विचार

‘पहिचानको राजनीति एक प्रकारको पासो हो, सीमान्तकृत समाज सधैँ अगलावमा रहनु हुँदैन’

‘पहिचानको राजनीति’ समकालीन विश्वको एक प्रभावशाली विमर्श हो । नेपाल पनि यसबाट अछुतो छैन । पहिचानका विभिन्न आयाम र उपादेयिताबारे बहस जारी छन् । यसै सन्दर्भमा जर्मन मूलका अमेरिकी राजनीतिशास्त्री यास्चा मौंकको नयाँ पुस्तक ‘द आइडेन्टिटी ट्रयाप’ चर्चामा छ यतिखेर । प्रस्तुत छ, जोनार्थन केले यास्चा मौंकसँग गरेको पुस्तक–वार्ता ।

नेपालभ्युज

‘पहिचानको राजनीति एक प्रकारको पासो हो, सीमान्तकृत समाज सधैँ अगलावमा रहनु हुँदैन’

‘पहिचानको राजनीति’ समकालीन विश्वको एक प्रभावशाली विमर्श हो । नेपाल पनि यसबाट अछुतो छैन । पहिचानका विभिन्न आयाम र उपादेयिताबारे बहस जारी छन् । यसको यथोचित तथा उचित सम्बोधन के हो र कसरी सम्भव छ भन्ने प्रश्न र जिज्ञासा कायमै छन् ।

यसै सन्दर्भमा जर्मन मूलका अमेरिकी राजनीतिशास्त्री यास्चा मौंकको नयाँ पुस्तक ‘द आइडेन्टिटी ट्रयाप : अ स्टोरी अफ आइडियाज एन्ड पावर इन आवर टाइम’ चर्चामा छ यतिखेर । प्रस्तुत छ, जोनार्थन केले यास्चा मौंकसँग गरेको पुस्तक–वार्ता ।

प्रश्न : ‘पहिचानको संश्लेषण’ विचारधाराको निर्माणमा मार्क्सवादको भूमिकाबारे तपाईंको विमर्श पढेर एक प्रकारको आनन्द आयो । मलाई लाग्छ कि, पहिचान विचारधारा र राजनीतिलाई ‘साँस्कृतिक मार्क्सवाद’ को बिल्ला लगाएर पन्छिने एक रुढीवादी अल्छी प्रवृत्ति छ । यदि, आज कार्ल मार्क्स यतै कतै भएको भए यस कर्ममा आफ्नो नाम जोडिएको देखेर डराउँथे होलान् ?

उत्तर : मार्क्सवादले सधैं आफूलाई एक विश्वव्यापी आन्दोलनका रूपमा परिकल्पना गरेको थियो । जबकि, पहिचान संश्लेषणले सबै मानिसलाई स्थायी रूपमा निश्चित समूहमा विभाजन गर्दछ । सन् १९०३ को एक प्रसिद्ध प्रकरण थियो, लियोन ट्राटस्कीले यहुदी लेबर बन्डको सार्वजनिक निन्दा गरेका थिए, जुन त्यो बेला पूर्वी युरोपमा कम्युनिस्ट आन्दोलनको यहुदी शाखा थियो । उनको अडान थियो कि, धर्मका नाममा कम्युनिस्ट आन्दोलनलाई संगठित गर्नु एक प्रकारको अगलाववाद हो । उनले यसमा मार्क्सवादको सामूहिक विश्वव्यापी भावनालाई नामेट गरेको देखे, जबकि, उनी आफैँ यहुदी थिए।

प्रश्न : जसरी उनको वर्ग–आधारित सिद्धान्त धेरैजसो दृष्टिकोणबाट गलत सावित भयो । पहिचानको संश्लेषण सिद्धान्तप्रति आजका संकीर्ण पहिचानवादी आन्दोलन देखेर मार्क्समा त्यही प्रकारको आश्चर्य उत्पन्न हुने थियो होला, होइन ?

उत्तर : मलाई लाग्छ, मार्क्सवाद र पहिचानको संश्लेषण सिद्धान्तबीच धेरै महत्त्वपूर्ण भिन्नताहरू छन् । के बुझ्न आवश्यक छ भने ‘साँस्कृतिक मार्क्सवाद’ भन्नेले पनि ‘साँस्कृतिक’ शब्द थपेका छन् ‘मार्क्सवाद’ मात्र भनेका छैनन् । मार्क्सवादको परिभाषा आर्थिक हो र यो वर्ग संघर्षको दृष्टिकोणबाट बनेको हुन्छ । जब तपाईं यसलाई ‘साँस्कृतिक मार्क्सवाद’ भन्दै हुनुहुन्छ भने प्रष्ट छ कि, आर्थिक आयामबाट बाहिर गइँदैछ ।

प्रश्न : पहिचान संश्लेषणले विभिन्न समूहका अनुयायीबीच विश्वव्यापी सैद्धान्तिक साझा सम्भावनाको खोजी गर्न असफल हुन्छ । जब तपाईंसँग वर्ग–आधारित सिद्धान्त हुन्छ, फरक अवस्थामा भएका विभिन्न अर्थसामाजिक समूहहरूलाई आवश्यकता पर्दा जबर्जस्त ढंगले एक ठाउँमा ल्याउने परिकल्पना गर्न सकिन्छ । इतिहासका त्रासदीले यो कुरा देखाएका छन् । तर, कसैले कसैको छालाको रंग जबर्जस्त परिवर्तन गर्न त सक्दैन नि !

उत्तर : ठीक हो । मार्क्सवादमा क्रान्तिपछि एक युटोपियाको वाचा छ, त्यो पहिचानको पासोमा छैन । मार्क्स भन्छन् कि क्रान्ति हुनेछ । त्यसपछि सबै ठीक हुनेछ । केही समय केही अन्योल र संक्रमण रहन्छ । त्यसपछि सबै चिज राम्रो हुन थाल्छ । वर्गहरू रहँदैनन् । अर्थात् मार्क्सवादमा मुक्तिको वाचा थियो ।

जब, कुनै मार्क्सवादीलाई तपाईंले सोध्नुहुन्छ, तपाईंहरू कस्तो समाजको कल्पना गर्नु हुन्छ, कस्तो समाज बनोस भन्ने चाहनु हुन्छ ? उनीहरूले दैनिक शोषक, बुर्जुवा वर्गलाई गाली गरी बस्ने समाजको कुरा गर्ने छैनन् । उनीहरूले वर्गोत्तर समाजको कुरा गर्नेछन्। त्यस्तो समाज जहाँ सबै बराबर हुन्छन्, सबै एकअर्काका दाजुभाइ, दिदीबहिनी बन्छन् । जहाँ ऐक्यबद्धता हुन्छ । त्यहाँ पुगेर पुँजीपति वर्गलाई घेराबन्दी गर्नुपर्ने कारण नै हुँदैन, किनकि त्यहाँसम्म पुग्दा बुर्जुवा नै सर्वहाराजस्तै भइसकेका हुनेछन्।

पहिचानको राजनीतिको रोचक र फरक विशेषता के हो भने यसले यस प्रकारका सबै आशा र दूरदृष्टि फ्याँकिदिन्छ । तसर्थ, धेरैजसो प्रगतिशील यस्तो विचार अँगाल्न डराउँछन् । उदारवादीको कुरा अर्कै हुन्छ । उनीहरू ‘जातोत्तर’ समाजको लक्ष्य निर्धारण गर्दछन्, जहाँ सबै जातिका मानिसलाई समान व्यवहार गरियोस् । पहिचान सिद्धान्तका अनुयायीहरूले हामीले एक-अर्कामा के-कस्तो व्यवहार गर्छौं भन्ने हेर्दैनन्, त्यो उनीहरूको मुद्दा हैन । उनीहरूको भनाइ हामी कुन समूहमा पर्छौं र हाम्रो समूहलाई राज्यले कसरी हेर्छ भन्ने हो ।

मार्क्सवाद र पहिचान सिद्धान्तबीच तेस्रो भिन्नता पनि छ, जो यसको बौद्धिक इतिहासमा फेला पार्न सकिन्छ । पहिचान सिद्धान्तको संश्लेषण मिसेल फुकोजस्ता विचारकबाट उत्पन्न भएको छ, जो मार्क्सवादलाई प्रष्ट अस्वीकार गर्दछन् । अझै पनि धेरै मार्क्सवादीले फुकोलाई शत्रुको रूपमा हेर्छन् ।

प्रश्न : फुकोमा शक्ति र उत्पीडनको विचारप्रति पागलपन थियो । तपाईंले आफ्नो पुस्तकमा बुँदागत उल्लेख गरेझैं उनले यी कुनै पनि राजनीतिक प्रणालीको पर्याप्तता, अपरिहार्यता र सर्वव्यापकता देखेनन् । तसर्थ, उनी मान्छेलाई उत्पीडनबाट मुक्त गर्ने वाचा गर्दै आएका कुनै पनि प्रकारको महाआख्यान, कुनै पनि प्रकारको बौद्धिक आन्दोलनको नायकत्वप्रति शंका गर्थे । त्यसको रहस्य उनी धर्म, संस्कृति र आमसञ्चारमा समाहित भएको ठान्थे ।

उत्तर : फुकोद्वारा प्रतिपादित विचारमा केही त्यस्ता लोकप्रिय ढाँचा छन्, जो वास्तवमा आधुनिक प्रगतिशील विचारलाई गहिरो प्रभाव पार्न आएका छन् । यसभित्र फुकोको निरपेक्ष सत्य र महाकथनप्रतिको अस्वीकारोक्ति पनि पर्दछन् । उनले मार्क्सवाद वा साम्यवादलाई मात्र हैन, एक निरपेक्ष सत्य वा महाआख्यानका रूपमा दार्शनिक उदारवादलाई पनि अस्वीकार गरे । उनको विचारमा विश्वासको कुनै एक प्रणाली अनिवार्यरूपमा कुनै अर्को प्रणालीप्रति दमनकारी भइरहेको छ ।

प्रश्न : ‘फुकोका अराजनीतिक, बौद्धिक र रुखासुख्खा विचारलाई कसरी राजनीतिक हतियार बनाइयो’ भन्ने सवालमा भारतीय बौद्धिक गायत्री चक्रवर्ती–स्पिभाकको योगदान र उनको ‘रणनीतिक सारतत्ववाद’ को चर्चा गरिएको खण्डले म मोहित भए । के तपाईं यो प्रष्ट गर्न सक्नु हुन्छ कि, पहिचान संश्लेषण आन्दोलनमा उनले खेलेको भूमिका के कारणले महत्त्वपूर्ण हो ?

उत्तर : जस्तो कि, हामीले चर्चा गरिसक्यौं, यसको सुरुवात फुकोबाट भयो, जसले ‘सत्यप्रतिको आशंका’ का केही आधारभूत बौद्धिक आधारशीला खडा गरे । मार्क्सवाद र उदारवाद दुवै महाआख्यानलाई अस्वीकार गरे । यसले राजनीतिक विमर्शको अन्तर्निहित दमनकारी चरित्रलाई नजिकबाट ध्यान दियो । त्यसलाई उजागर गर्‍यो । सत्य, संकथन र शक्तिबीचको अन्तर्सम्बन्धलाई बुझ्न मद्दत गर्‍याे । त्यसपछि, एडवर्ड सइद आए, उनको भनाइ यस्तो थियो–‘हेर्नुस्, हामीले अवश्य राजनीतिक संकथनमा ध्यान दिनुपर्दछ । यो एकदमै सही कुरा हो । तर, राजनीतिक शक्तिको हतियारका रूपमा संकथनहरूलाई प्रयोग गर्ने तरिका परिवर्तन गर्नु पर्दछ ।’ उनले फुकोको विचारका अराजनीतिक पक्षलाई अस्वीकार गरे । र यसैले हामीलाई गायत्री स्पिभाकको ‘रणनीतिक सारतत्ववाद’ सम्म पुर्‍याउँछ ।

स्पिभाकको उत्पति मूलतः कलकत्ताको हो । उनले संसारका सबैभन्दा गरिब, उत्पीडित मानिसलाई ‘सबाल्ट्रन’ भन्ने नयाँ संज्ञा दिइन । यिनीहरूको स्थिति र भविष्यलाई लिएर वैचारिक तहमा असाध्यै चिन्तित देखिइन । उत्तरसंरचनावादी दृष्टिकोणकी उनले आधारभूत पहिचान वर्ग सिर्जना गर्ने र तिनका विशेषता तोक्ने तरिकामाथि फुकोको आशंका सिद्धान्तलाई ग्रहण गरिन । तर, उनलाई यो कुरा पनि राम्रो थाहा थियो कि, उनीजस्तै बौद्धिकहरूले सबाल्ट्रन वा कुनै उत्पीडित मानव समूहलाई वर्गीकरण गर्ने र त्यसको विशेषता तोक्ने काम राजनीतिक रूपमा अव्यावहारिक हो । यसर्थ उनले ‘रणनीतिक सारतत्ववाद’ को अवधारणा अघि सारिन् ।

सारतत्ववादको अर्थ कुनै समूहका रूपमा कुनै मानवलाई लिइने आधारलाई स्वीकार गर्नु हो । जस्तो कि, हामी कसैलाई गोरा, कसैलाई काला र कसैलाई ल्याटिनो मान्छे भन्छौं, त्यसको केही न केही आधार र अर्थ त छ । यसको कुनै न कुनै तर्कसँगत तरिका अवश्य छ, जसले गर्दा हामी मानिसलाई यस्ता समूह र अवधारणामा वर्गीकृत गर्छौं ।

स्पिभाकले यो विचारलाई दार्शनिक तहमा अस्वीकार गरिन् । उनले यो भनिन् कि, यस्ता निश्चित आधारलाई हामीले कुनै न कुनै रणनीतिक आवश्यकतासँग जोड्नुपर्दछ । तब मात्र मानिसका यी समूहको तर्फबाट बोल्न सकिने माध्यमले अनुमति प्राप्त गर्दछ । यसभित्र सारतत्ववादलाई अस्वीकार गर्ने कार्यनीतिको एउटा सन्दर्भ छ ।

तर, पहिचान संश्लेषणमा यसलाई समाहित गर्ने अर्को पाटो उत्तिकै प्रभावशाली छ । यसलाई अलिक सजिलो गरी भनौं । जब हामी कुनै कलेजमा प्रशिक्षण लिइरहेका हुन्छौं, वक्ताले भन्दै हुन्छन् कि नश्ल भनेको एक बिल्कुलै नक्कली सामाजिक सोचको उपज हो । तर, वक्ताले त्यसो भनिरहेको र हामीले सुनिरहेको बेला पनि नश्ल नामको कुनै चिजमा हाम्रो ध्यान खिचिएको हुन्छ, जसलाई हामी बिल्कुलै नक्कली र अनावश्यक भनिरहेका हुन्छौं।

प्रश्न : तपाईंले पुस्तकमा चर्चा गरेका अर्का महत्त्वपूर्ण तथा लोभाकर्षक व्यक्तित्व अफ्रिकी मूलका एक प्रमुख अमेरिकी चिन्तक तथा नागरिक अधिकार अभियन्ता डेरिक बेल हुन् । पुस्तकमा मैले जब डेरिक बेलको बारेमा पढ्न थाले उनी एक ‘आद्य आलोचनात्मक नश्ल सिद्धान्तकार’ (प्रोटो–क्रिटिकल रेस थ्योरिष्ट) जस्तो लाग्यो । सुरुमा बेल उदारवादी नागरिक अधिकार विचारका समर्थक थिए । जस्तो कि वर्णअन्धता र अगलावका विरोधी थिए। तर, समय बित्दै जाँदा उनी विअगलावको विचारप्रति शंकालु बन्न पुगे ।

जब बेलले अश्वेत अभिभावकसँग कुरा गरे–उनीहरूले आफ्नो बच्चाका लागि राम्रो पढाइ हुने स्कुलको चाहना राखे । स्कुल श्वेत वा अश्वेत उनीहरूलाई मतलब थिएन। उनीहरूलाई यति थाहा थियो कि स्कुलमा उनीहरूका बच्चाले राम्रो शिक्षा पाउनुपर्छ । यसबाट अश्वेतले नश्लवादको उपचारको एक भिन्नै बाटो वा तरिका खोजेजस्तो देखिन्छ । उदारवादी नागरिक अधिकार कुनै नयाँ कुरा हैन । तर, पहिचानवादी नागरिक अधिकारको युगबाट फेरि हामी नागरिक अधिकारकै युगतिर फर्किरहेका छौँ कि ?

उत्तर : हो, बेल साँच्चै एक रोचक व्यक्तित्व हुन् । उनले सन् १९६० को दशकमा दक्षिणमा स्कुल, व्यवसाय र अन्य संस्थाहरू अलग गर्न काम गरे । उनले आजीवन नागरिक अधिकारको अधिवक्ता बन्ने आकांक्षा राखे । तर, त्यसपछि उनले बुझे कि त्यस प्रकारको अगलावले मात्रै सधैँ काम गर्दैन । फेरि स्कुलहरू विअगलाब गर्नुपर्ने भयो । किनकि, त्यो कुरा उदारवादी मूल्य प्रणालीसँग जोडिन्थ्यो । यसवापत उनले व्यापक आलोचना पनि खप्नुपर्‍यो । उनले यो बुझे कि, श्वेत वा अश्वेत स्कुल हुनुभन्दा राम्रो नतिजा दिने स्कुल हुनु सबैभन्दा राम्रो उपाय हो ।

पछि उनले यो कुरा प्रष्टत: स्वीकार पनि गरेका छन् । उनी आफैंले यसलाई ‘एक विलुप्त नश्लीय समानताको विचारधारा’ भनेका छन् । यस्ता विचारधारा खासमा अश्वेत नागरिक आन्दोलनको परम्पराका विरुद्धमा पनि थियो । अश्वेत नागरिक आन्दोलन फ्रेडरिख डगलसबाट सुरु हुन्छ र मार्टिन लुथर किंगलाई समावेश गर्दछ । डगलसले उदारवादी मूल्यलाई गलत हुन् भनेर कहिल्यै भनेनन् र त्यसलाई खारेज गरेनन् । उनको जोड उदारवादी मूल्य अश्वेत समाजमा विस्तारित हुन नसकेकोमा थियो । उनले उदारवादभित्र लुकेर बसेको नश्लवादी कपटमाथि मात्र आक्रमण गरे ।

प्रश्न : पुस्तकमा बराक ओबामाबारे पनि एक उम्दा अध्याय छ । उनको चिन्तनको विरासत आफैँमा रोचक छ । उनी आफ्नो समयमा अमेरिकाको इतिहासकै सबैभन्दा राम्रा उदारवादी राष्ट्रपति सावित भए । तर, पछि फर्किएर हेर्दा उनमा एक प्रकारको रुढीवादी व्यक्तित्व पनि देखियो, अनौठो गरी । के उनले डगलसको परम्परागत उदारवादलाई पछ्याएको मान्न सकिएला त ?

उत्तर : हो, एक प्रकारले ओबामामा त्यो अनौठोपन देखिन्छ। तर, आलोचनात्मक नश्ल सिद्धान्तका दृष्टिकोणबाट हेर्दा त्यस्तो देखिने हो । आलोचनात्मक नश्ल सिद्धान्त र ओबामाका सोच, व्यवहारबीच विरोधाभाष छ । उनी अमेरिकालाई नश्लोत्तर समाजतिर लैजान चाहन्थे । जुन कुरा पक्कै पनि पहिचानको सिद्धान्तसँग सीधै मिल्दैन । तसर्थ, ओबामाको राजनीति अश्वेत पहिचानको राजनीति हैन । नश्लोत्तर समाज बनाउने राजनीति हो ।

(क्विलेटबाट संक्षेपिकृत भावानुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप अन्तर्वार्ता

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved