माओवादी नेतृत्व दाउपेचमा लागेकाले एकता वार्ताको औचित्य हाललाई सकिएको नेसपाको निष्कर्ष

'समाजवादी केन्द्र निर्माणमा भन्दा अंकगणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखियो'

उक्त पार्टीको केन्द्रीय कार्यकारिणीको बैठकले एकताको आधारका रुपमा पठाएको नौबुँदे प्रस्तावमा माओवादी छलफल गर्न इच्छुक नभएको र समाजवादी ध्रुवीकरणभन्दा दाउपेचको राजनीतिमा लागेको ठहर गर्दै तत्कालका लागि वार्ताको औचित्य नरहेको निष्कर्ष निकालेको हो ।

नेपालभ्युज

माओवादी नेतृत्व दाउपेचमा लागेकाले एकता वार्ताको औचित्य हाललाई सकिएको नेसपाको निष्कर्ष

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपाले नेकपा माओवादी केन्द्रसँग चलिरहेको एकता प्रक्रिया तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । उक्त पार्टीले माओवादीसँग एकता वार्ताको औचित्यसमेत तत्कालका लागि सकिएको निष्कर्ष निकालेको छ ।

उक्त पार्टीको केन्द्रीय कार्यकारिणीको बैठकले एकताको आधारका रुपमा पठाएको नौबुँदे प्रस्तावमा माओवादी छलफल गर्न इच्छुक नभएको र समाजवादी ध्रुवीकरणभन्दा दाउपेचको राजनीतिमा लागेको ठहर गर्दै तत्कालका लागि वार्ताको औचित्य नरहेको निष्कर्ष निकालेको हो । नौ बुँदेबारे माओवादीको औपचारिक धारणा नआएसम्म वार्ता अघि नबढाउने नेसपाको निर्णय छ ।

पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार बैठकका निर्णय सार्वजनिक गर्न जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेकपा (माओवादी केन्द्र) सँग गत संसदीय र प्रादेशिक निर्वाचनको बेलादेखि सहकार्य गर्दै नयाँ आधारमा नयाँ समाजवादी केन्द्र निर्माणका निम्ति वार्ता प्रक्रिया शुरु गरेका थियौँ । त्यस क्रममा हामीले नयाँ युगको नयाँ समुन्नत समाजवादी पार्टीको विचार, नीति, कार्यक्रम, संगठनात्मक सिद्धान्त, कार्यशैली सहितको नौ–बुँदे पार्टी एकताका आधारसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरेका थियौँ । परन्तु माओवादी केन्द्रको नेतृत्वले त्यो महत्त्वपूर्ण नौ–बुँदे प्रस्तावमाथि छलफल नै गर्न नचाहेको र सिद्धान्तनिष्ठ नयाँ समाजवादी केन्द्रको निर्माणमा भन्दा तत्काल संसदीय अंक गणित मिलाएर सत्तामा टाँसिरहने प्रवृत्ति देखाइरहेको छ ।’

माओवादीले एकताका लागि भन्दै हालै पार्टीका एक अध्यक्षलाई पठाएको पत्रलाई नेसपाले दाउपेचको राजनीति भनेको छ । ‘हालै माओवादी केन्द्रको नेतृत्वले हाम्रो पार्टीका एक अध्यक्षलाई पठाएको पत्रले पनि रूपान्तरणसहितको समाजवादी ध्रुवीकरणभन्दा दाउपेचको राजनीति मात्रै गर्न खोजिरहेको झल्को दिन्छ । यो स्थितिमा हामीले प्रस्तुत गरेको ९-बुँदे समष्टिगत प्रस्तावबारे माओवादीको औपचारिक धारणा नआएसम्म वार्ताको औचित्य नरहेको हाम्रो पार्टी प्रष्ट पार्न चाहन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

नेसपाले आगामी दिनमा संगठन र जनआधार निर्माण र विस्तारमा केन्द्रित रहँदै जनसरोकारका राष्ट्रिय मुद्दामा विभिन्न पार्टी र समूहहरूसँग सहकार्य, कार्यगत एकता गर्ने र विचार, नीति, कार्यक्रम मिल्ने शक्तिसँग भरपर्दो अग्रगामी वैकल्पिक शक्ति निर्माणका निम्ति संयुक्त मोर्चा र ध्रुवीकरणका लागि पनि निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता जनाएको छ ।

बैठकले नेपाली अर्थतन्त्रमा विद्यमान विभिन्न संरचनात्मक समस्या गम्भीर बन्दै गएको, चौतर्फी आर्थिक मन्दी, चाडबाडको समयमा चुलिँदै गएको महँगी तथा कालो बजारी, अनियन्त्रित भ्रष्टाचार तथा बिचौलियागिरी, बैंकिङ्ग प्रणालीमा अधिक तरलता हुँदाहुँदै विरोधाभाषपूर्ण उच्च ब्याजदर, साना उद्यमी व्यवसायी तथा आम उपभोक्ताले झेल्नुपरेका समस्या र यी सबैप्रति सरकारको उदासीनता अत्यन्त गम्भीर र आपत्तिजनक रहेको ठहर गरेको छ ।

यी समस्यालाई संरचनात्मक ढंगले हल गर्न र तत्काल महँगी, भ्रष्टाचार, कालोबजारी, यातायातमा अनियन्त्रित भाडा वृद्धि, बिचौलियाको बिगबिगी लगायतका विकृति विसंगति रोकेर जनतालाई राहतको प्रत्याभूति गराउन नेसपाले सरकारसँग माग गरेको छ ।

यस्तै, नेसपाले देशका विभिन्न स्थानमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्नेगरी अवाञ्छित र हिंसात्मक गतिविधि हुनु अत्यन्त चिन्ताजनक र खेदजनक रहेको भन्दै  त्यस्ता गतिविधिमा भित्री तथा बाहिरी प्रतिगामी तत्त्वको चलखेलको आभाष देखिन थालेको ठहरसमेत गरेको छ । उसले त्यस्ता तत्त्वलाई बेलैमा कारबाहीको दायरामा ल्याई निस्तेज पार्न र आम जनतामा सुरक्षाको प्रत्याभूति गराउन तथा सरकारसँग आग्रह गरेको छ ।

बैठकले पार्टीको महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गर्दै त्यसको तयारीका लागि मंसिर ६ र ७ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved