समकालीन रुसी राजनीतिको सेरोफेरो : के पुटिन अक्षम साबित हुँदैछन् ?    

युद्ध सुरू हुँदा आन्तरिक सवाल गौण थियो । विस्तारै युद्ध आन्तरिक चुनौतीको मेरुदण्ड बन्यो । अब युक्रेन युद्धलाई नियतिका रूपमा स्वीकार गर्नुबाहेक पुटिनसँग अरु उपाय पनि छैन ।

समकालीन रुसी राजनीतिको सेरोफेरो : के पुटिन अक्षम साबित हुँदैछन् ?    

सन् २०२२ को फेब्रुअरीमा पुटिनले युक्रेनमाथि आक्रमण गर्दा रुसी सम्भ्रान्तले यस्तो व्यवहार देखाए कि यसले घरेलु मोर्चामा वास्तवमा कुनै परिवर्तन ल्याउँदैन । पश्चिमा शक्तिले रुसमाथि आर्थिक प्रतिबन्ध कडा बनाउँदा पनि मस्कोले सामान्य ठान्यो । तर, गत शरदयता अवस्था अलि बढी नै जटिल हुँदै गएको छ ।

खार्किभमा सन् २०२२ सेप्टेम्बरको युक्रेनी प्रतिआक्रमणले रुसी सैन्य स्थितिको नाजुकता उजागर गर्‍यो । त्यसपछि आक्रोशित मस्कोले आक्रामक सैन्य परिचालन गर्‍यो । त्यो सामाजिक चिन्ताको ठूलो विषय बन्यो तर, छोटो समयका लागि मात्र ।

अक्टोबरमा युक्रेन आक्रमणले क्रिमिया र रुसी मूल भूमिबीचको एक मात्र बाँकी सम्पर्क क्रेच पुल आगो र धुँवा बनाइदियो । यसले यो पुष्टि गर्दथ्यो कि क्रेमलिनका युद्धरेखाहरू कति लचिला छन्।

मस्कोका शक्ति सम्भ्रान्तले यस्तो कुरालाई केही अघिसम्म असम्भव र असह्य मान्थे । तर, यसले पनि युद्ध आफ्नै भूमिमा फर्किन सक्ने ठोस भावनाका साथ कुनै प्रतिक्रिया उत्पन्न गरेन।

त्यसपछिका महिनामा भने दबाब बढेको छ । मे महिनामा युक्रेनी शहर बख्मुत कब्जाबाहेक मोर्चामा रुसका लागि कुनै सुखद समाचार पनि छैन । ठीक त्यही बेला घरभित्र नयाँ मोर्चा खुल्यो— अज्ञात आक्रमणकारीले मस्कोमा ड्रोन आक्रमण गरे। सम्भवत: ती युक्रेनको सुरक्षा संयन्त्रसँग जोडिएका थिए।

सबैभन्दा चकित पार्ने कुरा, जुनमा निजी सैन्य कम्पनी येभगेनी प्रिगोजिनको नेतृत्वमा रहेको वाग्नर समूहले खुला विद्रोह गर्‍यो । उनीहरूले रोस्तोभ शहरको धेरै जसो भाग कब्जा गरेका थिए। उनीहरूले धेरै विमानलाई गोली हानी खसाए । एक दर्जनभन्दा बढी रुसी पाइलट मारिए । उनीहरू मस्कोतिर बढ्न थालेका थिए ।

प्रिगोजिनको विद्रोहले विश्वकै ध्यान खिच्यो र रुसी सम्भ्रान्तलाई राम्ररी नै अत्यायो । यद्यपि बेलारुसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा त्यसको द्रुत समाधान भयो । तर, यसले पुटिनको संकटलाई राम्रोसँग उजागर गर्दछ । उनी एकातिर प्रिगोजिनलाई ‘देशद्रोही’ भन्दैछन्, अर्कोतिर उनीसँग सम्झौता गर्न बाध्य भएका छन्।

रुसका लागि यी घटना अभूतपूर्व थिए । तथापि मान्छेले आफ्नो जीवनलाई त्यसरी नै जारी राखेका छन्, मानौं कि केही भएको छैन। सेनामा पनि सापेक्षिक स्थिरता छ । सरकार र सेनाले कुनै सैन्य अधिकारी हटाएको वा कारबाही गरेको सुनिएको छैन। तर, क्रेमलिन समस्याहीन छ भन्ने हैन । क्रमेलिनले थुप्रै समस्यालाई कार्पेट मुनि लुकाएर राखेको छ । युक्रेन युद्धको आन्तरिक प्रभाव बलियो हुँदै गएको छ।

युद्धले अन्धराष्ट्रवादी धारणाको अभिवृद्धि गरेको थियो । अब त्यसमाथि प्रश्न उठ्न थालेको छ। पुटिनको शासन कमजोर हुँदै गएको धारणाले शासनभित्र संकटको गहिराई बढाउँदैछ । रुसी भूभागभित्रका घटनाको उत्तरदायित्व नलिने वा पन्छाउने प्रवृति बढ्दो छ । सबैले यो बुझ्न थालेका छन् कि पुटिनको शासन वा पकड विस्तारै कमजोर हुँदैछ । तर, त्यसबाट उत्पन्न हुने शक्ति रिक्तताले रुसलाई कस्तो बनाउँछ ? यो प्रश्न भने पूर्वानुमान गर्न नसकिने खालको छ ।

नाजुक राज्य 

मुख्यतः तीन घटनाले रुसी राज्यको नाजुकता दर्शाउँछ । प्रिगोजिनको विद्रोह, मस्कोमा अपरिचित समूहको ड्रोन आक्रमण र अर्धसैनिक बलको बेलगोरोद क्षेत्रमा प्रवेश । यी घटनामा क्रेमलिनका प्रतिक्रिया निस्क्रिय प्रकारका थिए।
युक्रेन युद्धमा विजय हासिल गर्ने  पुटिन प्रशासनको विश्वास तीनवटा कुरामा आधारित छन् । एक, रुसी जनता देशभक्त छन् र युद्धकालमा राजनीतिक स्थिरता हुनेछ । दुई, रुसी अर्थतन्त्र गतिशील छ । तीन, शासनसत्तामा बलियो पकड छ । तर, प्रिगोजिनको विद्रोहले यो बुझाइमा खलल पुर्‍याएको छ ।

त्यसो त मस्कोमा भएको ड्रोन आक्रमणले समेत सुरक्षा चिन्तालाई बढाएको छ । रुसी नागरिकलाई राज्य नाजुक हुँदै गएको लाग्न थालेको छ ।

केही न केही त बिग्रेको छ

रुसको राजनीतिमा पुटिनको शासनलाई एक विशिष्ठ प्रकृतिको सामाजिक सम्झौताका रूपमा हेरिन्थ्यो । नागरिकले स्थायित्व र आर्थिक सुरक्षा पाएका थिए भने नागरिकले क्रेमलिनलाई राजनीतिक घटनाक्रम तथा युद्ध व्यवस्थापन गर्ने अधिक स्वतन्त्रता दिएका थिए ।

सन् २०१४ मा क्रिमियाको विलयपछि आन्तरिक स्थायीत्वको ठाउँमा भूराजनीतिक सुरक्षाको प्रश्न प्रमुख भएर आयो। युक्रेन युद्धपछि यो स्थिति झनै गम्भीर भएको छ । रुसीहरू पश्चिमा शक्तिलाई आफ्नो मुख्य शत्रु ठान्दछन् र उनीहरूलाई तह लगाउने कार्यमा सफलताका लागि पुटिनलाई सहयोग गर्ने भावना राख्दछन् ।

पुटिनलाई जनताको अतिरिक्त राजकीय संस्थाहरू मन्त्रिमण्डल, प्रादेशिक प्रशासक, संसद् र सत्तारुढ पार्टी युनाइटेड रसियाको पनि समर्थन रहँदै आएको छ।

तर, पुटिनको पछिल्लो निस्क्रियता निकट भविष्यको समस्या हुन सक्ने ठानिएको छ । नागरिकले पनि राजनीतिक वर्गको क्षमतामा शंका गर्न थालेका छन्। ड्रोन आक्रमण त्यो भागमा भएको थियो, जहाँ धनी र परजीवी रुसी बस्छन् । ड्रोन आक्रमणपछि ती नराम्ररी तर्सेका छन्।

बख्मुतमा रुसी कब्जाका लागि धेरै हदसम्म वाग्नर समूहको योगदान थियो। यसर्थमा प्रिगोजिन रुसी सम्भ्रान्तका आर्दश पनि हुन् । प्रिगोजिनप्रतिको पुटिनको व्यवहारले पनि मस्कोका सम्भ्रान्त बेखुश छन्।

प्रिगोजिन एक इमान्दार देशभक्त लडाका थिए,उनले पुटिन समूहका भ्रष्ट अधिकारीविरुद्ध जेहाद छेडेका थिए भन्ने भावना रुसीहरूमा बलियो छ ।

प्रिगोजिनको असन्तुष्टि युक्रेन युद्धप्रति हैन, पुटिन प्रशासनले युद्धको अपेक्षित तयारी नगरेको र यथोचित परिणाम नल्याएको प्रति लक्षित थियो ।

असक्षम देखिँदै पुटिन 

पुटिनको शासनलाई जति बलियो र शक्तिशाली ठानिन्थ्यो, अब मान्छेलाई त्यस्तो लाग्न छोडेको छ। रुसी जनता यो ठान्न थालेका छन् कि पुटिन कमजोर हुँदैछन् । पुटिनको शासन कमजोर भएसँगै रुसी राज्य कमजोर भयो भने त्यसको मूल्य जनताले चुकाउन पर्ने हुन सक्दछ । रुसी जनता अझै बलियो राज्य र शासन चाहन्छन् ।

रुसी सम्भ्रान्तमा अहिले यो भावना बलियो हुँदैछ कि यो रिक्तता कसले पूरा गर्ला ? बढ्दो आन्तरिक समस्या र असुरक्षाले पुटिन शासनप्रतिको विश्वास कमजोर हुने सम्भावना बढेको छ। पुटिन आफैँले यो कुरा बुझ्न थालेका छन्। प्रिगोजिन प्रकरणपछि पुटिनमाथिको दबाब चौतर्फी छ ।

कट्टरपन्थी कार्यदिशाको जोखिम

उपरोक्त स्थितिले रुसी कट्टरपन्थीलाई खेल्ने ठाउँ दिएको छ । कट्टरपन्थी खेमाभित्र राजनीतिक क्षेत्रका दक्षिणपन्थी अन्धराष्ट्रवादी मात्र छैनन, त्यसको पैरवीकर्ता टिभी स्टेशन र युद्ध संवाददाता पनि छन्, जो हरदम देशद्रोही खोजी गरिरहेका हुन्छन्। यिनले शासकलाई युक्रेनसँग मेलमिलाप गर्ने वा युद्धको जोखिमलाई कम गर्ने उपायतिर सोच्नै दिँदैनन् ।

युुद्धसँग नजोडिएका, व्यापार व्यवसाय गरेर सुविधाजनक जीवन बिताइरहेका र युद्धको जोखिम उठाउन नपर्ने सुनिश्चितता भएका रुसीका लागि युद्ध देशभक्ति र राष्ट्रवादप्रतिको ओठे भक्ति मात्र हो । तर, रुसी समाजको एक महत्त्वपूर्ण हिस्साले कुनै नयाँ र सकारात्मक मोडको खोजी पनि गरिरहेको छ।

युक्रेन युद्धपछि रुसी राज्यले युद्धविरोधी शक्तिलाई किनारीकृत गर्दै लग्यो । यहाँसम्म की उदारवादी शक्तिले युद्ध विरोधी प्रदर्शन गर्न समेत नसक्ने स्थिति आयो । युद्धविरोधी जनप्रदर्शनलाई शासनसत्ता विरोधी प्रदर्शन भन्दै दमन गरियो। देशभक्तिका नाममा रुढीवादी शक्तिले युवा पुस्तामा अन्धराष्ट्रवादको भावना बलियो गरी भरे । पुटिन राष्ट्रवादी हुन् र उनका विरोधी जति सबै देशद्रोही हुन् भन्ने भाष्य बलियो भयो ।

किभबाट फर्किने बाटो खै ?

युक्रेन युद्धमा प्रवेश गर्न रुसका लागि अनेक सहजता थिए । सबैभन्दा ठूलो निहुँ पश्चिमा शक्ति र नेटोको भय थियो । युक्रेन युद्धमा प्रवेश गर्न पुटिन वृत्तका व्यक्तिले राम्रै संकथन बनाएका थिए तर, उनीहरूको दूर्भाग्य हो कि किभबाट बहिर्गमनको रणनीति थिएन । फलतः रुस युक्रेनमा फसेजस्तो देखिन्छ । कसरी निस्कने हो ? बाटो प्रष्ट छैन ।

पुटिन वृत्तका नयाँ अधिकारीहरूमा पनि पुरानै सोचको प्रधान्यता छ । पुटिनका आन्तरिक मामिला सल्लाहकार सेर्गेइ किरियेन्को रुसले विलय गरेको घोषणा गरेका ४ युक्रेनी प्रदेशको नेतृत्व गरिररहेका छन् भने उपप्रधानमन्त्री खुुश्लुलिन पुन:निर्माणको जिम्मेवारीमा छन् । उनीहरूको विचार अघिल्लो पुस्ताका मेद्भेदेभ र लाभारोभको भन्दा फरक छैन। पुटिनलाई सकेसम्म सहयोग गर्नु नै उनीहरू आफ्नो कर्तव्य र करिअरको आधार मान्दछन् । सेनामा पनि यस्ता धेरै नयाँ अधिकारी छन्।

कतिपयलाई लागेको थियो कि युद्ध विस्तारै आफै शिथिल हुन्छ । तर, त्यसो भएन । न  सोचेजस्तो सजिलै जित हात लाग्यो न भविष्यको बाटो नै स्पष्ट भयो । आज कतिपयले भन्न थालेका छन् कि रुसलाई पुटिनले फसाए । न युद्ध धान्न सजिलो छ, न फर्किन । कतिपयले त पुटिन महत्वाकांक्षाको शिकार कतिन्जेल हुने भन्न थालेका छन् ।

प्रिगोजिनले वैकल्पिक युद्ध रणनीतिको सवाल उठाएका थिए । उनको भनाइ थियो कि रुसले युक्रेन युद्धलाई लामो बनाउनु हुँदैन। समाजिक, आर्थिक, राजनीतिक र सैंन्य शक्तिलाई एकीकृत गरी युद्धलाई छिटो टुंग्याउनुपर्दछ । तर, युद्ध अन्त्यको कुटनीतिक पाटोमा भने कसैको ध्यान गएको छैन।

जारी कथानक

रुसी राज्य प्रणाली पुटिनमा निर्भर नभएर पनि काम गर्न सक्ने हुँदैछ । तर, यो विकासले पुटिन विरोधी भावना वा उदयमान राजनीतिक विपक्षको दृढ उपस्थितिलाई अझै प्रतिविम्बित गर्दैन । तर, पुटिनलाई आफ्नै वृत्तले एक बृद्ध नेताका रूपमा बुझ्न थालेको छ । पुटिन यति कमजोर कहिल्यै थिएनन, जतिको अहिले छन् ।

विद्रोह अवधिमा मारिएका पाइलटको हत्या जिम्मेवारी विनै पुटिनले प्रिगोजिनसँग सम्झौता गरे । साथै, उनले वाग्नर समूहका लागि पर्याप्त सरकारी बजेट दिने प्रतिबद्धता पनि गरेका छन्, जुन  संगठन राज्यसँग लड्ने मनस्थितिमा पुगेको थियो ।

पुटिनका नयाँ सहयोगीहरू उनको निर्देशन लिनेभन्दा उनलाई फुर्काएर आफ्नो काम गराउने बाटोमा छन्। सबैले के थाहा पाइसकेका छन् भने पुटिन अब राम्रा नियन्त्रक रहेनन् । उनलाई चित्त बुझ्ने रिपोर्टिङ गरेर, देशभक्तिको प्रसंशा र राष्ट्रवादको चिप्लो घसेर खुसी पार्न सकिन्छ । युक्रेन पश्चिमाको चुँगुलबाट मुक्त भएर रुसको हातमा आउनै लागेको छ भन्दिँदा पुटिन मख्ख पर्दछन् । अझ रुसी विश्व व्यवस्था निर्माण हुँदै गरेको वर्णनले उनलाई असीमित उत्साह दिन्छ।

केही वर्ष अघिसम्म पुटिन झुठा प्रसंशाभन्दा कठोर सत्य सामना गर्न मन पराउँथे । अनावश्यक प्रसंशाले उनमा चिडचिडाहट ल्याउँथ्यो । झुठा रिपोर्ट र प्रसंशाले अधिकारीहरूको राजनीतिक लाभप्राप्तिको बाटो सहज बनाउँछ । तर, सरकार भने सही सोच र रणनीतिहीन बन्न पुग्दछ ।

सर्वसाधारणको मनोदशा

रुसी सभ्रान्त र सर्वसाधारणको मनोदशाबीच सधै तादात्म्यता रहँदैन । सभ्रान्तहरू पुटिनसँग चिन्तित र निराश देखिन्छन् तर, रुसी सर्वसाधारणलाई यो कुराको पत्तो छैन । सर्वसाधारणलाई अझै के लाग्दछ भने पुटिन देशका लागि लड्दैछन् । अधिकारीहरूको अक्षमता र पुटिनको शिथिलताले युद्ध नधानिएला भन्ने डर सर्वसाधारणको मनमा पसेको छ ।

अलिक परसम्म नियालेर हेर्दा देखिने दृष्यहरू हुन्– आन्तरिक झमेलामा अल्झिदै गएको क्रेमलिन, पुटिनको नेतृत्व संकट, राजनीतिक उत्तरदायित्वको अभाव, नयाँ चुनौती बुझ्न र सामना गर्न सक्ने  क्षमताको अभाव, अप्रभावकारिता, राज्यसँग बेखुशी हुँदै गएको सभ्रान्त वर्ग, विभाजित मनोविज्ञान र संस्थापन विरोधी हुँदै गएका जनसाधारण ।

युद्ध सुरु हुँदा आन्तरिक सवाल गौण थियो । विस्तारै युद्ध आन्तरिक चुनौतीको मेरुदण्ड बन्यो । अब युक्रेन युद्धलाई नियतिका रूपमा स्वीकार गर्नुबाहेक पुटिनसँग अरु उपाय पनि छैन । युक्रेन युद्ध रुसका लागि अनिश्चित विश्वमा निश्चितताको खोजी जस्तै भएको छ।

(द फोरेन अफियर्सबाट संक्षेपीकरणसहितको अनुवाद)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप लेख

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved