आलेख

वामपन्थ बिनाका कम्युनिस्ट

रामनाम जप्दै सुनको जलहरीमा माथा टेकेर सत्तारोहणको सपना देख्ने कम्युनिस्टहरू कसरी अग्रगामी ? जो अग्रगामी होइनन्, उनीहरू वामपन्थी कसरी हुन्छन् ? स्पष्ट हुन्छ, नेपालका कम्युनिस्टहरू दलाल पुँजीवादी सत्ताका मतियार हुन् । भुईंको पसिना र सडकको आँसुलाई अवमूल्यन गर्ने कम्युनिस्टहरू के को वामपन्थी ?

वामपन्थ बिनाका कम्युनिस्ट

असोज पहिलो हप्ता काठमाडौंको सडकमा एकजना युवा देखापरे । ईः नाम गरेका ती युवाले काठमाडौं महानगरलाई गरिब नागरिकको पक्षमा जवाफदेही हुन आह्वान गर्दै एउटा फरक आन्दोलनको नेतृत्व गरे । केही अगाडि चमेली समूह पनि यसरी नै आन्दोलनमा देखिएको थियो । आवाज विहीनहरूको पक्षमा बोल्ने ईः वा चमेली समूहको आशय थियो– जनप्रतिनिधिहरू आफ्ना वाचा नबिर्स । गरिबलाई अपमानित गरेर बनेको विकास फगत ‘कस्मेटिक’ हो ।

फुटपाथ खालि गर्ने नाममा महानगरले गरिबहरूलाई जसरी विकल्पहीन बनायो, त्यो निश्चय नै दुःखद थियो । तर, गरिबको पक्षमा बोल्नुपर्ने सडक मौन थियो । यो विषयमा न त यहाँका कम्युनिस्टहरू संवेदनशील देखिए, न त तथाकथित प्रगतिशील ? किन यस्तो भयो ? किन नेपालका कम्युनिस्ट आजकल सडकमा देखिँदैनन् ? र, किन नयाँ पुस्ताका नयाँ-नयाँ मान्छे सडकमा देखिँदैछन् ?

यो नेपाली कम्युनिस्टहरूको पछिल्लो प्रवृत्तिलाई बुझ्न सहयोग गर्ने एक प्रतिनिधि घटना हो । जसले कम्युनिस्टहरूको दुविधा र नेपाली वामपन्थको संकटलाई एकैपटक उजागर गर्दछन् ।

विषय प्रवेश

सहरमा बस्ने कतिपय मान्छेमा एउटा भ्रम छ, ‘वामपन्थी र कम्युनिस्ट एउटै हुन्’ । यही भ्रमका कारण वामपन्थीहरू अनावश्यक राजनीतिक पूर्वाग्रहको शिकार पनि भएका छन् । सर्वत्र । नेपालमै पनि एमाले वा माओवादीका दोषबाट बिच्किएका मान्छेहरू कहिलेकाहीँ त तर्किंदै भन्छन्– ‘यी वामपन्थीहरूको जातै खराब ।’

‘गरिब देशका मान्छेलाई बेवकुफ बनाउने हो भने, कम्युनिस्ट हुनु जति गजबको कुरा अर्को हुनै सक्दैन । अर्थात्, मान्छेलाई सपना देखायो, विद्रोहमा सामेल गर्‍यो, भड्कायो र आफू सत्तामा पुगेपछि सबै कुरा बिर्सियो ।’ आजको पुस्ताले वामपन्थी भनेको पनि यही बुझ्छ । कतिपय मान्छेहरू कुरा गर्दा कम्युनिस्ट भन्नुपर्ने ठाउँमा वामपन्थी भन्छन्, वामपन्थी भन्नुपर्ने ठाउँमा कम्युनिस्ट ।

वस्तुतः कम्युनिस्ट भन्नु र वामपन्थी भन्नु अलग कुरा हो । के हो वामपन्थ ? कम्युनिस्ट र वामपन्थीमा के फरक छ ? आजलाई यिनै प्रश्न माथि संक्षिप्त कुरा गरौं ।

