क्यान सचिव निर्वाचित भएपछि पारसले भने- घरेलु क्रिकेटको संरचना विकास गर्छु

नेपालभ्युज

क्यान सचिव निर्वाचित भएपछि पारसले भने- घरेलु क्रिकेटको संरचना विकास गर्छु

काठमाडौं । नेपाल क्रिकेट सङ्घको केन्द्रीय सचिवमा निर्वाचित भएपछि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्रथमिकता रहेको बताएका छन् ।

शनिबार प्रतिष्पर्धी प्रशान्त विक्रम मल्ललाई पछि पार्दै सचिवमा निर्वाचित भएपछि खड्काले घरेलु क्रिकेटको संरचना विकास गर्नु आफ्नो पहिलो प्राथमिकताको विषय रहेको बताएका हुन‍् । उनले नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्षलाई एक ठाउँमा ल्याएर नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि बढाउने पनि बताए । उनले जिल्ला र प्रदेश स्तरको क्रिकेट संरचनालाई पनि बलियो बनाएर लैजाने बताए ।

उनले भने, ‘चुनाव त्यति सहज रहेनछ । मसँगै मैले चाहेको, हाम्रो टिमको पनि केही व्यक्ति आउनुभएको भए सहज हुनेथियो । तरपनि अहिले निर्वाचित टिम पनि राम्रो बनेको छ भन्ने लाग्छ ।’

उनले नेपाल क्रिकेटले आफूलाई धेरै दिएको भन्दै अब क्रिकेटका लागि केही गर्ने बताए । ‘धेरै मानिसले पारस खड्काले क्यानमा आएर के गर्छ ? भन्नेछ’ उनले भने, ‘यहाँ पारस खड्काले मात्रै गरेर हुँदैन । मेरो व्यक्तिगत सोच, विचार भनेको नेपाल क्रिकेटमा जोडिएका राम्रा, नराम्रा पक्ष, विपक्षहरु छन्, तिनीहरुलाई एक ठाउँमा ल्याएर मेरो आफ्नो भूमिकाबाट र नेपाली क्रिकेटलाई संस्थागत रुपमा अझ अघि कसरी बढाउँ भन्ने सोच विचारका साथ अघि बढ्ने प्रतिबद्धता गर्छु ।’

उनले सबैभन्दा ठूलो कुरा भनेकै घरेलु क्रिकेटको संरचना बनाउनु रहेको बताए । ‘म क्रिकेट टिमको कप्तान हुँदा पनि यो कुरामा धेरै प्रश्न गरेको थिएँ । आफैँ अब नेपाल क्रिकेट संघको पदाधिकारी भएर सचिव हुँदा मेरो एउटा मात्रै प्राथमिकता घरेलु क्रिकेटको संरचना, जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने ? भन्ने हुन्छ,’ उनले भने ।

नेपाली टिम परिपक्व रहेको भन्दै उनले आफूले क्रिकेट खेल्दा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध बनाएको र त्यसको आधारमा नेपाली क्रिकेटमा अन्तर्राष्ट्रिय स्तरको पार्टनरशीप बारे सोचेको बताए ।

उनले भौतिक संरचनामा सरकार र राष्ट्रिय खेलकुद परिषद्ले विशेष भुमिका खेल्न आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved