अध्यक्षमा निर्वाचित भएपछि पारस भन्छन्-अब ममाथि नै प्रश्न उठ्छन्

नेपालभ्युज

अध्यक्षमा निर्वाचित भएपछि पारस भन्छन्-अब ममाथि नै प्रश्न उठ्छन्

काठमाडौं । प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको अध्यक्षमा निर्वाचित नेपाली राष्ट्रिय पूर्वकप्तान पारस खड्काले यसअघि क्रिकेटमा आफैंले उठाउँदै आएको परिवर्तनका प्रश्न अब आफैं माथि आउने बताएका छन् ।

ललितपुरस्थित धोबीघाटमा शुक्रवार भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट प्यानलसहित विजयी भएपछि पारसले सो धारणा राखेका हुन् । पूर्वकप्तान पारसले निकटम प्रतिष्पर्धी चितवनका उमेश पियालाई ९ मतले पराजित गरे । अध्यक्ष पदमा विजयी भएपछि पारसले चार वटा जिल्लाको एउटा टिमले ३÷५ महिनादेखि तयारी गरेको र सोही टिम वर्कका कारण जित सम्भव भएको बताए ।

साथै पारसले पहिलोपटक यसरी निर्वाचनमा भाग लिएको उल्लेख गर्दै दुई दशकदेखि क्रिकेट खेले पनि निर्वाचनमा जाँदा केही फरक अनुभुति भएको धारणा राखे । क्रिकेट खेल्न छाडेपछि क्रिकेटमा पदाधिकारीका रूपमा काम गर्ने शुरुवात भएको पनि उनले बताए । यसअघि आफैं उठाउँदै आएको परिवर्तनको प्रश्न आफैंमाथि आउने पनि उनको भनाई थियो ।

आगामी दिन वागमती प्रदेश क्रिकेटका लागि धेरै काम गर्ने लक्ष्य रहेका पनि पारसले बताएका छन् । निर्वाचनमा अध्यक्ष उम्मेदवारी घोषणा गर्नुभन्दा अगाडि अफ्ठयारो अवस्थामा रहेको पारसले खुलासा गरेका थिए। यद्यपि, चार वटा जिल्लाको साथले आत्मबल बढेर निर्वाचनमा भाग लिएको उनको भनाइ थियो ।

असोज ५ र ६ गते काठमाडौंमा तय भएको केन्द्रिय महाधिवेशनका लागि सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । केन्द्रिय निर्वाचनमा पारसले सचिव पदमा दाबेदारी दिने चर्चा चलिरहेको भन्ने प्रश्नमा उनले क्यानको प्रदेशका नयाँ निर्वाचित टोलीसँग छलफल गरेर अगाडि बढ्ने बताए

वागमती प्रदेशका कुल ६ जिल्लामध्ये चार जिल्लाले यसअघि नै पत्रकार सम्मेलनमाफर्त पारसको नेतृत्वमा प्रदेशको निर्वाचनमा होमिने जनाएको थियो । साथै अन्य पदमा भने चार जिल्लाले बाँडेर निर्वाचन लड्ने घोषणा गरेको थियो । सोहीअनुरूप पारसको प्यानलले नै समान २३ मत पायो । १२ पदका लागि निर्वाचन हुँदा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी पूर्वकप्तान निरा राजोपाध्याय भने सदस्यमा निर्विरोध चयन भईन् । कुल ३७ जना प्रतिनिधिले नै मतदानमा भाग लिएका थिए । त्यसमध्ये पारसले २३ मत र चितवनका उमेशले १४ मत पाए ।

उनको प्यानलबाट उठेका अधिकांशले सोही अनुपातमा मत पाए । उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री २३ मत प्राप्त उनका प्रतिद्वन्दी रूपक रञ्जितले १४ मत पाए । सचिवमा प्रशन्न शाक्य २३ मतसहित निर्वाचित हुँदा प्रज्वल सापकोटाले १४ मत मात्र प्राप्त गरे । कोषाध्यक्ष पदमा सञ्जय बस्नेत २३ मतका साथ विजयी हुँदा विजय बोहोराले १४ मत प्राप्त गरे । सदस्य पदमा पारसकै प्यानलका अजयवीर पाण्डे, अनिल अधिकारी, सञ्जोग श्रेष्ठ, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ र वसन्तराज सत्यालले समान २३–२३ मत प्राप्त गरे ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved