकरमा बसेर मृत्युसँग लडिरहेका नेपालीको आवाजमा पीडा र आक्रोश मिसिएको छ । नेपालीले नेपाल सरकारको अभिभावकीय भूमिका खोजिरहेका छन् । द्वन्द्वको इपिसेन्टमा सयौं नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरू सुरक्षित हुन छिटोभन्दा छिटो मातृभूमि टेक्न चाहिरहेका छन् । जति धेरै समय बस्यो ज्यानको जोखिम उत्तिकै बढ्दै छ ।

इजरायल र प्यालेस्टाइनबीचको युद्ध तत्काल रोक्न सक्ने अवस्था छैन । सरकारको प्राथमिकता नागरिकको ज्यान जोगाउनेतर्फ जानु पर्ने हो । तर, त्यस्तो तदारुकता देखिएको छैन।

०००

इजरायलमा नेपालीको बगेको रगतले मुखैमा आएको महान् चाड दशैँको उत्सव फिक्का–फिक्का बनाएको छ । सबैभन्दा धेरैले ज्यान गुमाएका सुदूरपश्चिममा त झन् उल्लासको माहोल देखिँदैन । इजरायलका कृषि फर्ममा काम गर्न गएका अधिकांश विद्यार्थी उद्धार चाहिरहेका छन् । नेपालले कूटनीतिक पहलबाटै आफूहरूलाई स्वदेश फर्काओस् भन्ने चाहनामा छन् ।

तर, विगतमा भएका गल्ती र हाम्रो शासन प्रणाली एवम् संस्थाका भ्वाङ यतिबेला हमासले छ्याङ्गै देखाइदिएको छ । हवाई उडानको रुटका कारण उद्धारमा अलमल भएको रटानमा सरकार छ । नेपाल र इजरायलबीच जुन १, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायललाई मान्यता दिँदै कूटनीतिक सम्बन्ध राख्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र हो ।

दुवै छिमेकी भारत र चीनले समेत सम्बन्ध नराख्दा नेपालले लगाएको गुन उनीहरूले पक्कै बिर्सेका छैनन् होला । सम्बन्ध स्थापनाको आठ महिनापछि नै इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो । नेपालले भने २००७ अगस्टमा दूतावास स्थापना गरेको हो । यत्ति घनिष्ठ मित्रराष्ट्रमा आफ्नो जहाज पठाउनसमेत नसक्ने अवस्था आउनु ज्यादै लज्जा र दु:खको कुरा हो ।

यसबाट सिक्ने पाठ भनेको देशमा पार्टीका व्यक्तिलाई राजदूत जस्ता संवेदनशील ठाउँमा भर्ती केन्द्र बनाउन हुँदैनथ्यो । स्वतन्त्र र विज्ञ व्यक्ति राजदूत हुन्थे भने इजरायल प्रकरणमा नेपाली विद्यार्थीको पहिल्यै उद्धार भइसक्थ्यो ।

उनीहरूलाई उद्धार गरेर स्वदेश ल्याउनुको उद्देश्य सुरक्षित बनाउनु हो । बम बारुदको धुवाँमुनि बसेका नेपालीको भोगाइ आफैँमा दुःखदायी छ ।

यसमा सरकारले हवाई रुटको समस्या भनेर सुख पाउँदैन र नागरिकलाई सरकारको साथ चाहिने नै यस्तो अप्ठ्यारो परेका बेलामा हो । सामान्य बेलामा त उनीहरूले आफ्नो गरेर खाएकै छन् नि, बरु राज्यलाई दुई-चार पैसा कुत पनि तिरेका छन् ।

०००

पछिल्लो समयमा सरकारको काम र सिङ्गो राज्य प्रणालीमाथि प्रश्न उठिरहेको छ। मान्छे काटेर सजाय पाएका नेपालगञ्जका गुन्डा नाइके रिगललाई जेलबाट छुटाएको सरकारले इजरायलमा अलपत्र विद्यार्थीको उद्धारमा दिनुपर्ने जति चासो नदिएपछि झन् प्रशंसा बटुल्ने कुरै भएन ।

संविधान दिवसको अवसरमा रिगल जस्तै सयौंलाई जेलबाट सरकारले छुटायो । जो ठूला दल निकटका र उनीहरूको नेता थिए । कानुनले दोषी भनेकालाई सरकारले सभ्य, संस्कारी र गुणकारी मानवको पगरी लगाइदिएर अनुकरणीय युवा नेतामा रूपान्तरण गराइदियो ।

उनीहरूको फूलमाला र अबिर जात्राको स्वागतमा सिङ्गो समाजको नग्नस्वरूप प्रदर्शित भयो । उता गरिब जनताका छोराछोरीको क्रन्दनमा सरकार भने मूकदर्शक बनिरहेको छ । नेपालमा एअर एम्बुलेन्स, हेलिकप्टर, नेताहरूको उद्धारको लागि मात्रै छ। इजरायलमा बंकरभित्र बसेका नेपालीलाई उद्धार गर्न न एअर एम्बुलेन्स पुग्यो, न प्लेन नै छ।

नेताका छोराछोरी फसेका भए तत्कालै प्लेन चार्टर हुनसक्थो। नेताहरूलाई करोडौँ कमिसन बुझाउने व्यापारीका छोराछोरी हुन्थे भने उहिल्यै ल्याइसक्थ्यो होला । इजरायलमा फस्ने त गरिब जनताका छोराछोरी हुन्, न कसैलाई प्रभाव पार्न सक्छन्, न त पावर र पहुँच ।

ती निमुखा जनताका छोराछोरी तै पनि उद्धारको पर्खाइमा आकाशतिर हेरेर जहाज कुरिरहेका छन् । उनीहरूको देश फर्किने आशा मरेको छैन, बंकर सहारा बनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप ब्लग

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved