काठमाडौं। शिक्षा क्षेत्रमा देखिएका अनेक समस्या र कमी कमजोरीका कारण नेपाली विद्यार्थी विदेसिने क्रम तीव्र छ । स्वदेशका विश्वविद्यालय रित्तिँदै गएका छन्, विमानस्थलमा विदेसिने विद्यार्थीको लर्को छ ।
नेपालका विश्वविद्यालयप्रति विद्यार्थीसँगै अभिभावकको पनि विकर्षण छ । अझ, पढाइपछिको रोजगारीको चिन्ताले अधिकांश विद्यार्थीलाई विदेश धकेलिरहेको छ । स्थिति यस्तो बनिरहेको छ- कतै भविष्यमा देश वृद्धाश्रम बन्ने पो हो कि !
कक्षाकोठामा हुनुपर्ने विद्यार्थी ‘कलेज फी’ महँगो भयो भन्दै सडकमा उत्रिनुपर्ने र सेवा सुविधा कम भयो भन्दै शिक्षक आन्दोलित हुनुपर्ने दुर्भाग्यपूर्ण स्थितिले देशको शैक्षिक भविष्यमा नै प्रश्न उठाएको छ ।
किन कमजोर भयो नेपालको शिक्षा ?
शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालको शिक्षा प्रणालीमा विद्यार्थी र विश्वविद्यालयको अमिल्दो मतभेदका तीन कारणलाई औंल्याएका छन् । उनी भन्छन्, ‘सरकारले नेपाली विद्यार्थीहरूलाई कमाउँदै पढ्न पाउने वातावरण दिन सकेनन् र विद्यार्थीहरूले पनि अरुले देला र खाउँला भनेझैं पर्खेर बसिरहे, उनीहरू आफ्नो गतिमा पढ्न चाहन्थे, तर विश्वविद्यालयले आफूहरूले भनेजस्तै पढ्नुपर्छ भन्यो । त्यसैले, नेपाली विश्वविद्यालयमा विद्यार्थीहरूको आकर्षण घट्न थाल्यो ।’
विद्यार्थीले आफूले पढ्ने पाठ्यक्रम आफैंले बनाउन पाउनुपर्ने र पढाइ सँगसँगै रोजगारीको अवसर पनि पाउनुपर्ने शिक्षाविद् कोइरालाले बताए ।
अहिले इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीहरू अत्यधिक शुल्क वृद्धि गरेको भन्दै आन्दोलनरत छन् । इन्जिनियरिङ अध्ययन संस्थानका आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्याएको भन्दै विद्यार्थीहरू आइतबार प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटार घेराउ गर्न पुगे ।
विद्यार्थीसँगै बाहिरिन्छ अर्बौं रुपैयाँ
नेपाली विद्यार्थीसँगै बर्सेनि अबौं रुपैयाँ पनि विदेसिने गरेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा सूचना अधिकारी डा. डिल्लीराम पोखरेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा विद्यार्थीसँगै एक सय अर्ब रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षमा एक सय अर्ब ४२ करोड रुपैयाँ रकम बाहिरिएको उनले बताए ।
नेपालको शिक्षा गुणस्तर र प्रणाली प्रभावकारी नभएका कारण नै विद्यार्थी विदेसिने गरेको उनको भनाइ छ । उनले भने, ‘गुणस्तर उच्चशिक्षा प्राप्तिको लागि नै विद्यार्थीहरू विदेसिने गर्छन् । यसले निरन्तरता पाइरह्यो भने एक दिन देशमा युवाहरू नै सक्किने खतरा हुन्छ । यसले विदेशी मुद्राको सञ्चिति पनि रित्तिँदै गएको छ ।’
युवाशक्ति बचाउमा राज्य गम्भीर हुनुपर्ने भन्दै उनले उच्च शिक्षाका लागि विदेसिएका विद्यार्थीहरूलाई स्वदेश फर्किने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा १ लाख २ हजार ५ सय ४ विद्यार्थी उच्च शिक्षाका लागि बाहिरिएका छन् ।
कहिले, कति विद्यार्थी बाहिरिए ?
|
आर्थिक वर्ष |
सङ्ख्या |
|
|
२०७०/७१ |
२८१२६ |
|
|
२०७१/७२ |
३०७९७ |
|
|
२०७२/७३ |
३७१४८ |
|
|
२०७३/७४ |
५०७९६ |
|
|
२०७४/७५ |
५८७५८ |
|
|
२०७५/७६ |
६३४१७ |
|
|
२०७६/७७ |
३३१९६ |
|
|
२०७७/७८ |
२८८८३ |
|
|
२०७८/७९ |
१०२५०४ |
|
त्यसैगरी, गत वर्ष २०७९/८० मा विज्ञान तथा प्रविधि अध्ययनको लागि १ लाख २२ हजार पाँच सय १४ जना विद्यार्थीले विदेश जानका लागि आवेदन दिएका थिए । जसमध्ये १२ हजार दुई सय ९७ विद्यार्थीको आवेदन रद्द भयो । १ लाख १० हजार दुई सय सत्र जना पढ्नका लागि विदेश गए ।
त्यसैगरी गत वर्ष उच्च शिक्षाका लागि अस्ट्रेलियामा जाने विद्यार्थीको सङ्ख्या ३३ हजार नौ सय ९१ रहेको छ, जुन पढ्नका लागि सबैभन्दा धेरै नेपाली विद्यार्थी विदेश जाने गरेको देश हो । अस्ट्रेलिया अध्ययनका लागि आवेदन दिएका विद्यार्थीमध्ये ८ हजार चार सय बाउन्न जनाको एनओसी रद्द भएको थियो ।
त्यस्तै, जापानका लागि आवेदन दिएकामध्ये २१ हजार ६ सय ५८ जना विद्यार्थीले भिसा पाए भने २ सय दुई जनाको एनओसी रद्द भएको थियो । उच्च शिक्षाका लागि नेपाली विद्यार्थी बाहिरिएसँगै नेपाल सरकारको राजस्व संकलनमा भने वृद्धि भएको छ । आर्थिक वर्ष २०७९/८०मा उच्च शिक्षाका लागि विदेसिने विद्यार्थीबाट २५ करोड १२ लाख १० हजार २ राजस्व संकलन भएको छ ।
तथ्यांकअनुसार नेपाली विद्यार्थीले विभिन्न ७० देशमा उच्च शिक्षा अध्ययन गर्न आवेदन दिएका छन् ।
विद्यार्थी विदेसिँदा निजी विद्यालय मर्कामा
विद्यार्थीहरूले उच्च शिक्षा अध्ययनका लागि विदेशी विश्वविद्यालय रोज्दा निजी विद्यालयमा असर परेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेसनल प्याब्सन)का अध्यक्ष पाण्डव हमाल बताउँछन। उनी भन्छन्, ‘क्रय शक्ति राम्रो भएका अभिभावकका बच्चाहरू उच्च शिक्षाका लागि बाहिरिन्छन्, त्यसले निजी विद्यालयमा प्रत्यक्ष असर परेको छ ।’
राज्य संयन्त्रले विद्यार्थीको भविष्य नेपालमै सुन्दर हुने प्रत्याभूति दिन नसकेकाले समस्या बढेको उनको भनाइ छ । उनले नेपालमा विद्यार्थीको चाहनाअनुरूपको पाठ्यक्रम पनि ल्याउन नसकेको बताए ।
नेपालको शिक्षा गुणस्तर भए पनि पढाइपछि रोजगारीको ग्यारेन्टी नहुँदा धेरै विद्यार्थी पलायन भएको ठम्याइ छ, समाजशास्त्री मीना उप्रेतीको । ‘हरेक व्यक्तिले पढाइपछि राम्रो जागिर र अवसर नै चाहन्छन् । त्यसैले व्यक्तिगत जीवन सुधार्नुसँगै आर्थिक, शैक्षिक र सामाजिक रूपमा बलियो हुनका लागि नै विद्यार्थीहरू विदेश पलायन भएका हुन् ।’
समाजशास्त्री उप्रेतीका अनुसार नेपालको शैक्षिक प्रणालीमा नै राजनीति पसेको छ । राजनीतिकीकरणले नेपाली विश्वविद्यालय र विद्यार्थीहरूलाई प्रत्यक्ष प्रभाव पारेको छ । त्यसैले, नेपालका विश्वविद्यालयलाई राजनीतिकबाट अलग राख्नुपर्ने उनको सुझाव छ ।
Facebook Comment
Comment