वामपन्थको औपचारिक इतिहासलाई फ्रान्सेली राज्य क्रान्ति (सन् १७८९)सँग जोडेर हेरिन्छ । त्यो यस्तो क्रान्ति थियो जसले लगभग २३ सय वर्ष पुरानो अन्धकारको युगलाई तोड्यो र मान्छेहरूमा नयाँ आशा जागृत गर्‍यो । यही बिन्दुबाट संसारभर निरंकुश राजतन्त्रको सिंहासन हल्लिन थाल्यो । लोकतन्त्रको शंखघोष भयो । र, वंश परम्परा, कुलीनहरूको शासन र चर्चलाई (धर्म) राजकाजबाट अलग गर्ने प्रयत्न थालिए ।

जब फ्रान्सेली राज्य क्रान्तिलाई निष्कर्षमा पुर्‍याउन केही युगीन निर्णय गर्नुपर्ने क्षण आइलाग्यो तब फ्रान्सका परम्परावादी र अग्रगामी शक्तिका बीचमा ठूलो वैचारिक टकराव भयो । संविधान बनाउन ‘स्टेट जेनेरल’ बनाइयो । स्टेट जेनेरलका बैठक बस्न थाले । बैठकमा दुईथरि विचार आए । एउटा थियो, कुलीन वा परम्परागत । अर्को थियो आमूल परिवर्तनको प्रगतिशील विचार ।

प्रश्नहरू थिए, राजाको विषयमा के गर्ने ? धर्मको विषयमा के गर्ने ? सत्ताको अनुहार कस्तो बनाउने ? सत्ताको स्वामी को हुने ? आदि । यिनै प्रश्न र विचारहरूको वरिपरि मान्छे ध्रुविकृत हुँदै गए ।

जो अग्रगामी विचारको पक्षमा थिए, उनीहरू स्टेट जेनेरल एसेम्लीमा सभाध्यक्षको बायाँतिर बसे । जो परम्परावादी थिए उनीहरू दायाँतिर । अन्ततः त्यो विभाजन संसारभर एक राजनीतिक अवधारणाको रूपमा स्थापित हुँदै गयो । त्यसपछि विश्वराजनीति वामपन्थी (लेफ्ट) र दक्षिणपन्थी (राइट) धारमा बाँडियो ।

यथास्थितिको निरन्तरता चाहनेहरू दक्षिणपन्थी भए । परिवर्तन चाहनेहरू वामपन्थी । रोचक तथ्य के भने, जतिखेर स्वयं कार्ल मार्क्स जन्मिएकै थिएनन् (सन् १८१८) त्यो भन्दा धेरै अगाडि नै (सन् १७८९) युरोपमा वामपन्थीले परिवर्तनका लागि लडिरहेका थिए ।

यहाँ फ्रान्स एउटा खास सन्दर्भ हो । वस्तुतः बेलायतको गौरवमय क्रान्ति, फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रता संग्राम त्यो समयका अग्रगामी आन्दोलन थिए । जसले परम्परालाई तोडे र नवीन युगको सूत्रपात गरे । त्यसैकारण, मानव सभ्यता लोकतन्त्र, नागरिक अधिकार र स्वतन्त्रताबाट सुसज्जित भयो । यी पहिलो युगका नवीन उपलब्धि थिए ।

प्रत्येक क्रान्तिको एउटा युग हुन्छ । युग सकिएपछि क्रान्तिका परम्परागत योगदानले मात्र मान्छेलाई पुग्दैन । मान्छेलाई नयाँ चिज चाहिन्छ । राज्य सत्ता र राजनीतिले समयअनुसार आफूलाई रूपान्तरित गर्दै गए क्रान्ति दिगो हुन्छ । र, निरन्तर त्यसले ऊर्जा दिन्छ । त्यसो गर्न नसके, कुनै समयमा प्राप्त क्रान्तिका उपलब्धि समयको वेगमा पछाडि पर्दछन् । र, मान्छेलाई अर्को क्रान्तिको आवश्यकता पर्दछ ।

यो अर्थमा एकपटकको वामपन्थी सधैंका लागि वामपन्थी हुँदैन । कुनै समयको घनघोर वामपन्थीले या त आफूभित्रको वामपन्थ बचाउनुपर्छ, अन्यथा समयको वेगमा उसले आफ्नो चरित्र गुमाउँछ । त्यसपछि उसलाई नयाँ वामपन्थीले विस्थापित गरिदिन्छन् । यो निरन्तरको प्रक्रिया हो ।

कम्युनिस्ट कि वामपन्थी ?

समयक्रममा बेलायतको गौरवमय क्रान्ति, फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रता संग्रामले ल्याएका उपलब्धि विस्तारै अपुग हुँदै गए । अर्थात्, जनप्रतिनिधि भ्रष्ट र अराजक बन्न थाले । निर्वाचित प्रतिनिधिको जनतासँग प्रेम र निष्ठा रहेन । उनीहरूले मतदाताबाट प्राप्त सार्वभौमअधिकार र शक्तिको दुरुपयोग गर्न थाले । लोकतान्त्रिक सत्ता, बिचौलिया सत्तामा रूपान्तरित भयो ।

समय यस्तो भयो कि, कुनै समयका परिवर्तनकारीहरू नयाँ सम्भ्रान्त वर्ग, बिचौलिया र आसेपासेमा फेरिए । मुख्यतः औद्योगिक क्रान्तिले हुर्काएको परम्परागत पुँजीवादी (दलाल पुँजीवादी) समूह, नाफाखोर वर्ग र राजनीतिक सम्भ्रान्तको मिलेमतो देखापर्‍यो । साधारण मान्छेहरू त्यसको शोषणमा परे । र, समाजमा अर्को विद्रोह वा क्रान्तिको आवश्यकता भयो । यसरी पुराना परिवर्तनकारी वा वामपन्थीहरू परिवर्तनकारी रहेनन् । समाजमा नयाँ वामपन्थी आवश्यक भए ।

जब, मार्क्स र एंगेल्सले मिलेर सन् १८४७ मा कम्युनिस्ट पार्टीको घोषणापत्र लेखे, त्यसले बेलायतको गौरवमय क्रान्ति, फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रताले दिएका उपलब्धिलाई नयाँ ढंगले प्रश्नको कठघरामा उभ्यायो । अथवा, पुरानो क्रान्तिका उपलधिमाथि नयाँ शिराबाट प्रश्नहरू उठे । मुख्यतः मार्क्सवादी कम्युनिस्टहरूले भने– संसारमा वर्गहरू छन् । वर्गहरू बीचमा द्वन्द्व छ । शोषकवर्गले मजदुर, किसानमाथि अमानवीय शोषण गरेर राज्यसत्तामा वर्चश्व स्थापित गरेको छ । उसले गरिब, मजदुर र किसानमाथि श्रम शोषण गरेर नाफा आर्जन गरेको छ । जो अमानवीय छ ।

यस्तो शोषणकारी व्यवस्थालाई तमाम शोषित वर्गले मिलेर भत्काउनुपर्छ र समाजवाद निर्माण गर्नुपर्छ । अनिमात्र संसारका मजदुर, किसान, महिला, गरिब र सीमान्तकृतले न्याय पाउँछन् । कम्युनिस्ट घोषणापत्र प्रकाशन भएसँगै कम्युनिस्ट पार्टी खुल्न थाले । संसारभर सर्वहारा क्रान्तिको नयाँ लहर सुरु भयो । क्रान्तिको आह्वानले विश्व राजनीतिमा नयाँ हलचल ल्यायो । उनीहरूले समातेका एजेन्डा परम्परागत लोकतन्त्रका एजेन्डाभन्दा भिन्न थिए । उनीहरू सडकमा थिए । महिला, श्रमिक, गरिब र दलित अधिकारको कुरा गर्थे । भूमिसुधार उनीहरूको नारा थियो । आठ घण्टा काम । न्यायोचित ज्याला । अतिरिक्त श्रम शोषणको अन्त्य ।

उनीहरू सडकको गीत गाउँथे । परिवर्तनको सपना देख्थे । उनीहरू बेलायतको गौरवमय क्रान्ति, फ्रान्सको राज्य क्रान्ति र अमेरिकाको स्वतन्त्रताले दिएका लोकतान्त्रिक उपलब्धिभन्दा अगाडि जान चाहन्थे । यसैकारण विस्तारै कम्युनिस्टहरू नयाँ युगका नयाँ वामपन्थी बनेर देखापरे ।

लेनिनको नेतृत्वमा रुसमा सर्वहारा क्रान्ति भयो । अक्टोबर क्रान्ति । जसले पूर्वी युरोप, चीन, रुसलगायतका देशमा सर्वहारा आन्दोलनलाई स्थापित गरिदियो । त्यसपछि कम्युनिस्टहरू सत्तामा पुगे । र, कुनै समय मस्कोका सडकमा नारा लगाउने वामपन्थी कमरेडहरू सत्ताधारी शासकमा रूपान्तरित हुँदै गए ।

विस्तारै उनीहरू स्वयं संस्थापन हुँदै गए । स्वयं नाफाखोर हुँदै गए । कमिसनखोर हुँदै गए । त्यसले उनीहरूलाई नयाँ वर्गमा रूपान्तरित गर्‍यो । उनीहरूमा आन्दोलनको ऊर्जा र सपना रहेन । समय चेतना सत्ताको रसरंगमा भुत्ते हुँदै गयो । उनीहरू जड भए । संसारभर यस्तै भयो ।

यसको अर्थ के हो ? के यो सबै भइरहँदा पनि कम्युनिस्टहरू चै वामपन्थी नै रहन्छन् ? रहँदैनन् । जस्तो कि, कुनै बेला पश्चिम बंगालमा कम्युनिस्ट सत्ता थियो, जसले नक्सलवारीको किसान विद्रोहलाई दमन गर्‍यो । पश्चिम बंगालमा रिक्सा तान्नेको जीवनलाई उसको सत्तारोहणले कुनै फरक पारेन ।

नेपाल स्वयं यसको अर्को उदाहरण हो । जहाँ लामो समयदेखि कम्युनिस्टहरू सत्तामा छन् । तर, पनि सत्ताले महिला, दलित र जनजातिको आवाजलाई हरदम अवमूल्यन गर्छ र गरिरहेको छ । त्यसैले त आलोचकहरू प्रश्न गर्दछन्, परिवर्तनको भोक र सपना सकिएका सत्ताधारी कम्युनिस्टहरू के को वामपन्थी ? जब स्वयं कम्युनिस्टहरू सत्तामा पुग्नासाथ भ्रष्टाचारमा लिप्त हुन्छन्, जब उनीहरू भुइँको आवाजप्रति पूर्वाग्रही बन्छन् र जब आफ्नै नेतृत्वमा भएका आन्दोलनका माग र नाराप्रति उदासीन बन्दछन्, उनीहरू वामपन्थी रहँदैनन् । उनीहरू फगत शासकमा रूपान्तरित हुन्छन् ।

अतः यहाँ कम्युनिस्ट, समाजवादी वा वामपन्थी भन्नु नितान्त अलग कुरा हो । मान्छेहरू नजानेरै यसलाई मिसमास गर्दछन् र अर्थको अनर्थ लगाउँछन् । असलमा वामपन्थ भनेको कम्युनिस्ट होइन । यो निरन्तर अग्रगमनको अलग अवधारणा हो । वामपन्थ निरन्तर जनपक्षीय विचार हो । यो निरन्तर न्यायको कुरा गर्ने र निरन्तर सत्तालाई अग्रगमनतर्फ उत्प्रेरित गर्ने विचार हो ।

अवश्य नै कुनै बेला नेपालका कम्युनिस्टहरू वामपन्थी थिए । कांग्रेस स्वयं जनअधिकार र लोकतन्त्रको कुरा गर्दथ्यो । अतः ऊ लोकतन्त्रवादी पनि थियो र वामपन्थी पनि । नेपालका केही बुद्धिजीविहरू वामपन्थमाथि लेखेर, बोलेर सडकलाई सघाउँथे । सत्तालाई सोध्न उनीहरूसँग मनग्ये प्रश्न हुन्थे । त्यसैले उनीहरू पनि वामपन्थी थिए ।

तर, अहिले कम्युनिस्टहरूले सडक छोडे, बुद्धिजीविहरुले प्रश्न । त्यसपछि, न त उनीहरू प्रगतिशील रहे, न त वामपन्थी । उनीहरू त भयंकर वर्चश्ववादी संस्थापनमा पो रूपान्तरित भए । यो अर्थमा वामपन्थी हुनु कम्युनिस्ट हुनुभन्दा फरक कुरा हो । यो अर्थमा आजका दिन वामपन्थी हुनु कम्युनिस्ट हुनुभन्दा प्रगतिशील कुरा हो ।

नेपालमा वामपन्थ

केही प्रश्नबाट नेपालका कम्युनिस्टहरूको वामपन्थ परीक्षण गरौं । जस्तो, वामपन्थीहरू निरन्तर अग्रगामी हुन्छन् । के नेपालका कम्युनिस्टहरू निरन्तर अग्रगामी छन् ? उनीहरू अग्रगामी छैनन्, सत्तागामी छन् ।

खासमा, कम्युनिस्टहरू सँधै अग्रगामी हुन्छन् भन्ने भाष्य नै बेठीक छ । कम्युनिस्टहरू पनि जड र परम्परावादी हुन्छन् । अन्यथा, यदि नेपालका कम्युनिस्ट अग्रगामी हुन् भने, उनीहरूसँग वैचारिक, राजनीतिक र शासकीय संरचनाका नवीन प्रस्ताव के छन् ? मार्क्सवादलाई समयानुकूल र उन्नत बनाउन उनीहरूले गरेको योगदान के हो ? परम्परागत लोकतन्त्रलाई उनीहरू कसरी समुन्नत गर्न चाहन्छन् ? दलाल पुँजीवादी चंगुलबाट मान्छेलाई निकाल्नेउनीहरूसँग नवीन योजना के छन् ?

थप केही प्रश्नहरू हेरौं । जस्तो कि, आधार तहलाई अधिकार सम्पन्न बनाउन नेपालका कम्युनिस्टले सत्तामा पुगेर नयाँ के गरे ? आधारवर्गको समुन्नति र श्रमशोषणको अन्त्यका लागि कम्युनिस्टहरूले गरेका राम्रा काम के हुन् ? छुवाछूतका विषयमा उनीहरूले सत्तामा पुगेर गरेको उल्लेख्य काम के हो ? मधेसमा दहेजका कारण जलाइने महिलाका पक्षमा उनीहरू किन सुषुप्त छन् ?

नेपालका कम्युनिस्टहरू शक्तिको केन्द्रीकरणका लागि किन यति बिघ्न आशक्त छन् ? स्वयं कम्युनिस्टहरू भन्छन्, देशभक्ति र विश्वबन्धुत्व कम्युनिस्ट चरित्र हो । हो भने, अन्धराष्ट्रवाद प्रतिको नेपाली कम्युनिस्टहरूको मोह किन यति चर्को ?

रामनाम जप्दै सुनको जलहरीमा माथा टेकेर सत्तारोहणको सपना देख्ने कम्युनिस्टहरू कसरी अग्रगामी ? जो अग्रगामी होइनन्, उनीहरू वामपन्थी कसरी हुन्छन् ? अतः माथिका प्रश्नमाथि विवेचना गर्दा स्पष्ट हुन्छ, नेपालका कम्युनिस्टहरू दलाल पुँजीवादी सत्ताका मतियार हुन् । भुईंको पसिना र सडकको आँसुलाई अवमूल्यन गर्ने कम्युनिस्टहरू के को वामपन्थी ?

कुनै द्विविधा छैन कि, नेपालका कम्युनिस्टहरू स्वयं सत्ता हुन् । अर्थात् संस्थापन । अतः स्पष्ट छ, जुन लोकतन्त्रले विकास, सामाजिक न्याय र अग्रगमनको सुनिश्चितता गर्दैन र जुन लोकतन्त्रको शीर्षासनमा कम्युनिस्टको सत्ता छ, बुझ्नुपर्छ त्यहाँको राजनीतिमा वामपन्थ छैन । जुन कम्युनिस्ट राजनीतिले आफ्ना हजारौं कार्यकर्तालाई मानवीय मूल्य सिकाउँदैन, बुझ्नुपर्छ त्यो संगठनमा वामपन्थ छैन ।

यो लाजमर्दाे अवस्था हो । यो लाजबाट निस्किन कसैले प्रयत्न गर्छ भने उ वामपन्थी हो । अन्यथा यथास्थितिलाई स्वीकार गर्ने र रमाउने कम्युनिस्टहरू केको प्रगतिशील, केको वामपन्थी ?

आजको वामपन्थ

त्यसो भए नेपालमा आजका लागि वामपन्थी को हुन् ? शिक्षा र स्वास्थ राज्यको दायित्व हुनुपर्छ भनेर निरन्तर सत्याग्रह गर्ने डा. गोविन्द केसी वामपन्थी कि शिक्षाको माफियागिरीलाई प्रवर्द्धन गर्ने कमरेडहरू वामपन्थी ? राज्य गरिबको पक्षमा संवेदनशील हुनुपर्छ भन्ने ईः वा चमेली समूह वामपन्थी कि गरिबको सातोपुत्लो उड्दा पनि सत्तामा मगनमस्त हुने सत्ताधारी कम्युनिस्ट वामपन्थी ?

नेपालमा भूमिसुधारको आन्दोलन गर्ने भूमिअधिकार मञ्च वामपन्थी कि सत्ताको स्वादमा मगनमस्त कमरेडहरूको किसान संगठन वामपन्थी ? महिला, दलित र अल्पसंख्यकको अधिकारका लागि संघर्षरत स्वतन्त्र समूहहरू वामपन्थी कि, सरकारी लाल जनसंगठनहरू वामपन्थी ?

विचार गरौं त, को हो आजको वामपन्थी ? आजको वामपन्थी सडकमा नारा लगाउने त्यो युवा हो, जो विकृतिविरुद्ध सदैव खबरदारी गरिरहन्छ । त्यो विद्यार्थी हो, जो विश्वविद्यालयलाई ज्ञानशाला बनाउने सपना देख्छ । त्यो अभियन्ता हो, जो महिला, दलित, जनजाति र अल्संख्यकको पक्षमा बोल्छ ।

आजको वामपन्थी त्यो हो, जो अझ धेरै लोकतन्त्रको पक्षमा बोल्छ । जो शासकलाई नागरिक प्रति अझ उत्तरदायी बनाउन बोल्छ । उ वामपन्थ के हो थाहा नपाई पनि बोल्छ, थाहा पाएर पनि बोल्छ । उ बोल्नलाई सत्ताको रंग हेर्दैन र चर्को गर्मी या भारी वर्षामा पनि उ निरन्तर न्याय, लोकतन्त्र र अग्रगमनका लागि बोलिरहन्छ ।

को हो उ ? ऊ भुइँमान्छे हो । ऊ वैकल्पिक राजनीतिको अभियन्ता हो । ऊ अटेरी युवा हो । ऊ लेखक हो । ऊ कवि हो । ऊ कलाकार हो । ऊ त्यो हो, जसले समयको पदचाप सुन्ने प्रयत्न गर्छ । ऊ अग्रगामी छ । त्यसैले, ऊ वामपन्थी छ ।

संसारभर पहिले वामपन्थ (सन् १७८९) आयो, त्यसको धेरैपछि कम्युनिस्ट घोषणापत्र (सन् १८४८) लेखियो । अतः वामपन्थ मार्क्सवाद भन्दा पुरानो अवधारणा हो । त्यसैले, वामपन्थी हुन कम्युनिस्ट हुनु पर्दैन । वामपन्थी हुन मार्क्सवाद कण्ठ गर्नुपर्दैन । कसैले आफूलाई वामपन्थी भन्ला कि नभन्ला ? त्यो उसको छनोट हो । कोही वामपन्थी नभनिकनै पनि हुन सक्छ । किनभने, अझ धेरै सुन्दर, सुसंस्कृत, न्यायपूर्ण र समृद्ध समाजका लागि काम गर्नु, वामपन्थ हो ।

अतः आजको वामपन्थी हुन ऊभित्र न्यायको आगो हुनुपर्छ । परिवर्तनको सपना हुनुपर्छ । प्रश्न गर्ने तागत हुनुपर्छ । अगाडि हिँड्ने साहस हुनुपर्छ । यस्तो साहस जसले स्वयं सत्ताधारी कम्युनिस्टको मुख्यालयमा पुगेर भन्न सकोस्– ‘तिम्रो वामपन्थ एक भ्रम हो ।’ साथसाथै, उसले वामपन्थको नयाँ गीत रचना गरोस् र गुनगुनाओस्– ‘परिवर्तन अवश्यम्भावी छ ।’

[email protected]


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved