आलेख

पोल्यान्डमा ‘साम्यवादको चिहान’ खन्ने लेक वालेसालाई भेट्दा…

'प्रियतावाद राजनीतिको सबैभन्दा सजिलो तरिका हो'

जब पोप सन् १९७९ मा पोल्यान्ड आए, प्रहरी गुप्तचर पनि पोपलाई हेर्न जम्मा भएको भीडमा थिए । तर, हामी तिनीहरूसँग डराउन छाडेका थियौं। किनकि, मसँग भएका गुप्तचरबाट मैले बुझेको थिएँ कि, उनीहरू पनि वास्तविक कम्युनिस्ट हैनन् ।

पोल्यान्डमा ‘साम्यवादको चिहान’ खन्ने लेक वालेसालाई भेट्दा…

सन् १९८९ मा म पोल्यान्डको जिदान्स्क गएको थिएँ कलेजको विद्यार्थीका रूपमा, सोभियत साम्यवादको शान्तिपूर्ण पतनका लागि मद्दत गर्ने ‘सोलिडारिटी आन्दोलन’ मा मार्च गर्न । अहिले ३ दशकभन्दा बढी समयपछि फेरि आएको छु । मेरा बच्चाहरूलाई साम्यवादबारे जानकारी दिन र यसका विरुद्ध लडेका व्यक्ति लेक वालेसासँग भेट्न।

त्यो बेला साम्यवादको ‘इस्पात पर्दा’ हटाउन विशाल भूमिका गरेका दिग्गजहरू रोनाल्ड रेगन, मार्गरेट थ्याचार, पोप जोन पौल द्वितीय, भास्लाव हाभेलमध्ये अब लेक वालेसा मात्र हामीसँग बाँकी छन् । उनी ७९ वर्षका भए । तर, अझै पनि ‘सर्वहारा वर्गको अधिनायकत्व’विरुद्ध मजदुर विद्रोहको नेतृत्व गर्ने युवा इलेक्ट्रिसियनझैं बलियाबांगा देखिन्छन्।

उनले पोल्यान्डको मार्क्सवादी शासनलाई स्वतन्त्र ट्रेड युनियनलाई मान्यता दिन पहिलोपटक बाध्य तुल्याएका थिए । जसले ‘मार्सल ल’ लगाएर उनलाई कैद गरेका थिए, पछि तिनै जर्नेलसँग टेबलमा बसेर उनले स्वतन्त्र आम निर्वाचनको अनुमति दिने वार्ता गरेका थिए । नयाँ स्वतन्त्र पोल्यान्डको पहिलो निर्वाचित राष्ट्रपति भएका थिए । निर्वाचित राष्ट्रपति पूर्व बार्साप्याक्ट देशहरूका लागि पश्चिमा संस्थाको सन्देश थियो ।

सोलिडारिटी आन्दोलनको जन्म भएको, पुरानो लेनिनस्यार्ड मैदानमा बनेको म्युजियमको युरोपियन सोलिडारिटी सेन्टरको उनको कार्यालयमा मैले उनलाई आधा अमेरिकी युवाहरू समाजवादप्रति सकारात्मक धारणा राख्दछन् भनेर देखाउने एक सर्वेक्षणबारे प्रश्न गरें–‘साम्यवादको जीवन्त सम्झना नभएका युवाहरूलाई तपाईंको सन्देश के हो ?’

दोभाषेमार्फत् उनले भने–‘संसारभरि नै धेरै युवालाई साम्यवाद एक विचारको रूपमा स्वीकार गर्न मुर्ख बनाइएको छ । त्यसमा न्याय र समानताको बारेमा कुरा गर्ने सुन्दर वाक्यहरू छन् । तर, जब तपाईंले यो प्रणालीलाई व्यवहारमा अपनाउनुहुन्छ, संसारका सबैखाले आपतहरू आउन थाल्छन् । युवाहरूलाई अक्सर यो कुरा बिल्कुलै थाहा छैन । हामीसँग त्यसको अनुभव छ । तसर्थ, हामीलाई यसबारे केही थाहा छ । युवाहरूलाई मेरो अनुभवका आधारमा सिफारिस गर्छु– कृपया साम्यवादलाई दृढतापूर्वक अस्वीकार गर्नुहोस्।’

उनले आफ्नो कुरा जारी राखे–‘तर, हामीले यो बुझ्न सक्नुपर्दछ कि युवाहरू किन विगततिर फर्किएर हेर्दैछन्। तिनीहरू यसकारणले विगततिर फर्किँदैछन् कि भविष्यको बारेमा कुनै प्रष्ट उत्तर छैन । परिणामस्वरूप प्रियतावादी डेमागगहरूले संसारको नेतृत्व लिँदैछन्। किनकि, प्रियतावाद राजनीतिको सबैभन्दा सजिलो रूप हो । तर, जोसँग प्रियतावादी र डेमागगहरुसँगको भन्दा राम्रा समाधान छन्, उनीहरू जाग्नुपर्दछ ।’

वालेसा जसले राष्ट्रपति हुँदा रुसी सैन्य टुकडीलाई पोल्यान्डको धर्ती छोड्न बाध्य पारेका थिए, उनले तिनै रुसी सेनाले गरेको युक्रेन आक्रमणलाई कसरी हेरिरहेका होलान् ? उनी भन्छन्–‘मलाई यो कुरा राम्रोसँग थाहा छ, यदि पोल्यान्ड समयमै नेटोको सदस्य नभएको भए के हुन्थ्यो ? रुसले युक्रेनमा हैन, पहिले पोल्यान्डमाथि आक्रमण गर्थ्यो । अहिले म युक्रेनलाई सहयोग गर्ने यथासम्भव प्रयत्न गर्दैछु, यसर्थ कि युक्रेनीहरू हाम्रो साटो रुसीसँग लडिरहेका छन् ।’

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीको प्रशंसा गर्दै उनी भन्छन्–‘जेलेन्स्की र म राजनीतिज्ञ हैनौं । हामी व्यावहारिक मान्छे हौं । तसर्थ, हामी सफल हुने प्रवृत्तिका छौं ।’ तर, वालेसालाई एक हास्यव्यंग्यकार राजनेता बन्दा अन्तिम परिणाम कस्तो होला भन्ने चिन्ता पनि छ ।

उनी भन्छन्–‘अहिलेसम्म जेलेन्स्कीले राम्रै गरिरहेका छन् । तर, वास्तविक समस्या त्यो क्षणबाट सुरु हुन्छ जब शान्तिपूर्ण समाधानतिर लाग्नुपर्दछ । उनले समस्याको शान्तिपूर्ण समाधान खोज्न सक्दछन् कि सक्दैनन् ? एक व्यावहारिक मानिसको हैसियतले म त्यो चरणमा धेरै जोखिमहरू देख्छु । तर, उनलाई मेरो शुभकामना छ ।’

वालेसालाई रुसी साम्राज्यवादलाई चुनौती दिने पश्चिमा रणनीति अपर्याप्त लागेको छ । उनी भन्छन्–‘जबसम्म उनीहरूले हामीमाथि गोली हान्छन्, हामीले ट्यांक नै प्रयोग गर्नुपर्दछ । तर, प्रयत्नको धेरै हिस्सा प्रचार युद्धमा खर्चिनुपर्दछ । सोलिडारिटी आन्दोलनले कसरी लड्नुपर्छ भन्ने राम्रो उदाहरण दिएको थियो । ट्यांकहरूको त कुरै छोड्नुस् हामीले धनुषवाणसमेत प्रयोग गरेका थिएनौं, तर हामीले सोभियत संघलाई ध्वस्त पार्‍यौँ नि !’

उनी थप्छन्–‘हामीले प्रचार युद्धका साथ राजनीतिक रूपमा लड्नुपर्दछ, सोलिडारिटीले जस्तै, रेडियो, टिभी, प्रेसलगायत सबै माध्यमबाट हामी संसारका सबै रुसी नागरिकसम्म पुग्नुपर्दछ र उनीहरूलाई यो कुरामा विश्वासमा लिनुपर्दछ कि, पुटिनजस्तो तानाशाहलाई तिमीहरूले यति धेरै शक्ति दिनुहुँदैन । हामी तपाईं रुसीहरूको विरुद्धमा छैनौं । तपाईं हामी यो लडाईंबाट नष्ट हुुन्छौं भने यो युद्धको के अर्थ छ ?’

साम्यवादको पतनमा उनको केन्द्रीय भूमिकाबारे सोध्दा वालेसा विनम्र देखिए । भने–‘पोप जोन पौल द्वितीयको निर्वाचनसम्म मैले मान्छेहरूलाई साम्यवादविरुद्ध लड्न संगठित गरेको थिएँ । २० वर्ष लगाएर मैले जम्मा १० जनालाई मात्र संगठित गर्न सकेँ । ती १० मध्ये २ जना मसँग प्रहरी गुप्तचर थिए । तर, जब जोन पौल पोप निर्वाचित भए अनपेक्षित रूपमा मसँग १०औं लाख मानिस संगठित भए ।’

उनले अगाडि थपे–‘जब पोप सन् १९७९ मा पोल्यान्ड आए, प्रहरी गुप्तचर पनि पोपलाई हेर्न जम्मा भएको भीडमा थिए । तर, हामी तिनीहरूसँग डराउन छाडेका थियौं। किनकि, मसँग भएका गुप्तचरबाट मैले बुझेको थिएँ कि, उनीहरू पनि वास्तविक कम्युनिस्ट हैनन् । गुप्तचरहरू हामीलाई हेर्थे, हामी उनीहरूलाई हेर्थ्यौं । ती त रातो मूलाजस्तै थिए, बाहिर रातो, भित्र सेतो । यसरी आन्दोलनको वातावरण बन्न थाल्यो ।’

उनले साम्यवादको पतनमा पोप द्वितीयको भूमिकालाई चर्चा गर्दै भने–‘यदि, उनी पोप निर्वाचित हुँदैनथे त पोल्यान्डमा साम्यवाद धेरै लामो जान सक्थ्यो । पोपले पवित्र पिताका रूपमा साम्यवादको पतन प्रक्रियालाई गति दिनुभयो । यसले साम्यवादको पतनको अन्तिम क्षणलाई रक्तपातहीन र अहिंसात्मक बनाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो ।’

मैले उनलाई अर्को प्रश्न सोधेँ–‘ मान्छेले वालेसालाई कसरी सम्झिऊन् भन्ने चाहनुहुन्छ ?’ उनले भने–‘मलाई यो कुरामा खासै धेरै मतलब छैन । मैले जे गर्न सक्थें, मैले जे गर्न सम्भव थियो, त्यो राम्रैसँग गरेँ, मैले दिन सक्ने योगदान दिएँ, विना कुनै घुसपैठ मैले सबै काम सरल र इमान्दार तरिकाले गरिरहेको छु ।’

त्यसपछि उनी मेरा छोराछोरीतिर फर्किए । यिनीहरूको उमेर १७, २० र २१ वर्ष छ । उनले तिनलाई भने,‘खासमा मेरो सरोकार तिमीहरूको पुस्तासँग छ । यो पुस्ता सफल होस् भन्ने चाहन्छु । यो पुस्ता सफल भयो भने मात्र मेरो योगदान र सफलताले केही अर्थ राख्छ । सोलिडारिटी आन्दोलनको सफलता नै तिमीहरूको सफलता हो । तिमीहरू सफल भयौ मान्छेले मेरो प्रशंसा गर्लान्, तिमीहरू असफल भयौ भने मलाई सराप्लान्।’

लेक वालेसा र उनको सोलिडारिटी आन्दोलनले मेरा बच्चाहरूको पुस्तालाई स्वतन्त्रता, शान्ति र समृद्धितिर बढिरहेको संसार उपहार दियो, अब यो सम्पदालाई बलियो गरी पक्रेर राख्ने कि बर्बाद पार्ने त्यो तिनीहरूकै हातमा छ।

(द वासिङगटन पोस्टबाट अनुदित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved